कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘अब निर्मम ढंगले पार्टी पुनर्निर्माणमा लाग्छौं’– दाहाल

काठमाडौँ — ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’ गर्ने मूल नाराका साथ माओवादी केन्द्रको महाधिवेशन आइतबार सुरू हुँदै छ । तीन दशकभन्दा बढी समयदेखि पार्टी प्रमुख रहेका पुष्पकमल दाहालले यस महाधिवेशनबाट माओवादीलाई कुन दिशामा लैजान्छन् भन्नेमा चासो सबैको छ ।

‘अब निर्मम ढंगले पार्टी पुनर्निर्माणमा लाग्छौं’– दाहाल

१० वर्षे सशस्त्र युद्ध र १६ वर्षे शान्ति प्रक्रियाको अनुभवका आधारमा नयाँ विचार अघि सार्ने दाबी दाहालको छ । पार्टी निर्माणमा अब निर्मम ढंगले अघि बढ्ने उद्घोष उनले गरेका छन् । माओवादीको कार्यदिशा, सत्ता गठबन्धनको भविष्यलगायत विषयमा दाहालसँग कान्तिपुरका गंगा बीसी, बबिता शर्माजयसिंह महराले गरेको कुराकानी :

राष्ट्रिय महाधिवेशनमा नयाँ विचार र पार्टी निर्माणको कुरा अगाडि सार्नुभएको छ, त्यो कसरी हुन्छ ?

राष्ट्रिय महाधिवेशनमा हाम्रो ध्यान मुख्य रूपमा विचारलाई विकास र परिमार्जन गर्ने, पार्टीलाई नयाँ संरचनामा पुनर्संगठन गर्नेमा हुनेछ । विचार विकास र परिमार्जन भन्नुको तात्पर्य अहिले अन्तर्राष्ट्रिय रूपमा विकसित भएका शक्ति सन्तुलनको स्थिति भनौं या प्रवृत्ति, वैचारिक धाराको असर विश्वमा कहाँ कस्तो असर परेको छ भन्ने अध्ययन हो ।

दोस्रो, विज्ञान, सूचना प्रविधिको क्रान्ति त भयो, तर त्यसले उत्पादक शक्तिमा के असर गरेको छ, मानिस तथा राष्ट्रहरूको बीचको आपसी सम्बन्धमा यसको के असर छ भन्ने विषयमा अध्ययन अनुसन्धान र निष्कर्ष निकाल्ने हो । यसमा प्रयास हुँदै छ ।

तेस्रो, नेपालको विकासको प्रक्रियामा हामी कहाँ आइपुगेका छौं, अहिलेको यो अन्तर्राष्ट्रिय शक्ति सन्दर्भ र शक्ति सन्तुलनको असर के छ, नेपालको भूराजनीतिक अवस्था र हाम्रो विकासको चरणको हिसाबले हामीले कस्तो नीति सिद्धान्त लिँदा राष्ट्र र जनताको बृहत्तर हित गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । मेरो ध्यान अलि बढी अध्ययनमा गयो । संसारभरि के विकास भएको छ त भनेर अलि मिहिनेत गरेर अध्ययन गर्ने र बुझ्ने कोसिस गरें । नेपालको स्थितिसँग त्यसलाई जोड्ने र नयाँ निष्कर्षमा पुग्ने प्रयास गरेको छु ।

कुनै बेला तपाईंहरूको पार्टी पहिलो थियो, अहिले तेस्रो स्थानमा छ । कसरी यो स्थिति आयो भनेर समीक्षा गर्नुभएको छ ?

माओवादी नेपालका परम्परागत ढंगले विकसित भएका पार्टीभन्दा नितान्त भिन्न पृष्ठभूमि, विचार, संस्कार र शैलीको पार्टी हो । जसले जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्रसम्म नेपाललाई ल्याउन झन्डै निर्णायक र महत्त्वपूर्ण भूमिका खेल्यो । आज अरू पार्टीसँग भिन्नता देखिन छाड्दै गयो । सबै पार्टी उस्तै–उस्तै हुन् भनेको जस्तो बन्न गयो । यो एउटा निश्चित विचार र उद्देश्यका निम्ति समर्पण, निष्ठा, जनता र राष्ट्रका लागि त्याग, तपस्या तथा बलिदान गर्ने दृष्टिकोणले ऐतिहासिक विरासत बोकेको पार्टी हो । तर अहिले यस्तो स्थितिमा हुनुको कारणको खोजीमा छौं ।

