गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनामा डेढ सय उडान- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनामा डेढ सय उडान

दीपेन्द्र बडुवाल, माधव ढुंगाना

भैरहवा — लुम्बिनीकै आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास गरिएको यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पूरा भएको छ । प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी छेउमा निर्मित विमानस्थल अझै ढुक्कसाथ सञ्चालन हुन सकेको छैन ।

सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनी आकर्षित गर्न विभिन्न सेवा शुल्कमा छुट प्रदान गरेको छ । यहाँ उडान भर्ने विमान कम्पनीको संख्या भने वृद्धि हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ मा बुद्ध जयन्तीका अवसर पारेर विमानस्थल उद्घाटन गरेका थए । त्यही दिनबाट कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीका लागि काठमाडौंमा श्रमलगायत प्रक्रिया पूरा गरेका श्रमिकलाई उक्त एयरले यहाँबाट लैजाने र उताबाट त्यस्तै व्यक्ति ल्याउने गरेको थियो । यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र निजी क्षेत्रका लगानीकर्ता उत्साहित थिए ।

विमान कम्पनीलाई यात्रुको अभाव नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार यात्रुको संख्या वृद्धि भएपछि जजिरा एयरले गत भदौ ३१ बाट दैनिक उडान सुरु गरेको थियो । ‘स्थानीयस्तरमा वैदेशिक रोजगारीमा जानेका लागि श्रम कागजात, मेडिकल जाँचलगायत सुविधा नहुँदा समस्या भयो,’ उनले भने, ‘आवश्यक प्रक्रिया काठमाडौंमा पूरा गरेर जहाज चढ्न भैरहवा आउनुपर्ने भएपछि यात्रुलाई अप्ठ्यारो थियो ।’ जसले गर्दा जजिराले गत असोज १६ बाट फेरि केही दिन बिराएर उडान गर्न थालेको दाहालको भनाइ छ ।

हिमालयन एयरलाइन्सले गत कात्तिक १७ देखि यहाँबाट प्रतिदिन मलेसिया चार्टर्ड उडान सुरु गरेको थियो । ‘अहिले खराब मौसमका कारण जजिरा र हिमालयनले केही समयका लागि उडान स्थगन गरेका छन्,’ दाहालले भने, ‘हुस्सु र बाक्लो कुहिरोले गर्दा उडान, अवतरणमा समस्या भएको हो ।’

यहाँबाट २०२२ मे १६ तारिखदेखि डिसेम्बर १८ सम्म विभिन्न कम्पनीबाट १ सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यत्तिकै संख्यामा विमान अवतरण भएका छन् । ती उडान–अवतरणबाट उक्त अवधिमा १३ हजार ५ सय ९३ यात्रु यहाँ आएका छन् । यहाँबाट भने १८ हजार २५ यात्रु बाहिरिएका छन् । जजिरा, हिमालयनबाहेक अहिलेसम्म भियतनाम, माल्टा, क्यानडाका विमानले उडान भरेका छन् । यस अवधिमा स्काइलाइन एभिएसन, एरो थाई, नेपाल एयरलाइन्स र ओटार्स लिमिटेडले उडान भरेको दाहालले जानकारी दिए । ‘यस अवधिमा धेरै विमान कम्पनीले उडानका लागि चासो देखाए,’ उनले भने, ‘यहाँ आएर विमानस्थल अवलोकन गरे । तर, उडानमा ढिलाइ गरिरहेका छन् ।’

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरहकै विमान यहाँ उडान–अवतरण गर्न सक्छन् । नागरिक उड्डयन प्राधिकरणले यहाँ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी आकर्षित गर्न अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सेवा र सुरक्षा जाँच शुल्कमा पहिलो वर्षका लागि शतप्रतिशत छुट व्यवस्था गरेको छ । नेपाल वायु सेवा निगमले लिने ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा गत कात्तिक १५ बाट अर्को निर्णय नभएसम्मका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको महाप्रबन्धक दाहालको भनाइ छ ।

‘ठूलो लगानी र धेरै नागरिकको भरोसाको विमानस्थल भएकाले हामीले विभिन्न चुनौतीका बाबजुद सेवा दिइरहेका छौं,’ उनले भने, ‘यसको भविष्य राम्रो देख्छु ।’ यहाँस्थित विमानस्थलमा चार न्यारो र एक वाइड बडी गरेर पाँच वटा विमान पार्किङ क्षमता छ । अहिले टर्मिनल भवनमा ५ सय ५० जना यात्रु एकैसाथ अट्छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पार्किङमा १ सय ६० ट्याक्सी र अन्य सवारीसाधन राख्न सकिन्छ । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले भन्सार, अध्यागमन, मेट्रोलोजी, बैंक, पारवहन तथा गोदाम व्यवस्था, सुरक्षा प्रहरी, नेपाली सेनालगायत गरेर २१ वटा कार्यालयले सेवा सुरु गरिसकेका छन्,’ दाहालले भने, ‘विमानस्थलको अपरेसन समय २४ सै घण्टा उपलब्ध छ ।’ यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जनशक्ति, मेसिन, औजारलगायत उपकरण व्यवस्थित भइसकेको उनले जनाए ।

‘रुट र आईएलएस’ चुनौती

पुस सुरु भएपछि विमानस्थलबाट आन्तरिक र बाह्य उडान प्रभावित भइरहेका छन् । खराब मौसमको कारण देखाउँदै जजिरा र हिमालयन एयरलाइन्सले उडान स्थगन गरेका छन्, जसले यहाँस्थित निजी क्षेत्र निराश भएको छ । विमानस्थलमा जडित आईएलएस (उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली) सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका हुन् ।

