नेपाली भौतिक विज्ञानको ओलम्पियाड यात्रा- विविधा - कान्तिपुर समाचार

नेपाली भौतिक विज्ञानको ओलम्पियाड यात्रा

नारायणप्रसाद अधिकारी, दीपेन्द्र पराजुली

नेपालबाट हरेक ओलम्पिकमा खेलाडी र प्रशिक्षकभन्दा दोब्बर पदाधिकारी समेलित टोली पुग्छन् । ओलम्पिक पदक त परको कुरा, पहिलो चरण पार गर्नसमेत नेपाललाई हम्मेहम्मे पर्छ । अझ नेपाली खेलाडी छनोट भएर ओलम्पिकमा खेल्न अपवादबाहेक पुगेका छैनन् । नेपालले युनिभर्सल कोटा र वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्दै आएको छ । अन्य देशहरू पदकका लागि प्रतिस्पर्धा गर्दा नेपाल भने अझैं ओलम्पिकमा सहभागी बन्नु र व्यक्तिगत कीर्तिमान सुधार्नुमै रमाउँछ । नेपालले ओलम्पिक खेल्न थालेको लगभग ५७ वर्ष पुगिसक्दा पनि प्रदर्शन उकास्न सकेको छैन ।

जसरी शारीरिक खेलका लागि हरेक चार वर्षमा ग्रीष्मकालीन ओलम्पिक खेल, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजना गर्छ त्यसै गरी विज्ञानका विभिन्न विधामा अन्तर्राष्ट्रियस्तरका शैक्षिक र प्राज्ञिक प्रतिस्पर्धाका विभिन्न ओलम्पियाड हुने गर्छन् । नेपालले पनि भौतिक विज्ञान तथा गणित ओलम्पियाड लगायतमा भाग लिने गर्छ । ओलम्पिकको महत्त्व, त्यसले समग्र मानव जीवनमा पार्ने सकारात्मक असरलाई मध्यनजर गरी सन् १९६७ बाट भौतिक विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा पोल्यान्डको राजधानी वार्साबाट सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाड

विश्वका विभिन्न देशको विज्ञान तथा प्राविधिक शिक्षाको स्तरबारे परिचित हुने, क्षमतावान् युवाहरूको पहिचान गर्ने, भौतिक विज्ञानमा रुचि राख्ने युवाहरूबीच सम्पर्क बढाउने, युवा वैज्ञानिकहरूका बीच मित्रता तथा भाइचारा अभिवृद्धि गर्ने, भौतिक विज्ञान र यसको शिक्षणस्तरको अभिवृद्धि गर्ने र भविष्यका लागि क्षमतावान् वैज्ञानिकहरूको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाड (अभौविओ) सुरु भएको थियो । यस प्रतियोगितामा भाग लिनका लागि प्रतियोगिले उच्च मावि वा सो सरहको तहमा अध्ययनरत वा अध्ययन पूरा गरेको, स्नातक तहमा भर्ना भैनसकेको र प्रतियोगिता हुने सालको जुन ३० तारिखसम्म २० वर्ष ननाघेको हुनुपर्छ ।

यस प्रतियोगिताले भौतिक विज्ञानप्रति विद्यार्थीको रुचि बढाइ यसको समग्र विकासमा सकारात्मक प्रभाव पारेको छ । सो प्रतियोगितामा हाम्रो दैनिकीसँग सम्बन्धित भौतिक शास्त्रका विभिन्न क्षेत्रमा सैद्घान्तिक तथा प्रयोगात्मक प्रश्नहरू सोधिन्छन् । यसले विकसित र अविकसित देशहरूमा भइरहेको भौतिकशास्त्रको शिक्षण/अनुसन्धानबीचको फरकलाई क्रमश: घटाउन मद्दत पुर्‍याएको छ । त्यस प्रतियोगितामा विद्यार्थीहरूलाई उत्साह र हौसला बढाउन भौतिकशास्त्रका नोबेल पुरस्कार विजेताहरूलाई आमन्त्रण गरी भौतिकशास्त्रका नवीनतम खोजहरू तथा निकट भविष्यका अनुसन्धान क्षेत्रका बारे प्रवचन दिने चलन छ । विभिन्न देशका प्रतियोगी युवाहरूबीच सम्पर्क बढाउन, अन्तर्राष्ट्रिय खेल भावना अभिवृद्धि गर्न, आफ्नो मेहनतअनुसारको पदक प्राप्त गर्न १०० भन्दा बढी देशका करिब ५०० युवा विद्यार्थी यो प्रतियोगितामा संलग्न हुन्छन् । नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडमा भाग लिएका विद्यार्थीहरूले संसारका उत्कृष्ट विश्वविद्यालयहरूबाट अध्ययन पूरा गरेको देखिन्छ । त्यति मात्र हैन, विज्ञान ओलम्पियाडका पदक विजेताहरूले, त्यसपश्चात् विज्ञानका प्रतिष्ठित पुरस्कार पनि पाउने गरेका छन् । अझ रोचक त, यस ओलम्पियाडका पदक विजेताहरूलाई उत्कृष्ट विश्वविद्यालयहरूले छात्रवृत्तिसहित भर्नाका लागि आह्वान नै गर्छन् । यिनै कारण अमेरिकी भौतिक विज्ञान समाजदेखि नेपाल भौतिक विज्ञान समाजसम्मले अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडलाई उच्च महत्त्व दिन्छन् । साथै यस्ता प्रतियोगिताले समाजका अन्य वर्गहरूको विज्ञानप्रति रुचि बढाउन, लोकप्रिय बनाउन र भौतिक विज्ञान र यसको शिक्षणस्तर वृद्धि गर्न मद्दत गरेको छ ।

