कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मन’ सँगै दौडिएको मन

गोविन्द पोखरेल

काठमाडौँ — जन्म–मृत्युका परिभाषा र आयामबारे व्याख्या गर्ने ल्याकत म राख्दिनँ । यो भने थाहा छ कि म जन्मेको हुँ र अवश्य मर्ने पनि छु । तर सामाजिक प्राणी भएका कारण पनि होला, हामी शाश्वत सत्यलाई पनि आफूअनुकूल हेर्दै व्यवहार गर्दा रहेछौं । अर्थात् जन्मँदा खुसी, मर्दा दुःखी । 

‘मन’ सँगै दौडिएको मन

मनकुमार धमला सर जन्मँदा पनि उहाँका आफन्त पक्कै खुसी भए । समयसँगै उहाँको सम्बन्धको घेरा यति फैलियो कि त्यसभित्र हामी पनि पर्‌यौं। जसको एउटा प्रमुख कारण हो, उहाँको नामअनुसारको काम । मनजस्तै फराकिलो उहाँको स्वभाव पनि । तर झन्डै ३ महिनाअघि यो फैलावटमा पूर्णविराम लाग्यो । सर कुनै शान्त लोकमा प्रस्थान गर्नुभयाे तर उहाँको परिवार र उहाँको त्यही फराकिलाे घेराभित्र अटाएका तमाम व्यक्तिहरूको मन अशान्त बन्यो, रोयो ।

उही ‘मन’ अर्थात् धमला सरलाई सम्झेर मेरो मन यस लेखमा दौडिन खोजेको छ ।

०००

इकोलोजीको कक्षामा एक पटक हाम्रो कक्षामा साह्रै हल्ला भएको थियो । एक साथीले सुरु गरेको हल्लामा अरूका हल्ला पनि मिसिए । मन सरको कक्षा थियो । उहाँले इकोलोजीकै भाषामा ती साथीलाई साेध्नुभयाे, 'तपाईं अल्फा मेल' हो ? साथी चुप । अनि प्रश्न अरू विद्यार्थीमाथि बर्सियो, 'अल्फा मेल' भनेको के हो थाहा छ ? कसैले जवाफ दिन सकेनन् ।

बाँदरलगायत प्रिमेट्स प्रजातिका जीवहरूको झुन्डमाझ एउटा कुनै सबैभन्दा ठूलो हुन्छ । त्यसैले सबैलाई कमान्डिङ गर्छ । उसले भनेको कुरा समूहमा भएका अरू जनावरले पनि मान्नुपर्ने । ऊ त्यो झुन्डको एक किसिमले 'राजा' नै हो । त्यही नाइकेलाई 'अल्फा मेल' भनिँदो रहेछ ।

ती साथी धेरै हल्ला गर्ने, शिक्षकहरुसँग आफू मात्रै प्रश्‍न गर्ने र अन्य साथीहरुलाई सोध्ने मौका नदिँदा धमला सरले 'अल्फा मेल' को संज्ञा दिनुभएको थियो । उहाँ विद्यार्थीहरुलाई विषयवस्तुभित्रै रहेर यस्तै रोचक उदाहरणहरुमार्फत सहज तरिकाले बुझाइदिनुहुन्थ्यो ।

०००

स्नातकोत्तर अध्ययनका लागि गोल्डनगेट कलेज आइपुगेको थिएँ म । कलेजको पहिलो दिन । सोधखोज गर्दै वातावरण विभाग पुग्दा आँखा पुग्यो- फ्रेन्च कट दाह्री, हल्का लामो कपाल, त्यसमाथि क्याप टोपी लगाएर कुर्सीमा बसिरहेको पातलो शरीरमाथि ।

‘मनकुमार धमला सर कहाँ हुनुहुन्छ ?’ प्रश्न खस्नेबित्तिकै मन्द मुस्कान छर्दै सामुन्नेको उही व्यक्तिबाट जवाफ आयो, ‘तपाईंले खोज्नु भएको मान्छे मै हो, भन्नुहोस् के काम छ ?’ मैले स्नातकोत्तर तहसम्बन्धी आफूले जान्न चाहेका जिज्ञासा राखेँ । उहाँले बिनाझन्झट सबै कुरा सहजै बताइदिनुभयो । सरसँगको पहिलो भेट नै मेरो स्मृतिमा अमिट बनेर बस्यो ।

