संक्रमितको शव जलाउनुपर्दा...- विविधा - कान्तिपुर समाचार

संक्रमितको शव जलाउनुपर्दा...

एक दिन त २९ वटासम्म शव जलायौं । बिहान ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म निरन्तर खट्यौं । पीपीई लगाएको लगाएकै । खलखली पसिना आउँथ्यो । भोकतिर्खा लाग्थ्यो । दिसापिसाबसमेत गर्न पाइँदैनथ्यो । 
अर्जुन खड्का

सडक सुनसान थियो । मान्छे घरभित्रै बस्थे । बाहिर निस्क्यो कि कोरोना लाग्छ भनेजस्तो गर्थे । लकडाउनमा पनि शव ल्याउन त रोकिने कुरा भएन । शवको दाहसंस्कार गर्ने जिम्मेवारी हाम्रो थियो । शवदाह गृह चौबीसै घण्टा चल्थ्यो । हामी सधैं काममा हुन्थ्यौं ।

शव कोरोना संक्रमितको हो कि भन्ने डर हुन्थ्यो । त्यही भएर पीपीई लगाएरै काम गर्थ्यौं । अन्त्येष्टि गरेर कोठामा जान्थ्यौं । मेरो कोठामा ५० वर्षमाथिकी आमा र ६० वर्षका बुबा हुनुहुन्थ्यो । सात वर्षकी छोरी थिइन् । सरकारले भन्थ्यो, ‘बूढाबूढीलाई जोगाउन भए पनि घरबाहिर निस्कनु हुँदैन ।’ मेरो त बाध्यता थियो । हामी घरबाट बाहिर ननिस्किने हो भने शव जल्दैनथ्यो ।

स्वास्थ्य सुरक्षामा सावधानी अपनाउँथ्यौं । शव जलाउनुअघि पीपीई लगाउँथ्यौं । लकडाउनमा अरू बेलाभन्दा कमै शव आयो । अहिलेसम्म कति शव जलाएँ याद छैन । जेठ ३ गते भने कहिल्यै बिर्सिदिनँ । त्यस दिन शवदाह गर्ने ड्युटी मेरो र चेतबहादुर रानामगरको थियो । अरू बेला शव आएपछि मात्रै दाहसंस्कारका लागि खबर आउँथ्यो । त्यो दिन पहिल्यै खबर आयो– कोरोनाले मृत्यु भएकाको शव आउँछ, तयारी अवस्थामा बस्नू ।’

शवदाह गृहभन्दा पारिपट्टि मेरो कोठा थियो । त्यो फोनले न बोल्न सकें न त पाइला नै चल्यो । ओठतालु सुक्यो । ती महिलाजस्तै हामी पनि कोरोना लागेर मर्छौं कि भन्ने डर भयो । चेतबहादुर र अरू साथीसँग सल्लाह गरे । पशुपति विकास कोषका पदाधिकारीलाई फोन गरेर संक्रमितको शव जलाउनुभन्दा जागिर छाड्नेसम्मको कुरा भयो । तर राज्यलाई आपत् परेका बेला सहयोग गर्नुपर्ने सुझाव आयो । त्यही सुझाव हाम्रा लागि बुटी बन्यो ।

पातला पीपीई लगाएर दिउँसैदेखि शवदाह गृहमा शव पर्खेर बस्यौं । शव साँझ मात्रै ल्याइयो । शव हिँडाइयो रे भन्ने सुनेपछि मुटुले ठाउँ छाड्ला जस्तो भयो । वाग्मती खोलाको सुसाइ पनि शव बाहनको साइरनजस्तो लाग्थ्यो । दिसापिसाब लागेजस्तो हुन्थ्यो । त्यो दिनको जस्तो डर कहिल्यै लागेको थिएन ।

