कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ब्लग अन्तरदृष्टि

आनन्दको तयारी

घनश्याम खड्का

काठमाडौँ — सुरुमै एउटा प्रश्न, तपाईं यस धर्तीमा आएको कति वर्ष भयो ? बीस ? तीस ? चालीस ? पचास ? कि त्यसभन्दा पनि माथि ? उमेरअनुसार यहाँले संसारको थोरबहुत् अनुभव गर्नु भएकै होला । जीवनका तीतामीठा पलहरुको संग्रहले मन भरिएकै होला । सफलताहरु मिले होलान् । असफलताले अत्याए होलान् ।

आनन्दको तयारी

जीवनको यहाँसम्मको यात्राले धेरै कुरा सिकायो होला । यो सारा मिश्रित अनुभवहरुले जीवनको तस्बिर जस्तो देखाएको छ, त्यसप्रति तपाईंको सन्तुष्टिको मात्रा कति छ ? ज्यादा कि कम ? निश्चय पनि, जीवनको यस घडीमा तपाईं आउने दिनलाई राम्रो पार्ने आसाका फूलहरु उमार्नतिर लागिरहनु भएको होला मनको उद्यानमा ।

मलाई लाग्छ, अरु सबैमा जस्तै तपाईंको हृदयमा पनि जीवनमा अब केही राम्रो होस् भन्ने कामना छ । झनै नराम्रो पो हुने हो कि भन्ने भयले मन अशान्त पनि हुँदो होला कहिलेकहीं । आसा, निरासा जे भए पनि त्यो एक स्वाभाविक अवस्था हो हाम्रो जीवनको । जसरी सुख छ, त्यसरी नै यहाँ दुःख छ । तर पनि, जीवनमा आसाको अन्त्य हुँदैन । केही स्थिर, शान्त र सुन्दर क्षणको पर्खाइमा हृदय तड्पिरहेकै हुन्छ जसको बोध हामीलाई कहिले बढी हुन्छ भने कहिले कम ।

आनन्दित हुन खोज्नु जीवनको स्वभाव हो । आनन्दित जीवन नै सुगन्धित जीवन हो । तर, यहाँनिर के बुझ्नु जरुरी छ भने जीवनमा हर चिजको कारण छ । आनन्द पनि अकारण छैन । जसरी तपाईंका दुःखका कारण छन्, सुखका पनि छन्, आनन्दका पनि छन् । आनन्दित हुन सक्नु, आह्ल्लादित रहन सक्नु र निष्प्रपञ्च जीवनको भोग गर्न सक्नु एक कला हो । कला स्वतःसिद्ध उपलब्ध हुने कुरा होइन, यसमा निपूर्ण हुन एउटा लामो तयारी र गहिरो लगाव चाहिन्छ । खासमा, हर कुराका लागि तयारी चाहिन्छ । त्यसैले मैले भन्ने गरेको छु, तयार हुनुस् ।

तयारी हरेक सफलताको सुरुवाती पाइला हो । जसरी एक किसानले बाली लगाउनु अघि खेतलाई तयार पार्छ, त्यसरी नै मनमा आनन्दको फूल फुलाउनु अघि निश्चित तयारी अनिवार्य छ । बिरुवा रोप्नु अघि वा बिउ छर्नु अघि किसानले खेतको झारहरु उखेल्छ, बाँझो जमिनलाई खन्छ, मल छर्छ र बाली लगाएपछि त्यसलाई सिञ्चन्छ पनि । ठीक यसैगरी, आनन्दको खेती गर्न मनलाई साधाउनु जरुरी छ । कठोरता, क्रूरता र इर्श्याका झारहरु उखेल्नु, करुणाको मल हाल्नु, प्रेमको बिउ रोप्नु र मैत्रीभावले हृदयलाई सिञ्चनु नै आनन्दको बाली स्याहार्नु अघि गर्नु पर्ने एक अनिवार्य तयारी हो ।

जमिनलाई तयार नपारी किसानले बाली लगायो भने के हुन्छ ? बिउ अंकुराउँदैन । अंकुराइहाल्यो भने पनि त्यो स्वस्थ हुँदैन । रोगाएर केही बोट ठूलो होलान्, तर तिनले कुनै गतिलो फसल दिँदैनन् । आनन्दको मामिला पनि ठीक यस्तै छ । मनलाई तयार नपारेसम्म, यसलाई नसधाएसम्म जतिसुकै हत्ते हाले पनि जीवनमा कुनै सुगन्ध आउनेवाला छैन । कथंकदाचित सुखको केही मलिन अनुभव भइहाल्यो भने पनि त्यो क्षणभरका लागि मात्रै हुनेछ । नित्य निरन्तर सुखको वर्षा जीवनमा गराउने भए यसका लागि तयारी गर्न पर्छ पर्छ । हृदयलाई तयार पार्नुबाहेक आनन्दको लोकसम्म पुग्ने अरु कुनै बाटो छैन ।

