कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लैङ्गिक हिंसामा दलीय ओ‌त

लैङ्गिक वा अन्य कुनै पनि प्रकारको हिंसामा मुछिएका सार्वजनिक व्यक्तिलाई राजनीतिक दलले संरक्षण गर्नु गलत अभ्यास हो ।
कमला पन्थी

काठमाडौँ — स्थानीय निर्वाचनले मुलुकभरको माहौल तातेको छ । सबै राजनीतिक दल र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएर जनताको घर दैलोमा‌ भोट माग्न समेत पुगिसकेका छन् ।  यसक्रममा कुन उम्मेदवार कस्तो हो कुन दलले कस्तो मान्छेलाई अघि सार्‍यो भन्ने चर्चा र परिचर्चा पनि व्यापकै छ।

लैङ्गिक हिंसामा दलीय ओ‌त


यस्तै चर्चामा रहेका उम्मेदवार मध्येका एक हुन्- काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित । उनी यस भन्दा अगाडि पनि 'मीटू´ को केसमा नाम जोडिएर निकै चर्चामा आएका व्यक्ति हुन् । यस्तो केसमा जोडिएका उनी मात्र होइन उनी जस्तै अन्य धेरै व्यक्ति हाम्रो समाजमा छन् तर चर्चामा आएका छैनन् । सार्वजनिक रूपमा चिनिएका छैनन् । कति चाहिँ चिनिएर पनि बेवास्ता गरिएको छ ।

लैङ्गिक वा अन्य कुनै पनि प्रकारको हिंसामा मुछिएका सार्वजनिक व्यक्तिलाई राजनीतिक दलले संरक्षण गर्नु गलत अभ्यास हो ।यसभन्दा अगाडिका निर्वाचनमा यस्ता कार्य भएका छन् । जघन्य अपराधको मुद्दामा जोडिएका व्यक्ति ओखलढुङ्गाका बालकृष्ण ढुंगेल माओवादीबाट २०६४ सालको संविधान सभा चुनावमा सभासद् नै बने । जो पछि अदालतबाट दोषी किटान भई जेल समेत बसे । कांग्रेसका मोहम्मद अफ्ताव आलम अहिले पनि जेलमा छन् । दलहरुले यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिहरुलाई बोकेर हिड्ने हो भने नेपालमा राजनीतिक शुद्धिकरण कहिले पनि सम्भव छैन।

लैङ्गिक हिंसा पुरूष मात्र होईन महिलाले पनि गरिरहेका छन् । हामीले देखेका र आफन्तलाई‌ परेका घटना हेर्दा र देख्दा पनि महसुस गर्न सकिन्छ । यस्ता सबै घटनाहरु उजुरीमै जान्छन् र मुद्दा ‌नै चल्छ भन्ने पनि छैन ।

यस्तै एउटा घटना म यहाँ जोड्न चाहन्छु- यो मेरो एक जना नजिकको दिदीसँग जोडिएको घटना हो‌ । उहाँले मसँग सहयोग ‌माग्न आउनुभएको थियो। त्यो बेला उहाँ निकै पीडा र तनावमा हुनुहुन्थ्यो । उहाँका श्रीमान सार्वजनिक व्यक्तित्व भएका रहेछन् । श्रीमान निकै ब्यस्त रहने र परिवारको लागि कहिले पनि समय मिलाउन‌नसक्ने रहेछन् । त्यो ब्यस्ततालाई श्रीमतीले सहजै स्विकारेकी थिइन् । आफू नै भ्याइ नभ्याई अफिस, घर, परिवार र बच्चाको जिम्मेवारी र समाजको जिम्मेवारीलाई हाँसी हाँसी स्विकारेकी थिइन् । यसरी समय बितिरहेको थियो । हप्ताको एक दिन शनिबार र कहिलेकाहीँ मिल्ने समयको खुसी उनीहरुको लागि निकै महत्वपूर्ण थियो । एक सन्तान मै चित्त बुझाएर खुसी जीवन बिताइरहेका थिए । तर विस्तारै श्रीमानले घर परिवारलाई कम समय दिन थाले । अफिस समय सकिएर हतार सिधै घरमा आउने उनी साथीहरुसँग बर्थडे, नयाँ वर्ष, भ्यालेन्टाइन डे जस्ता समारोहमा रमाउन थाले। दिनहुँ जसो एउटा एउटा समारोहमा सहभागी हुन जाने भन्दै घरमा खाना नै खान छोड्न थाले। बिस्तारै उनको लागि घरमा खाना नै पाक्न छोड्यो । कहिलेकाहीँ फोनमा बोल्दै घर भित्र छिर्थे त कहिले गफ‌ गरेर घन्टौं बिताउँथे । यसो हुँदा बच्चाको निन्द्रा डिस्टर्ब हुन्थ्यो । निन्द्रामा ब्यूँझिएर झगडा गर्ने हुँदा उनी अर्को कोठामा गएर सुत्न थाले । फोनमा गफ गरेर घन्टौं बिताउन थाले। हुँदा हुँदै श्रीमान् श्रीमतीको कोठा र बेडरूम नै अलग हुन थाल्यो । हप्ताको एक दिन शनिबार पनि साथीहरुसँग फिल्म र नाट्यघरमा रमाउन थाले । बिस्तारै उनीसँग परिवारका लागि दिने समय नै नहुन थाल्यो । उनकी प्रिय केटी साथीको हरेक समस्या उनको समस्या हुन थाल्यो । उनको फोन,म्यासेज आउनासाथ घरबाट हिड्न थाले ।