उहाँ तीनकुनेमा बस्नुहुन्थ्यो । कोठासम्म पुग्न सफा ट्याम्पो चढ्दा कहिलेकाहीँ हामी सँगै पर्थ्यौं । ‘सर, मोटरसाइकलमा चढ्नुहुन्न नि किन ?,’ प्रोफेसरजस्तो व्यक्तिलाई मोटरसाइकल चढ्न त समस्या छैन होला भन्ने सोचेर एक दिन सोधें। उताबाट सुन्दा आदर्श लाग्ने तर व्यावहारिक जवाफ पाएँ, ‘इन्भारोन्मेन्टलिस्ट भएर पनि इन्धन र डिजेलबाट चल्ने सवारी कसरी प्रयोग गर्नू ? अब विस्तारै विद्युतीय सवारी चढ्नुपर्ला ।’

संगत बढ्दै जाँदा थाहा हुँदै गयो कि उहाँमा विद्यार्थीहरुलाई सधैं जागरूक बनाइराख्ने गज्जबको क्षमता थियो । राम्रो कामलाई तारिफ, एकेडेमिक रिसर्चमा सहयोग, आवश्यक विवरण/तथ्यांक उपलब्ध गराइदिन सहजीकरण गरिदिन सधैं अघि सर्नुहुन्थ्यो । यस्तै स्वभावले धमला सर सदैव विद्यार्थीहरुको केन्द्रमा रहनुभयो । उहाँको क्रियाशीलता हामी सबैका लागि उत्प्रेरक थियो/छ ।

‘वातावरण विज्ञान अध्ययन गर्नेलाई किताबी ज्ञानले मात्रै पुग्दैन । फिल्डमा पुग्ने, तथ्यांक संकलन गर्ने अनि पेपर वर्क (अनुसन्धान कृति) लेख्नुपर्छ,’ यी र यस्ता प्रेरणा वचन नसुन्ने त्यस कक्षामा सायदै कोही थिए हाेलान् । अनुसन्धान र विज्ञान क्षेत्रमा कुनै नयाँ तथ्य प्रतिपादन भए हामीलाई सुनाइहाल्नु हुन्थ्यो । खेलकुद र समसामयिक विषयवस्तुमा पनि अधिक चासो थियो उहाँलाई ।

त्रिवि केन्द्रीय वातावरण विभागमा स्थायी रुपमा उपप्राध्यापक हुनुअघि नै उहाँ गोल्डेनगेटमा पढाउनुहुन्थ्यो । बिहानै गोल्डेनगेट आउने, पढाउने अनि १० बजे त्रिवि पुगिसक्नुहुन्थ्यो । म उहाँसँग वातावरण र विज्ञान क्षेत्रका विविध पक्षबारे छलफल गरिरहन्थेँ । यस्तो छलफलबाट कतिपटक समाचारका विषयवस्तुसमेत पाएको थिएँ । विज्ञान र वातावरणसम्बन्धी प्रकाशित मेरा लेख, समाचारहरु पढेर धेरैपटक ‘फिडब्याक’ पनि मिलेको छ । उहाँकै प्रेरणाले राष्ट्रिय-अन्तर्राष्ट्रिय जर्नलमा छापिएका अनुसन्धानात्मक लेख, अनुभव र कृति पढ्ने कोसिस गर्छु ।

०००

प्रकाश अर्याल (वातावरण विज्ञान विभाग प्रमुख, गोल्डनगेट) सर र धमला सर साह्रै मिल्ने । स्नातक अध्ययन गर्दादेखिको हो उहाँहरुको दोस्ती । अर्याल सरका नजरमा धमला सरको स्वभाव अन्तर्मुखी थियो, आइपरेका समस्याहरु आफैं समाधान गर्ने तर अरुलाई नसुनाउने ।

चिनजान र साथी–सर्कल धेरै भए पनि लामो समयसम्म गफिन र हाँसोमजाक गर्न दुवैले एकअर्कालाई रोज्ने गर्थे । कलेजमा होस् या रंग दाइको चियापसल, उहाँहरुबीचको रिसर्चसम्बन्धी छलफल सुन्न म,किरण,हरिबोललगायत अन्य साथीहरु वरिपरि झुम्मिरहन्थ्यौं । अनुसन्धानात्मक भ्रमणमा उहाँहरुको उपस्थिती अनिवार्य हुन्थ्यो ।

०००

कोरोना महामारीका कारण कलेजहरु बन्द भए । कक्षा अनलाइनबाटै लिन थालियो । लकडाउनका कारण सबै जना घरमै खुम्चिएपछि विभिन्न संघ, संस्था एवं निजी कम्पनीका कामसमेत घरबाटै हुन थाले । सबै साथी–सर्कल आ–आफ्ना काममा व्यस्त भए पनि म भने धमला सरसँग सम्पर्कमै रहें । उहाँ मेरो थेसिसको सुपरभाइजर रहनुभएकोले पनि फिल्ड जाने र तथ्यांक संकलन गर्नेबारे निरन्तर संवाद भइरहेको थियो । यसका अलवा सरसँगै मिलेर हामीले एक रिसर्च आर्टिकल पनि लेख्यौं, जुन प्रकाशोन्मुख छ ।

