विराटनगर — आइतबार राति निर्वाचन आयोगबाट उम्मेदवार नामावलीको सूचीमा ९४ वर्षीय उम्मेदवारको विवरण भेटियो । ती थिए, मोरङको सीमावर्ती जहदा गाउँपालिका ७ को वडा सदस्यमा उम्मेदवारी दिएका ९४ वर्षीय सूर्यकुमार मण्डल । यो सूचना पढ्नासाथ दिमाग चल्यो, ओहो यस्तो पाको उमेरमा पनि वडा सदस्य पदको उम्मेदवार । यो त गज्जबको समाचारको विषय पो हो त !
कति बेला उज्यालो हुन्छ र ती वृद्ध उम्मेदवारलाई भेट्न जाउँला भनेर रात गुजारें । सोमबार झिसमिसेमा ब्युझिँदा सिमसिम पानी पर्दै थियो । वैशाख-जेठको पानीमा भिज्दा केही पनि हुँदैन भनेर आफैंलाई सम्झाएँ । मोटरसाइकल स्टार्ट गरेर विराटनगर एयरपोर्ट लाइनबाट करिब १२ किलोमिटर दक्षिण-पूर्वको जहदा सोझिएँ ।
सिमसिम पानी परिरहेकै थियो । विराटनगरको हाटखोलासम्म सडक राम्रै थियो । सिंघीया खोला तरेपछि कटहरी गाउँपालिका टेकियो । सडकका खाल्डामा पानी जमेको थियो । तिनलाई बेवास्ता गर्दै अगाडि बढेँ । किनभने मलाई भेट्नु थियो, सम्भवतः नेपालकै पाका उमेरका उम्मेदवार । ती ज्येष्ठ नागरिक कस्ता होलान् ? किन बुढ्यौली लागिसकेपछि पनि उम्मेदवारी दिएका होलान् ? उनी लाठी टेकेर घर-घर पुगेर भोट माग्दै होलान् कि ? आफ्ना छोरा, नाती र पनातीलाई भोट माग्न गाउँमा खटाएका होलान् ? यस्तो उमेरमा चुनाव जितिहाले के गर्लान् भन्ने मेरो मनले आफैंलाई प्रश्न सोधिरहेको थियो ।
कटहरी चोकमा पुगेर दक्षिणतर्फ सोझिएँ । पानी निकै दर्कियो । केही क्षण चिया पसलमा ओत लागेँ । वर्षा रोकिएपछि पुनः जहदातिर हुइँकिएँ । लक्ष्मनीया चोक पुगे । त्यहाँको एक चिया पसलमा चिया गफमा व्यस्त शिवकुमार साह र भोला साहसँग चिनजान गरे । अनि कुरो तिनै वृद्ध उम्मेदवारको निकालेँ । उनीहरूले जहदा-७ बाट नेपाली कांग्रेसका सूर्यकुमार मण्डलले वडा सदस्यमा उम्मेदवारी दिएको पक्कै हो भने तर उमेर चाहीँ त्यति धेरै भएको पक्कै होइन भने । सुरुमा त मैले उनीहरूको कुरा पत्याइनँ । किनभने निर्वाचन आयोगको तथ्यांक मैले दोहोर्याएर हेरेको थिएँ । उनीहरूले ढिपी गर्दै भने, ‘उनी त्यति बुढो मान्छे हुँदै हैनन् । एक जनाले त भने पनि, ‘मा कसम हाम्रो गाउँमा त्यत्रो उमेरको वृद्ध मान्छे स्थानीय निर्वाचनको उम्मेदवार नै छैन ।’
म आफ्नो अडानमा टसको मस भइनँ । उनीहरूसँगै सोधेर सूर्यनारायण मण्डलको घर जाने बाटो सोधेँ । ठिक ६ किलोमिटर दक्षिण गएपछि सडकभन्दा पश्चिमतिर एउटा मन्दिर बन्दै रहेछ । त्यहाँबाट एक किलोमिटर पूर्व महादेवकोल भन्ने बस्तीमा उनको घर रहेछ ।
महादेवकोल पुगेपछि स्थानीयले सूर्यकुमार मण्डलको घर देखाइदिए । घरमा पुगेँ र नास्ता खाँदै गरेका एक पुरुषलाई सोधेँ- सूर्यकुमार मण्डल को हुनुहुन्छ ।
उनले भने, ‘म नै हुँ त ।’
त्यसपछि मेरो दिमागले भन्यो लक्ष्मनीया चोकका शिव र भोलाले भनेको ठिकै रहेछ ।
उनले वडा सदस्यमा उम्मेदवारी दिएको पनि हो रहेछ । तर‚ उमेर भने निर्वाचन आयोगले ईन्ट्री गरेजस्तो ९४ होइन रहेछ । मैले अविश्वास गरिराखे पनि उनले नागरिकता नै बोकेर ल्याए । त्यसमा उनले २० वर्षको उमेरमा २०३६ सालमा नागरिकता लिएको विवरण थियो । जसअनुसार त उनको उमेर जम्मा ६३ वर्ष हुनुपर्थ्यो ।
मैले अविश्वासको नजरले हेरे पनि उनी झर्किएजस्तो गरे । मैले सोधें- कतै तपाईंले उम्मेदवारी दर्ता गराउँदा उमेर ९४ वर्ष भनेर त लेख्नुभएन ? उनले मेरो प्रश्न नकारेर कर्मचारीले गल्ती गरेको हुनसक्ने बताए ।
स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा पनि मैले यो विषयमा बुझबुझारथ गरेँ । अचम्म त के रहेछ भने निर्वाचन अधिकृत कार्यालयका कर्मचारीले उनको उमेर ९४ वर्ष नै लेखेर कम्युटरमा ईन्ट्री भएको बताए ।
यो कुरा सुनाएपछि सूर्यकुमार छक्कै परे । उनले भने, ‘म आजै निर्वाचन अधिकृतको कार्यालय गएर सच्याइहाल्छु ।’ निर्वाचन आयोगको गलत सूचनाले एक सञ्चारकर्मीले पाएको दुःखको ज्वलन्त उदाहरण हो यो ।
प्रकाशित : वैशाख १९, २०७९ १७:२९