राष्ट्रिय प्रणालीमा  ९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य

ऊर्जा क्षेत्रको बजेट ५० अर्ब ७४ करोड, बंगलादेशमा विद्युत् निर्यात गरिने 

जेष्ठ १६, २०८१

कान्तिपुर संवाददाता

The goal is to add 900 megawatts of electricity to the national system

काठमाडौँ — राष्ट्रिय प्रणालीमा आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप्दै विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत राष्ट्रिय प्रणालीमा विद्युत् क्षमता बढाउँदै प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० युनिट पुर्‍याइने बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष बंगलादेशमा विद्युत् निर्यात गर्ने भएको छ । लगानी आकर्षित गर्न जलाशययुक्त जलविद्युत् आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माणमा निजी क्षेत्रलाई सहभागी गराइने भएको छ । सरकारले सुक्खा यामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६ सय ७० मेगावाट क्षमताको दुधकोशी र ४ सय १७ मेगावाट क्षमताको नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना तथा २ सय ८० मेगावाट क्षमताको नौमुरे बहुउदेश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य थालनी गरिने जनाएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत् आयोजना निर्माण पनि थालिने भएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, १ सय ६ मेगावाटको जगदुल्ला, १ सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ए र २ सय १० मेगावाटको चैनपुरसेती जलविद्युत् आयोजनाको निर्माण थालिने अर्थमन्त्री पुनले बताए । 

सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य पनि आगामी आर्थिक वर्षबाट थालनी हुने भएको छ । सन् २०२५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गरिने भएको छ । त्यस्तै निजी क्षेत्रबाट १ सय मेगावाट सौर्य विद्युत् जोड्ने, हरित हाइड्रोजन प्रवर्द्धन गर्ने कार्यक्रम बजेटमार्फत ल्याइएका छन् । 

हेटौडा–ढल्केबर–इनरुवा र खिम्ती–ब्रहबिसे–लस्सिफेदी ४ सय केभी प्रसारण लाइनको निर्माण गरिने भएको छ । कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइनको निर्माणको कार्यकलाई तीव्रता दिइने भएको छ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ । 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully