सडकमा पोखिएका आक्रोशित आवाज- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा पोखिएका आक्रोशित आवाज

किन गणतान्त्रिक व्यवस्थामा श्रीपेचको माग उच्च छ ? संसद् भवनभित्र लहरै कुर्सीमा बसेकाहरू टाउको भएका मानिस हुन् कि बुख्याचा ? किन फस्टाइरहेको छ बेइमानहरूको राजनीतिक उद्योग ? को हो यो देशको नायक ? 
दीपक भेटवाल

काठमाडौंको सडकमा कैयौँ दिनदेखि मिश्रित अनुहारका एक हुल आक्रोशित मानिसहरू एकै स्वरमा चिच्याइरहेका छन् । यो हुलमा लेखक छन्, पत्रकार छन्, कवि छन् । दलित, जनजाति, मधेसी, महिला, मुस्लिम छन् । तन्नेरी, मजदुर, विद्यार्थी, अभियन्ता छन् । यी मानिसका अनुहारहरूलाई एकै ठाउँमा जोडेर हेर्दा झण्डै सिंगो देशको सजीव मानचित्र जस्तो  देखिन आउँछ ।

सत्ताको रापमा हात सेकेर मुस्कुराइरहेका अर्काथरी मानिसहरू आक्रोशित हुललाई गिज्याउँदै हाँसिरहका छन् । र ती भनिरहेका छन्— यी सब बहुला हुन् ।

बहुलाहरूको हुलमा कालो वर्णका जेबी विश्वकर्मा छन् । जनजाति अनुहारकी प्रनिका कोयु छन् । मधेसका अनुभव अजित छन् । अग्ला कदका नारायण वाग्ले छन् । होचा कदका उज्ज्वल प्रसाईं छन् । गुन्द्रुके केशधारी सञ्जीव उप्रेती छन् । जुल्फे युग पाठक छन् । केशविहीन भाष्कर गौतम छन् । कुस्तीबाजजस्ता शरीर भएका विमल अर्याल छन् । ख्याउटे शरीरका डा. गोविन्द केसी छन् । गहुँगोरो वर्णका राजेन्द्र महर्जन छन् । र अन्य अनेक कद, वर्ण र हुलिया धारण गरेका आक्रोशित जन यो हुलमा गोलबन्द छन् ।

त्यतो त बहुलाहरूको हुलमा अरु पनि छन् । मोहना अन्सारी, प्रनेता , दोभान राई, अंशु खनाल छन् । बेलाबखत बहुलाहरूको हुलमा केही कविहरू पनि मिसिन आइपुग्छन् । सपना सञ्जिवनी, विमल निभा, श्रवण मुकारुङ, संगीत श्रोता, राजन मुकारुङ, विनोदविक्रम केसी, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बाफो, राजु स्याङ्तान । जीवनको ऊर्जा थप्न सेतै केश फुलेका बुढामान्छे खगेन्द्र संग्रौला र कृष्ण खनाल पनि बेलाबखत बौलाहाहरूको हुलमा मिसिन आइपुग्छन् ।

बहुलाहरू सत्ताधारीहरूको मुटु नै कम्पन हुने गरी सडकमा चर्को आक्रोश उराल्छन् । क्रूर सत्ताले बहुलाहरूमाथि लाठी बर्साउँछ, पानीका फोहोरा खन्याउँछ, हातमा नेल ठोक्छ । बहुलाहाहरू फेरि उठ्छन्, जुट्छन्, जाग्छन् । क्रूर सत्तामाथि चोरऔँला ठड्याउदै झन् जोडले चिच्याउँछन् । सत्तासँग हिसाब माग्छन् । चुनौतीको भाषामा सत्तालाई प्रश्न गर्छन् । खबरदारी गर्छन् । म अवाक् भएर बहुलाहरूको आक्रोश सुनिरहेको छु ।

