२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अर्थोडक्स चियाको मूल्य किलोकै १० हजार !

अमेरिकी खरिदकर्ता जेनीले लिलाम प्रक्रियामार्फत ५ किलो अर्थोडक्स चिया ५० हजार रुपैयाामा किनिन् 

इलाम — मुलुकमा पहिलो पटक अक्सन (लिलाम) मार्फत चिया बिक्री भएको छ । इलामको कन्याममा शनिबार गरिएको ‘डेमो अक्सन’ (नमुना बोलकबोल) मा यसरी चिया बिक्री गरिएको हो । अमेरिका, चीन, जापान र रुसका चिया खरिदकर्ता सहभागी ‘अक्सन’ मा अर्थोडक्स चियाले प्रतिकिलो १० हजार रुपैयाँसम्म मूल्य पाएको छ । 

अर्थोडक्स चियाको मूल्य किलोकै १० हजार !

अमेरिकाबाट आएका खरिदकर्ताले प्रतिकिलो १० हजार रुपैयाँका दरले अर्थोडक्स ब्ल्याक टी किनेका हुन् । जेनी नाम गरेकी अमेरिकी खरिदकर्ताले डाक बढाबढ (लिलाम) प्रक्रियामार्फत ५ किलो अर्थोडक्स चिया ५० हजार रुपैयाँमा किनिन् । सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चिया किसानले प्रतिकिलो एक हजार मूल्य तय गरेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले डाक बढाबढ गर्दै १० हजारसम्म मूल्य लगाए ।

अर्थोडक्स ग्रिन टी प्रतिकिलो ६ हजार र अर्थोडक्स ग्रिनिस ब्ल्याक टी प्रतिकिलो ४ हजार मूल्य दिएर चिनियाँ खरिदकर्ताले किनेका छन् । उनीहरूले पनि अक्सनमा डाक बढाबढका आधारमा उक्त मूल्यमा चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । विश्वबजारमा चिया अक्सनमार्फत किनबेच हुने गरेको छ । तर नेपालमा अक्सन बजार छैन ।

सरकारले ०७१/७२ मा अक्सन सेन्टर बनाउने भन्दै बजेट वक्तव्यमार्फत कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमअन्तर्गत अक्सन कमिटी निर्माण तथा आवश्यक पूर्वाधारसमेत तयार भएका थिए । तर सरकारले अक्सन सेन्टर सञ्चालन गर्ने निर्णय नगरेपछि अहिलेसम्म चियाको अक्सन सेन्टर सञ्चालनमा आउन नसकेको हो ।

अक्सन सेन्टरमा क्रेता र विक्रेताबीच मोलमोलाइबाट चिया बिक्री गरिन्छ । अक्सनमा चिया बिक्री गर्नुअघि गुणस्तरसमेत मापन गरिन्थ्यो । यसबाट भारतसहित तेस्रो मुलुकका खरिदकर्ता आकर्षित हुन्थे । अक्सनमार्फत चिया बिक्री गर्न पाए उत्पादित चियाले गुणस्तरका आधारमा उचित मूल्य पाउने केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङले बताए ।

यसैबीच अर्गानिक चिया उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारको खोजीमा रहेका उत्पादकका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत सञ्चालित नेपाल इन्क्रिज सस्टेनेबल टी’ परियोजनाले चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका सम्पूर्ण प्रक्रिया थाहा पाउने पद्धतिको विकास गर्दै छ । वैशाख १५ को चिया दिवसका दिन सुरुवात गरेर यो प्रणाली लागू भएको छ । अब विश्वभरका उपभोक्ताले चियाको प्याकबाटै मोबाइलको साहयताले उत्पादन भएको क्षेत्र, बगान, कारखानाको अवस्था, प्याकिङको अवस्थालगायत विविध विषयमा जानकारी पाउनेछन् ।

नेपाल सरकारबाट ट्रेडमार्क प्राप्त गरेका उद्योग यस प्रणालीमा जानेछन् । नेपालमै पहिलो पटक चियामा लागू हुन लागेको ‘ट्रेसाबिलिटी सिस्टम’ ले उपभोक्तामा चियाप्रतिको विश्वास बढेर जाने सरोकारवालाको भनाइ छ ।


