कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय सवारीको आयात दोब्बर

गत जेठ १५ मा प्रस्तुत बजेटबाट भन्सार महसुल हटाइएपछि धेरै संख्यामा विद्युतीय सवारीसाधन भित्रिएका हुन्

काठमाडौँ — भन्सार महसुल घटेसँगै विद्युतीय सवारीसाधनको आयात बढेको छ । मूल्य घटेपछि यस्ता सवारीसाधनको माग पनि बढेको सवारी कम्पनीहरूले जनाएका छन् । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार महसुल बढाएपछि सुरुका दुई चौमासिकमा विद्युतीय सवारीको आयात ठप्पजस्तै बनेको थियो ।

विद्युतीय सवारीको आयात दोब्बर

पहिला यस्ता सवारी आयातमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो । बढाइएको उक्त भन्सार महसुल चालु वर्षको बजेटमार्फत हटाइएपछि मूल्य पनि घटेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार विद्युतीय सवारीको बजार बढ्दो छ । ‘नेपालमा मात्र नभएर संसारभरि नै यसको खपत बढेको छ,’ उनले भने, ‘भन्सार छुट दिएर यसको खपत बढाउने लक्ष्य सरकारले लिएको छ ।’ पूर्वाधार बनिसकेपछि यसको माग अझै बढी हुने उनको दाबी छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्षमध्ये गत आवमा धेरै सवारी आयात भएको देखिन्छ । आव ०७५/७६ मा ९ करोड ५६ लाख ५७ हजार रुपैयाँ बराबरका २ सय ९४ थान विद्युतीय सवारीसाधन आयात भएको तथ्यांक छ । त्यस्तै, आव ०७६/७७ मा ३९ करोड ७६ लाख ६५ हजार रुपैयाँका ५ सय ७१ थान विद्युतीय सवारीसाधन भित्रिएका थिए । यो संख्या आव ०७७/७८ मा बढेर २ हजार २ सय १ पुगेको छ । जसको लागत ९५ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबर छ । भन्सारबाट विद्युतीय बस, माइक्रोबस, ई–रिक्सा, मिनिबस, जिप, कार र भ्यान भित्रिएका छन् । यी विद्युतीय सवारीसाधन चीन, भारत र अमेरिकालगायत मुलुकबाट आयात हुने गरेको छ ।

‘जति माग छ, त्यति अझै आउन सकेको छैन,’ नाडा अध्यक्ष दुलालले भने, ‘भारतबाट बढी आउने हो, त्यहाँ कोभिडले गर्दा उत्पादन कम भएको छ ।’ अघिल्लो जेठ १५ मा प्रस्तुत बजेटमार्फत भन्सार महसुल बढाइएपछि एक वर्षसम्म एउटा पनि विद्युतीय सवारी आएका थिएनन् । तर गत जेठ १५ मा यसअघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत बजेटमा उक्त महसुल र अन्तःशुल्क हटाउने घोषणा गरेपछि धेरै संख्यामा विद्युतीय गाडीहरू भित्रिएको दुलालको भनाइ छ । कर, भन्सार महसुल, छुटलगायत बजेट घोषणासँगै कार्यान्वयनमा आउने व्यवस्था छ । पहिला सार्वजनिक सवारीमा १ र निजीमा १० प्रतिशत भन्सार लाग्ने गरेको थियो । भन्सार महसुल घटेर धमाधम गाडीहरू भित्रिए पनि उपभोक्ताले भने सोचेअनुरूप मूल्य नघटेको गुनासो गरेका छन् । बिक्रेताले राम्रो नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका हुन् ।

गत वर्ष भन्सार महसुल बढाइएपछि ५० देखि ५५ लाखमा बिक्री भइरहेका गाडीको मूल्य बढेर १ करोड २५ लाख रुपैयाँसम्म पुगेको थियो । तर गत जेठ १५ पछि कोरोना महामारी कायमै रहे पनि विद्युतीय सवारी साधनको आयात र किनमेल पनि बढेको हो । कोरोना महामारीमा धेरैलाई निजी सवारी लिनुपर्ने बाध्यता आइलाग्दा र खरिद गर्नेलाई बैंकले कर्जा उपलब्ध गराउँदा पनि माग बढेको हो । नाडा सचिव अनुपकुमार बराल विद्युतीय सवारीको आयात बढ्नु स्वागतयोग्य भएको बताउँछन् । ‘यो सवारीमा उपभोक्ताप्रति विश्वास बढ्दै गएको छ,’ उनले भने, ‘यसरी आयात बढ्न थालेपछि पूर्वाधारमा पनि ध्यान दिन जरुरी छ ।’

आव ०७५/७६ मा विभागले २ करोड ४ लाख एक हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । यो आँकडा पछिल्ला दुई आवमा क्रमशः ९ करोड ६५ लाख र ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ थियो ।

प्रकाशित : श्रावण २१, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?