कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँबाट ल्याउने कोरोना खोप ?

बाँच्नका लागि संघर्ष गरिरहेका नेपालीलाई चीन वा भारत जहाँबाट भए पनि खोप आइदिए पुग्छ । तर, खोप भित्र्याउँदा राज्य सञ्चालकहरूले यसकै कारण नेपाल र नेपालीको शिर झुक्ने अवस्था बन्न दिनु हुँदैन ।
लक्ष्मी लम्साल

बेइजिङ — पुस दोस्रो साता नेपालको चारदिने भ्रमण गरेका चिनियाँ कम्युनिस्ट पार्टीको वैदेशिक विभागका नेताहरू चीन फर्किनेबित्तिकै १४ दिन होटल र अरू सात दिन होम आइसोलेसनमा बसे । नेपालको सत्तारूढ पार्टी नेकपामा दरार उत्पन्न भएपछि टोली पीपीई लगाएरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।

कहाँबाट ल्याउने कोरोना खोप ?

कोरोना महामारीमा चीनको जति अनुशासन संसारका कमै मात्र मुलुकहरूले अपनाए होलान् । अझै पनि कहीँ–कतै कोरोना संक्रमण देखियो कि लकडाउन, घेराबन्दी गरेर महामारीको जरो उखेल्न चीन लागिरहेको हुन्छ ।

हालसालै बेइजिङको कछाड क्षेत्रमा कोरोना देखिएको भेउ पाएपछि राजधानी सहरमा पनि तुलनात्मक रूपमा सतर्कता बढाइएको छ । कोरोनाप्रतिको यही संवेदनशीलताका कारण चीनले बाहिरी मुलुकबाट भित्रिने विदेशीका लागि कतै पनि खुकुलोपन देखाइरहेको छैन । नेपालबाट अध्ययनका लागि आउनुपर्ने विद्यार्थीको पढाइ अनलाइनबाट चलिरहेको छ । त्यसै कारण चीनभित्र कोरोनाको भय घट्दै गएको हो ।

अहिले विभिन्न शक्तिराष्ट्रले कोरोना खोप उत्पादन गर्दै छन् । कतिपय धनी देशले खोप बन्नुअगावै ‘बुकिङ’ गरेर एकाधिकार जमाइरहेका छन् । क्यानडाले आफ्नो जनसंख्याभन्दा ४–५ गुणा बढी खोप थुपारिसकेको छ । अर्थात् प्राणरक्षाको एउटा दुर्लभ वस्तुमाथि पनि शक्तिराष्ट्रहरूको एकाधिकारवादी मानसिकता छचल्किन थालेको छ । गरिब, निमुखा राष्ट्रहरूको पक्षमा आवाज बुलन्द हुन नसकेकै कारण नेपालजस्ता देश आफ्ना जनताबाट उल्टै राहत संकलन गर्दै खोपका लागि कोष स्थापना गर्दै छन् ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ खोपका लागि कोषमा योगदान गर्न सार्वजनिक सूचना नै जारी गरेको छ । महामारी सुरु हुँदाका अघिल्ला ६ महिनाजति विनायोजना लकडाउन गरेको सरकारले अहिले विनायोजना नै खुल्लमखुला छोडिदिएको छ । यसबाट प्रस्ट हुन्छ कि राज्य आफ्ना नागरिकप्रति कति जिम्मेवार छ ? काम गर्नुपर्ने समय पार्टीगत झगडामै रुमल्लिएको इतिहासकै शक्तिशाली सरकारको हबिगत अहिले कहाँ पुगेको छ, छर्लङ्गै छ । जसरी अमेरिकाजस्तो विश्वशक्ति राष्ट्रमा डोनाल्ड ट्रम्पको गैरजिम्मेवारीका कारण कैयन मानिसले अनाहकमा ज्यान गुमाएका छन्, त्यति हदसम्म नभासिए पनि नेपाल सरकारले महामारीविरुद्ध निकै ठूलो ‘मजाक’ गरिसकेको छ ।

