नयाँ बुटवल सबस्टेसन निर्माणमा सम्झौता
काठमाडौँ — मिलेनियम च्यालेन्स एकाउन्ट–नेपाल (एमसीए–नेपाल) ले लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इन्डिया प्रालिलाई दिएको छ । एमसीए–नेपाल र उक्त कम्पनीबीच बिहीबार सम्झौता भएको हो । सबस्टेसन निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिने एमसीए–नेपालले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा बिहीबार आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन, स्थानीय अधिकारी तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । ‘यो ४०० केभी सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो । यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेसनलाई सघाउनेछ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।
नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको अमेरिकी राजदूत थम्सनको भनाइ छ ।
प्रकाशित : वैशाख २८, २०८१ ०७:०१