कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

'पार्टीभित्रको परम्परागत र दासी प्रथाविरुद्ध मेरो उम्मेदवारी'

खेल मैदानमा उत्रिएपछि हार-जित जे पनि हुन्छ । म दर्शक हुन जन्मेको होइन खेलाडी बन्न हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा नेताहरू कसरी नेतृत्वमा पुग्ने भन्ने होडबाजीमा छन् । अध्यक्षमा कमल थापालाई राप्रपाबाट हाल एकमात्र संघीय सांसद रहेका राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । 

'पार्टीभित्रको परम्परागत र दासी प्रथाविरुद्ध मेरो उम्मेदवारी'

राप्रपाको दोस्रो महत्वपूर्ण कार्यकारिणी पद महामन्त्री हो । राप्रपाले तीन महामन्त्रीको व्यवस्था गरेकोमा एक महामन्त्री महिलाका लागि सुरक्षित गरिएको छ । जसमा राजेन्द्र लिङ्देनको प्यानलबाट अभिनेत्री तथा चलचित्र निर्माता रेखा थापा प्रतिस्पर्धामा छन् ।

अभिनेत्रीबाट नेता बनेकी रेखा थापासँग महाधिवेशनको सन्दर्भमा कान्तिपुरका जयसिंह महरा र रीना मोक्तानले गरेको कुराकानी:

तपाईंले राप्रपाको महामन्त्रीमा किन उम्मेदवारी दिनुभएको हो ?

अहिले राप्रपालाई नयाँ नेतृत्व चाहिएको छ । पार्टी बचाउने हो । देश जनता र पार्टीभित्रका कार्यकर्ताको भविष्य सुनिश्चित बनाउने हो भने नयाँ नेतृत्वको आवश्यकता छ । ३० औं वर्षदेखि जुन नेतृत्व आलोपालो आउँदा पनि पार्टीका लागि केही भएन । दुईचार जनाको लागि मात्रै कार्यकर्ताले काम गरेको जस्तो देखियो । हजारौं राप्रपाका कार्यकर्ता र नेताहरूको भविष्य अन्यौलमा देखियो । चार वर्ष अगाडिको महाधिवेशनबाट निर्वाचित भइसकेपछि केही काम गर्न पाइएन । नेतृत्वले वरपरका मान्छे बाहेकलाई समेटेको देखिएन । यस्तो अवस्थामा मेरो उम्मेदवारी खासगरी महिलाको क्षेत्रमा काम गर्ने भएर मलाई पद या पार्टी चाहिँदैन काम गर्न । २० वर्षदेखि महिला प्रधान चलचित्र र महिलालाई उत्थान गर्ने चलचित्र बनाइरहेको छु । मेरो अभिनय पनि महिलालाई उत्थान गर्ने नै हुन्छ ।

मैले पार्टीभित्र एउटै महिलाले सात-आठ संघसंस्था ओगटेको देखेँ भने । एउटै महिला तीन चारपल्ट मन्त्री, सांसद हुने तर यहाँभित्रकै महिलाको स्थिति नाजुक देखियो । उहाँहरूको आवाज उठाउने कोहि देखिएन । क्षमता भएका महिला हुँदा पनि एक व्यक्तिले त्यति धेरै ठाउँ किन ओगट्नुपर्‍यो ? अवसर किन बाँडिएन । त्यसैले पार्टीको परम्परागत सोचविरुद्ध र वर्षौंदेखिको शासकीय प्रवृतिविरुद्ध छ उभिन जरुरी छ। त्यसको अन्त्य नहुन्जेलसम्म हामीले पार्टीका एजेन्डा राम्रोसँग स्थापित गर्न सक्दैनौं ।

१८ वर्षदेखि काम गरिरहनुभएको छ । अब नयाँ अनुहार आउनुपर्छ भनेर युवाहरूको प्रतिनिधिका रूपमा नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्छ । महिला, युवाका लागि मैले उम्मेदवारी दिएको हुँ ।

पार्टीले राजतन्त्र फर्काउनुपर्छ भन्ने विचारधारा लिएको छ नि ?

