वायु प्रदूषण रोक्नेबारे जनचेतना फैलाउन ‘साथी’ अभियान

कान्तिपुर संवाददाता

काठमाडौँ — वायु प्रदूषण नियन्त्रणबारे जनचेतना फैलाउने उद्देश्यले सेभ द चिल्ड्रेनले ‘साथी’ अभियान सुरु गरेको छ । साथी अर्थात भालु आकारको सेतो टेडी बियर लिएर अभियन्ताहरु ६ महिनासम्म देशभर वायु प्रदूषणबारे जनचेतना फैलाउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् ।

नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरहरूको सूचीमा रहँदा सेभ द चिल्ड्रेनले पृथ्वी दिवसको अवसर पारेर देशव्यापी अभियान संचालन गर्न लागेको हो ।

सेभ द चिल्ड्रेनलाई अन्य संघसंस्था र बालबलिका तथा युवा अभियन्ताको साथ रहनेछ । साथी अवधारणाले नेपालभरका मानिसलाई वायु प्रदूषणबारे जानकारी दिन सहयोग पुग्नेछ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलका अनुसार साथी एयर बियर वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदूषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्यमाथि खेलवाड गरिरहेको छ र किन यसबारे सचेत हुनुपर्छ भन्नेबारे सचेत गराउने गर्छ ।

यस अभियान मार्फत् विभिन्न सरोकारवालाहरुसँग वातावरण संरक्षण सम्बन्धी कुराकानी गर्नुका साथै वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्ने र उनीहरूलाई वायु प्रदूषणका साथै जलवायु परिवर्तन सम्बन्धी काम गर्न आह्वान गरिने पनि बताइएको छ ।

६ महिने अभियानका क्रममा वायु प्रदूषणको प्रभावबारे बालबालिका र युवालाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गरिने पनि बताइएको छ । जहाँ नीति निर्माता र सरोकारवालाहरुसँग वायु प्रदूषणसँगै जलवायु परिवर्तनबारे पनि छलफल गरी निष्कर्ष निकाल्ने प्रयत्न गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

बारामा ६५ प्रतिशत मतदान, राति नै गणना सुरु गरिने

लक्ष्मी साह

बारा — बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत आइतबार ६५ प्रतिशत मतदान भएको छ । जिल्लका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीका अनुसार यो उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनमा भन्दा बढीले मतदान गरे । मंसिरमा ६४.४४ प्रतिशत मत खसेको थियो भने । यसपटक ६५ प्रतिशत मतदान भएको छ ।

आइतबार साँझ नै मतदान सकिएपछि १ सय ३७ मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन हुँदैछ । कलैयाको शैक्षिक तालिम केन्द्रमा आइतबार रातिदेखि नै मतगणना हुने चौधरीले बताए ।

यस क्षेत्रमा कुल १ लाख ५ हजार २८ मतदाता रहेकोमा त्यसको ६५ प्रतिशत मतदान भएको हो । चौधरीका अनुसार आचारसंहिता उल्लंघन गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पस्टीकरण सोधेको छ । साथै ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

चौधरीका अनुसार देवताल गाउँपालिका वडा न ७ पिरपातीजब्दीको सिँचाइ भवनको मतदान केन्द्रमा शान्तिपूर्ण मतदानलाई खल्बल्याउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रण लिइएको थियो ।

दुईवटा मतपत्र लिएर मतदान गर्न जाँदा सोही वडाका रामसागर यादवलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार २ वटा मतपत्र लिएर भोट हाल्न खोज्ने जसपाका कार्यकर्ता ६२ वर्षीय रामसागर यादवलगायतलाई नियन्त्रणमा लिइएको थियो । मतदान समाप्त भएपछि उनीहरुलाई छोडिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

यसैबीच मंगलबारसम्म मतपरिणाम आइसक्ने प्रजिअ सापकोटाले जानकारी दिए । कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र रहेका थिए । निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवसहित एमालेका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेलसहित ३४ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रकाशित : वैशाख १०, २०८० २०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×