नेपालको तर्फबाट प्रथमपटक सिंगापुरमा सन् २००६ मा सम्पन्न ३७ औं अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडमा प्राध्यापक सीतारामप्रसाद व्याहुत पर्यवेक्षकका रूपमा सहभागी भएका थिए । नेपालले मेरिडा, मेक्सिकोमा सम्पन्न ४० औं अभौविओ–२००९ मा रोहन पौडेल, थाइल्यान्डको बैंककमा, सम्पन्न ४२ औं अभौविओ–२०११ मा दिनेश कडेल र इन्डोनेसियाको योग्यकार्तामा सम्पन्न ४८ औं अभौविओ–२०१७ मा प्रभाकर काफ्ले र विवेक पन्थीले कास्य पदक पाएका थिए भने उपस्थित सबैजसो अभौविआहरूमा सान्त्वना पुरस्कार प्राप्त गर्ने गरेका छन् ।

नेपालले पाएको उपलब्धिको मूल्यांकन गर्दा सार्क राष्ट्रमा भारतपछि नेपाल उत्कृष्ट देखिन्छ भने कतिपय युरोपका विकसित राष्ट्रहरूभन्दा पनि माथि छ । यो उपलब्धि राज्यको लगानीका अनुपातमा अन्य सबै पदक प्राप्त गर्ने राष्ट्रहरूभन्दा निकै माथि छ । सार्क राष्ट्रकै कुरा गर्दा बंगलादेश, पाकिस्तान, श्रीलंकाजस्ता देशले विज्ञान ओलम्पियाडमा निकै ठूलो रकम लगानी गरेका छन् । तर, नेपाल सरकारले अभौविओमा भाग लिनका लागि जान, कार्यविधिमार्फत प्रदान गरिने रकमले हवाई खर्च पनि पुगेको छैन ।

नेपाल भौतिक विज्ञान ओलम्पियाड

अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाड र एसियन भौतिक विज्ञान ओलम्पियाडमा भाग लिन जान नेपाल भौतिक विज्ञान ओलम्पियाडबाट छानिएको हुनुपर्छ । त्यसका लागि नेपाल भौतिक विज्ञान ओलम्पियाड समिति गठन गरिन्छ । सो समितिले राष्ट्रियस्तरको माथि उल्लिखित योग्यता पुगेका विद्यार्थीहरूबीच नेपाल भौतिक विज्ञान ओलम्पियाड सञ्चालन गरी छनोटमा परेका २० विद्यार्थीलाई एक हप्ते बन्द प्रशिक्षण गराई पुन: दोस्रो चरणको परीक्षाबाट उत्कृष्ट पाँच विद्यार्थीको छान्छ । ती विद्यार्थीलाई दुई शिक्षकको साथमा त्यस वर्षको अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडमा भाग लिन जानका लागि नेपाल भौतिक विज्ञान ओलम्पियाड कमिटीले विशेष पहल गर्छ । यो प्रक्रिया सन््् २००७ देखि निरन्तर चलिरहेको छ । प्राविधिक कारणवश सन् २०१२ र २०१८ मा अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडमा नेपाल सहभागी भएन । त्यसै गरी उत्कृष्ट आठ विद्यार्थीको छनोट गरी दुई शिक्षकको साथमा त्यस वर्षको एसियन भौतिक विज्ञान ओलम्पियाडमा भाग लिन जान नेपाल भौतिक विज्ञान ओलम्पियाड कमिटीले विशेष पहल गर्छ ।

नेपाल भौतिक विज्ञान ओलम्पियाडका लागि उपत्यकाभित्र तथा बाहिरका विभिन्न परीक्षा केन्द्रहरू (काठमाडौं, पोखरा, वीरगन्ज, पाल्पा, नेपालगन्ज, महेन्द्रनगर तथा विराटनगर) मा प्रथम चरणको परीक्षा सञ्चालन गरी २० योग्य विद्यार्थीको छनोट गरिन्छ । उपत्यकाबाहिर नेपाल भौतिक विज्ञान समाजका प्रादेशिक शाखाहरूले परीक्षा सञ्चालन गर्छन् ।