को हुन् यी मानिसहरू ? किन सडकमा चिच्याइरहेका छन् यिनीहरू । यिनले यो राज्यमा के गडबडी देखिरहेका छन् ? किन यिनीहरू खस भाषा मात्र बोलिरहेका छैनन् ? को हुन् ती भगवान रामलाई चुनौती दिने मैथिली कवि सपना सञ्जीवनी ? किन यिनी ‘हम आब सीता नै बनबौ’ भनेर चिच्याइरहेकी छिन् ? को हुन् ती सुनसरीकी संगीता उराँव ? किन उनी आफ्नो कुडुक भाषामा चिच्याएर भनिरहेकी छिन्, ‘हे शासक विलासिताको भव्य महलमा बसेर तिमी/भुईंका मान्छेलाई दया नदेखाऊ । किन यिनीहरू बेसुरा कुरा गरिरहेका छन् ? म केही भेउ पाउँदिनँ ।’

यसो मुन्टो उठाएर हेर्छु, यो मुलुकमा म सब ठीकठाक देख्छु । घाम पूर्वबाट नै उदाइरहेको छ । नदीहरू उत्तरबाट दक्षिणतिरै बगिरहेका छन् । ऋतुहरू आफ्नै लयमा चलिरहेकै छन् । हिमाल हाँसिरहेकै छ । डाँफे नाचिरहेकै छ । गुराँस फुलिरहेकै छ । बुद्ध नेपालमै जन्मेका हुन् भनेर संसारले पत्याइदिएकै छ । सगरमाथाको उचाइ झन् बढेको छ । चुच्चे नक्साले देशको आयतन झन् फराकिलो बनाइदिएको छ । विश्वविद्यालयहरूले ब्रोइलर कुखुरा उत्पादन गरिरहेकै छन् । भक्तहरू मन्दिरमा हरि भजन गाइरहेकै छन् ।

हो, म यो मुलुकमा सब ठीकठाक देख्छु । बहुलाहाहरू भन्छन्, ‘सब गडबड छ ।’ बहुलाहाहरू चिच्याएर भनिरहेका छन्, ‘मुलुकको राज्य प्रणालीमा नै गडबड छ ।’

मुलुकको राज्यप्रणाली सब ठीकठाक चलिरहेको देख्छु म त । मुलुकको शिरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको अग्रगामी भनिएको संविधान छ । गाउँगाउँमा सिंहदरबार मात्र होइन, नारायणहिटी नै पुगेको छ । नवोदित छोटे राजाहरू पिर्कामाथि उभिएर सलामी ग्रहण गरिरहेका छन् । धर्मनिरपेक्षता लेखिएको गाईछापे अग्रगामी संविधान जारी भएको छ । उत्तर–दक्षिण चिरेर ७ विकास क्षेत्रमा संघीयता लागू गरिएको छ । जनजातिहरूलाई ल्होछारमा ढ्यांग्रो ठोक्ने र गहना लाएर नाच्ने अधिकार दिइएको छ ।

पुसको कठ्यांग्रिँदो जाडोमा मधेसको झुपडीमा न्यानो कम्बल बाँडिएकै छ । सहिद दिवसमा सहिदका मूर्तिले गलामा माला लगाउन पाएकै छन् । प्रजातन्त्र दिवशमा टुँडिखेलमा आमनागरिकले सैनिक परेड हेर्न पाएकै छन् । महिला दिवश, मजदुर दिवश, गणतन्त्र दिवश खर्च गरेर धुमधामले मनाइएकै छन् । मुलुकभरिका छाउ गोठ भत्काइएका छन् । दलितहरूलाई अछूत व्यवहार गर्न पाइँदैन भनेर कानुनमा लेखिदिएकै छ ।

बहुलाहाहरूको आक्रोश फेरि पनि शान्त हुँदैन । उनीहरू किटानीसाथ भनिरहेका छन्, यो मुलुकको राजनीति नै गडबड छ । राजनीतिमा प्रतिगमन छ ।

राजनीति राजनीतिकै लयमा चलेको देख्छु म त । के गडबड छ मुलुकको राजनीतिमा ? भर्खरै त्यति ठूलो आन्दोलनबाट संसद् पुन:स्थापना भएको छ । प्रतिगमन सच्चिएको छ । हराएका संविधानसभाका सभामुख फेरि मन्द मुस्कानसहित भेटिएका छन् । शिक्षामन्त्री विश्वविद्यालयको दीक्षान्तसभामा विद्यार्थी अघि उभिएर ओली चालिसा वाचन गरिरहेका छन् ।

