कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया निर्यातमा भारतीय अवरोध नहटाए साढे ३ अर्बको व्यापार गुम्ने जोखिम

चियासहितका १८ कन्टेनर काँकडभिट्टालगायत नाकामा रोकिए
नेपालबाट निर्यात हुने चियामध्ये करिब ८० प्रतिशत भारत जाने

काठमाडौँ — नेपाली चिया आयातमा रोक लगाउने भारतको तयारीले साढे तीन अर्ब रुपैयाँको व्यापार गुम्ने जोखिम बढेको छ । नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अवरोध लगाउन थालेपछि नेपाली चियाको बजार गुम्ने खतरा बढेको हो ।

चिया निर्यातमा भारतीय अवरोध नहटाए साढे ३ अर्बको व्यापार गुम्ने जोखिम

नेपालबाट निर्यात हुने चियामध्ये करिब ८० प्रतिशत भारतमा जाने राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । बाँकी २० प्रतिशत चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुन्छ । पछिल्लो समय रसिया र खाडी मुलुकमा समेत निर्यात भइरहेको छ । तर निर्यात गर्न भारतकै बाटो प्रयोग गर्नुपर्छ । जसले गर्दा समग्र चिया क्षेत्र नै समस्यामा पर्ने जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्षमा मात्रै ३ अर्ब ६९ करोड रुपैयाँको चिया निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । जबकि आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ७८ करोड रुपैयाँको मात्रै चिया निर्यात भएको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा पनि १ अर्ब १ करोड रुपैयाँको निर्यात भएको भन्सार विभागले जनाएको छ । तथ्यांकअनुसार निर्यातको तुलनामा आयात न्यून छ । १ अर्ब रुपैयाँको निर्यात हुँदा २ करोडको मात्र आयात भएको छ ।

‘वार्षिक औसत साढे ३ अर्बको निर्यात हुँदा करिब १०/१२ करोडको आयात हुन्छ,’ बोर्डका प्रवक्ता दीपक खनालले भने, ‘चिया व्यावसायिकभन्दा व्यक्तिगत प्रयोगका लागि आयात गरिन्छ । विभिन्न कलाबाट बनेका चिया आयात गरिन्छ, उक्त चिया परिमाणमा थोरै भए पनि धेरै महँगो हुन्छ ।’

भारतले चिया निर्यातमा गरेको अवरोध यो पहिलो पटक भने होइन । भारतीय व्यवसायीले आफ्नो स्वार्थ पूर्ति गर्न नेपालमा उत्पादित चियामा अवरोध खडा गर्न पहल गर्छन् । ‘भारतभन्दा नेपालको उत्पादन धेरै गुणस्तरीय छ । नेपाली चियाले भारतमा एकछत्र राज गरिरहेको छ, भारतीय व्यवसायीले पनि नेपाली चियालाई दार्जिलिङ ब्रान्डमा निर्यात गर्छन्,’ खनालले भने, ‘नेपालबाट भारतमा मात्रै निर्यात हुँदा नेपाली व्यवसायीले उचित मूल्य पाएनन् । तेस्रो मुलुकतर्फ सम्भावना खोज्दा भारतीय व्यवसायीले अनेकन बहानामा दुःख दिए ।’

भारत र नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) का सदस्य रहेको र विभिन्न वाणिज्य नीतिका कारण भारतले नेपाली चियामा रोक लगाउन पाउँदैन । रोक्नकै लागि भारत सरकारले पनि आधिकारिक पत्र पठाएको छैन । भारतीय व्यवसायीको चलखेलका कारण भने समस्या देखिएको बोर्डको बुझाइ छ । नेपाली प्रयोशालामा समस्या, भारतले मागेअनुसार गुणस्तर दिन नसकेको आरोप भारतीय व्यवसायीको छ । निर्यातका क्रममा अवरोध गरेको, १८ कन्टेनर भन्सारमा रोकिएको भन्दै नेपाली व्यवसायीले बोर्डमा ज्ञापनपत्र बुझाएका छन् ।

व्यवसायीहरूको गुनासोपछि आइतबार बोर्डले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत छलफल गरेको थियो । छलफलले काँकडभिट्टालगायत नाकामा रोकिएका कन्टेनर छुटाउन कूटनीतिक पहल गर्न आग्रह गरेको खनालले जानकारी दिए ।

चिया निर्यातमा भएको अवरोधबारे सूचना पाएको र अवरोध हटाउनेबारे छलफल भइरहेको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए । ‘के कारणले निर्यातमा समस्या भयो, अझै स्पष्ट भइसकेको छैन । नेपालका तर्फबाट समस्या नै छैन, समस्या भारततर्फ नै हो,’ उनले भने, ‘सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेका छौं । दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरेका छौं ।’

चिया उच्च निर्यात सम्भावनाको वस्तु भएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तुलनात्मक लाभको वस्तुका रूपमा राखेको छ । मुलुकभर विशेषगरी ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुन्छ ।

एक सातादेखि भन्सारमै थन्कियो चिया

भारतीय अवरोधका कारण निर्यात हुन नसक्दा एक साताभन्दा बढी समयदेखि करोडौं मूल्यको चिया भन्सार गोदाममै थन्किएको छ । झापा र इलामका विभिन्न कारखानाबाट निर्यात हुन लागेका दुई करोडभन्दा बढी मूल्यका चिया मेची भन्सार कार्यालयको गोदाममा थन्किएको हो । दुई गाडी चिया विकास निगमको छ । बाँकी अन्य कारखानाका छन् ।कागजी प्रक्रिया पूरा भएको करिब ६० टन चिया गोदाममा थन्किएको भन्सार कार्यालयले जनाएको छ । भारतीय भन्सारको अवरोधका कारण चिया निर्यात हुन नसकेको भन्सार प्रमुख केशव ओलीले बताए ।

इलामका चार गाडी अर्थोडक्स चिया पनि रोकिएको भन्सार एजेन्ट रोशन अग्रवालको भनाइ छ । डाँफे, पराजुली, रारा र क्लासिक ब्रान्डका चिया अवरोधका कारण आआफ्नै गोदाममा थन्किएका छन् । ‘सबै कागजात तयार छन्,’ अग्रवालले भने, ‘भारतको इजाजत मात्र पर्खिई बसेका छौं ।’

प्रकाशित : मंसिर ७, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?