यो आन्दोलनको प्रमुख लिडरसिपमा हुनुको नाताले खासगरी शान्ति प्रक्रियायता के त्यस्ता कमजोरी भए, जुन कारणले हाम्रो पार्टी पनि अरूजस्तै पद, प्रतिष्ठा र स्वार्थका निम्ति लाग्ने जस्तो भयो, जनताबाट बिस्तारै कट्या जस्तो भयो, त्यसको समीक्षा मबाट नै सुरु गरेको छु । हामी केही वैचारिक विषयमा पनि जसरी जानुपर्थ्यो, त्यसरी गएनौं । त्यसले पनि राम्रो गरेन भन्नेतिर छलफल गर्दै छौं । केही विधि विधानको प्रक्रिया पालनामा पनि त्रुटि भए । त्यो समीक्षाले हामीलाई फेरि जनतातिर फर्किने, फेरि उत्पादन, श्रम र श्रमिक वर्गसँग आफूलाई लगेर जोड्नेतिर लान्छ भन्ने मेरो विश्वास छ । यो जोड्ने कसरी भन्ने पनि सवाल आउँछ । मैले अहिले छलफलमा प्रस्ताव गर्न खोजेको कुरा के छ भने अब पार्टी गाउँ र सहरका पनि श्रमिक जनता या आम जनता भएको ठाउँमा जाने हो । निश्चित अवधिसम्म सामूहिक जीवन पद्धति अपनाउने ।

अब सधैं त सम्भव हुँदैन तर एकचोटि दलितको घरमा गएर देखाएजस्तो पनि होइन । जनतासँगै बस्ने, जनतासँगै खाने, सँगै श्रम गर्ने, सँगै उत्पादन कार्यमा सहभागी हुने, प्रमुख नेतादेखि सबै नेता कार्यकर्ताको सेड्युल बनाएर त्यसलाई एउटा रूपान्तरण गर्ने भन्ने हो । नेता–कार्यकर्ता जनतासँगै बसेर भ्रष्टाचारविरोधी गतिविधिमा जान्छन् । आफैंलाई नबदलेसम्म राष्ट्र र जनतालाई समृद्धितिर लान सकिँदैन भन्ने मान्यतातिर हामी जाँदै छौं । अब जनतातिर फेरि एकचोटि गएर यो देशको विकास, निर्माण, समृद्धि र सुशासनका निम्ति हामी अभियान चलाउँछौं । यसले अरू पार्टी र अरू कम्युनिस्ट पार्टीका इमानदार कार्यकर्तालाई पनि हामी एकै ठाउँमा केन्द्रित हुनुपर्छ भन्ने बनाउँछ । फेरि कम्युनिस्ट आन्दोलन एक बन्छ अनि हामीले जनताका लागि हिजो देखेको सपना पूरा गर्नेतिर लान सकिन्छ भन्ने मेरो विश्वास छ ।

नेता तथा कार्यकर्ता सहरकेन्द्रित र सुविधाभोगी भइरहेका बेला आम जनताको ठाउँमा जाने र सामूहिक जीवन पद्धति अपनाउने गरी व्यवहार रूपान्तरण सम्भव होला त ?

रूपान्तरण पहिलाको जस्तो यान्त्रिक रूपले होइन, अहिलेको परिस्थिति सापेक्ष नै हुन्छ । सबैभन्दा मुख्य कुरा विचार, राजनीतिक उद्देश्य र मिसनमा स्पष्टता हुनुपर्छ । अहिलेको भूमण्डलीकृत साम्राज्यवाद वा वित्तीय पुँजीवादको विशेषता के हो, उद्देश्य के हो, यसले मानव जातिलाई के असर गरेको छ, नेपालमा के असर परेको छ, हाम्रो आन्दोलनलाई के असर गरेको छ भन्नेबारे स्पष्ट विश्लेषण र संश्लेषण नहुनुको परिणाम मानिस अलिकति अलमल भएका हुन् । अहिलेको राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र परिस्थितिको चित्र स्पष्ट भएपछि पार्टी बिस्तारै त्यसमा लाग्छ ।

पार्टी निर्माणमा कसरी अघि बढ्ने तयारी छ ?