‘पेरिस होस् या बेइजिङ जहाँका उपभोक्ताले पनि प्याकमा रहेको क्यूआर स्क्यान गरेर सबै जानकारी पाउन सक्ने भएकाले उनीहरूलाई नेपालका बगानको अवस्थासँगै उत्पादन प्रक्रियाबारे थाहा हुन्छ,’ ट्रेसाबिलिटी सफ्टवेयर म्यानेजर सञ्जीव खतिवडाले भने, ‘धेरै उचाइमा चिया उत्पादन हुने जानकारीसमेत ग्राहकले पाउने भएकाले मूल्य पनि राम्रो पाउने अवस्था हुन्छ ।’ यहाँ २५ सय मिटर उचाइसम्म चिया उत्पादन हुन्छ ।’

चियामा पहिलो पटक लागू हुन लागेको यो सिस्टम प्रभावकारी भए गुणस्तर सुधारमा पनि पर्याप्त सुधार हुनेछ । ट्रेडमार्क अनिवार्य लिएर मात्र ट्रेसाबिलिटी सिस्टममा जान पाइने प्रावधानका कारण गुणस्तरको प्रश्न नउठ्ने बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराई बताउँछन् । ‘परियोजनाको मुख्य उद्देश्य नै गुणस्तर सुधार गर्दै भारतबाहेकका मुलुकमा समेत चियाको निर्यात बढाउनु हो,’ उनले भने ।

यहाँ उत्पादित अर्थोडक्स चियामध्ये अहिलेसम्मको मुख्य बजार भारत हो । वार्षिक ७० लाख किलो तयारी चिया उत्पादन हुँदा भारतमा ८० प्रतिशत चिया निर्यात भइरहेको छ । १० प्रतिशत आन्तरिक खपत छ भने बाँकी अन्य मुलुकमा निर्यात हुन्छ । भारतमुखी बजारका कारण नेपाली चिया सधैं असुरक्षित भएको विज्ञहरू बताउँछन् ।

गएको साउनमा भारतीय संसद्मा नेपाली चिया गुणस्तरीय नभएको भन्दै अंकुश लगाउने प्रयास भएपछि चिया क्षेत्रमा गतिलै हलचल आएको थियो । नेपाली चिया निर्यातमा भारतले कुनै पनि बेला बखेडा झिक्न सक्ने भन्दै चीनलगायत पश्चिमा बजार विस्तारका लागि काम गर्नुपर्ने निष्कर्षमा सम्बन्धित सबै पुगेका हुन् । पछिल्लो समय चीनमा पनि नेपाली चिया निर्यातको अवस्था सहज बन्दै गएको छ । केही नीतिगत जटिलता फुकाउने हो भने साना र मझौला उद्योगबाट उत्पादित चिया चीनमा पुर्‍याएर राम्रो आम्दानी गर्न सकिने उद्यमी उदय चापागाईं बताउँछन् ।

यस सिस्टममा पहिलो चरणमा प्रवेश गर्ने इलामका उद्योगलाई अन्तिम तालिम दिने काम भइरहेको छ । पहिलो चरणमा सिस्टममा प्रवेश गर्ने उद्योगहरूमा हिमालयन सांग्रिला, साँखेजुङ हिलरेन्ज, ग्रिनभ्याली टी इन्डस्ट्री, कञ्चनजंघा अर्गानिक अर्थोडक्स, ग्रिनहिल टी इन्डस्ट्रिज, उच्च पहाडी, तीनजुरे, जस्बिरे टी, ब्रदर्स टी, माङमालुङ टी, गोर्खा टी, नेपाल ग्रिन एन्ड स्पेसालिटी टी, अर्गानिक नेपाल टी, लक्ष्मी टी, तारगाउँ टी र आरुबोटे टी छन् । गुणस्तर सुधारका लागि परियोजनाले अर्गानिक प्रमाणीकरणदेखि किसानको गोठ सुधार, काँटछाँटलगायत विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : वैशाख १८, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?