कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एमालेमा अब विवाद र अन्तरविरोधको सन्देश दिनुहुँदैन’

काठमाडौँ — एमालेको दसौं महाधिवेशनको संघारमा छ । तर विगतमा जस्तो अहिले नेतृत्वका लागि नेताहरू खुलेर बाहिर आउन सकेका छैनन् । पार्टीभित्रका विभिन्‍न मनोविज्ञानहरूको व्यवस्थापन अध्यक्ष केपी शर्मा ओलीले नै गरिदिने आशामा धेरै नेताहरू अहिले धेरै नेताहरू उनको मुख ताकिरहेका छन् ।

‘एमालेमा अब विवाद र अन्तरविरोधको सन्देश दिनुहुँदैन’

कथं महाधिवेशनमा प्रतिस्पर्धा नै भए के गर्ने भन्ने छटपटी पनि नेताहरूमा छ । महाधिवेशनको सन्दर्भमा केन्द्रित रहेर एमाले सचिव गोकर्ण विष्टसँग कान्तिपुरका मणि दाहाल र बबिता शर्माले गरेको कुराकानी :

महाधिवेशन आउन ४ दिन बाँकी छ । भित्रभित्र आकांक्षी भएपनि सार्वजनिक रुपमा कसैले दाबी गरेका छैनन् । किन यस्तो सन्नटाको आवस्था आयो ?

हाम्रो आन्दोलनमा धेरै उतारचढाव पार गरेका छौं, कहिलेकाहीँ अनावश्यक क्षति पनि व्योहोरेका छौं, पार्टीको समग्र पंक्तिले लिएको शिक्षा भनेको पार्टीलाई गुट, प्यानलरहित एकमना एकताका साथ अगाडि लाने र आजका चुनौती सामना गर्ने सबल, सशक्त र एकीकृत पार्टी निर्माण गर्ने चाहना छ । त्यो चाहनाको कारण पनि विगतमा जस्ता तरंगहरू अहिले देखा परेका छैनन् ।

प्यानल नबने पनि व्यक्तिगत रुपमा लड्नेहरूको जुन तरिकाले नेतृत्वमा दाबी हुन्थ्यो, त्यो पनि भएको देखिंदैन । के कारणले गर्दा रोकिनु भयो ?

व्यक्तिले आफूलाई केन्द्र भागमा राखेर उम्मेदवारी घोषणा गर्ने तथा विभिन्न प्यानल बनाउने खालका अभ्यास विगतमा भए । एमालेभित्र जुन प्रकारका समस्या देखा परे, ती समस्यालाई भित्रै हल गरेर पार्टीलाई थप सशक्त बनाउनु पर्दथ्यो, त्यो गर्न सकेनौं र केही क्षति व्यहोर्‍यौं । आजको सन्दर्भमा यस्ता कुराहरूबाट हामीले पाठ लिनुपर्छ । त्यसकारण दसौं महाधिवेशन वैचारिक, सैद्धान्तिक र संगठनात्मक एकताको अनुपम उदाहरण पेस गर्ने मान्यताका आधारमा सबैले एउटा मर्यादा र संयमता अपनाएको अवस्था हो ।

तपाईँहरु शक्ति कमजोर भएर यस्तो स्थिति सिर्जना भएको हो ?

त्यो पनि होइन । अहिले नेकपा एमालेका विरुद्ध चौतर्फी हमला छ । सबै शक्तिहरू एमालेविरुद्ध गठबन्धन गरिरहेका छन् र पार्टीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् । एमाले विरोधी गठबन्धनलाई सामना गर्न र जनताकोबीचमा पहिलो शक्तिको रुपमा स्थापित गर्न हामीले धैर्यता, संयमता अपनाउनु पर्छ, मर्यादाको सीमाभित्र रहनुपर्छ । आम कार्यकर्ताको चाहना र भावना पनि कतिपय अन्तरविरोधलाई पार्टीभित्रै व्यवस्थापन गर्नुपर्छ भन्ने छ । यो भावनालाई सम्मान गर्न नै यस्तो स्थिति बनेको हो ।

नेतृत्वलाई चिढ्याउँदा आफ्नो पद के हुने हो भन्ने डरले पनि तपाईँहरू बोल्नु भएको छैन भन्ने कुरा पनि छ नि ?

यतिबेला पार्टीको विधान महाधिवेशन सम्पन्न भएको छ । विधान महाधिवेशनले पार्टीका सबै दस्तावेजलाई सर्वसम्मतिले पारित गरेको छ । यसले त्यहि कुरालाई पुष्टि गरेको छ कि अहिले एमालेभित्र कुनै प्रकारको प्यानल छैन, समूहगत अन्तरविरोधहरू छैनन् ।

जीवन्त पार्टीभित्र विभिन्न मुद्दाहरूका विषयमा आउने भावना, विश्लेषण, मनोविज्ञानलाई प्रतिबिम्ब गर्ने कुरा छ, त्यो बैठकभित्र हरेक कसैले व्यक्त गर्न सक्छन् । मुख्य कुरा विगतमा प्यानलगत अभ्यास हुने गर्दथ्यो, त्यसले मनोवैज्ञानिक प्रभाव पनि पार्दथ्यो । तर आज पार्टीभित्र त्यो प्रकारको अभ्यास छैन । जति भावना व्यक्त हुन्छन्, ती पार्टीको बैठक भित्रै छलफल हुन्छन्, छलफलपछि सामुहिक र संस्थागत निष्कर्षका आधारमा पार्टी अगाडि बढ्छ ।

अबको नेतृत्व चयन सर्वसम्मत कि प्रतिस्पर्धा हुन्छ ?