पार्टीमा निर्मम समीक्षा जरुरी छ । निर्मम ढंगले पार्टी पुनर्निर्माण गर्ने हो । जनता र उत्पादनको श्रम कार्यसँग आफूलाई जोड्ने हो । संविधानले समाजवाद उन्मुख भनेको छ, निजी, सार्वजनिक र सहकारीको संयोजनमा नेपालको अर्थतन्त्रलाई अगाडि बढाउने कुरा गरेको छ । तर व्यवहारमा कुनै पनि पार्टीले त्यसलाई गहिरो गरी आत्मसात् गरेर विकास प्रक्रियामा जोड्ने काम भएन । राज्यको बजेट तथा पार्टीका नीति, योजना र कार्यक्रमका बीचमा तालमेल गरेर गाउँ, टोल र जनजीवनमा नै सकारात्मक परिवर्तनको अनुभूति हुने गरी जाने काम हुन सकेन । हाम्रो राष्ट्रिय महाधिवेशनले त्यसलाई एक नम्बरमा ल्याउनुपर्छ अनि मात्रै जनताले यो पार्टीको आवश्यकता महसुस गर्छन् ।

पार्टीको कार्यक्रमचाहिँ राष्ट्रिय राजनीतिक अभियान हुन्छ कि आन्दोलन ?

पार्टीका तर्फबाट राष्ट्रिय अभियान नै हुन्छ । हामी अहिलेको प्रक्रिया छाडेर हिँड्न लागेको हो कि भन्ने कतिपयलाई लागेको हुन सक्छ । यो प्रक्रिया छाड्ने भनेको होइन । जनता, राष्ट्र र क्रान्ति परिवर्तनका निम्ति समर्पित भएर लाग्ने भनेको हो । हेटौंडा महाधिवेशनमा उत्पादन ब्रिगेडको कुरा भएको थियो । तर त्यो कार्यान्वयनमा जान सकेन । किनभने हाम्रो ध्यान बढी संविधान निर्माणमा गयो । संविधान बन्छ कि बन्दैन भन्ने स्थिति थियो । त्यसपछि निर्वाचनको आवश्यकता भन्दाभन्दै त्यो टुट्यो । त्यो टुटेको कडीलाई हामी अब नयाँ तरिकाले जोड्न चाहेका छौं ।

माओवादीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा कतिको प्रभाव पार्न सक्छ ?

तत्कालको राष्ट्रिय राजनीतिमा धेरै फरक पर्छ भन्ने लागेको छैन । यो संविधान र परिवर्तनलाई भत्काउन चाहने प्रतिगामी प्रवृत्तिसँग संघर्ष गरेर हामीले अहिलेलाई बचाएका छौं । अहिले गठबन्धनको सरकार छ, राष्ट्रिय सभाको चुनावका लागि केही दिनपछि मनोनयन गर्नु छ । त्यसपछि स्थानीय चुनाव अनि संघीय र प्रादेशिक चुनावको पनि प्रक्रिया आउँदै छ । त्यो चुनावी प्रक्रियासम्म पनि प्रतिगामी तत्त्वहरू कुनै न कुनै रूपले सक्रिय हुन्छन् । राष्ट्रिय राजनीतिमा पछाडि फर्किन चाहने र पछाडि होइन, हामी जहाँ आयौं, त्यहाँ टेक्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्नेको ध्रुवीकरण छ । पछाडि फर्केर उल्ट्याउन चाहने प्रवृत्ति एमालेभित्र कहीँ न कहीँ हावी भएको देखिन्छ । राप्रपा त हुने नै भयो । अरू पनि कतिपय शक्ति/तत्त्व त्यसमा केन्द्रित हुन खोजेजस्तो छ । संविधान बचाउनुपर्छ, लोकतान्त्रिक गणतन्त्र बचाउनुपर्छ र राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्नेजति अर्कोतिर ध्रुवीकृत हुन खोजेको स्थिति छ ।

तस्बिरहरू : किरण पाण्डे/कान्तिपुर

हरेक पार्टीभित्र त्यस्ता प्रवृत्ति कहीँ न कहीँ छन् । हाम्रो गठबन्धन संविधान र गणतन्त्रको रक्षा गर्ने उद्देश्यका साथ जन्मियो । अब यसलाई कम्तीमा पनि आउने चुनावसम्म रक्षा गरेर लानुपर्छ । केपी (ओली) जीले त भनिराख्नुभएकै छ, गठबन्धन टुटाए एमसीसी पनि पास गरिदिन्छु, कांग्रेसलाई एकलौटी सरकार चलाउन पनि सहयोग गर्छु । योभन्दा अराजनीतिक र अनैतिक कुरा केही पनि हुँदैन । फुटाउने कोसिस विभिन्न कोणबाट भएको होला तर गठबन्धन टुट्दैन ।

तपाईंहरूले भनेको क्रान्ति पूरै सफल नहुँदै शान्ति सम्झौता गर्नुभयो । अहिले सम्झौता नै असफल भएको हो कि भन्ने महसुस भएको हो ?

