कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

मोरङको गोलभेडा बजार : किसान बेहाल, व्यापारी मालामाल

जहदा, मोरङ — तरकारी खेतीको केन्द्र मानिने मोरङको पूर्वी दक्षिण ग्रामीण भेगमा एक साताअघि गोलभेडाको मूल्य प्रतिकिलो ६ रुपैयाँ थियो । ११ किलोमिटर दूरीको विराटनगर बजारमा भने २० रुपैयाँ थियो । अहिले खेतबाटै किसानले किलोको १३ रुपैयाँमा बेच्दैछन् भने नजिकको बजारमा गुणस्तर अनुसार ३० देखि ४० रुपैयाँसम्म पुगेको छ ।

मोरङको गोलभेडा बजार : किसान बेहाल, व्यापारी मालामाल

किसानबाट खरिद गरिएको मूल्यभन्दा झन्डै ३ गुणा बढीमा बजारमा बेचिनुले गोलभेडाको कारोबारमा बिचौलिया र ब्यापारीको चलखेल प्रष्ट देखिन्छ । किसानलाई लागत उठाउन धौधौ पर्ने तर बिचौलिया र व्यापारी मोटाउने गरेको मोरङको कटहरी नयाँ बजारका तरकारी खेती किसान कोपेन्द्र सिंहले बताए । उनले पुसमा करिब ९ लाख रुपैयाँ लगानीमा डेढ हेक्टर जमिनमा गोलभेडाको खेती गरेका थिए । उनको खेतमा गोलभेडा पाकेर झर्न थालेको छ । तर उनले अहिलेसम्म अढाइ लाख रुपैयाँ मूल्य बराबरको मात्र बेच्न सकेका छन् । कात्तिक, मंसिर र पुसमा लगाएको गोलभेडा फागुन/चैतमा फल्न थाल्छ ।

‘साता अघिसम्म बिचौलिया र व्यापारीले प्रतिकिलो ५/६ रुपैयाँ मूल्य तोकेका थिए, बेच्नुभन्दा कुहाउनु राम्रो भन्दै केही दिन खेतमा त्यतिकै छाडेँ,’ उनले भने, ‘किलोको १२/१३ रुपैयाँ पाउन थालेपछि बेच्दैछौँ ।’ खेतमा बाँकी १० लाख भन्दा बढी मूल्यको गोलभेडा पाकेर झर्न थालेपछि कोपेन्द्र निराश बनेका छन् । जेठ दोस्रो सातासम्ममा मौसम गडबड भएर असिनासहितको पानी वा भारी वर्षा भयो भने बाली सखाप भएर लगानी नै डुब्ने उनको चिन्ता छ । ‘त्यो अगावै बेचिसक्नुपर्छ,’ कोपेन्द्रले भने ।

खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रुपमा भित्रिने प्रतिकिलो ३/४ रुपैयाँमा पाइने सस्तो गोलभेडा र फाइदाका लागि उताकै किसानबाट किन्ने बिचौलियाका कारण आफ्नो उत्पादन राम्ररी बिक्री नभएको उनको भनाइ छ । भारतमा किसानले पाउने सरकारी अनुदानका कारण उत्पादन लागत कम हुँदा सस्तो मूल्यमा पारिबाट टमाटर भित्र्याइन्छ । ‘यहाँका किसानले बैंकबाट ऋण लिएर खेती गर्दा उत्पादन लागत बढी पर्छ, सस्तो भारतीय गोलभेडाकै कारण स्थानीय उत्पादनले बजार नपाउँदा खेतमै कुहिएर जाने स्थिति छ,’ उनले भने । कोपेन्द्र लगायत वरिपरिको खेतबारीमा गोलभेडा राताम्मे देखिन्छ । झरेर कुहिएका र केही दिन नटिपेमा बिग्रने अवस्था छ ।

गोलभेडामा कोशी प्रदेश आत्मनिर्भर भए पनि स्थानीय उत्पादनको संरक्षणका लागि तीन तहकै सरकारले कुनै कदम नचालेकाले भारतीय उत्पादनले किसान मारमा रहेको जहदा लक्ष्मीनिया बस्तीका साना किसान वीरेन्द्र मण्डल बताउँछन् । बिचौलियाले तोकेको मूल्यमा किसान तरकारी बेच्न बाध्य हुनु परेको उनले बताए । मण्डल अढाइ बिघामा खेती गर्छन् । ‘गोलभेडा लगायत अन्य तरकारी उब्जाउँछु, टिप्छु र बजारमा लगेर आफै बेच्छु,’ उनले भने,‘धेरै उत्पादन गर्ने ठूला किसानका लागि यसो गर्नु सम्भव हुँदैन, उनीहरु बिचौलिया र व्यापारीकै भर पर्नुपर्छ ।’