यी सबै कुराहरू महाधिवेशनले नै टुंगो लगाउने हो । आजको आवश्यकता र मेरो अनुमान पार्टीको मुख्य नेतृत्व लगायत कम्तीमा पदाधिकारी सर्वसम्मतिले नै टुंगो लाग्ला भन्ने छ । धेरैको अपेक्षा पनि यहि हो । आजको विषम परिस्थितिमा सर्वसम्मत र सहमतिका साथ नेतृत्व चयन हुनुपर्दछ । नेतृत्व निर्माणमा कुनै प्रकारको किचलो, अस्वस्थता पैदा हुने वातावरण बन्नु हुँदैन ।

दस बुँदे सहमति मार्फत् एमालेमा रहने निर्णय गर्नुभएका दस नेता मध्येका एक भीम रावलले अध्यक्षमा उमेद्वारी घोषणा गर्नुभयो । तपाईहरूबीच सल्लाहमा उहाँले उमेद्वारी घोषणा गर्नु भएको हो ?

यो विषयमा मलाई कुनै जानकारी छैन । अब हामी पछाडि फर्कन हुँदैन । आजको सन्दर्भ र आवश्यकतामा आधारित भएर एमालेलाई नयाँ उचाइमा लाने गरी त्यसतर्फ उन्मुख हुन जरुरी छ । हामी विगतमा फर्कने, पछाडिका कुराहरूलाई टेकेर पार्टीभित्र फेरि पनि अस्वस्थता र अन्तरविरोध पैदा गर्नेगरी जानु हुँदैन । अहिले पार्टीको मुख्य नेतृत्व लगायत अन्य पदाधिकारीमा सहमतिका आधारमा नेतृत्व चयन हुनुपर्दछ ।

अहिले एमालेभित्र विवाद, अन्तरविरोध छ भन्ने सन्देश बाहिर जाने गरी कहिँ कतैबाट त्यो प्रकारको प्रयत्न गर्नु उपयुक्त हुँदैन । कुनै पनि हिसाबले पार्टीलाई एकताबद्ध गर्नुपर्छ । एकताबद्ध एमालेले नै अहिलेको संकटको समाधान र आवश्यकताको सम्बोधन गर्न सक्छ ।

भीम रावलले सार्वजनिक गरेपनि पदाधिकारीका आकांक्षी धेरै देखिनुहुन्छ । त्यो संख्या हेर्दा हाल कायम पदाधिकारीमा व्यवस्थापन गर्न कठिन देखिन्छ । यस्तो अवस्थामा कसरी होला त सर्वसम्मति ?

सतहमा हेर्दा जुन प्रकारको आवश्यकता देखिन्छ, यसलाई सम्बोधन गर्ने गर्न पदाधिकारीको संख्या अलि अपुग हो कि भन्ने देखिएको छ । पार्टी केन्द्रीय कमिटीका कमरेडहरूले राष्ट्रिय महाधिवेशनले एक दुई पदहरू थपेर व्यवस्थापन गर्नुपर्दछ भनेर सुझाव पनि दिनुभएको देखिन्छ/सुनिन्छ । विधान महाधिवेशनले पारित गरेको कुरालाई राष्ट्रिय महाधिवेशनले परिमार्जन गर्न सक्छ । यद्यपी त्यसको गुञ्जायस अहिले पनि छ । त्यसलाई सम्बोधन गर्ने हिसाबले यदि आवश्यकता महसुस भयो भने त्यो ठाउँ अहिले पनि बाँकी छ ।

तपाईँ दाबी कुन पदमा हो ?

अरु धेरै साथीहरूले दाबी सार्वजनिक गरिसक्नु भएको छैन, यस्तो सन्दर्भमा म आफूले पनि यो पदमा दाबी भनेर प्रस्तुत गर्न चाहन्न । तर कतिपय साथीहरू मलाई साविकभन्दा माथिल्लो पदको जिम्मेवारी लिन जरुरी छ, त्यो हिसाबले सोच बनाउनु पर्छ भनेर सुझाव दिनेको संख्या पर्याप्त छ । फेरि पनि महाधिवेशनको दिन नजिकिँदै छ । अन्तिममा कसरी जाने भन्ने निष्कर्षमा पुग्नुपर्ला ।

अध्यक्षमा सर्वसम्मति कि चुनावको सम्भावना देख्नु भएको छ ?

पार्टी अध्यक्षसहित प्रमुख पदमा सहमतिका आधारमा नेतृत्व निर्माण गर्नु नै एमालेको भविष्यका लागि उपयुक्त हुन्छ । एमाले जुन ढंगले घेराबन्दीमा पर्दैछ वा पार्ने कोसिस गरिएको छ, त्यो चुनौतीलाई सामना गर्न सक्दछ । यसकारण पार्टी अध्यक्षसहित महत्वपूर्ण जिम्मेवारी सहमतिका आधारमा व्यवस्थापन गर्नु नै हाम्रो पार्टी र आन्दोलनका लागि सुखद् हुन्छ ।

तस्बिरहरूः अंगद ढकाल ।

प्रकाशित : मंसिर ६, २०७८ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?