छैन । हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति विस्तृत शान्ति सम्झौता गर्‍यौं, त्यति बिलकुल राष्ट्र, जनता र लोकतन्त्रको हितमा रहेको पुष्टि भइसकेको छ । संविधान निर्माण गरेर निर्वाचन प्रक्रियामा लैजान सिंगै राष्ट्रलाई एकताबद्ध गर्‍यौं । दोस्रो पटक प्रधानमन्त्री भएका बेला तराई–पहाड–मधेस सबलाई एक ठाउँमा ल्याएर एउटा अभियानमा लैजाने भूमिका निर्वाह गर्न पाए, त्यसमा मलाई गर्व छ । हाम्रो शान्ति प्रक्रिया सफल हो । त्यसमा कुनै त्रुटि छैन । नेपालको शान्ति प्रक्रिया मौलिक छ र सफल पनि छ । तर बाँकी केही काम छन् । टीआरसी (सत्य निरूपण तथा मेलमिलाप) लगायतका केही काम बाँकी छन्, त्यसलाई टुंग्याउन सबैले मद्दत गर्नुपर्छ । त्यसपछि यो संसारकै सफल शान्ति प्रक्रिया हुन्छ भन्ने विश्वास छ ।

एमालेसँग चुनावी गठबन्धन बनाउनुभयो, पछि पार्टी एकता गर्नुभयो तर तीन वर्ष पनि टिकेन । यसलाई कसरी समीक्षा गर्नुहुन्छ ?

कतिपयले पार्टी एकता गल्ती थियो भन्छन् । तर पार्टी एकता गल्ती थिएन भन्ने बुझाइ मेरो छ । हाम्रो उद्देश्य देशमा राजनीतिक स्थायित्व कायम गर्नु थियो । सामाजिक न्याय र समृद्धिको यात्रातिर नेपाललाई लिएर जाने सपनासहित मैले प्रस्ताव गरें र एकता सम्भव भएको हो । जनता र कार्यकर्ताले त्यसलाई अनुमोदन गरे । झन्डै दुई तिहाइ मत दिए ।

कहिलेकाहीँ इतिहासमा नेताहरूले धेरै ठूलो, राम्रो भूमिका खेल्छन्, कहिलेकाहीँ ठूलो प्रतिक्रान्तिकारी भूमिका पनि खेल्छन् । प्रतिगमन, प्रतिक्रान्तितिर लैजाने नेताहरू पनि हुन्छन् । रुस र पूर्वी युरोपमा पनि त्यो देख्यौं । केपीजीले त्यस्तै भूमिका खेलिदिनुभयो । अहिले पनि म कम्युनिस्ट आन्दोलन र राष्ट्रिय एकताको पक्षमा छु, यो परिवर्तनलाई अझ परिमार्जन गर्ने पक्षमा छु ।

एमालेसँग फेरि एकता वा कार्यगत एकताको सम्भावना कति छ ?

एमाले र हामीबीच कार्यगत एकताको सम्भावना देख्दिनँ । केपीजी रहँदासम्म या केपीजीले सबै कुराको आत्मसमीक्षा गरेर नयाँ निष्कर्षमा नपुग्दासम्म अथवा सोझो भाषामा अब आउने चुनावमा म त्यो सम्भावना देख्दिनँ । यो कुरा एक हदसम्म कांग्रेसमा पनि भर पर्छ ।

यो गठबन्धनलाई जसरी शेरबहादुरजीले अगाडि लान खोज्नुभएको छ, पूरै कांग्रेस पार्टी यसरी नै गयो भने अहिले तत्काल वामपन्थीहरूका बीचमा छुट्टै छलफल गर्नुपर्ने आवश्यकता नै छैन । यही गठबन्धन जाने हो । अब ओलीजीले गठबन्धन तोड, हामी तिमीहरूलाई समर्थन गर्छौं भन्नेकैतिर कांग्रेसमा कथम् फस्यो भने त्यतिबेला परिस्थिति ‘मर्ता क्या नही कर्ता’ भन्ने जन्मिन्छ । त्यत्ति बुझ्नुस् न अहिले । त्यस बेला थुप्रै सम्भावना खोज्नुपर्ने हुन्छ । त्यो नहोस् । शेरबहादुरजी त्यो पक्षमा हुनुहुन्न भन्नेमा म स्पष्ट छु ।

‘जनयुद्ध’ का सारथि मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द बाहिर हुनुहुन्छ । तपाईं टाकुरामा उभिएको सल्लाको रूख जस्तो एक्लो देखिनुभएको छ । कस्तो महसुस गर्नुहुन्छ ?

