कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुधारोन्मुख चिया निर्यात

रूस, अमेरिका, युरोप र जापान चिया निर्यात गर्ने उद्योग औंलामा गन्न सकिन्छ ।

काठमाडौं/काँकडभिट्टा — करिब १२ वर्षदेखि नेपाली चिया निर्यात गर्दै आएको झापाको ‘नेचर हिमालय चिया उद्योग’ ले इलाममा अर्को उद्योग स्थापना गर्दै छ । विश्वव्यापी कोरोना भाइरसले धेरै सामग्रीको कारोबारमा गिरावट ल्याइरहँदा चिया निर्यातमा भने कुनै असर परेन । अर्कोतिर रुससहित विश्वबजारमा चियाको माग निकै बढ्न थालेपछि चारदेखि पाँच वटासम्म उद्योग स्थापना गर्ने तयारी रहेको उक्त उद्योगका सञ्चालक बद्री केसीले बताए ।

सुधारोन्मुख चिया निर्यात

‘चालु आर्थिक वर्षबाट नेपालको चिया भारतपछि सबैभन्दा बढी रुसमा निर्यात भएको छ,’ उनले भने, ‘विश्वमै सबैभन्दा बढी चियाको प्रयोग गर्ने मुलुक रसिया भएको र त्यहाँ नेपाली चियाको माग बढ्न थालेकाले हामी थप लगानी र उद्योग विस्तारको गृहकार्यमा जुटेका हौं ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्षसमेत रहेका केसीले सन् २००९ देखि रुससहित विभिन्न देशमा चिया निर्यातको काम गरिरहेका छन् । ‘सुरुमा दुई वर्ष श्रीलंकाका प्राविधिक नेपाल ल्याई चिया प्रशोधन गर्ने काम नेपालीलाई सिकायौं,’ उनले भने, ‘अहिले नेपालीले नै चिया तयार गर्ने काम गर्छन् । वर्षमा तीन लाखदेखि चार लाख किलो चिया उत्पादन गरिरहेका छौं । योसहित अन्य उद्योगबाट खरिद गरेको चिया पनि निर्यात गरिरहेका छौं ।’

रुससहित अन्य मुलुक निर्यात गर्न नेचर हिमालयका लगानीकर्ताको समूहले ‘कुमारी’ ब्रान्ड विश्वबजारमा लिएर हिँडेका छन् । कुमारीजस्तै इलाम फिक्कलको गोर्खा टी इस्टेटले सन् २००९ देखि आफ्नो उत्पादन निरन्तर जर्मनी निर्यात गरिरहेको छ । जर्मनीका १ सय २५ सहरमा ‘सुन्दरपानी’ ब्रान्डमा बिक्ने गरेको छ । कोरोना कहरकै समयमा कम्पनीले साउनदेखि माघभित्र ५ करोड २७ लाख रुपैयाँको अर्थोडक्स चिया जर्मनी निर्यात गर्‍यो । अघिल्लो वर्ष ४ करोड ६५ लाखको चिया जर्मनी पठायो । ‘युरोप, अमेरिकामा माग छ । तर गुणस्तर दिन सकिरहेका छैनौं,’ गोर्खा टी इस्टेटका सञ्चालक उदय चापागाईंले भने ।

नेपाली चियालाई युरोप र अमेरिकामा पहिचान दिने उद्देश्यसहित स्थापित हिमालयन टी प्रोड्युसर कोअपरेटिभ (हिमकोप) का संस्थापक अध्यक्षसमेत रहेका चापागाईंले भने, ‘कुल उत्पादनको करिब ६० प्रतिशत युरोप र जापान निर्यात हुन्छ ।’ नेचर हिमालयन टीले पनि चालु आर्थिक वर्षको सात महिनामा करिब ३ करोडको चिया रुस निर्यात गर्‍यो । ‘युरोपियनहरू स्वास्थ्यप्रति सजग छन्, वैज्ञानिक रूपमा प्रमाणित र स्वस्थकर चियामा उनीहरूको रुचि छ,’ चापागाईंले भने, ‘उच्च पहाडी भेगमा उत्पादित मौलिक स्वादको अर्थोडक्स चियाका पारखी तेस्रो देशमा बढ्न थालेका छन् ।’

हिमकोपका अनुसार रुस, अमेरिका, युरोप र जापान चिया निर्यात गर्ने उद्योगहरू पूर्वमा औंलामा गन्न सकिन्छ । झापाको नेचर हिमालयन र इलामको गोर्खासहित धनकुटाको गुराँसे र जुन टी इस्टेट, पाँचथरको कञ्चनजंघा टी इस्टेट र इलामकै हिमालयन सांग्रिलाले अर्थोडक्स चिया अमेरिका, जर्मनी, जापान, फ्रान्स, क्यानडा, फिनल्यान्ड, चेकोस्लोभाकिया आदि मुलुकमा निर्यात गरिरहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पूर्वी नाकाबाट २ अर्ब ५८ करोड रुपैयाँको चिया निर्यात भएको मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा बताउँछन् । ‘२ अर्ब ५८ करोडमध्ये करिब ९ करोडको चिया तेस्रो मुलुक निर्यात भयो । बाँकी सबै भारत पठाइएको छ,’ उनले भने ।

पछिल्लो महिना चियाको निर्यात उत्साहजनक रूपमा बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । गत आर्थिक वर्षमा खुम्चिएको चियाको निर्यात व्यापार चालु आर्थिक आर्थिक वर्षको सात महिनामा ह्वात्तै बढेको छ । सात महिनामा निर्यात साढे ६३ प्रतिशत बढेको छ । गत एक वर्ष र चालु आर्थिक वर्षको सात महिनाको तुलना गर्दा पनि निर्यात बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा १ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा २ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको छ ।

