कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई जहिल्यै मलको अभाव

कञ्चनपुरको दोधारा–चाँदनीमा भारतबाट अवैध रूपमा भित्र्याइएको मल पाइन्थ्यो, अहिले त्यही पनि पाइएको छैन
भवानी भट्ट, मोहन बुढाऐर

कञ्चनपुर/कैलाली — धान खेतमा युरिया हाल्ने बेला भएको छ । रोपाइँ गरेको २५/३० दिनमा युरिया मल हालिसक्नुपर्छ । तर कैलाली र कञ्चनपुरका किसानले युरिया नपाएर भौंतारिनुपरेको छ । मलबिनै रोपाइँ गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । 

किसानलाई जहिल्यै मलको अभाव

‘दोधारा–चाँदनी पुगेर पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का जनक धामीले भने, ‘मल नपाउँदा धान बाली बिग्रिन लागेको छ ।’ खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । कञ्चनपुरको दोधारा–चाँदनीमा भारतबाट अवैध रूपमा भित्र्याइएको मल पाइन्थ्यो । त्यही मल लिन धामी पटक–पटक महाकाली पारि पुगे पनि उनले पाउन सकेका छैनन् ।

‘मलकै अभाव कहिलेसम्म झेल्नुपर्ने हो ?’ जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेमसिंह भाटले भने, ‘आवश्यकताभन्दा न्यून कोटामा मल आउने भएकाले जहिले पनि हाहाकार हुने गरेको हो ।’ जिल्लामा ९ हजार टन मल आवश्यक भए पनि अहिले ३ हजार टन मात्रै आपूर्ति भइरहेको छ । जिल्ला बहुउद्देश्यीय सहकारी संघ र भीमदत्त नगर सहकारी सञ्जालले संयुक्त रूपमा मल आपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

कैलालीका किसानको समस्या पनि उस्तै छ । गाउँघरमा मल वितरण गर्दै आएका सहकारी र कृषि सामग्री कम्पनीमा मलका लागि किसान पुग्ने गर्छन् । तर उनीहरू सधैं रित्तो हात घर फर्कन्छन् । युरिया छर्कने बेला धानमा मल हाल्न नपाए उत्पादन राम्रो नहुने कैलाली थापापुरका गंगा चौधरीले बताए । ‘युरिया पाउन सकेका छैनौं,’ उनले भने, ‘गाउँका सहकारीमा किसान धाएको धायै छौं ।’ धान रोप्नुअघि चाहिने डीएपी र पोटास पनि नपाएको उनको भनाइ छ ।

कञ्चनपुरमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल न्यून मात्रामा छ । साल्ट ट्रेडिङको गोदाम भने रित्तो छ । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा अहिले ५० टन युरिया मात्रै रहेको कार्यालय प्रमुख डबलबहादुर शाहले जानकारी दिए । ‘अहिले थोरै मल छ,’ उनले भने, ‘तत्काल थप मल आउने सम्भावना देखिन्न ।’ यो वर्ष हालसम्म कृषि सामग्री कम्पनीले १ हजार टन युरिया र १ हजार १ सय टन डीएपी बिक्री गरेको शाहले बताए ।

साल्ट ट्रेडिङको गोदाम असारदेखि खाली छ । वैशाख–जेठमा युरिया र डीएपी बिक्री भए पनि त्यसपछि भने थप मल आएको छैन । ‘तत्काल आउने सम्भावना छैन,’ साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख दीपक भट्टले भने, ‘हाम्रो कोटाको मल वैशाख–जेठमै बिक्री भइसकेको छ ।

कैलालीमा मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धनगढीबाट मल नपाएको सहकारीले बताउने गरेका छन् । कम्पनीका प्रदेश प्रमुख नवलसिंह बोगटीले भने युरिया थोरै भए पनि वितरण गरिरहेको बताए । ‘कैलालीका लागि ६ हजार मेट्रिक टन माग गरेका थियौं,’ उनले भने, ‘जम्मा ४ हजार मात्र आइपुग्यो । त्यो वितरण भइरहेको छ ।’ अहिले युरिया २ सय ५० टन मात्रै गोदाममा रहेको उनको भनाइ छ । गोदाममा रहेको युरिया पनि एक–दुई दिनमै सकिने उनको भनाइ छ ।

मागअनुसारको मल एकैचोटि नआउने भएकाले पनि किसानलाई मल अभाव खट्किने गरेको भट्टले बताए । धानका लागि भनेर फागुनदेखि हालसम्म डीएपी २ हजार ६ सय २, युरिया ४ र पोटास ९९ टन वितरण भइसकेको उनले जानकारी दिए । कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती गरिन्छ । प्रतिहेक्टर एक/डेढ क्विन्टल युरिया आवश्यक पर्छ । यसबाहेक तरकारी, मकै र केरा खेतीमा समेत रासायनिक मल आवश्यक पर्छ । ‘आवश्यकताभन्दा निकै कम मल आइरहेको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले भने, ‘यो अभाव भइरहन्छ, रासायनिक मलको विकल्पमा प्रांगारिक मलमा केन्द्रित हुनुपर्छ ।’ देशभरिमा ७ लाख टन मल आवश्यक पर्छ । तर अहिले ३ लाख मात्रै आपूर्ति भइरहेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ११, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?