यो धेरै ठूलो जिज्ञासा र छलफलको विषय पनि छ । प्रचण्ड एक्लै भयो भन्न खोज्छन् । प्रचण्ड नै त्यस्तो पात्र हो जसले दोस्रो, तेस्रो तहका भरभराउँदा नेताहरूको ठूलो जमात, सिनियर नेताहरूको ठूलो टिमलाई एक वर्ष होइन, एक दशक होइन, तीस वर्ष सँगसँगै राखेको थियो भन्ने बुझ्नुपर्‍यो । अहिले म सबैलाई एकै ठाउँ ल्याउने कोसिसमा छु । गल्ती कहाँ भयो भनेर यो महाधिवेशनमा समीक्षा हुन्छ । अहिले किरण (वैद्य) जी, विप्लव (चन्द) जीसँग मेरो छलफल चलिराखेको छ । माधव (नेपाल) जीसँग पनि कुरा भइरहेको छ । खालि माओवादीको कुरामात्र पनि होइन । इमानदार कम्युनिस्टलाई एक ठाउँमा ल्याउने प्रयास चलेको छ । फेरि एकपटक सबैलाई जुटाएर आरामसँग माथि जान पाए हुन्थ्यो भन्ने छ ।

माओवादी पार्टीको नाम फेर्ने कुरा बेलाबेला चलिरहन्छ । महाधिवेशनमा यसबारे छलफल हुन्छ ?

नाम माओवादी नै हुनुपर्छ भन्नेमा दृढ छैनौं । नेकपा बनाएबाटै थाहा भएकै छ । अदालतले फेरि माओवादी केन्द्र भनिसकेकाले अहिले नामको पछाडि लाग्दैनौं ।

तपाईं झन्डै तीन दशकदेखि नेतृत्वमा हुनुहुन्छ तर उत्तराधिकारी निर्माण गर्न सक्नुभएन नि ?

नेतृत्वबारे संसारभरि दुई खालका सोच र प्रक्रिया छन् । एउटा औपचारिक नेतृत्व छ, जसमा एउटा कमिटी हुन्छ, एउटा अध्यक्ष, उपाध्यक्ष, सचिव हुन्छन् र पाँच वर्षमा फेरि नयाँ आउँछन् । अर्को, आन्दोलनको विशिष्ट चरणमा आधिकारिक नेता पैदा हुन्छ । ऊ विचार, संगठन र जनताको विश्वासको प्राधिकार हुन्छ । त्यो अध्यक्ष भए पनि नभए पनि नेता भइराख्छ ।

महात्मा गान्धी अध्यक्ष थिएनन् । चीनमा तङ् सियाओ पिङ त कुनै पदमा नै बस्नुभएन तर तङ् सियाओ पिङलाई आधुनिक चीनका निर्माताका रूपमा सबैले माने । माओ त्सेतुङ पनि त्यस्तै हुन् । यहाँ पनि कम्युनिस्ट आन्दोलनभित्र जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा, गणतन्त्र घोषणासम्म संयोगवश या सौभाग्यवश प्रचण्ड रहिराख्यो नेतृत्वमा । त्यस्तै औपचारिक नेतृत्व थिएन, आन्दोलन एवं इतिहासद्वारा निर्मित हुन पुग्यो । एक थरीलाई यो कुरा बिलकुलै मन परेको छैन । माओवादी रहँदासम्म सुख पाइने भएन भन्ने छ उहाँहरूलाई ।

संविधान बन्नुभन्दा झन्डै एक वर्ष अगाडि मैले अब मलाई अध्यक्षबाट बिदा गर्दिनुस् भनेर बाबुरामजीलाई अध्यक्ष बनाउने प्रस्ताव राखेको थिएँ । बेलाबेला हुने शंका/उपशंकाको स्थितिलाई अन्त्य गर्न पनि प्रचण्ड अध्यक्षबाट हट्ने र बाबुरामजीलाई अध्यक्ष बनाऔं भन्ने मान्छे हुँ । यो कुरा बाबुरामजी, वर्षमान, जनार्दनलाई सोधे पनि हुन्छ ।