अन्त्यमा, नेपालको भौतिक विज्ञान ओलम्पियाड यहाँसम्म आउनुमा भौतिकशास्त्रका प्राध्यापकहरू र भौतिक समाजका शाखाहरूको स्वयंसेवाको निकै ठूलो भूमिका छ । भौतिक विज्ञान ओलम्पियाडमा धेरैभन्दा धेरै भौतिक विज्ञान र यसको उपयोगितासम्बन्धी प्रशिक्षण दिइने र प्रश्नहरू सोधिने हुँदा यो कार्यक्रमले विद्यार्थीको व्यावहारिक ज्ञान बढाएको छ भने सर्वसाधारणको समेत ध्यान तानेको छ । भौतिक विज्ञानजस्तो दैनिक जीवनमा महत्त्व राख्ने विषय अध्ययन गरिरहेका गाउँ–सहरका योग्य विद्यार्थीहरूलाई विश्वका सोही तहमा अध्ययनरत विद्यार्थीहरूमाझ सम्पर्क गर्ने, अनुभव आदानप्रदान गर्ने र क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर दिएको छ । ओलम्पिक खेलकुदले जस्तै यस अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडले पनि विश्वका विभिन्न राष्ट्रबीचमा भाइचाराको विकास गरेको छ । यदि राज्यले ओलम्पिकलाई जस्तै विज्ञान ओलम्पियाडलाई पनि लगानी गर्ने हो भने, पदक तालिकामा माथि पुग्न समय लाग्दैन ।

पराजुली त्रिविको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यरत छन् भने अधिकारी भौतिकशास्त्र केन्द्रीय विभागमा । दुवै भौतिक विज्ञान ओलम्पियाड समितिका पूर्वसंयोजक तथा अन्तर्राष्ट्रिय भौतिक विज्ञान ओलम्पियाडका टोली नेता हुन् ।

प्रकाशित : भाद्र १९, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

साक्षर अभियान अलपत्र

चाँदनी कठायत

वीरेन्द्रनगर — संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु गर्‍यो । तर १३ वर्ष बितिसक्दा पनि कर्णालीका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी छन् । मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका ३६ स्थानीय तह साक्षर घोषणा गर्न बाँकी छ ।

आव ०७५/०७६ मा कर्णाली प्रदेश सरकारले तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै दुई करोड रुपैयाँ बजेट विनियोजन गर्‍यो । विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न बालबालिकालाई ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ भन्ने नाराका साथ अभियान पनि चल्यो । तर उक्त अभियान अहिले अलपत्र परेको छ ।

अभियान सुरु भएको पहिलो वर्ष प्रदेश सरकारले प्रदेशभरका ७९ स्थानीय तहलाई प्रोत्साहन स्वरुप एक करोड ७० लाख बजेट दियो । तर कार्यक्रमले सार्थकता पाएन । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले पुनः दुई वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने घोषणा गर्‍यो । तर उक्त कार्यक्रम पनि अघि बढ्न सकेन । कर्णाली प्रदेश योजना आयोगको प्रथम पञ्चवर्षीय योजनाअनुसार कर्णालीको साक्षरता दर ६६ प्रतिशत रहेको छ । योजना आयोगले आव ०८०/८१ सम्म कर्णालीको साक्षरता दर ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार साक्षर घोषणा हुन बाँकी ३६ स्थानीय तहमा अझै चार लाख ७७ हजार आठ सय ४१ जना नागरिक निरक्षर छन् । तथ्याङ्क अनुसार १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ६ सय ४८ जना नागरिक निरक्षर छन् । यीमध्ये सबैभन्दा धेरै १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कालिकोटमा चार हजार दुई सय ७० जना नागरिक निरक्षर छन् । मुगुमा तीन हजार दुई सय, जुम्लामा दुई हजार आठ ६०, हुम्लामा एक हजार सात सय ६३ र डोल्पामा पाँच सय ५५ जना नागरिक निरक्षर छन् ।

कोरोना महामारीका कारण भएको लकडाउन र निषेधाज्ञाले अभियानमा धक्का पुगेको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास तथा परीक्षा व्यवस्था शाखाका अधिकृत बलवीर सुनारले बताए । उनका अनुसार अभियानलाई सार्थकता दिलाउन स्थानीय तहलाई बलियो बनाउने भन्दै सरकारले नयाँ योजना अघि सारेको छ । ‘कोरोनाका कारण साक्षरता अभियानले पूर्णता पाउन सकेन’ उनले भने, ‘अब अभियानलाई निरन्तरता दिइनेछ ।’

प्रकाशित : भाद्र १९, २०७८ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×