२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६
२२ वर्षअघिको त्यो विमान अपहरण

नेपालका विमानलस्थल कति सुरक्षित ?

नारायण अधिकारी

आजभन्दा ठीक २२ वर्ष अगाडि, अर्थात्  २०५६ पुस ९ मा काठमाडौबाट भारतको नयाँ दिल्लीका लागि उडान भरेको इन्डियन एयरलाइन्सको आईसी– ८१४जहाज गन्तव्यमा नपुग्दै अपहरणमा परेको थियो । १७१ यात्रुसहित चालक दलका सबै सदस्यहरू आतंकारीहरूको कब्जामा परे ।

नेपालका विमानलस्थल कति सुरक्षित ?

यात्रुको भेषमा रहेका आतकंकारीका सदस्यहरूले भारतीय विमान अपहरण अर्थात् ‘एयर हाइज्याक’ गरे ।

अपहरणकारीले विमानलाई सुरुमा भारतको अमृतसर, पाकिस्तानको लाहोर र यूएईको दुबई हुँदै अफगानिस्तानको कान्दाहार विमानस्थल पुर्‍याएर बन्धक बनाएका थिए । अपहरण भएको ८ दिनसम्म आतंकवादीविरुद्ध भारतले रणनीतिक रुपमा कुनै सुरक्षा कारबाही गर्न सफल भएन । अमृतसरमा विमान अवतरण गर्दा होस्टेज रेक्यु अप्रेसन अर्थात् विशेष सुरक्षा कारबाही गर्नबाट भारत चुक्न पुग्यो । दुबईमा त्यहाँको सरकारले भारत सरकारलाई सुरक्षा कारबाही गर्ने अनुमति दिएन । आतंककारीले एक जना भारतीय नागरिकलाई चक्कु प्रहार गरेर हत्या गरिदिए । अन्ततः विमान अपहरणबाट मुक्त गराउन भारत सरकाले बाध्य भएर अपहरणकारीहरूको माग पूरा गर्नुपर्‍यो । फलस्वरुप भारतीय जेलमा रहेका तीन जना आतंकवादी नेताहरू मसूद अजहर, शेख अहमद ओमार र मुस्ताक अहमद जार्गरलाई छोड्न बाध्य भयो ।

उक्त तीनमध्ये मसूद अजहर यतिबेला जिहादी संगठन जैश–ए–मोहम्मद स्थापना गरेर क्रियाशील छन् । शेख अहमद ओमार सन् २००२ मा पाकिस्तानमा अपहरण र हत्या आरोपमा पक्राउ परेर जेलमा रहेका छन् । बेलायतमा जन्मेका शेख लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका थिए । पछि उनले कट्टरपन्थी इस्लामिक समूहहरूसँग काम गरे । अर्का आतंककारी मुस्ताक अहमद जार्गरले सुरुमा जम्मु-कश्मीर लिबरेशन फ्रन्टमा काम गरे । भारतीय जेलबाट छुटेपछि अलउमर मुजाहिद्दीन स्थापना गरेर आतकंवादी सङगठन चलाइरहेका छन् । मसूद अजहर र मुस्ताक अहमद जार्गरलाई भारतको संसद् भवन र उरीमा भएको आतंककारी हमलाको अभियोग लागेको छ ।

आईसी–८१४ अपहरणसम्बन्धी केही रहस्यमय कुराहरू अझै प्रस्ट हुन सकेको छैन । नेपालको विमानस्थलबाट कसरी हतियार भित्रियो ? हतियार सक्कली थियो कि नक्कली ? विमान अपहरणको पूर्वसूचना भारतीय खुफिया एजेन्सीसँग थियो कि थिएन ? त्यही विमानमा यात्रा गरिरहेका काठमाडौंस्थित र अर्का कर्मचारीको यात्रा योजनाबद्ध थियो कि संयोग ? यी र यस्ता धेरै प्रश्नहरूको रहस्य अझै पनि खुल्न सकेको छैन । विमान अपहरणमा पाकिस्तानी खुफिया एजेन्सीको हात रहेको भारतको आरोप छ । विमान अपहरणलाई लिएर भारत र पाकिस्तानबीच लामो समय आरोप–प्रत्यारोप नै चल्यो ।

संयोग पनि कस्तो २२ वर्ष अगाडि, विमान अपहरण गरेर आतंकवादीहरूले अफगानिस्तानमा लग्दा त्यहाँ तालिबान सरकार थियो । अहिले पुन: अफगानिस्तानमा तालिबान सरकार बनेको छ । यो २२ वर्षमा तालिबान बदलियो बदलिएन समयले देखाउने छ तर नेपालको विमानस्थलमा गएको दुई दशकमा के–के सुधार आए र हाल नेपालको विमानस्थलमा के कस्ता सुरक्षा चुनौतीहरू छन् त ?

बितेको २२ वर्षमा संसारभरि उड्यन क्षेत्र र विमानस्थलको सुरक्षासँंग सम्बन्धित धेरै कुराहरूमा परिवर्तन आएको छ । नेपालको विमानस्थल सुरक्षासम्बन्धी पनि धेरै नै परिवर्तन भएको पाइन्छ । यद्यपि बदलिँदो परिवेशअनुसार विमानस्थलमा जुन रुपको चुस्त सुरक्षा संयन्त्र हुनुपर्ने हो त्यो हुन भने सकेको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विमानस्थलमा कमजोर सुरक्षा रहेको आरोप लाग्नु अर्कोतिर तस्करी, कुख्यात अपराधीहरूको सहज आवत–जावत, जस्ता घटना घट्नुले यहाँको सुरक्षा झन् उदाङ्गो भएको छ ।