मनग्य स्वदेशी उत्पादन हुने यो बेलामा भारतीय आयातमा रोक लगाउने हो भने स्थानीय किसानको उत्पादनले राम्रो बजार मूल्य पाउने र लगानी असुली हुने स्थानीय किसानको बुझाइ छ । स्थानीय किसानको अनुसार यहाँको उत्पादनको मुख्य सिजन अब करिब एक महिना मात्र बाँकी छ । त्यो अवधिमा राम्रो मूल्यमा उत्पादन बिक्री गर्न नसकिए लगानी नै डुब्ने खतरा छ । मोरङको कटहरी, जहदा र धनपालथान गाउँपालिकालाई तरकारी जोन मानिन्छ । यहाँ ६ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गोलभेडा खेती हुन्छ । यो जोनको खेतबाट दैनिक २५–३० गाडी गोलभेडा काठमाडौं लगायतका सहरमा पुर्‍याइन्छ । एक गाडीमा भरिएको १ सय १० क्यारेटमा झन्डै २ हजार ५ सय किलो गोलभेडा हुन्छ । धनपालथान–५ का किसान तथा खरिदकर्ता ओम मगरका अनुसार अवैध रुपमा भित्रिने सस्तो मूल्यको भारतीय उत्पादन, बिचौलिया र किसानप्रति सरकारी उदासिनताकै कारण उचित मूल्य नपाएर स्थानीय किसानको मनोबल खस्किएको छ ।

एक सातादेखि भारतीय उत्पादन आयातमा केही कम हुँदा र चितवन तथा लालबन्दीको गोलभेडा सकिन लागेपछि मोरङका किसानले खेतमा किलोको १३ रुपैयाँसम्म मूल्य पाएको उनले बताए । मगरका अनुसार सिजनको मुख्य समयमा साताअघि किसानले खेतबाट किलोको ५/६ रुपैयाँमा बेच्नु परेको थियो । प्रतिकिलो २/३ रुपैयाँ नाफा लिएर बेच्दा पनि राम्रै आम्दानी हुने भए पनि बिचौलियाले न्यूनतम मूल्यमा किनेर दोब्बरमा बेच्दा अन्ततः उत्पादक किसान नै मर्कामा परिरहेको उनले बताए ।

‘यहाँको उत्पादन काठमाडौं पुग्दा किसानले राम्रो मूल्य पाउँछ । तर भारतीय उत्पादनसहित चितवन र लालबन्दीको गोलभेडा पनि एकै पटक बजार आउँदा स्थानीय किसान सस्तोमा बिक्री गर्न बाध्य हुन्छन्, लगानीसमेत नउठ्ने अवस्था छ,’ मगरले भने, ‘दुई बिघा जमिनमा ९ लाख रुपैयाँ लगानी गरेर गोलभेडा खेती गर्दा अहिलेसम्म ७ लाख मात्र असुली भएको छ ।’ भारतमा किसानले सहजै सरकारी अनुदान पाउने र उत्पादन लागत सस्तो हुँदा भारतीय गोलभेडाको मूल्य न्यून रहेको मगरले बताए । उनले भने,‘ यहाँका किसानले सरकारी सहयोगको नाममा स्थानीय पालिकाबाट बढीमा १० ग्राम बिउ पाउँछन्, त्यो पनि उत्पादन बजारमा पठाउने समयमा मात्रै दिन्छ ।’

बिचौलियाले व्यापारीलाई उत्पादन किन्न आफ्नो खेतबारीसम्म पुग्न नदिने गरेको स्थानीय किसान बताउँछन् । दुई बिघा खेतमा गोलभेडाको खेती गरेका जहदाका धिरज मण्डलका अनुसार सरकारको माथिल्लो निकायसम्म पहुँच राख्ने त्यस्ता बिचौलियाले सेटिङमा सस्तो मूल्यमा पाइने भारतीय गोलभेडा खुला सीमानाबाट भित्र्याउँछन् । स्थानीय किसान मारमा पर्दा समेत सरकार उदासिन रहेको उनले बताए । ‘८ लाख लगानी गरेर दुई बिघा जमिनमा गोलभेडा खेती गर्दा सिजनको अन्तिमसम्ममा तीन लाख मात्र आम्दानी भएको छ,’ मण्डलले भने,‘सिजन अब करिब एक महिना मात्र छ । त्यो बेलासम्म राम्रो भाउ आएन भने नाफा त के लगानीसमेत असुली हुने स्थिति छैन ।’