उनीहरु एक अर्कासँग अत्यन्तै निकट हुन थाले। बिस्तारै उनले परिवारलाई नै ‌बिर्सन थाले । घर नै आउन छाडे । एक दिन, दुई दिन हुँदा हुँदै महिनौं बित्न थाल्यो । उनीहरुको सम्बन्ध अत्यन्तै निकट हुँदै गएको महसुस श्रीमतीलाई हुन थाल्यो । कहिलेकाहीँ उनीहरुका कुरा र म्यासेज असहज लाग्न थाल्यो । ती दिदीलाई बिस्तारै श्रीमान टाढा टाढा भएको महसुस हुनथाल्यो । उनलाई आफू असुक्षित महसुस हुन थाल्यो। खुलेर कुरा गरौं जस्तो धेरै पटक लाग्यो सुरुमा कुरा गरिनन् । तर श्रीमान अफ्नो परिवार नै भुलेर रमाउन थालेपछि ठूलो हिम्मत जुटाइन् र ती अर्की महिलासँगको सम्बन्धबारे कुरा श्रीमानसँग कुरा गरिन् । श्रीमतीले कुरा गर्दा श्रीमानले हाँसेर टारिदिए। त्यसपछि सहनै नसकेर उनी सहारा खोज्दै मसँग परामर्श लिन आएकी थिइन् । तपाईं त सँगै काम गर्नु हुन्छ, सञ्चारिकामा हुनुहुन्छ यो मेरो कुरा पीडा ती व्यक्तिलाई मिलाएर सम्झाइदिएर, मलाई सहयोग गर्न आग्रह गरिन् । मैले 'तपाईं आँफै कुरा गर्नु न भनें त्यसपछि उनले एकदिन श्रीमानकी ती केटी साथीको फोन अचानक उठाएर कुरा गरेकी रहिछन् ।

उनले सबै कुरा ती महिलालाई भनिछन् । ती महिलाले प्रतिउत्तर दिइछन्- 'तिम्रो बुढा मसँग रमाउँछ त म के गरूँ ।' यो लैङ्गिक हिंसाको एउटा उदाहरण हो । यसमा समाजमा यस्ता हिंसा कति भइरहेको छ यो डकुमेन्टेसन छैन तर कसैले भोगेको पीडा त हो नि त्यसैले हरेक हिंसा उजुरीमा जादैनन् । तर यस्ता हिंसा गर्ने पुरुष वा महिला कसैलाई पनि कुनै पनि राजनीतिक दलले समर्थन र संरक्षण गर्नु भनेको महिला हिंसा गर्नेलाई प्रोत्साहन गर्नु हो ।

यस्ता प्रकारको हिंसाको प्रतिकार भनेको जसलाई जोबाट हिंसाको महसुस भएको छ त्यो व्यक्तिलाई तिम्रो यो व्यवहारले मलाई पीडा भयो भनेर अभिव्यक्ति दिनु हो । जसले गर्ने व्यवहारले वा गरेको कार्यले हिंसा भएको महसुस भएको छ त्यो व्यवहार थाहा पाए‌पछि रोक्नु हो । हाम्रो समाजले कहिलेकाहीँ यस्ता विषयलाई सामान्य तरिकाले हेरेको देखिन्छ । अझ पुरूषले गर्ने यस्ता कार्य सामान्य रूपमा लिने गरिन्छ । यसले अर्को व्यक्तिलाई नराम्रो तरिकाले असर गरेको छ भनेर आंकलन समेत गरिदैंन जुन अरुको लागि हानिकारक हो । समाजका लागि हानिकारक हो ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार ७०% उजुरी लैङ्गिक हिंसाका छन्। कति यस्तो प्रकारको हिंसा मा उजुरी नै पर्दैनन् । तर समाजमा लैङ्गिक हिंसा विभिन्न माध्यमबाट भईरहेको छ । ४०% उजुरी घरेलु हिंसाका छन् यस्ता हिंसाबाट प्रताडित हुनेमा महिला नै छन् त्यसैले यस्ता हिंसा अन्त्य गर्नु तपाईं हाम्रो सबैको भूमिका हुन्छ।


प्रकाशित : वैशाख १७, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?