सेना र प्रहरीको एस्कर्टिङमा शव ल्याइयो । अरू बेला मलामीको ताँती हुन्थ्यो, त्यो दिन त मलामी न रुने कराउने आफन्त । एस्कर्टिङ गरेर आएका सेना र प्रहरीले टाढैबाट हेरिरहे । पीपीई लगाएका मानिसले शवलाई शवदाह गृहमा ल्याए । मेसिनमा शव राखेको खट मिलाउने काम मेरो थियो । शव ढोकाबाट छिराएपछिको एक घण्टा मलाई एक दिनभन्दा बढी जस्तो लाग्यो । उता चिम्नीबाट निस्कने धूवाँको मुस्लो पारिपट्टिबाट छोरी, श्रीमतीसँगै आमा बुबाले हेरिहनुभएको रहेछ । उहाँहरू छोरालाई पनि कोरोना लाग्ने भयो भनेर पिरोलिनुभएको थियो । घरीघरी फोन गर्नुहुन्थ्यो तर पीपीई लगाएकाले फोन उठाउन पाइँदैनथ्यो । दाहसंस्कार सकिएपछि शव जलाउने, दर्ता प्रक्रियामा सहभागी र किरियापुत्री सबै क्वारेन्टाइन बस्नुपर्ने भयो । पीसीआर रिपोर्ट आएपछि मात्र घर जान पाइने ।

१४ औं दिनमा पीसीआर गर्ने तयारी थियो । १३ औं दिनमा पाटन अस्पतालबाट कोरोना संक्रमितको शव ल्याउने खबर आयो । हामीले त्यो शवको दाहसंस्कार गर्नुपर्दैन भन्ने लागेको थियो किनभने हामी क्वारेन्टाइनमा थियौं । त्यो दिन अर्कै समूहको ड्युटी थियो । कोरोना लागेर मृत्यु भएकाको शव आउँदै छ भन्ने सुनेपछि उहाँहरू त गेटमा ताल्चा लगाएर भाग्नुभएछ । शव बाहिर राखेर सेना साथीहरूलाई खोजेको खोज्यै भएछ । कोषका सदस्य सचिव, कार्यकारी सर पनि आउनुभयो । उहाँहरूले हामीलाई नै आग्रह गर्नुभयो । नाइँ भन्नै सकेनौं । दोस्रो शव पनि हामीले नै जलाउनुपर्ने भएपछि आमा किरियापुत्री भवनको गेटमा आएर रुनुभयो । उहाँले ‘यस्तो जागिर खानु पर्दैन, अहिले नै छाड्दे, ज्यानभन्दा ठूलो जागिर होइन’ भन्नुभयो । हामी सबै भएर आमालाई सम्झायौं । सुकसुकाउँदै जानुभयो । हामी शव जलाउनतिर लाग्यौं ।

क्वारेन्टाइनमा हामी ६ जना बसेका थियौं । साथी पूर्णबहादुर कार्कीलाई उनकी आमाले फोन गर्दै पीर मान्नुभयो । दोस्रो शव जलाएको १४ दिनपछि आरडीटी गर्न गयौं । हामी साथीहरू रमाइलो गर्दै बसेका थियौं । सँगै खान्थ्यौ । परीक्षण गर्न जाने भए पछि पक्कै पनि कोरोनाले भेट्यो होला डर लाग्यो । त्यसबेला कोरोना हावाबाट पनि सर्छ भन्ने हल्ला थियो । हामीले त शव नै मेसिनमा हालेका थियौं । धन्न सबैको रिपोर्ट नेगेटिभ आयो । पहिलो शव जलाएको एक महिनापछि मात्रै कोठामा गएँ ।

रिपोर्ट सधैं खल्तीमा

दोस्रो शव जलाएको १४ दिनपछि हामी क्वारेन्टाइनबाट बाहिर निस्क्यौं । सधैं चिया खान जाने ठाउँमा छिःछिः दुरदुर पो भोग्नुपर्‍यो । वरिपरि निस्कनै नहुने भयो । कोरोना लागेको मान्छे जलाउनेहरू भन्दै परपर भाग्न थाले । खाजा खान जाँदा किन आएको समेत भन्थे । कतिपय ठाउँमा त पीसीआर रिपोर्ट देखाउनुपर्‍यो । रिपोर्ट नलिई नआउनू भन्थे । हामी प्रतिवाद पनि गर्न सक्दैनथ्यौं । अवस्था त्यस्तै थियो ।