यो विषयमा महाधिवेशनपछि कुरा गरौंला । अहिले मेरो चासोको विषय पार्टीभित्रको परम्परागत र दासी प्रथाको विरुद्ध हो । हरेक नेता र कार्यकर्ता त्यो सोचबाट मुक्त हुनुपर्छ । पुरानो सोच र व्यक्तिले पार्टीलाई सञ्चालन गर्ने अवस्था छ । पार्टीमा कुनै एक व्यक्तिलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री बनाउन कार्यकर्ता खट्ने तर त्यो पद प्राप्त भएपछि नातावाद, कृपावाद हावी भयो । यो कुरालाई तोड्नका लागि नयाँ नेतृत्वको आवश्यकता हो । नयाँ नेतृत्व आइसकेपछि तपाईंले भनेका विषयमा बहस गरौंला ।

राप्रपाले अगाडि सारेको राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्रको एजेण्डालाई तपाईंले भनेको नयाँ नेतृत्वले स्थापना गर्न सक्छ ?

असम्भव भन्ने कुरा केही पनि छैन । हिजो पनि गणतन्त्र आउला भन्ने कुरा कसैले सोचेको थिएन । त्यसको लागि पहिलो कुरा जनताको भावना र लहर कतातिर छ भन्ने मुख्य कुरा हो । हामी राप्रपा खुम्चिएर एक सिटमा पुगेका छौं । यदि एजेन्डा सही बोकेर जाने हो भने र जनताले चाहने हो भने त्यो हुन्छ । जनताको विपरीत त कोही पनि जान सक्दैन । जनताले साथ दिएको खण्डमा हाम्रो एजेन्डा स्थापित हुन्छ ।

अहिले जनताले तपाईंले उठाउँदै आएका राजसंस्था र हिन्दुराष्ट्र मागिरहेको छ भन्ने लाग्छ ?

हामी संसद्मा एक सिटमा झरेकाले त्यतातिर नजाउँ । तर जनताको हरेकको भावना बुझ्दाखेरि नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने शतप्रतिशतको भावना छ । अभियानको सिलसिलामा म जहाँ-जहाँ गए हिन्दुराष्ट्र हुनुपर्छ भन्ने छ । अन्य विषयमा ५०-५० प्रतिशत देखिएको छ । त्यो ५० प्रतिशतलाई १०० प्रतिशतमा रुपान्तरण गर्न सकिन्छ ।

तपाईंको पुस्ताका युवाहरूले संघर्ष गरेर गणतन्त्र ल्याए तर तपाईं अहिले राजतन्त्र र हिन्दुराष्ट्र भन्दै किन पछाडि फर्किनुभएको हो ?

समय परिवर्तनशील छ । हिजोमात्रै प्रचण्डजी आएर राप्रपा र मेरो एउटै गोत्र हो भन्नुभयो । गणतन्त्रको नायक आएर हाम्रो एउटै गोत्र हो हामी एउटै सोच भएको मान्छे भन्नुहुन्छ भने म त कहिँपनि गणनामा आउँदैन । आज केपी ओलीले राष्ट्रवादी कुरा गर्नुहुन्छ । हिन्दु राष्ट्रको कुरा गर्नुहुन्छ । कांग्रेसले त्यो कुरा गर्छ । बेलाबेलामा उहाँहरूको अभिव्यक्ति हेर्नुस्, राजसंस्थालाई नै समर्थन गरेको देखिन्छ ।

पहिलो कुरा त हामी राष्ट्रवादी मान्छे हौं । देश बचाउ अभियानमा छौं । विदेशी हस्तक्षेप देखिरहनुभएको छ । अरु कुरा छोडिदिनुस् यो महाधिवेशन जसमा कार्यकर्ताले नेता चुन्ने ठाउँ हो । यसमा पनि विदेशी हस्तक्षेप हुँदोरहेछ । मेरो विचारमा म क्रान्तिकारी नै हो, विद्रोही नै हो । प्रजातन्त्र मान्ने पार्टीका नेता क्रान्तिकारी र विद्रोही हुँदैनन् र ? पृथ्वीनारायण शाह के थिए ? देश एकीकृत गर्नेबेला उहाँ विद्रोही हुनुहुन्थेन ? उहाँले द्वन्द्व गर्नुभयो, मुलुक एकीकृत गर्नका लागि । मैले ७ वर्ष पहिले नै संघीयता देशले धान्दैन भनेको थिए । म संघीयताको पक्षमा थिइनँ । त्यतिबेला जहाँ आस्था राख्थे त्यतिबेला नै भनेको हो । हिन्दुराष्ट्र यो देशको पहिचान हो । जनतालाई 'खाए खा नखाए घिच्' भन्न मिल्दैन । हामी परिमार्जित, परिस्कृत पनि हुनुपर्छ । जनताको मत एकातिर छ अनि हामीले यस्तो हुनुपर्छ भनेर भन्न हुन्न । भोलिको दिनमा यी कुरा सुध्रिएलान् पनि अझ बृहत् रूपमा जालान् ।

