शिक्षासेवी कृष्णलाल झाको स्मृतिमा शिक्षा पुरस्कार स्थापना

कान्तिपुर संवाददाता

काठमाडौँ — सिरहाको बस्तीपुर माध्यमिक विद्यालयका संस्थापकमध्येका एक शिक्षक कृष्णलाल झाको स्मृतिमा शिक्षा पुरस्कार स्थापना भएको छ । साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षि र साहित्यकार-सञ्चारकर्मी रूपा झाले पिता कृष्णलाल झाको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा योगदान गर्नेहरुलाई यो पुरस्कार वर्षेनी प्रदान गरिने छ ।

जेठा छोरा अक्षेन्द्र झाको जन्मदिनको अवसरमा अक्षयकोष राखिएको हो । अक्षय कोषबाट वर्षेनी ५१ हजार रुपैयाँ रासीको 'पं. कृष्णलाल झा स्मृति शिक्षा पुरस्कार' प्रदान गरिने छ ।

२००४ सालमा स्थापना भएको सिरहाको बस्तीपुर माध्यमिक विद्यालयका संस्थापक शिक्षकमध्येका एक कृष्णलाल झाले उक्त विद्यालयमा अविच्छिन्न रूपले सबैभन्दा लामो समयसम्म शिक्षण गरेका थिए । त्यसैले पुरस्कार झाको स्मृति दिवसका दिन उक्त विद्यालय परिसरमै पुरस्कार प्रदान गरिने छ । बस्तीपुर माविबाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने एकजना छात्र / छात्रालाई ११ हजार रुपैयाँको 'कृष्णानन्दी प्रोत्साहन पुरस्कार' वा सोही विद्यालयमा कक्षा ११-१२ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पनि प्राज्ञ प्रेमर्षिले जनाएका छन् ।

प्रकाशित : वैशाख १२, २०८० १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

सभामुखलाई सांसद डाँगीको प्रश्न : कोइरीलाई किन कारबाही गरिएन ?

'यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी यस सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराइ ? यदि जानकारी गराएको भए के जानकारी गराएका छन् ?'
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेबाट निर्वाचित भई फौजदारी अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई कारबाही किन नगरिएको भनेर सभामुख देवराज घिमिरेलाई प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद डाँगीले १० बैठकमा जानकारी बिना अनुपस्थित हुने सांसदको पद रिक्त हुने संवैधानिक व्यवस्था स्मरण गराउँदै कोइरीको विषयमा जानकारी मागेकी हुन् ।

सांसद कोइरी सभामुखलाई जानकारी दिएर अनुपस्थित भइरहेका हुन् कि जानकारी नदिइकनै भन्ने प्रश्न सांसद डाँगीले गरेकी छन् ।

'सभामुख महोदय, नेपालको संविधानको धारा ८९ (घ) मा कुनै पनि सांसद सदनलाई जानकारी नदिइ १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको छ । यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी यस सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराइ ? यदि जानकारी गराएको भए के जानकारी गराएका छन्, सदनलाई जानकारी गराउन सभामुखलाई अनुरोध गर्न चाहे,' उनले भनिन्, 'यदि जानकारी नगराएको भए, सभामुख महोदय अहिलेसम्म संविधानबमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहे ।'

एमाले सांसद महतोको विषयमा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने हुँदा संसदमा नै प्रश्न उठेका थिए । फौजदारी अभियोगमा फरार रहेका कोइरी र गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि सरकारको आलोचना भएको थियो । सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग कोइरीमाथि छ । उनलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

त्यस्तै, सांसद डाँगीले प्रतिनिधिसभाको चालु अधिवेशनले काम गर्न नसकेको अनुभूति आफूलाई भएको बताएकी छन् । उनले सरकारले सांसदका प्रश्नको जवाफ नदिएको र संसदीय समिति गठन हुन नसकेकाले आफूलाई कामै नभएको अनुभूति भएको बताइन् ।

प्रकाशित : वैशाख १२, २०८० १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×