मलाई अहिले पनि मेरो उमेर, व्यक्तिगत अवस्था र परिवारको स्थिति हेर्दा अर्को खालको भूमिका निर्वाह गरेर संस्मरण लेख्दै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ, एकातिर । तर देशको आवश्यकता र लोकतन्त्रको अवस्था, पार्टीमा उत्तराधिकारी तयार पार्ने आवश्यकता हेर्दा अझ केही वर्ष सक्रिय रहनुपर्ने, गर्नुपर्ने बाध्यता देख्छु । उत्तराधिकारी तयार नै भएन भन्ने होइन ।

अहिले एकसे एक युवा नेता टिममा छन् । केन्द्रीय समिति वा प्रदेश समितिमा नेताहरूको विशाल पंक्ति तयार भइसकेको छ । तुरुन्तै अथोरिटी प्रचण्डको तहको भइनहाल्न सक्छ । तर कमिटी प्रणालीमार्फत नेता आइहाल्छन् र पार्टी चल्छ । अब प्रचण्ड नभए पनि माओवादी आन्दोलन अगाडि जान्छ भन्ने विचार, राजनीति र संगठनको आधारशिला खडा हुन्छ । किरणजी, बाबुरामजी, विप्लवजीहरू पनि यहाँ हुनुपर्थ्यो ।

तपाईं पार्टीको आन्तरिक प्रतिस्पर्धामा अनुदार हुनुहुन्छ, प्रतिस्पर्धा गर्न खोज्नेलाई टिक्न दिनुहुन्न भन्ने आरोप लाग्ने गरेको छ नि ?

पहिलो कुरा म चुनाव गराउन चाहन्नँ भन्ने प्रचार धेरै भयो । मलाई अलि नमिठो पनि लाग्यो । म त्यस्तो होइन । विराटनगर सम्मेलनबाट पहिला कमिटी निर्वाचित गरेर र पदाधिकारी पनि निर्वाचित गरेर हेरिसकेको छु । परिणामलाई मजाले स्वीकार गरेर गएको पनि हो । हामीले विधान बनाएर निर्वाचन लड्ने कुराको सबै तयारी गर्‍यौं । तर सकेसम्म सहमति बनाउन कोसिस गर्नु राम्रो हुन्छ भन्ने नीति थियो । सहमति भयो त के लाग्यो ?

वडामा यसलाई अध्यक्ष बनाऊ, यसलाई सचिव बनाऊ भन्दै म हिँडेको होइन । तर देशैभरिका साथीहरूले सर्वसम्मत गराउनुभयो । तर मिडियाबाट प्रचण्डले चुनाव नै गराउन चाहँदैनन् भन्ने प्रचार भयो । त्यसपछि मैले वाग्मती र प्रदेश १ मा साथीहरूलाई चुनाव लडेर देखाउनुस् भनें । हामी चुनावबाट डराउँदैनौं ।

पार्टी अध्यक्षमा कसैको दाबी नआए पनि अन्य पदमा आकांक्षी धेरै देखिनुभएको छ, चुनाव हुन्छ कि सर्वसम्मत ?

अहिले पहिला पदमा ध्यान नजाओस् भन्ने छ । पहिला विचार, राजनीति र दस्ताबेज कस्तो बनाउने भन्ने ध्यान जाओस् । त्यसपछि कमिटी बनाउने बेला सहमति भयो भने कुरा सकियो, भएन भने चुनाव गराउन मेरो कुनै आपत्ति छैन ।

सत्ता साझेदार कांग्रेसमा सभापति परिवर्तन नभए पनि नयाँ पदाधिकारीहरू आउनुभएको छ, उहाँहरूले कांग्रेस एक्लै चुनावमा जानुपर्छ भनिरहनुभएको छ । गठबन्धन टुट्ने जोखिम बढेको हो ?

देउवाजी फेरि निर्वाचित भएपछि पनि मेरो कुराकानी भइरहेको छ । उहाँ गठबन्धनलाई परैसम्म लानुपर्छ भन्ने सोचमा हुनुहुन्छ । कांग्रेसभित्र एक थरीले अर्ली इलेक्सन भन्ने गरेका पनि छन् । पूरै अवधि संसद् चल्नुपर्छ भन्ने सर्वोच्च अदालतको फैसलालाई मान्नुपर्छ भन्नेमा उहाँ (देउवा) प्रस्ट हुनुहुन्छ । कुनै कारणले अर्ली इलेक्सन गरौं न त भन्ने भयो भने त्यो गठबन्धनले निर्णय गरेर हुने होइन । संसद्ले बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । त्यसमा शेरबहादुरजी स्पष्ट हुनुहुन्छ ।

एकीकृत समाजवादीसँग चुनावी मोर्चा बनाउने चर्चा छ, के हो खास ?