प्रजातान्त्रिक समाजवादी पार्टीका सभापति जिउँदै इँटा भट्टामा मान्छे पोल्ने आलमलाई छुटाउँछु भन्दै खुलेआम छाती पिटेर हिँडेका छन् । माक्र्सवादी पण्डित कमरेड घनश्याम भुसाल पार्टी एकता गर्न फेरि लगौँटी कसेर लागेका छन् । क्रान्तिकारी कमरेड विप्लव निर्विकल्प भनिएको व्यवस्थामा पस्ने तयारी गरिरहेका छन् ।

वनमन्त्रीले एक अर्बको घूस अस्वीकार गरेका छन् । प्रधानमन्त्रीले सदर चिडियाखानाको एकसिंगे दुर्लभ गैंडालाई आफ्नो पारिश्रमिकबाट एक महिना खुराक खुवाउने घोषणा गरेका छन् । भोलेबाबा पशुपतिनाथले १२० किलो सुनको नयाँ गजुर पाएका छन् । क्रान्तिकारी नेता प्रचण्ड सद्गुरुको प्रवचन सुनेर घरबेटीको डेरामा मिठो निन्द्रा सुतेका छन् । गणतान्त्रिक नेता गगन थापा सर्वसाधारणलाई लाइन लगाएर पुष्षगुच्छा ग्रहण गर्दै हिँडिरहेका छन् । म देख्दै छु ,यो देशको राजनीति ठीकठाक चलिरहेको छ ।

फेरि पनि मेरो कानमा आक्रोशित आवाज ठोक्किरहेको छ । यो आक्रोशले फेरि पनि देशको अर्थ व्यवस्थामाथि प्रश्न गरिरहेको छ ।

देशको अर्थव्यवस्था आफ्नो सनातनी पथमा निर्वाध चलिरहेको देख्छु म । देशका तन्नेरी युवाहरूको निर्यात बढिरहेकै छ । सत्ताधारीहरूको मिठो खान्की काजु, किसमिस र छोकडाका दानाको आयात नियमित छ । नोकरशाहहरू मुलुकमा विकाशको मूल फुटाउन नयाँ बजेटको तयारीमा जुटेका छन् ।

सरकारी बजेटको साधारण खर्च समय अगावै सकिएको छ । मुलुकको अर्थव्यवस्था झन् प्रविधिमैत्री हुँदै गएको छ । आर्यघाटमा शव जलाउने दाउरा किन्दा फोन पेबाट भुक्तानी गर्न सकिने प्रणाली विकास गरिएको छ । हिमालयन जाभा कफीको नयाँ शाखा विस्तार भएको छ । बजारमा दुई ठूला बैंक मर्जरमा जाने हल्ला छ । मार्सी ब्रान्डको नयाँ बियर छिट्टै बजारमा आउँदैछ । प्रवासी श्रमिकहरूले आफ्नो आँसु र पसिना घोलेर पठाउने रेमिट्यान्सको ग्राफ उकालो लागेको छ । शेयर बजारका दलालहरू प्रफुल्ल भएर बुर्कुसी मारिरहेका छन् ।

नाफाखोरहरूले सञ्चालन गरेको बैंकहरूमा तरलता चुलिएर पोखिन लागेको छ । सुनको माग बढ्दो छ । आईफोन, मदिरा र सुन आयात गर्न चाहिने वैदेशिक मुद्राको सञ्चिति पुग्दो छ । वायुसेवा निगमका हाकिमहरू नयाँ विमान खरिद गरी मुलुकको कायापलट गर्ने योजना अघि सारिरहेका छन् । अर्थतन्त्र उत्तरतिरबाट आउने भनिएको चुच्चे रेलजस्तो बेगवान् गतिमा बगिरहेको छ ।

आक्रोश अझै पनि टड्कारै सुनिन्छ । उनीहरू भनिरहेका छन्, यो राज्यमा कसैलाई चैन छैन । सुरक्षा छैन । नागरिकलाई अनागरिक बनाइँदै छ ।