संसारको नियम के भने, नराम्रो हुन केही तयारी गरिरहन पर्देन । कति स्याहार गर्दा पनि बाली उकास्न गाह्रो छ । तर, झार बिना कसैको मद्दत जमिनमा मौलाइरहेको हुन्छ । जीवनमा जति पनि वेदनाहरु छन्, ती बिना प्रयत्नै फैलिएका झारजस्तै हुन् । बाली लगाउनुअघि यसलाई उखेल्नु जरुरी भएजस्तो आनन्दको फूल फुलाउन पनि मनबाट बेदनाको झार उखेल्नै पर्छ । वेदनाको झार उखेल्नु भनेको दुःखका प्रत्येक कारणहरुलाई हटाउनु हो । जसरी पुराना झार र बुट्यानको जरा ज्यादा गहिरो हुनाले एकैपटक उखेल्न गाह्रो हुन्छ, त्यसरी नै दुःखप्रतिको हाम्रो लगानी वर्षौंको भएकाले यसलाई तत् क्षणै हटाउन मुस्किल पर्छ ।

झार उखेल्नु अघि झार के हो र फूल के हो भन्ने जान्नु जरुरी छ, दुःखका कारणहरु नास गर्नु अघि तिनलाई चिन्नु जरुरी छ । कुनै कुरा चिन्नु भनेको पूर्ण एकाग्रताका साथ त्यसप्रति दृष्टि लगाउनु हो । निदाएका बेला आँखा भए पनि हेर्न सकिँदैन, एकाग्रता नपुगेको बेला पनि त्यस्तै हो, कोही मानिस आँखै अगाडिबाट गुज्रिए पनि त्यो को थियो हेक्का हुँदैन, कसैले जतिसुकै प्रिय वचन बोले पनि त्यो कानले समात्न सक्दैन, एकाग्रता छैन भने ।

एकाग्रता नहुनुको अर्थ हो मन बराल्लिनु । बराल्लिएको मनले चरा उड्नुको हलुकोपन देख्न सक्दैन, फूल फुल्नको सौन्दर्य जान्न सक्दैन । मोहनीको स्वर्गमै पुगे पनि बराल्लिएको मन छ भने यसलाई आनन्दको रसपान गर्न आउँदैन । बराल्लिएको मन त, कि बितेका कुरामा रुमल्लिए बस्छ कि आउने दिनको तयारीमा लागिरहन्छ । यस उपक्रममा यस क्षणमा भएका घटनाहरुबाट यो विमुख रहन्छ । त्यसैले तयारीको पहिलो सर्त हो, बरालिएको मनलाई होसपूर्वक नियाल्ने ।

तपाईं जति मनलाई नियाल्नुहुन्छ, एकाग्रता उति बढेर जान्छ । एकाग्रता जति बढेर आउँछ, वेदना उति पातल्लिँदै जान्छ । दुःखका कारणहरु दुष्टिगोचर हुँदै जान्छन् र त्यसको क्षय पनि त्यसरी नै हुँदै जान्छ । त्यसैले, होस् बढाउनुस्, मनलाई नियाल्नुस् । जे गरिरहनु भएको छ, जहाँ हुनुहुन्छ, त्यसप्रति सचेत हुनुस् । हृदयको धड्कनलाई सुन्नुस्, केही क्षण आँखा चिम्लनुस् । मस्तिष्कमा उठ्दै फुट्दै गरेका विचारका फोकाहरुलाई हेर्नुस् । त्यसपछि तपाईंलाई बोध हुनेछ, अन्तर्दृष्टि जति गाढा भयो आनन्द पनि त्यही मात्रामा आउँछ । अब हामी एउटा निश्चित अन्तरालमा यसै मञ्चमार्फत हामी आनन्दका सहस्र बाटाहरुका बारेमा चर्चा गर्ने छौं । त्यतिञ्जेल, यहाँको अन्तः दृष्टि थप चखिलो बनिसकोस् र आनन्दको रसले हृदय सिञ्चित होस् ।

प्रकाशित : आश्विन १२, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?