नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत

हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको हो।

यस्तै बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति समेत भएको छ ।

साथै, कतारमा काम गरेर फर्किएकाहरुलाई नेपालमा पुनर्स्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।

नेपालसँग वार्ता गर्न कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली बिहीबार नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

कतारले २०७४ भदौ ६ गते नै घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन जारी गरिसकेको छ । त्यसमा नेपालको संसदले घरेलु श्रमिकको सुरक्षाको पक्षमा उठाएका धेरै विषय सम्बोधन गरिसकेको छ । कतारमा हाल झन्डै ५० हजार नेपाली पुरुष घरेलु श्रमिक कार्यरत छन् ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १७, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभा अस्पतालमा विशेषज्ञ सेवा

आईसीयू र भन्टिलेटर सेवा जिल्लामै सुरू भएपछि उपचारमा सहयोग पुगेको छ
दीपेन्द्र शाक्य

संखुवासभा — निमोनियाले थलिएपछि चिचिला गाउँपालिका–२ दिदिङकी १५ वर्षीया सरस्वती राईलाई परिवारले सहरको अस्पताल लैजाने तयारी गरे । तर, जिल्ला अस्पताल संखुवासभामा एकपटक उपचारका लागि देखाउने सल्लाह भएपछि सदरमुकाम ल्याइयो । उनको उपचार भयो । 

जिल्ला अस्पतालले विशेषज्ञ सेवा सुरु गरेको राई परिवारलाई थाहा थिएन । सिकिस्त भएकी सरस्वतीले उपचारपछि नयाँ जीवन पाएको महसुस गरेकी छन् । उनलाई आठ दिन आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसपछि उनी निको भएर घर फर्किइन् । जिल्लामै उपचार पाउँदा खर्च पनि बचेको परिवारले बताए । उनको उपचार बाल रोग विशेषज्ञ डा. दीपेन्द्र राई नेतृत्वको टोलीले गरेको हो ।

‘अन्यत्र रेफर गर्दा यातायातको समस्याले पुर्‍याउन सक्ने अवस्था थिएन,’ डा. राईले भने, ‘यहीं उपचार सेवा दियौं ।’ आईसीयू र भन्टिलेटर सेवा जिल्लामै सुरु भएपछि उपचारमा सहयोग पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

हाडजोर्नीको समस्याबाट पीडित सभापोखरी गाउँपालिका–६ का ११ वर्षीय सिद्धार्थ विश्वकर्माले पनि उक्त अस्पतालमा उपचार पाएका छन् । उनको पहिलो पटक हाडजोर्नीको शल्यक्रिया गरिएको हो । यसअघि यो सेवा लिन धरान या विराटनगर पुग्न पर्थ्यो । ५० बेड क्षमताको जिल्ला अस्पतालमा दाता खोजेर यी सेवा सञ्चालन गरिएको प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा करार र छात्रवृत्तिका ५ मेडिकल अधिकृत छन् ।

विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि करारका डाक्टरको भरमा जिल्ला अस्पतालले उपचार सेवा प्रवाह गरिरहेको छ । ११ तहको मेडिकल सुपरिन्टेन्डेन्टसहित १३ स्थायी दरबन्दीका चिकित्सक हुनुपर्नेमा तीन वर्षअघिबाट एक मेडिकल अधिकृतले जिल्ला अस्पताल धानेका छन् । स्थायी कर्मचारी कम हुँदा करार सेवाका स्वास्थ्यकर्मीबाट काम चलाउनुपर्ने बाध्यता भएकाले सरकारले जतिसक्दो चाँडो स्थायी दरबन्दीको चिकित्सक पठाउनुपर्ने स्थानीयको माग छ ।

सरकारले स्थायी दरबन्दीका चिकित्सक नपठाएपछि कुनिना शैक्षिक गुठीसँग १८ लाख सहयोग मागेको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए । उनका अनुसार थप विशेषज्ञ सेवाका लागि निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना एसजेभीएनले पनि चिकित्सकका लागि आर्थिक सहयोग गरेको छ । भेन्टिलेटर र आईसीयूका लागि सामग्री पनि उपलब्ध गराएको छ ।

अस्पतालले अक्सिजन प्लान्ट पनि निर्माण गरिसकेको छ । अक्सिजन उत्पादन सुरु भइसकेको छ । उनले भने, ‘अन्य साझेदार संस्थाको पहलमा विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरिएको छ, दिगो व्यवस्थापनका लागि विशेष योजना बनाएर बिरामीलाई राहत महसुस गराउछौं ।’ कुनिना र अरुण तेस्रोबाट सहयोग जुटेपछि अस्पतालमा पहिलो पटक आईसीयू, भेन्टिलेटर र हाडजोर्नीलगायतका ५ वटा विशेषज्ञ सेवा थप गरिएको छ ।

अहिले जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा डा. भीम लामाले हेर्दै आएका छन् भने हाडजोर्नी विशेषज्ञ डा. गौरव भण्डारी, जनरल फिजिसियन स्मृति आचार्य र बाल रोग विशेषज्ञ डा. राईले ओपीडीबाहेकको समय १ देखि ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा (ईएचएस) पनि हेर्छन् ।

सरकारी अस्पताललाई गरिबको अस्पताल र नमुना अस्पताल बनाउन लागिपरेको प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ । जिल्लामा पहिलो पटक विशेषज्ञ सेवासहितको सघन उपचार सेवा सुरु भएपछि सेवाग्राहीले धेरै पैसा खर्चेर अन्यत्रै जानुपर्ने बाध्यता हट्दै गएको छ । उनले भने, ‘बाहिर रेफर’ हुने बिरामीको संख्या पनि घट्दै गएको छ ।’ अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु गरिएको छ ।

२०३३ सालमा स्थापना भएको १५ बेडको अस्पताल स्तरोन्नति गरी ५० बेडको बनाइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार अस्पतालको भौतिक संचरना निर्माणाधीन अवस्थामा रहेकाले पुरानै भवनमा सेवा सञ्चालन भइरहेको छ । ‘अस्पतालमा भौतिक परिवर्तन मात्रै भन्दा पनि विशेषज्ञसहित गुणस्तरीय सेवा दिन लागिपरिरहेका छौं,’ उनले भने, ‘आईसीयू, भेन्टिलेटर सेवा, एनआईसीयू, सिकिस्त बिरामीका लागि ‘हाई डिपेन्डेन्सी युनिट’ (एचडीयू सेवा), हाडजोर्नी शल्यक्रिया सेवा सुरु भएपछि धेरै जटिल प्रकारका बिरामीहरूले सेवा पाएको महसुस गरेको छौं ।’

उनका अनुसार कुनिना सार्वजनिक शैक्षिक गुठीले विशेषज्ञ चिकित्सकलाई मासिक तीन लाख र अरुण तेस्रो जलविद्युत् परियोजनाबाट भेन्टिलेटरलगायतका विशेषज्ञ चिकित्सक सेवा सञ्चालनका लागि सहयोग भएपछि सेवा विस्तार गरिएको हो । अहिले जिल्ला अस्पतालमा दैनिक ३ सय देखि ५ सय सेवाग्राही आउँछन् । संखुवासभाको मात्रै नभएर भोजपुर जिल्लाबाट पनि बिरामी उपचारका लागि आउँछन् ।

प्रकाशित : मंसिर १७, २०७८ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×