हामी माधवजी, झलनाथजी, एक हदसम्म वामदेवजीहरू भएर पार्टी एकता रक्षा गर्न धेरै बल गर्‍यौं । केपीजी प्रतिगामी बाटो हिँडेर प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गर्न थालेपछि र पार्टीभित्र एकलौटी गर्न खोजेपछि संघर्ष भयो । त्यो संघर्षमा सँगै लड्यौं । हामी ७० प्रतिशतले केपीलाई कारबाही गरेको हो । निर्वाचन आयोगले विगतमा नजिर, संविधान र ऐनको व्यवस्था मानेको भए आज केपीजीसँग न सूर्य हुन्थ्यो न एमाले । उनले अर्कै पार्टी बनाउनुपर्ने थियो । को–को मिलेर ठूलो डिजाइनमा नहुने काम गरे । माधवजी र हाम्रो विचार राजनीति र भावनात्मक रूपले निकटता छ ।

शेरबहादुर देउवा परमादेशले प्रधानमन्त्री बन्नुभएको हो, जनादेशले होइन भनेर एमालेले टिप्पणी गरिरहेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

संसद्मा सांसदहरूको बहुमत छ, त्यो बहुमतलाई अदालतले मान्यता दियो । अब कसरी परमादेशको भयो ? जनादेशकै भयो नि । बरु जनादेशको अस्वीकृति त केपीहरूले गर्नुभयो । अहिले अल्पमतमा हुनुहुन्छ । निर्वाचन आयोगले माधवजीको पार्टीलाई मान्यता दिएको छ । उनीहरूचाहिँ बस्न पाउँदैनौं भनेका छन्, दिनदिनै सदन अवरुद्ध गरेका छन् । यो पो जनादेशविपरीत भयो । लोकतन्त्रविपरीत पनि भयो । छ्याङ्गै बुझिने कुरा छैन त ?

एमसीसी सम्झौताको एजेन्डा गठबन्धनभित्रै पेचिलो देखिएको छ । संसद्को जारी अधिवेशनबाट यो सम्झौलाई अनुमोदन गर्नु हुन्छ ?

केपीजी र युवराज खतिवडा मिलेर सम्झौतालाई संसद्मा लाने बनाइयो, त्रुटि त्यहीँ भएको हो । ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको सम्झौता संसद्मा लाने कुरा थिएन । दुइटा सरकारको सहमति भयो, पैसा आउँथ्यो, काम हुन्थ्यो । अर्को कुरा, पछि गरिएका कार्यान्वयनका सहमतिमा कतिपय विषय अस्पष्ट छन् । छलफल चलिरहेको छ । एमसीसीको अनुदान फिर्ता जाओस् भन्ने हाम्रो चाहना होइन ।

यो अनुदान रकम हाम्रो पूर्वाधारमा खर्चिनुपर्छ । पछि जन्मिएका केही कन्फ्युजनलाई प्रस्ट नगरीकन अनुमोदन गर्ने भन्ने कुराले मात्रै समस्या समाधान हुँदैन । त्यसैले मैले प्रधानमन्त्रीजीलाई यसको समाधान गर्ने हो भने सर्वदलीय बैठक बसौं, सल्लाह गरौं, बौद्धिक वर्ग, प्रमुख सम्पादकहरू, नागरिकलाई बोलाऔं, सल्लाह लिऔं र टुंगोमा पुगौं भनेको हो । एमसीसी अधिकारीहरूसँग पनि मैले एमसीसीबारे बुझाइमा यति बिग्रिएको छ कि प्रस्ट नगरीकन र राष्ट्रिय सहमतिको वातावरण नबनाईकन सजिलो हुँदैन, त्यसका निम्ति समय पनि चाहिन्छ भनेको छु । गठबन्धनको बैठकले गाँठो फुकाउन सजिलो होस् भनेर कार्यदल बनाएको छ ।

कार्यदलका सदस्यहरूले सामग्री जम्मा गर्दै हुनुहुन्छ, उहाँहरूले सायद १७ गते बैठक बसेर केही न केही ल्याउनु हुन्छ । त्यसपछि हामी बस्छौं । एमसीसी सम्झौता यसै अधिवेशनमा टेबल हुन्छ कि हुन्न, ग्यारेन्टी गर्न भने सक्दिनँ । यसलाई भत्काउने भन्ने पनि होइन, जस्ताको तस्तै आँखा चिम्लिने भन्नेमा पनि हामी छैनौं ।

प्रमुख प्रतिपक्षी दलले संसद्‌मा लामो समयदेखि अवरोध गरिरहेको छ तर सत्तारूढ दलका नाताले यसलाई हटाउन तपाईंहरूले खासै पहल गर्नुभएको देखिएन नि ?