म जिल्ल पर्छु । कहाँ छ असुरक्षा ? कहाँ छ बेचैनी ? । सुरक्षा निकायको हटलाइन नम्बर १०० चलिरहेको छ । बालुवाटारमा सुरक्षा निकायको बैठक चलिरहेकै छ । सुरक्षा निकायले उच्च सतकर्ता अपनाएकै छ । रात्रिकालीन मापसे जाँच फेरि सुरु भएको छ ।

मुलुकमा भर्खर मात्रै नयाँ जमानाको फोर के टिभी सञ्चालनमा आएको छ । नेपाल आइडलको नयाँ सिजन फेरि सुरु हुन लागेको छ । सहरका सुकिला बुद्धिजीवीहरू क्याफे र बारमा बसेर बुद्धिविलास गरिरहेका छन् । रात्रि क्लबमा तन्नेरीहरू खचाखच भरिएकै छन् । विदेश जाने कामदारहरूले अर्जेन्ट पासपोर्ट एकै घण्टामा पाउन थालेका छन ।

बहुलाहरूको आक्रोश शान्त भएको छैन । अझै पनि ती राज्यतिर फर्किएर प्रश्न गरिरहेका छन् ? कसले थुत्यो लोकतान्त्रिक गणतन्त्रको प्राण ? किन गणतान्त्रिक व्यवस्थामा श्रीपेचको उच्च माग छ ? संसद् भवनभित्र लहरै कुर्सीमा बसेकाहरू टाउको भएका मानिस हुन् कि बुख्याचा ? किन फस्टाइरहेको छ बेइमानहरूको राजनीति उद्योग ? को हो यो देशको नायक ? यो देशको राष्टकवि को हो ? कृष्ण सेन ईच्छुक कि माधव घिमिरे ?

यो देशमा जनै अझै किन शक्तिशाली छ ? तन्नेरी युवतीको अनुहारमा एसिड छयाप्ने कुरुप पुरुष अंहकार कुन गर्भमा हुर्किरहेको छ ? कहाँ गाडिएको छ काटिएको हाम्रो पुर्खाको तीन थुन्चे नाक ? मधेसको छातीमा रोपिएको राष्ट्रवादी शूलको आविष्कारक को हुन् ?

असंख्य ओलीहरू उत्पादन गर्ने कारखाना कसले सञ्चालन गरिरहेको छ ? सत्ताधारीको मोटरसाइकल र्‍यालीमा बाँडिने आयातित इन्धनको भुक्तानी कसले गरिरहेको छ ? जनयुद्धका नायक प्रचण्डले लाएको हाते घडीको मूल्य कति पर्छ ? देशका नामुद ठगहरू किन सडकभरि बिछ्याइएको सीसीटीभीको निगरानीमा पर्दैनन् ? उखु किसानलाई रुवाउने पापीहरूको संरक्षक को हो ?

सभ्यताको चिहानमा बसेर कसले कोरिरहेको छ विकाशको नक्सा ? नागरिकको बासमाथि डोजर चलाउने आदेश कसले दिइरहको छ ? मेरै राज्यमा मेरो मातृभाषा बोल्दा मुख थुन्ने हात कसको हो ?

बहुलाहाहरू चिच्याइरहेका छन् । म यसो कान थापेर सुन्छु बहुलाहाहरूको चिच्याहटमा आवाज मात्र छैन । आक्रोशको ध्वनि पनि सुनिन्छ । कैयौँ दिनदेखि यो ध्वनिले मलाई लखेटिरहेको छ । यो देशमा के भएको हो यो ? डर लाग्छ, म आफै पनि बहुलाउन लागेको त होइन ।

प्रकाशित : चैत्र ३, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

किशोरी हत्या आरोपमा एक वर्षपछि किशोर पक्राउ

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका–१, काभ्राकी १६ वर्षीया कविता बोहराको हत्या आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयसहित प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गरेको हो ।

आरोपित किशोर १८ वर्ष नपुगेकाले उनलाई नेपालगन्जस्थित बालसुधार गृहमा पठाइने जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार एउटै विद्यालयमा पढ्ने किशोरले मन पराए पनि किशोरीले बेवास्ता गरेपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

किशोरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको उनले जानकारी दिए । गत वर्ष फागुन २ गते किशोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७७ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×