कोरोना केही पनि होइन भन्ने सोचेरै मानिसहरू मास्क लगाउन छोडिसकेका छन् भने राजनीतिक अगुवाहरू नै विनामास्क भेला–जुलुसको अगुवाइ गरिरहेका छन् । तर कोरोना भाइरसबाट प्रताडित भएका प्रत्येकले महसुस गरेको हुनुपर्छ, यो सामान्य खेलाँची हुन सक्दैन । केही दिनअघि कोरोनामुक्त भएका अभिनेता हरिवंश आचार्य युट्युब च्यानलमा भन्दै थिए, ‘कसै–कसैलाई निकै सताउने कोरोना सामान्य भाइरस होइन रहेछ ।’

कोरोनाकै कारण परिवारको भरणपोषण गर्नुपर्नेहरूले रोजरोटी गुमाइरहेका छन् । जनजीवन शिथिल भएकाले समग्र देशको अर्थतन्त्र डामाडोल भएको छ । यिनै गरिब र रोजीरोटी जुटाउन हम्मे परिरहेका मानिसहरूलाई सहयोगका लागि उक्साएर खोप कोष सञ्चालन गर्ने दाउमा सरकार देखिन्छ ।

कोरोना खोपका लागि केही आसलाग्दा समाचार दिएका मुलुकहरूमा व्याप्त अहंकार र प्रताडनाको मानसिकताका कारण खोप उति सजिलै उपलब्ध हुन गाह्रो देखिन्छ । राष्ट्रसंघको अगुवाइमा कोभ्याक्स सुविधामा संलग्न भए पनि खोपको समान वितरण हुनेमा आशंका उहिलेदेखि नै थियो । बेलैमा पहल गर्नुपर्ने सरकारले यतिखेरसम्म के–के गरिभ्याएको छ, त्यसको लेखाजोखा हुँदै होला । कोरोना खोप सस्तोमा वा सकेसम्म सित्तैमा पाउने ध्याउन्नमा सरकार छ भने अलि गहिरिएर सोच्नुपर्ने हुन्छ– भित्री रूपमा कहाँ केका लागि सौदाबाजी भइरहेको छ ? देशको अस्मितामा कहाँनेर आँच आउन खोज्दै छ ? नेपालीको शिर कतिखेर निहुरिँदै छ ?

नेपालका लागि सबैभन्दा घनिष्ठ भनेका दुई छिमेकी भारत र चीन नै हुन् । उनीहरूसँग सन्तुलनमा रहेर नेपालले खोप प्राप्तिको बाटो खोज्नु उपयुक्त हुनेछ । भारतसँग हावापानी मिल्ने भएकाले त्यहाँबाट आउने खोप आँखा चिम्लेर लगाउन हुने केही विज्ञहरूले बताइरहेका छन् । भारतसँगै चीनले पनि खोप उत्पादन गरेर बाँडफाँटको तयारी गरिरहेको छ । महामारी नियन्त्रणमा गम्भीरतापूर्वक लागेको चीन खोप वितरणमा पनि उत्तिकै सचेत रहेको कुरा उसका अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।

चीनले सक्षम देशहरूलाई खोपको समान वितरणमा सहभागी गराउने र कम विकसित देशहरूलाई अनुदान वा नि:शुल्क वितरणका लागि विचार गरिरहेको कुरा बताइसकेको छ । सबै एक दर्जनजति खोप उत्पादक कम्पनीहरू जोड्ने हो भने चीनमा वार्षिक १ अर्ब ६० करोड डोज खोप उत्पादन क्षमता बनिसकेको छ । उपयुक्त पहल गर्दा नजिकको छिमेकी भएको नाताले नि:शुल्क वा अनुदानमा चीनले कोरोना खोप उपलब्ध गराउन सक्छ ।

बाँच्नका लागि संघर्ष गरिरहेका नेपालीलाई चीन वा भारत जहाँबाट भए पनि खोप आइदिए पुग्छ । तर, खोप भित्र्याउँदा राज्य सञ्चालकहरूले यसकै कारण नेपाल र नेपालीको शिर झुक्ने अवस्था बन्न दिनु हुँदैन । चुनाव गराउने धनराशि छ भन्ने सरकारले परिआए जनताको जीवनरक्षाका लागि तन, मन, धन लगाउन किन नसक्ने ? खोप उपलब्ध गराउने कुरालाई पनि फेरि भावनात्मक बहकाउका रूपमा लिन थाल्ने हो भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भन्ने अवस्था आउन सक्छ ।

प्रकाशित : माघ २, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?