सदन अवरुद्ध खोल्नकै लागि अस्ति सर्वदलीय बैठक बोलाइएको थियो । प्रधानमन्त्रीले बोलाएको बैठकमा केपीजी कहिल्यै आउनु हुन्न । सिंहदरबार बोलाए पनि आउनु हुन्न, बालुवाटार पनि आउनु हुन्न । माधव भएको ठाउँमा हामी आउँदैनौं भन्नु हुन्छ । यो अराजनीतिक तर्क हो । हामीले त हिजो युद्ध गरेका, टाउको काट्ने भनेकासँगै बसेर छलफल गरेर निचोड निकालेको हो । यो सदन त जसरी पनि खुलाउनुपर्‍यो । केपीजी बैठकमा नआएपछि मैले प्रधानमन्त्रीजीलाई तपाईं र म दुवै बालकोट जाऔं भनेर प्रस्ताव पनि राखेको थिएँ । यो डेढ महिना अगाडिको कुरा हो । प्रमुख प्रतिपक्षी दलको नेता उहाँ हुँदै हो । प्रमुख प्रतिपक्षीकहाँ प्रधानमन्त्री र प्रचण्ड गए भन्दा त राम्रै हुन्छ । प्रधानमन्त्रीजीले ल ल जाने पनि भन्नुभयो तर महाधिवेशनको चटारो सुरु भयो । यताउता भएर बालकोट गइएन ।

एमाले अध्यक्ष ओलीले यो संसद्ले कामै गर्न सक्दैन भन्ने तर्क उहाँले गरिरहनुभएको छ नि ?

उहाँहरूले संसद् अवरोध गर्नुभएको छ । संसदीय मान्यता कायम गर भन्ने नारा लगाउनु हुन्छ भित्र । के भनेको हो त्यो । संसदीय मान्यता भनेको त बहुमत छ त्यहाँ, उहाँ अल्पमतमा पुग्नुभएको छ ।

हिजो झन्डै दुई तिहाइ थियो हामी सँगै हुँदा, त्यसलाई भत्काउनुभयो । सर्वोच्च अदालतको फैसला छ, निर्वाचन आयोगको फैसला छ, त्यो सबैलाई केही पनि होइन भन्ने मानेर, त्यहाँ आफैं पनि कुरा राख्न पाइन्छ ।

सभामुखले विधिसम्मत रूपले आफ्ना कुरा राख्नुस् भनिरहनुभएको छ । त्यो पनि गर्नु छैन । उहाँले हिजो गरेको विघटनलाई अदालत र नेपाली जनताले गलत भनिसके तर उहाँ परकारान्तरले सही नै थियो भनाउन खोजिरहनुभएको छ । आफैं अवरोध गरेर चल्न नदिने अनि संसद् चलेन भन्न पाइन्छ ? अहिले केपी गुट आएर संसद् चल्न दिन्नौं । त्यहाँ माधव नेपाल छन्, ती १४ जना छन् भनेको भनै छन् । ती १४ जना लोकतन्त्र हो ? १४ जना नै पूरै संसद् हो त ? उहाँहरूको विषयमा सभामुखले १५ दिनभित्र निर्णय दिने भनेको हो तर यही निर्णय दिने भनेर संविधान र ऐनले भनेको छैन । सभामुखले १३ औं दिनमा निर्णय दिनुभयो । सिद्धियो कुरा । चित्त नबुझे उहाँहरू अदालत गए भयो त ।

उहाँहरूले सभामुखको राजीनामा माग्नुभएको छ, त्यो सम्भव छ ?

राजीनामा दिने कुरै आउँदैन । उहाँले विधि, संविधानसम्मत काम गर्नुभएको छ, किन राजीनामा दिने ? सबै मिलेर केपीजीहरूलाई यो गाईजात्रा बन्द गर भन्नुपर्छ ।

प्रकाशित : पुस ११, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?