जाडो मौसमसँगै लाग्ने गरेको बाक्लो कुहिरो र हुस्सुले विमान उडान र अवतरण गर्न आवश्यक पर्ने भिजिबिलिटी नपुग्दा अन्तर्राष्ट्रिय उडान हुन नसकेका हुन् । कुवेत–भैरहवाबीच अन्तर्राष्ट्रिय उडान गर्दै आएको जजिरा एयरलाइन्स र क्वालालम्पुर–भैरहवाबीच उडान गर्दै आएको हिमालयन एयरलाइन्सले १० दिनदेखि उडान रद्द गरेका छन् । विमानस्थलमा जडित आईएलएस उपकरण सञ्चालनमा नआएकाले बाक्लो हुस्सु र कुहिरो लाग्दा कम भिजिबिलिटी समस्याले अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाले बताए । ‘विमानस्थलमा जडित आईएलएस उपकरण सञ्चालनका लागि भारतको स्वीकृति लिनुपर्ने हुन्छ,’ झाले कान्तिपुरसित भने, ‘भारतले अनुमति नदिँदासम्म उक्त उपकरण औपचारिक रूपमा प्रयोग गर्न मिल्दैन ।’

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा यहाँ विमानले अवतरण गर्ने बेला करिब १ किमि दूरीमा भारतीय भूमि पर्छ । आईएलएस उपकरणको प्रयोग गर्दा उक्त दूरीको भारतीय भूमि समेटिने भएकाले सञ्चालनका लागि भारतको अनुमति आवश्यक पर्ने भएको हो । सामान्यतया विमान उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएस उपकरणको प्रयोगले ८ सय मिटरको भिजिबिलिटीमा पनि उडान/अवतरण गर्न सकिन्छ ।

जजिरा एयरलाइन्सले गत डिसेम्बर २० तारिखदेखि कुवेत–भैरहवाको उडान स्थगित गरेको जनाएको हो । सातामा तीन पटक कुवेत–भैरहवाबीच हुने उडान जजिराले अहिले काठमाडौंबाट सञ्चालन गरिरहेको छ । क्वालालम्पुर–भैरहवाबीच दैनिक एउटा र कहिलेकाहीं दुई वटासम्म चार्टर उडान गर्दै आएको हिमालयन एयरलाइन्सले पनि उडान स्थगन गरेको छ ।

प्रकाशित : पुस २०, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय ट्रकको मनपरी रोक्न माग गर्दै आन्दोलन

दीपेन्द्र बडुवाल, माधव ढुंगाना

भैरहवा — मनपरी रुपमा तौल लोड गरेर भारतीय ट्रकलाई मुलुकभर ढुवानीमा छुट दिएको विरोधमा ट्रक व्यवसायी आन्दोलित बनेका छन् । मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने माग राख्दै शुक्रबार व्यवसायीले रुपन्देहीमा प्रदर्शन गरेका हुन् ।

भारतीय ट्रकले नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभर ढुवानी गररहेको जनाउँदै ट्रक यातायात व्यवसायीका संस्थाले शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका हुन् । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजी गर्दै व्यवसायीको र्‍यालीले नाकास्थित भन्सार कार्यालयको गेटमा पुगेर विरोधसभा गरेको थियो । कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिए ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा यातायात मजदुर संघका साथै आधा दर्जन व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए । महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका समान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको जनाएको छ ।

महासंघका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय ट्रकले अधिक भारत बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए । ‘धेरै भार बोक्ने ट्रकसित जरिवाना अशुलेर नियम विपरीतको तौल घटाउन लगाउनु पर्छ,’ विरोधसभामा उनले भने, ‘तर, यहाँ जरिवाना अशुलेर अधिक भार बोक्न दिने गरिएको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरीले झन धरासायी बनेको बताए । ‘हाम्रा ट्रकदेखि तिनमा प्रयोग हुने इन्धन, टायर, पार्टस लगायत वस्तु भारतबाटै आयात गरिन्छ,’ उनले भने, ‘यी वस्तुमा अत्यधिक भन्सार महशुल लगाइएको छ । जसले गर्दा हामी भारतीय ट्रकसित प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ त्यसैले मुलुकमा भारतीय ट्रकको निर्वाध आवागमन र अधिक भार बहन नियन्त्रण गर्न माग गरिरहेको उनले बताए । ‘अधिक भार बहन सम्बन्धमा नेपाली ट्रकलाई कडाइ गरिन्छ,’ उनले भने, ‘तर, भारतीय ट्रकको हकमा आँखा चिम्लिने गर्दा समस्या भएको हो ।’ राज्यलाई सघाउने उद्देश्यले आन्दोलन गर्नु परेको उनले बताए ।

यातायात व्यवसायी महासंघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अधिक भार बहन र भारतीय ट्रकको मनपरी बारे वर्षौंदेखि सुनुवाइ नहनु दुखद् भएको बताए । नेपाली प्रशासन र सरकार यस विषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको उनले बताए ।

‘अहिले हामीले विरोधसभा गरेर माग सुनुवाइका लागि दबाब दिएका हौं,’ उनले भने, ‘तत्काल माग सुनुवाइ नभए भारतीय ट्रक रोक्ने र हाम्रा ट्रक भन्सारमा खडा गर्ने चेतावनी दिन्छु ।’ कोरोना महामारीबाट थलिएका व्यावसायीलाई बैंकको ताकेताले अत्याइरहेको अवस्थामा राज्यबाट राहत उपलब्ध गराउने कार्यक्रम नहुनु चिन्ताको विषय भएको बताए ।

‘एकातिर व्यवसाय चलाउनै कठिन छ,’ उनले भने, ‘अर्को तर्फ बैंकको किस्ता बुझाउने ताकेताले व्यवसायीको मनोदशा विक्षिप्त बनेको छ ।’

प्रकाशित : पुस १, २०७९ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×