२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भोटेकोसीको छालसँगै गर्मी छल्दा...

विद्या राई

काठमाडौँ — छालसँग ठोक्किँदै गर्मी छल्नुको मजा नै बेग्लै ! र्‍याफ्टिङ गर्दै यो रहर पूरा गर्न म पनि भोटेकोसी हानिएँ । बिहान साढे १० बजेतिर बलेफि बजार मास्तिर पर्ने भोटेकोसी किनारबाट र्‍याफ्टिङ सुरू हुने तयारी हुँदै थियो । शनिबार (सार्वजनिक बिदाको दिन) परेकाले र्‍याफ्टिङ गर्न पुगेकाहरूको भिडभाड बाक्लै थियो । 

भोटेकोसीको छालसँगै गर्मी छल्दा...

शरीरमा लाइफ ज्याकेट, टाउकोमा हेलमेट लगाएर र हातमा प्याडल लिएकाहरू र्‍याफ्टिङ गर्न निकै हतारिएका थिए । त्यही भिडमा थिए म रहरिया पनि । एकैछिनमा गाइड आइपुगे । सबैलाई गोलाकार उभिन लगाएर ‘सेफ्टी’ बारे ‘ब्रिफिङ’ दिन थाले । र्‍याफ्टिङ गर्दा पानीमा गर्न मिल्ने र नमिल्ने नियम बताउन थाले । र्‍याफ्टिङ डुंगामा बस्ने, ‘प्याडलिङ’ अर्थात् डुंगा खियाउने र डुंगा पल्टिहाले वा डुंगाबाट खसिहाले एकअर्कोलाई उद्धार गर्ने तरिका सिकाउन थाले ।

एकछिन अघिसम्म हल्लाखल्ला मच्याइरहेको भिडमा एकाएक सन्नाटा छायो । यस्तै डर भएको थिए म, तीन वर्षअघि त्रिशुलीमा र्‍याफ्टिङ गर्न गएको बेला । उतिखेर हामी भन्दा अघिको डुंगा छालमा घोप्टिएर ६ जना छालभित्र हराएका थिए । डुंगा खियाउनै बिर्सेर म अतालिएको थिए । तर खुसीको कुरा छालभित्र हराएकाहरूले लाइफलाइन अर्थात डुंगाको डोरीमा समातेका रहेछन्, गाइडले एकएक गर्दै उद्धार गरेका थिए । मैले अकस्मात यो घटना सम्झिए । अलिकति मनमा आएको डरको भावलाई मनमनै हटाउने प्रयत्न गरेँ ।

हरेक डुंगामा १० जनालाई राखेर गाइडहरू भोटेकोसीको बहाबसँगै अघि बढ्न थाले । मेरो पालो आयो । म चड्ने डुंगामा गाइडले एक एक गर्दै ‘सेफ्टिी चेक’ गर्दै डुंगामा बसाए । म तेस्रो लहरमा बसेँ । बलेफीदेखि टुनिबोटेसम्मको करिब आठ किमिको जलयात्रा सुरू भयो । एकपछि अर्को गर्दै पालैपालो डुंगाहरू आइरहेका थिए । मानौं, भोटेकोसी र्‍याफ्टिङवाला डुंगा नै डुंगाले भरिएको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै तंग्रिन थालेको छ ।

भोटेकोसीको छालैछालमाथि डुंगा खियाउदै जाँदा कतिबेला ठूला ढुंगामा ठोक्किन पुगिन्थ्यो पत्तै हुन्थेन । पुरै शरीर भिज्नेगरी छाल ठोक्किन आउँदा काठमाडौंदेखि सुकुटेसम्मको गर्मी एकफेरमै सेलाउथ्यो । भोटेकोसीमा र्‍याफ्टिङ गर्नुको विशेषता नै हुन् यी । डुंगा ठूला ढुंगामा ठोक्किन खोज्यो की गाइडले ‘स्टप’ भन्थे । यतिबेला डुंगा खियाउन छोड्नुपर्छ । तर डुंगा ठोक्किदा उछिट्टिएर भोटेकोसीमा खसिएला भन्ने डरले मैले चाहि लाइफलाइन अर्थात डुंगाको डोरीमा समातिसकेको हुन्थेँ । डुंगाहरू अघिपछि गर्दै अघि बढ्दा एकअर्को डुंगामा सयर गरिरहेका हामी जलयात्रीहरू पानीले छ्यापाछ्याप गर्‍थ्यौं । गर्मी भगाउने गजबको आइडिया लाग्यो मलाई । किनकी सबै जलयात्रीलाई निथ्रूक्क भिजाउन छालले मात्रै भ्याउदैन थियो । डुंगाको अघिल्लो लहरमा बसेकालाई छालले जति हिर्काउथ्यो, पछिल्लो लहरहरूमा कमै हिर्काउँछ ।

भोटेकोसीमा र्‍याफ्टिङ गर्ने रहर झण्डै तीन वर्षपछि पूरा हुदैथ्यो । तर सोचेजस्तो पक्कै थिएन । तस्बिरहरूमा हेर्दा सफा, निलो, कञ्चन पानीमाथिको शयरले लोभिएको थिए । म पुग्दा पानी धमिलो थियो । मैले यसबारे गाइडहरूसँग जिज्ञासा राखेको थिए । नदीमा बढेको क्रसर उद्योगले पछिल्लो वर्ष भोटेकोसी धमिलिन थालेको बताए । यो कुराले म दुःखी भएँ । डुंगामा सवार गरिरहेका साथीहरू अघिदेखि पौडी खेल्ने रहर गर्दै थिए । उनीहरूले पाइडललाई नदीमा गाडेर पानीको गहिराई नाप्न थालिसकेका थिए । खासै गहिराइ रहेनछ । तर गाइडले उनीहरूलाई पौडन दिएनन् । एक त ठूला ठूला ढुंगाहरूमा च्यापिने, ठोक्किने डर हुँदो रहेछ भने भोटेकोसी किनारैकिनार बढेका रिसोर्ट र पर्यटकहरूले सिसा, फलामजस्ता फोहोरपदार्थ नदीमै फालिदिने रहेछन्, तिनले घोच्ने जोखिम हुने भएकाले पौडि खेल्न नदिएका रहेछन् ।

गन्तव्यस्थल टुनिबोटे पुग्ने बेला बल्ल पौडने अनुमति आयो । म भने भोटेकोसीको धमिलो पानी देखेर सिकसिक मानिरहेको थिएँ । यसअघि नदीमा पौडी खेलेको अनुभव पनि थिएन । डर लागिरहेको थियो । तर सबै साथीहरू पौडन तयार भएपछि मैले पनि आँट गरेँ । लाइफलाइन समातेर भोटेकोसीमा फाल हान्यौं । जिउ हुत्तिएर पानीमा डुब्दा अत्तालिएँ । लाइफज्याकेटले धेरैबेर डुब्‍नबाट जोगाउथ्यो । म लाइफलाइन समातेरै पौडिएँ । बलेफीदेखि सुरू भएको जलयात्रा झण्डै एकघण्टापछि गन्तव्यमा पुग्यो ।

अन्धाधुन्दा क्रसर उद्योग सञ्चालनले धमिलिएको नदी र जथाभावी फालिने फोहोरले भोटेकोसीमा र्‍याफ्टिङ गर्ने पहिल्यैदेखिको जुन उत्साह थियो, त्यति रमाइलो त पक्कै रहेन । तर भोटेकोसीका ठूल्ठूला छालहरूसँगै गर्मी छल्न पाउँदा खुसी नहुने कुरै भएन ।

प्रकाशित : वैशाख ३, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?