माओवादी अध्यक्ष दाहालले उद्घाटन कार्यक्रममा आएर राप्रपा र आफ्नो गोत्र एउटै भएको भन्नुभयो, अर्का कम्युनिस्ट नेता केपी ओली 'राम भगवान'को वकालत गरिरहनुभएको छ, सीपी मैनालीलाई त हिजो सुनिसक्नुभयो, तपाई कलाक्षेत्रमा लाग्नुभएको व्यक्ति उहाँहरूका अभिव्यक्तिमा कलाकारिता कत्तिको देख्नुहुन्छ ?

हामी वास्तविक राष्ट्रभक्त, देशलाई माया गर्ने हो । जनतालाई ठगेका पनि छैनौं । शक्तिका लागि कसैको दुरुपयोग पनि गरेका छैनौं । तर उहाँहरू चाहिँ हामीभन्दा खतरा कलाकार निस्किनुभयो । अझै पार्टीभित्र त के बुझियो भने भाषणमा नयाँ, युवा सोच भएको नेतृत्व चाहिन्छ भन्ने भोट हाल्ने बेलामा पुरानै हजुरबुबालाई दिने ! यस्तो हुन्जेलसम्म यो देशमा परिवर्तन म देख्दिनँ । प्रचण्ड र ओलीहरूका कुरा गर्दा त उहाँहरू कलाकार नै हो । अवार्ड त उहाँहरूलाई दिनुपर्छ ।

तपाईंले जनताको मतको कुरा दोहोर्‍याउनुभयो । तर तपाईंका अध्यक्ष कमल थापाले महाधिवेशन उद्घाटनका क्रममा १ लाख जनता काठमाडौंमा उतार्न सकियो भने राजतन्त्र फर्काउँछौं, गणतन्त्र र संघीयता उल्ट्याउँछौं भन्नुभयो । तीन करोड भन्दा बढी जनसंख्या भएको देशमा एक लाखले राजतन्त्र माग्दा जनमत हुन्छ ?

संविधान लेख्ने बेलामा त कमल थापा नै हुनुहुन्थ्यो । उहाँले कति कुरा फेर्नुहुन्छ ? अर्को कुरा उहाँले हिजो 'राजा आऊ देश बचाउ भन्ने हाम्रो नारा नै होइन' भनिराख्नुभएको छ । उहाँको कुरा नै नगर्नु मसँग । उहाँको कुन कुरालाई पत्याउने ? उहाँका कुराले नै कार्यकर्ता ठगिइरहेका छन् । त्यसकारण नयाँ नेतृत्वको उदय भयो ।

भनेपछि राप्रपाको नयाँ नेतृत्वले संविधानमा भएको व्यवस्था अनुसार जनताद्वारा निर्वाचित भएर आफूले चाहेको व्यवस्था लागु गर्ने भन्ने हो ?

हामी हिजो बाटो बिराएर जनताबाट अविस्वास भएको थियो । पहिले त्यसलाई स्थापित गर्ने नयाँ नेतृत्वको दायित्व हो । भोलिको दिनमा यसलाई नै सर्वेसर्वा भनेर टाउकोमा राखेर हिँड्ने भन्दा पनि जनताको भावनाअनुरुप परिमार्जन गरेर लाने कुरा हुन्छ । विभिन्न मान्छे आउलान् । बौद्धिक व्यक्तिहरूसँग पनि छलफल हुन्छ । हरेक पक्षलाई समेटेर अगाडि बढ्छौं । सबैभन्दा महत्वपूर्ण कुरा परम्परागत दास बनाइरहेको अवस्थामा नयाँ नेतृत्व आओस् भन्ने हो । अरु पार्टीमा पनि कोही महिलाले पनि माथिल्लो पदाधिकारीमा उम्मेदवारी दिने आँट नदिने अवस्था आइरहेको बेला त्यसैले अगाडि बढेको हो ।

तपाईं महिला पनि र पार्टीको कार्यकारी पद महामन्त्रीमा उम्मेदवार बन्नुभएको छ । कत्तिको सहज छ ?