पहिला त हामीलाई पनि डर थियो । डर यतिसम्म कि शव जलाएपछि साबुनले मात्रै होइन, सेनिटाइजरले पनि नुहायौं । पीपीई एक पटकभन्दा बढी लगाउँदैनथ्यौं । पीपीई आफैं जलाउँथ्यौं । किरियापुत्री भवनको कोठामा बनाइएको क्वारेन्टाइनमा बस्दा छोरी, श्रीमती, आमाबुबासँग गेट बाहिरबाटै कुरा गर्थ्यौं । घरबाट खाना र खाजा ल्याएर बाहिर अलग्गै राखिदिन्थे । घरका मान्छे फर्केपछि हामी लिन जान्थ्यौं ।

जेठ ३ देखि साउन १५ सम्म १४ वटा केस आएको थियो । जसको ड्युटी पर्थ्यो, उसले काम गर्नुपर्थ्यो । साउन १५ बाट शव यति बढ्यो कि अन्य रोगले मृत्यु भएकाको अन्त्येष्टि गर्नै सकेनौं । सुरुमा एउटा मात्रै मेसिन चल्थ्यो । शव बढेपछि तीनवटासम्म मेसिन चल्यो । दसैंअघिको एक दिन त यस्तो भयो कि २९ वटासम्म शव जलायौं । त्यस बेला बिहान ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म निरन्तर खट्यौं, त्यत्रो समयसम्म पीपीई लगाउँदा कस्तो हुन्छ होला ! खलखली पसिना आउँथ्यो । तिर्खा लाग्थ्यो । पानी पिउन पाइँदैनथ्यो । भोक लाग्थ्यो । दिसापिसाबसमेत गर्न पाइएन । फुर्सद पनि नमिल्ने । जेसुकै होस् भनेर बाहिरबाट खाना मगाएर खायौं ।

भोक र कामको चापले यहाँ खटिएका एक जना सेना ढले । पानी छम्केर उठायौं । काम छाडौं, शवको लाइन छ । शव जलाउन नसक्ने भएपछि ५ वटा शव अस्पतालबाट उठाउनै रोक्नुपर्‍यो । मृतकका आफन्तको दबाब पनि थेगिनसक्नुहुन्थ्यो । ‘मेरो मान्छेको शव पहिला जलाउनुपर्‍यो’ भनेर शव व्यवस्थापनमा नेतृत्व लिएका सुवास कार्की दाइलाई फोन आउँथ्यो । कतिले त मुख हेर्न पाइएन भने गेटमा झगडा गर्थे । अस्पतालले आर्यघाटमा मुख हेर्न दिन्छ भनेर पठाउँदो रहेछ । हामीले शव देखाउनै मिल्दैनथ्यो । त्यसपछि ‘तेरा बाबुआमा मर्दैनन् ?’ भनेर गाली गर्थे । अरूलाई संक्रमण नसरोस् भनेर सरकारको निर्णयअनुसार नै अस्पतालले शव पोको पारेर पठाएको हुन्थ्यो । त्यसलाई हामीले नखोली जलाउँथ्यौं ।

सावधानी अपनाउँदाअपनाउँदै प्रशासनिक व्यवस्थापनमा खटिने सुवास कार्कीसहित दुई जना र शव जलाउने म र चेतबहादुरलाई कोरोना लाग्यो । १४ दिन आइसोलेसनमा बसेर फर्क्यौं । त्यसबेला कार्की दाइले भोगेको पीडा सम्झन पनि मन लाग्दैन । आफ्नै अफिस (पशुपति विकास कोष) मा जाँदा पनि साथीहरूले उहाँलाई दुर्व्यवहार गर्नुभएछ । उहाँको साथी भनेकै हामी थियौं । सँगै खाजा र चिया खान जान्थ्यौं । मैलेचाहिँ कोरोना लाग्दा कुनै दुर्व्यवहार भाग्नुपरेन ।

हामी फ्रन्टलाइनमा काम गर्ने भएकाले परिषद् सदस्यले व्यक्तिगत खर्चमा बिमा गरिदिएका थिए । कोरोना लागेपछि सबै कागज पेस गरेको चार महिनाभन्दा बढी भयो । अहिलेसम्म बिमा रकम हात परेको छैन । सधैं प्रोसेसमा छ भन्छन्, पैसा कहिले आउने हो टुंगो छैन । संक्रमणले मृत्यु भएकाको शव रातदिन नभनी जलायौं तर बिमाको पैसा पनि नपाउँदा मन दुख्छ । हामीले राज्यकै लागि काम गर्‍यौं तर राज्यले दिनुपर्ने बिमाबापतको रकम त दिँदो रहेनछ । निजी ल्याबमा परीक्षण गराउनु के मेरो दोष हो ?