करिब ८० प्रतिशत भारतमै निर्यात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । बाँकी चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ । पछिल्लो समय रुस र खाडी मुलुकमा पनि निर्यात भइरहेको छ । ‘विगतमा सामान्य गतिमा निर्यात भइरहेको थियो । तर कोभिडपछि निर्यातको आकार बढेको छ,’ बोर्डका प्रवक्ता दीपक खनालले भने, ‘कोभिडको एक–डेढ महिना उत्पादन र प्रशोधनमा असर पर्‍यो, कार्गो/सिपिङमा पनि समस्या भयो । आन्तरिक मौज्दात बढ्यो । तर चार/पाँच महिनायता निर्यात ह्वात्तै बढेको छ ।’

आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब २० करोड ३९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । २०७६/७७ मा भने निर्यात २ अर्ब ७८ करोड २८ लाख रुपैयाँमा खुम्चिएको भन्सार कार्यालयको तथ्यांक छ । अहिले निर्यात पुनः बढेको हो । मुलुकमा मुख्यतः सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ ।

बोर्डका अनुसार सीटीसी चियाको मुख्य बजार भारत हो । नेपाली चिया भारत निर्यात भएपछि उसले आफ्नो ब्रान्ड बनाएर बिक्री गरिरहेको चिया उद्यमीहरूले बताएका छन् । ‘नेपालबाट भारत जान्छ । तर भारतीय व्यवसायीले प्रशोधन अनि रि–प्याकिङ गरी आफ्नो ब्रान्ड राखी पुनः अर्को देश निर्यात गरिरहेका छन्,’ बोर्डका एक अधिकारीले भने, ‘सिधै सम्पर्क गरेर नेपाली व्यवसायीले ससानो परिमाणमा जर्मनी, अमेरिका र जापान पनि पठाउने गरेका छन् ।’ बोर्डका अनुसार पछिल्लो समय सीटीसी चियाको माग नेपालमा पनि बढ्दो छ । अर्थोडक्सको माग भने तेस्रो मुलुकमा बढी छ ।

मुलुकभर मुख्यतः ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुन्छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २७ हजार ७ सय ३२ हेक्टरमा चिया खेती भएको बोर्डको तथ्यांक छ । उक्त क्षेत्रफलबाट २५ हजार २ सय टन चिया उत्पादन भएको थियो । चिया खेतीका लागि सबैभन्दा बढी किसान इलाममा संलग्न छन् । किसानले वार्षिक १० करोड ८० हजार टन हरियो पत्ती उत्पादन गर्छन् । चियाको हरियो पत्ती भने सबैभन्दा बढी झापामा उत्पादन हुने बोर्डले जनाएको छ ।

चिया उच्च निर्यात गर्न सकिने वस्तु भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसलाई तुलनात्मक लाभको वस्तुका रूपमा राखेको छ । तर उत्पादन तथा निर्यात सन्तोषजनक छैन । व्यावसायिक खेती हुन नसक्दा माग भए पनि पर्याप्त मात्रामा उत्पादन र निर्यात हुन सकेको छैन । गुणस्तरीय उत्पादन पनि गर्न सकिएको छैन ।

चिया निर्यातका क्रममा युरोप, अमेरिकालगायत मुलुकमा भन्सार छुटको सुविधा छ । तर त्यसको सदुपयोग हुन नसकेको उद्योगी केसीले बताए । ‘छुटका विषयमा कतिपयलाई जानकारी नै छैन । थाहा पाएका व्यवसायीले पनि छुट लिन धेरै झन्झट पाउने गरेका छन्,’ केसीले भने, ‘त्यसका लागि नेपाल सरकारले जीएसपी प्रमाणपत्र जारी गर्नुपर्छ । भन्सारले छाप लगाइदिनुपर्छ । तर विडम्बना यहाँको छाप पटकपटक परिवर्तन हुन्छ । परिवर्तित छाप युरोपियन युनियनलाई अपडेट गराउनुपर्छ । सिल दाँजेर हेरेपछि सुविधा दिन्छन् । नभए दिँदैन ।’

छुट सुविधाका लागि नेपाल सरकारले आवश्यक गृहकार्य नगरेको उनको गुनासो छ । छुट सुविधा सदुपयोग गर्न सके नेपालले अझै धेरै निर्यात गर्न सक्ने धेरै ठाउँ छ । ‘निर्यातका लागि यहाँ पनि विभिन्न समस्या छन् । विदेशी आएर नेपाली सामान लगेर नेपालकै नाममा ब्रन्डिङ गरिदेलान् भन्ने छैन । हामीले नै काम नगरी हुँदैन,’ उनले भने । नेपाली उत्पादनका लागि सरकारले नै ससाना समस्या सामधान गरिदिनुपर्ने उनको भनाइ छ ।

बोर्डले भने चिया निर्यात बढाउन चीनसँग जीटूजीलगायतका काम भइरहेको जनाएको छ । अर्थोडक्स चिया ब्रान्डिङका लागि चियाको लोगो सार्वजनिक गरिएको बोर्डको भनाइ छ । ‘अन्तर्राष्ट्रिय तहमा पनि लोगो दर्ता गराएका छौं । भारतमा भइसकेको छ । अमेरिकामा हुने क्रममा छ,’ बोर्डका प्रवक्ता खनालले भने, ‘युरोपियन युनियनसँग पनि कूटनीतिक तरिकाले फेरि छलफल बढाइरहेका छौं ।’ करिब दुई वर्षदेखि दूतावासमार्फत कूटनीतिक पहलसमेत थालिएको उनले बताए ।

प्रकाशित : चैत्र ८, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?