महिलाहरूलाई हरेक पार्टीमा गाह्रो छ । हरेक पार्टीका महिलाहरूको अवस्था देखेको छु । तुलनात्मक रूपमा राप्रपामा महिला नेता र कार्यकर्ता लचिलो र सहयोगी हुनुहुन्छ । अग्रज दिदीहरूलाई कहिँ चित्त दुख्नु स्वाभाविक पनि हो तर अन्ततः अभियान मूख्य कुरा हो । उहाँहरूको यो कुरा सकरात्मक छ । त्यसको सम्मान गर्छु । तर वर्षौंदेखि जन्मजात राजनीति गर्नेले मात्रै देशको सेवा गर्ने र देश बुझेको भन्ने हुन्न । त्यसरी आएकाले मात्रै राजनीति बुझेको हुन्छ भन्ने कुरा बिर्सिदिए हुन्छ । म पनि २० वर्षदेखि पापड पेलेर, जनताकै काम गरेर बसेको हो । जनताकै एजेन्डामा काम गरेर बसेको हो । फरक यत्ति हो कि म कलाकार भनेर बसेको र उहाँहरूको नेतृ भन्ने ट्याग होला । तुलनात्मक रूपमा उहाँहरूलाई भन्दा मलाई यो देशको चिन्ता बढी छ । म स्वतन्त्र भएर काम गरेको हो । यो देशका दिदीबहिनीको परिस्थितिलाई नजिकबाट अवलोकन गर्ने र त्यसलाई चित्रण गर्ने मान्छे हामी हौं ।

राजनीतिक दलमा आवद्ध भए झन्डा लिएर हिँडे भन्दैमा उनीहरूलाई सबै थाहा हुने संविधानको बारेमा सबै थाहा हुने भन्ने होइन । हामी चाहीँ हिजोको दिनमा गैरनेपाली जस्तो कुरा भयो । अन्य पार्टीका नेतृहरूले पनि त्यो भ्रमबाट मुक्त भए हुन्छ । कुनै पनि पेसामा आबद्ध महिला र पुरुषलाई राजनीति गर्नेहरूलाई भन्दा बढी जनताको कुरा जानकारी हुन्छ । कोही राजनीतिमा आउन चाहलान्, कोही नचाहलान् । ओहो हामी तर वर्षौंदेखि राजनीति गरेको यो नयाँ भन्ने होइन । हामी नयाँ होइन नि, हामी त यो देशको नागरिक हो । यो देश बचाउने दायित्व हाम्रो पनि हो । यो देशलाई समस्या पर्दा बोल्ने हाम्रो पनि दायित्व हो । तर यहाँ त राजनीति पार्टी हाम्रो पेवा हो भन्ने कुराको अन्त्य हुनुपर्छ भन्ने हो । राजनीतिमा हरेक क्षेत्रका मान्छेलाई चासो हुन्छ र आफ्नो सिद्धान्त मिल्ने पार्टीमा आएर योगदान गर्न मिल्छ । यो कसैको पेवा होइन ।

तपाईं कलाकारिताबाट राजनीतिमा लाग्नुभएको युवा नेता हुनुहुन्छ । तपाईंको प्रतिस्पर्धामा पार्टी राजनीतिमा खारिएको नेता हुनुहुन्छ । जित कत्तिको सहज छ ?

अहिले भन्दा पनि धेरै पहिलेदेखि भनिरहेको छु । कुनै पनि पार्टीमा हामीले नयाँ नेतृत्व पाएका छैनौं । जतिसुकै क्रान्तिका कुरा गरे पनि कम्युनिस्ट कांग्रेसलाई हेर्नुस् नयाँ नेतृत्व आयो भनेर प्रचारबाजी भएको छ । तर वडा तहको प्रतिनिधि मात्रै छ । युवाहरूलाई माथि ल्याउने त सम्भावना नै छैन । मेरो विचारमा राप्रपाभित्रका कार्यकर्ता र नेताहरू जुन अवस्थाबाट पार्टी गुज्रिरहेको छन् यसलाई अगाडि बढाउन नयाँ नेतृत्व हेरौं न त भन्ने चेतनाको तह माथि उठिसकेको छ । उहाँहरूलाई पार्टी बचाउन मन छ, पार्टी ठूलो होस् भन्ने चाहना छ । भोलि राप्रपाको नेता र कार्यकर्ता हुँ भन्नका लागि गर्व गर्ने पार्टी बनाउने इच्छा र नयाँ नेतालाई जिताउनुहुन्छ भन्ने विश्वास छ ।