सरकारले अनुमति दिएको ल्याबमै पीसीआर गराएको थिएँ । कि त्यो ल्याब अवैध हो भन्नुपर्‍यो । हामीले शतप्रतिशत भत्तासमेत पाउन सकेका छैनौं । साउनयता तलबबाहेक केही पाएका छैनौं । ड्युटीमा बस्दा कोषले दाल, चामल र बस्ने ठाउँ दिने गरेको छ । यसरी खटिएर काम गरेपछि भात खाने र सुत्ने ठाउँ मात्रै दिने राज्यको दायित्व हो त ? डाक्टर नर्सले जसरी हामीले पनि भत्ता पाउनुपर्दैन ? यस्ता प्रश्न कसलाई गर्नु ?

हाम्रो पीडा सुन्न कसलाई फुर्सद होला र ? शव जलाउन छाडेर बिमाबापतको रकम र भत्ता माग्दै आन्दोलन गर्न सडकमा निस्कनु ?

(मकर श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ७, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्

इजलासमा एमिकस क्युरीले सम्झिइन्– 'तिमीले भनेका सारा देव छोएर…'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदकका कानुन व्यवसायीले बहस मात्र गरेनन् । कसैले सायरी वाचन गरे त कसैले गीतै गाए । मुद्दाको प्रतिवाद गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल र सरकारी कानुन व्यवसायीले आफ्ना तर्कलाई बल दिन सायरी र गीतको सहारा लिए ।  

माघ ४ देखि संवैधानिक इजलासमा जारी सुनुवाइमा सायरी र गीतबाट आफ्नो पक्षको प्रतिरक्षा गर्नेमा अब एमिकस क्युरी पनि जोडिएका छन् ।

पाँच सदस्यीय एमिकस क्युरीमध्ये शुक्रबार अन्तिममा बहसमा आएकी वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय व्यक्त गर्ने क्रममा नारायणगोपालले गाएको 'तिमीले भनेका सारा देव छोएर…' गीत सम्झिइन् ।

इजलाससामु उभिएर वरिष्ठ अधिवक्ता पाठकले सुरुमा आफूले व्यक्त गर्ने रायबारे आफन्त वा परिवारका सदस्य र साथीभाइसँग नभनेको बताइन् । उनले आफ्ना विद्यार्थीबाट केही सन्दर्भ–सामग्री खोज्न भने सहयोग लिएको बताइन् ।

आफ्नो उपस्थितिबारे केही कानुन व्यवसायीले केही कुरा उठाएका कुराबारे जानकार रहेको पनि उनको भनाइ थियो ।

आफू कानुनको क्षेत्रमा समर्पित रहेको बताउँदै उनले इजलासमा राखेका कुरा सबैले बुझ्ने पनि बताइन् । भनिन्, 'यहाँ मैले मौलिकताको विषयवस्तुलाई यहाँनेर राख्न चाहेको छु ।'

बाहिरको राजनीतिबारे थुप्रै प्रश्न उठिरहेको भन्दै उनले आफूभन्दा पहिला राय दिएका एमिकस क्युरीहरू वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलका कुरा पनि उल्लेख गरिन् ।

त्यसपछि मुद्दामा आफ्ना राय राख्नु पहिला उनले इजलासमा सायरी र गीत आएका कुरा उठाइन् । र, अहिलेको सन्दर्भमा नारायणगोपालले गाएको 'तिमीले भनेका सारा देव छोएर…' गीत मेल खाने बताइन् ।

त्यसपछि उक्त गीतको अर्को लाइन पनि सुनाइन्, 'म किरिया खान कहाँ सक्छु र ?...'

इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले निवेदकका तर्फबाट मिर्जा गालिबको सायरी सुनाएका थिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले निवेदकहरूले 'मलाई त्यै केटी चाहिन्छ' गीतको शैली अपनाएको बताएका थिए । त्यस्तै, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई…' भन्ने गीत सुनाएका थिए ।


प्रकाशित : फाल्गुन ७, २०७७ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×