कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

प्राधिकरणले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलायाे

प्राधिकरणका अनुसार १० मेगावाटसम्मका ८९ वटा आरओआर आयोजनाहरूले पीपीएका लागि निवेदन दिएका छन् 
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाएकाे छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका जलविद्युत् आयोजना प्रवर्द्धकलाइ विद्युत् व्यापार विभागमा निवेदन दिन आग्रह गरेकाे हाे । 

प्राधिकरणले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलायाे

प्राधिकरण सञ्चालक समितिकाे ९६३ औं बैठकले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउने निर्णय गरेकाे थियाे । प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमताका नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) आयाेजना र पीपीए भइसकेका आयाेजनाहरूकाे हकमा बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुँदा समेत पीपीएकाे सीमाकाे अधिनमा रहनु नपर्ने जनाएकाे छ ।

साना लगानीकर्तालाई प्रोत्साहन गर्न पीपीएकाे सीमाकाे अधिनमा नरहने गरी ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएका वा हुने आयाेजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयाेजनाहरूलाई 'लिउ वा तिर' प्रावधानमा विद्युत् खरिद बिक्री सम्झौता गरिने सूचनामा उल्लेख छ ।

विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेकाे हकमा आरओआर तथा र पीआरओआर जलविद्युत् आयाेजनाहरूकाे हकमा बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुँदा समेत पीपीएकाे सीमाकाे अधिनमा नरहने गरी 'लिउ वा तिर' प्रावधानमा विद्युत् खरिद बिक्री सम्झौता संसाेधन गर्ने जनाएकाे छ । आयोजनाहरूको विद्युत् सुक्खायाम (मंसिर १६–जेठ १५) र वर्षायाम (जेठ १६–मंसिर १५) का लागि हाल कायम रहेको दर क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिटमा खरिद गरिनेछ ।

प्राधिकरणका अनुसार १० मेगावाटसम्मका ८९ वटा आरओआर आयोजनाहरूले पीपीएका लागि निवेदन दिएका छन् । ती आयोजनाहरूको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाट क्षमताका ४४ आयोजनासँग ग्रिड आबद्ध सम्झौता भइसकेको छ । आरओआरका १५७ मेगावाट क्षमताका ४५ वटा आयोजना ग्रिड आबद्ध सम्झौता हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । ग्रिड आबद्ध भइसकेका २ वटा र नभएका ३ वटा पीआरओआर आयोजनाले पनि पीपीएका लागि निवेदन दिएका छन् ।

प्रकाशित : फाल्गुन १५, २०८० १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×