यहीबीच तेस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन भयो । कलेज आउने बहाना मिल्यो । सरहरुसँग भेट्ने अवसर पनि पाइयो । त्यसपछि थेसिसका बाँकी कामहरु गर्न धमला सरसँग अनुसन्धानमूलक संस्था क्यारोन/इन्प्रोक्सको कार्यालयमा भेट बाक्लियो । यो अर्याल सरको संस्था थियो । घन्टौंसम्म अनुसन्धानात्मक कृतिबारे बहस र विश्लेषण गर्दै चिया पिएर हामी छुट्टिन्थ्यौं । दिनचर्या यसरी नै बितिरहेको थियो ।

दसैं आउनुभन्दा एक साताअघि घरतिर लागें । कार्यालयको काम पनि घरबाटै गर्न थालें । त्यही बेला थेसिसको लागि फिल्डमा जानुपर्ने काम सकाउन धमला सरले सुझाउनुभयो । सोहीअनुसार गरिरहेको थिएँ पनि । तर तथ्यांक संकलनमा जाँदाको अनुभव सुनाउन नपाउँदै उहाँ हामीलाई सदाका लागि छोडेर जानुभयो । दसैंको टीकाको दिन । धमला सरसँग फोनमा गफ भएको थियो । मलाई के थाहा, उहाँको आवाज अन्तिमपटक सुन्दै रहेछु ।

०००

कात्तिक २०, मिक्लाजुङ गाउँपालिकाको फिल्ड सकाएर घरमा पुगेको थिएँ । फिल्डबाट फर्किएपछि प्रायः धमला सरलाई फोन गर्थें तर त्यस दिन अर्याल सरलाई गरेछु । उताबाट सुरुमै मलिन आवाज सुनियो- ‘गोविन्द, धमला एक्स्पायर्ड भयो, ही इज नो मोर ।’

‘सर यस्तो पनि हुन्छ र भन्या ? हैन होला, नढाँटीकन भन्नुस् न के भएको हो ?,’ मैलै पत्याइनँ र स्पष्ट हुनलाई फेरि सोधें । दोस्रो पटक पनि उस्तै कुरा सुनेपछि जहाँको त्यहीं रोकिएँ । केहीबेर रन्थनिएँ । यस्तो अकल्पनीय घटना घटेकोमा विश्वास गर्न सकिरहेको थिइनँ । मन, दिमाग र आँखामा लगातार धमला सरको तस्बिर र उहाँसँग जोडिएका घटनाहरु घुम्न थाले । वास्तवमा विद्यार्थीलाई गुरु गुमाउनु सन्तानलाई आमा गुमाउनुबराबर नै हुने रहेछ ।

दुःखद साथी–सर्कल र सामाजिक सञ्जालमा फैलिइसकेको रहेछ । बेलबारी रहेका दीपक दाइलाई फोन गरेर सरको घर जाऔं भनें । गाडीको व्यवस्था गरें । आधा घन्टापछि हामी लक्ष्मीपुर, घैलाडुब्बा हुँदै धमला सरको घर चकचके पुग्यौं । चकचकेमा समयले चकचक गरिसकेको थियो । हामी त चाहन्थ्यौं, समयले फेरि अर्को चकचक गरोस् र आँगनमा सुताइएका धमला सर जुरुक्कै उठ्नुहोस् ।

खाना खाने क्रममा ब्रेन ह्यामरेज (मस्तिष्कघात) हुँदा उहाँको निधन भएको रहेछ । भोलिपल्ट काठमाडौंबाट अर्याल सर, सिजर दाइ, सन्देश दाइ, रमेश पन्त सरलगायत आउनुभयो । केही विद्यार्थी पनि जुट्यौं । त्यही दिन धमला सरको पार्थिव शरीरलाई कनकाई माईमा लगेर अन्तिम बिदाइ दिइयो । सबैसँग साथीसँग जसरी प्रस्तुत हुने, जैविक विविधता र इकोलोजीका विराट ज्ञाता अनि सम्बद्ध विषयवस्तुमा गहकिलो बहस गर्न सक्ने धमला सर भौतिक रुपमा त त्यस दिन बिदा हुनुभयो तर हाम्रो स्मृतिमा सदैव रहनुहुनेछ ।

अलबिदा धमला सर !

प्रकाशित : माघ ११, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?