मेरो प्रतिस्पर्धामा जो हुनुहुन्छ उहाँ हिजो दुईपटक मन्त्री भइसक्नुभएको छ । दुई पटक सांसद भइसकेको हो । पाँच सात संगठनमा नेता भइसकेकाले किन महिला कोटामा लड्नुभएको छ भन्ने प्रश्न छ । किन खुलामा लड्न सक्नुभएन ? किन महिलामा अरुले अवसर पाएनन् ? यहाँबाट नै पनि कसरी थाहा हुन्छ भने पार्टी कसैको पेवा होइन । जो महिला उहाँसँगै बसेर काम गर्नुभएको थियो कि अब उहाँ आवाजविहीन हुने ? दमित हुने ? सधैंभरी दमित भएर बस्ने त त्यहिँ व्यक्तिसँग ।

मेरो हारजितको कुरा होइन । खेल मैदानमा उत्रिएपछि हारजित जे पनि हुन्छ । म दर्शक हुन जन्मेको होइन खेलाडी बन्न हो । राप्रपाभित्र दमन सहेर बसेका दिदीबहिनीहरूले राम्रोसँग बुझ्नुभयो भने छातिमा हात राखेर सोच्नुभयो भने मेरो जित सुनिश्चित छ ।

तपाईंले पटकपटक पुरातन सोच राख्ने व्यक्ति र पार्टी होइन भन्नुभयो तर सिद्धान्त त वंशको आधारमा शासन गर्ने राजा हुनुपर्छ भन्ने छ नि ? यो अन्तरविरोध भएन ?

हामीले संस्थाको सम्मान गर्ने भनेको हो । व्यक्तिको कुरा गरेको होइन । इतिहास नमान्ने ? मेरो हजुरबुबालाई नमान्ने त ?

राप्रपा महाधिवशेनका प्रतिनिधिले पार्टीभित्र सर्वसम्मतिले नेतृत्व चयन नभए एकता टुट्छ कि भनिरहेका छन्, यसमा तपाईंको धारणा के हो ?

एकताको पक्षधर जो जो हुनुहुन्छ उहाँहरू परिवर्तनको पक्षधर पनि हो । एकताको पक्षधर सबै नेता र कार्यकर्ता हुनुहुन्छ भने परिवर्तन अँगाल्न सक्नुपर्छ । त्यो गर्ने हिम्मत चाहियो । दासी भएर बस्ने कि परिवर्तनको पक्षमा लागेर एकतालाई जोड दिने । एकतालाई जोड दिने हो भने परिवर्तनलाई साथ दिँदै एकतामा अगाडि बढ्नुपर्छ । कतिपय खुल्न सक्नुभएको छैन तर राजेन्द्र लिङ्देनको प्यानलको जित सुनिश्चित लाग्छ । मैले कार्यकर्तासँग कुरा गर्दा आएको निष्कर्ष एकता पनि बच्छ र नयाँ नेतृत्व पनि आउँछ ।

तपाईं विगतमा एउटा पार्टीमा हुनुहुन्थ्यो पछि राप्रपामा आउनुभयो र केन्द्रीय नेतृत्वमा हुनुहुन्छ । तपाईसँगै राप्रपाको केन्द्रीय सदस्य जितेकी कोमल वली एमाले प्रवेश गरेर सांसद नै हुनुहुन्छ । भोलि तपाई अन्तै अवसर मिल्यो भने राप्रपा नछोड्नुहोला भनेर कसरी विश्वस्त हुने ?

त्यो त नेतृत्वले कसरी सम्हालेर राख्न सक्यो कि सकेन भन्ने कुरामा भर पर्छ । त्यसकारण हामी परिवर्तन खोजिरहेका छौं । महाधिवेशन भएपछिका ४ वर्ष हामीले केही काम गर्न पाएनौं । काम नै भएन । कोमल वली मात्रै होइन सुनील थापा नै जानुभयो । सूर्यबहादुर थापाको छोरा किन र के कारणले जानुभयो ? नेतृत्वसँग चित्त नबुझेर नै हो । पद पायो भने बस्ने र पद नपाए नबस्ने भन्ने होइन । काम गर्ने अवसर हुनुपर्‍यो । गएका व्यक्तिहरूलाई पार्टीभित्र काम गर्ने अवसर दिएको भए उनीहरूलाई बाइपास नगरेको भए र यो ठाउँ हो र यहाँ बसेर काम गर भनेको भए बस्ने थिए । उहाँहरूको पनि आत्मसम्मानको कुरा हुन्छ । पार्टीमा वास्ता नै नगर्ने, एउटा ठाउँमा पुगेपछि आफ्ना चम्चा वरिपरी राख्ने भएपछि कहाँबाट पार्टी चल्छ र मान्छे किन बस्छ ?

प्रकाशित : मंसिर १६, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?