पुर्ख्यौली सीपबाट परिवारै स्वरोजगार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
कञ्चनपुर — एकातिर धागो कात्ने काम चलिरहेको छ । छेउमै कपडा बुन्ने दुई वटा मेसिन चलेका छन् । काठ र फलामको प्रयोग गरी बनाइएका हातखुट्टाले चलाइने ती मेसिनमा दुई जना धमाधम कपडा बुन्ने काममा लागेका छन् । अर्का एक जना धागो कात्ने काममा खटिएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![पुर्ख्यौली सीपबाट परिवारै स्वरोजगार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/kanchanpurkapadaudhog32502456ka-2722024021411-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
शुक्लाफाँटा नगरपालिका–७ जुडाका ४८ वर्षीय जगतबहादुर सिंहले स्थापना गरेको घरेलु उद्योग अहिले परिवारकै लागि स्वरोजगारको माध्यम बनेको छ । सिंहले पुर्ख्यौली पेसालाई निरन्तरता दिन डेढ वर्षअघि सानो लगानीमा कपडा उत्पादनको काम सुरु गरेका हुन् । घरमा भएको काठको प्रयोग गरी बजारबाट केही फलामका सामान खरिद गरेर उनले कपडा बुन्ने मेसिन (तान) बनाएका हुन् । उक्त उद्योगमा उनले अल्लो, गाँजा, बाँस र उनका कपडा उत्पादन गरिरहेका छन् ।
दार्चुला, डडेलधुरा र बझाङबाट लोक्ता ल्याएर उनले अल्लो र गाँजाको फाइबर बनाउँछन् । त्यही फाइबरबाट धागो उत्पादन गरेर कपडा बनाइन्छ । ‘लगानी कम भएर थोरै मात्रामा काम गरिरहेका छौं,’ सिंहले भने, ‘घरका सबै जना मिलेर फाइबर बनाउनेदेखि धागो बनाउने र कपडा उत्पादनमा जुटेका छौं ।’ गत वर्ष असोजमा सुरु गरिएको उद्योगबाट हालसम्म २ लाखभन्दा बढीका कपडा र तयारी पोसाक बिक्री भएको सिंहले बताए । करिब ८ लाखको कपडा र तयारीपोसाक उत्पादन गरेर राखेको उनको भनाइ छ । उत्पादित कपडा तथा पोसाक घरबाटै बिक्री भइरहेको उनले जनाए । ‘ठूलो मात्रामा उत्पादन गर्न सकिएको छैन, व्यापारीले एकै पटक धेरै परिमाणमा खोज्छन्,’ सिंहले भने, ‘त्यही भएर धेरै प्रचारप्रसार पनि गर्न सकिएको छैन ।’
आफूसँग भएको सानोतिनो पुँजी सकिएपछि अहिले कच्चापदार्थ खरिदमा समेत समस्या भएको उनले बताए । सिंहको पुर्ख्यौली पेसा पनि कपडा उत्पादन गर्ने नै हो । दार्चुलाको मार्मा क्षेत्रमा जन्मेका उनी ०४४ मा तराई झरेका हुन् । मार्मामा बुवाबाजेले राडीपाखी बनाएर बिक्री गर्थे । उनी आफैं पनि राडीपाखी उत्पादन र बिक्रीको काम गर्थे । तराई झरेपछि त्यही पुर्ख्यौली सीपलाई सदुपयोग गरेर अहिले कपडा उत्पादन गर्न थालेका छन् । अहिले उनको पूरै परिवार यसमा जुटेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)