मोरङको यो तरकारी जोनमा पाँच सयभन्दा बढी किसानले गोलभेडा खेती गरेका छन् । उनीहरु सबै भारतीय आयातले गर्दा संकटमा छन् । बिचौलियाले भारतबाट प्रतिकिलो बढीमा तीन भारुमा खरिद गरेर यहाँ किलोको १५ रुपैयाँसम्ममा बिक्री गर्दा दोब्बर नाफा हुन्छ । ‘तर यहाँको उत्पादन कम्तीमा किलोको २२ रुपैयाँमा बिक्री गर्दा मात्र लगानी असुली हुन्छ,’ सिंहले भने, ‘स्थानीय उत्पादनले आत्मनिर्भर भए पनि गोलभेडा आयात रोक्न सरकार उदासिन छ । आयात नरोके स्थानीय किसान लगानी समेत गुमाउने अवस्थामा छन् ।’

यो जोनमा थाइल्याण्डको करण, कुनाल र भारतको सिजेन्टा जातको गोलभेडा खेती हुन्छ । अहिले भारतमै गोलभेडाको मूल्य बढी पर्ने भएकाले सातादेखि आयात ठप्प हुँदा स्थानीय उत्पादनको मूल्य बारीमै प्रतिकिलो ६ रुपैयाँबाट १३ रुपैयाँ पुगेको थोक व्यापारी अशोक मेहताको भनाइ छ । बिचौलिया र सरकारी निकायको सेटिङमा अवैध रुपमा भारतीय गोलभेडा आयात हुँदा उचित मूल्य नपाएर स्थानीय किसानले लगानी डुबाउन बाध्य भएको उनले स्वीकारे ।

यहाँको गोलभेडाको प्रमुख बजार विराटनगर, काठमाडौं, बिर्तामोड र गोलबजार हो । उनका अनुसार ती सबै बजार भारतीय उत्पादनले ढाकेको छ । ‘विराटनगरबाट अहिले पनि दैनिक सरदर १० गाडी टमाटर काठमाडौं जान्छ,’ मेहेताले भने, ‘तर भारतीय उत्पादनले पेलेर स्थानीय उत्पादनको मूल्य घटाउँदा किसान दु:खी छन् ।’ विराटनगरमा मात्रै ७ जना बिचौलिया रहेको बताइन्छ । ‘उनीहरुको सम्बन्धित सरकारी संयन्त्रसँग साँठगाँठ छ,’ एक व्यापारीले भने, ‘उनीहरुले देखाउनका लागि भारतमा सस्तोमा पाइने गोलभेडा एक गाडी भन्सार नाकाबाट र १० गाडी अवैध रुपमा छिराएर काठमाडौंसम्म खुलेआम पुर्‍याइ स्थानीय किसानको उत्पादन बारीमै कुहाउने माहोल बनाएका छन् ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बागबानी विज्ञ सुमन भगतले उक्त जोनका किसानलाई अनुदान, बोरिङ लगायतका प्राविधिक सहयोग तथा उत्पादनलाई बजारसम्म पुर्‍याउन यातायातमा सहजीकरण गरिरहेको बताए । ‘हामी किसानबाट हुने माग अनुरुप अघि बढ्ने हो,’ उनले भने, ‘यो परियोजना नै उहाँहरुको मर्का बुझ्न र आवश्यकता पूरा गर्नका लागि नै हो ।’

यता कोशी प्रदेश सरकारले भने जिल्ला कृषि ज्ञान केन्द्र मार्फत तरकारी खेती गर्ने साना किसान, युवा, महिला, दलित, पिछडिएका समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ । प्रदेश कृषि निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीका अनुसार यो कार्यक्रम अर्न्तगत साना किसानले ५० हजारदेखि एक लाख रुपैयाँसम्म अनुदान पाउँछन् । किसानले त्यो अनुदानले साना उपकरण खरिद गर्नुपर्ने उनले बताए ।

‘अनुदान सबै किसानले पाउने सम्भावना नै रहँदैन,’ डाँगीले भने, ‘आवेदन दिने किसानमध्ये पनि प्रक्रिया पूरा गरेका किसानले त्यस्तो अनुदान पाउँदै आएका छन् ।’ बिउ, बिजन लगायतको अनुदान दिने कार्यक्रम स्थानीय पालिकालाई हस्तान्तरण गरिएको डाँगीले बताए । उनका अनुसार पहिला कृषि कार्यालयले अनुदानमा बिउ वितरण गर्दै आएको थियो । अहिले त्यसको जिम्मेवारी स्थानीय पालिकालाई दिइएको छ ।

प्रकाशित : वैशाख २५, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?