विमान अपहरणपश्चात नेपालको उड्यन क्षेत्र र विमानस्थलको सुरक्षासम्बन्धी अन्तराष्ट्रिय जगतमा मात्र प्रश्न उठेन । विश्वसामु नेपालको विमानस्थलमा कति कमजोर सुरक्षा संयन्त्र रहेछ भन्ने कुरा पनि सप्रमाण देखापर्‍यो ।

सुरक्षाको दृष्टिकोणबाट हेर्दा नेपालको विमानस्थल सुरक्षामा केही कुराहरूको यथाशक्य सुधार ल्याउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । निजामती कर्मचारीहरू परिवर्तन भइरहनु, अध्यागमनसम्बन्धी विशेष तालिम नहुनु, कार्य प्रणालीमा एकरुपता नहुनु, तेस्रो देशको नागरिक स्थलमार्ग प्रवेश गर्दा तथ्यांक नहुनु, अध्यागमनसम्बन्धी स्थायी निकाय वा संगठन नहुनु नै मुख्य सुरक्षा चुनौती हो ।

सर्वप्रथम, नेपालको विमानस्थलमा रहेको अध्यागमन बलियो हुनुपर्ने छ । यसको लागि अध्यागमनलाई स्थायी प्रकृतिको अध्यागमन प्रहरी निकायको रुपमा परिणत गर्नुपर्ने देखिन्छ । अध्यागमनले नेपाल भित्रिने यात्रुहरूको पासपोर्टमा प्रवेश छाप हान्ने निकाय मात्र नभई अध्यागमनसम्बन्धी कानुन कार्यान्वयन र अनुगमन गराउने निकायको रुपमा पनि स्थापित हुनु जरुरी छ ।

नेपालभित्र प्रवेश गरेका विदेशी नागरिकहरू कहाँ के गर्दैछन् ? के प्रयोजनका लागि नेपाल आएका छन् ? भन्ने कुराहरूको जानकारी राख्नुपर्ने हुन्छ । भिसा सकिएर पनि नेपालभित्र बसेकाहरूको खोजी र पक्राउ जस्ता कार्यहरू निरन्तर र गतिशील हुनु पर्दछ । यसको लागि यात्रुहरूको रेकर्ड डेटा प्रणाली आवश्यकता रहन्छ । अन–अराइभल भिसा दिँदा यात्रुहरूको प्रारम्भिक विवरण राम्रोसँग जाँच र अनुसन्धान गरेर मात्र दिनुपर्दछ । यात्रुहरूको पेस गर्ने कागजात यकिन जाँच गर्न अल्ट्राभ्वाइलेट लाइटको प्रयोग गर्न सकिन्छ ।

नेपालको विमानस्थल पहिले पनि आतंकारीहरूले सजिलै दुरुपयोग गरिसकेको तितो यथार्थता रहेको प्रस्ट छ । यसको रोकथामका लागि आगामी दिनमा आतंकवादीहरू, इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका व्यक्तिहरू र अथवा संगठित अपराधीका गिरोहहरूसम्बन्धी डेटा राख्ने नेपालकै विशेष सफ्टवेयर बनाउन सकिन्छ । यात्रुहरूको बायोमेट्रिक रेकर्ड राख्दा भविष्यमा कसैले गलत पासपोर्ट प्रयोग गरे, वा पुन: अर्को पासपोर्ट बनाएर नेपालभित्र प्रवेश गर्न खोजे पनि सजिलै पक्राउ गर्न सकिन्छ । बम तथा अन्य विस्फोटक पर्दाथहरू पत्ता लगाउने प्रविधिहरू जडान गर्नु पर्दछ । नेपाल प्रहरीको ‘स्निफिङ्ग डग’लाई २४ सै घण्टा ड्युटीमा राख्न सके लागूऔषध, हातहतियार जस्ता कुराहरू पक्राउ गर्न सुरक्षाकर्मीहरूलाई ठूलो मद्दत पुग्ने छ ।

विमानस्थल परिसरभित्र रहेका प्राइभेट कम्पनीहरू, पसल, क्याफेहरूमा सञ्चालन गर्ने व्यक्तिहरू र कर्मचारीहरूको सेक्युरिटी भेटिङ्ग, राष्ट्रिय अनुसन्धान विभाग अथवा नेपाल प्रहरीबाट हरेक वर्ष गर्नु पर्दछ । यात्रुहरूको सुरक्षा जाँच गर्दा परम्परागत ढंगबाट मात्र भइरहेको छ । यसका लागि सुरक्षा जाँच गर्ने आधुनिक प्रविधि राख्नुपर्ने छ । हरेक यात्रुको प्रि–स्क्रिनिङ र पोस्ट–स्क्रिनिङ गर्नु पर्दछ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि यात्रुहरूका सामानहरू चोरिनु र हराउने घटनाहरू घट्ने गरेको छ । यो अत्यन्त लज्जास्पद हो ।

यसको रोकथामका लागि विमानस्थलमा पर्याप्त सीसीटीभीहरू राख्नु पर्दछ । भन्सार जाँचको लागि ‘भेहिकल एक्सरे मेसिन’हरूको प्रयोग गर्न सकिन्छ । विमानस्थलको सुरक्षा संवेदनशीलतामा नेपाली नागरिकहरू पनि सचेत र सहयोगी हुनु पर्ने देखिन्छ । विमानस्थलमा क्रियाशील सबै सुरक्षा निकायबीच समन्वय र सहकार्यको राम्रो हुन सके सुरक्षा थप मजबुत हुनेछ ।

(लेखक अधिकारी प्रतिआतंकवादसम्बन्धी अध्यता हुन्)

प्रकाशित : पुस ९, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?