कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

'नेतृत्व चयनमा ‘गुट’ मुख्य आधार बन्यो, नीति र विचार गौण भए'

प्रकाश धौलाकोटी

आगामी मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औँ महाधिवेशन हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिका लागि आधा दर्जनभन्दा धेरै नेताहरूको दौडधुप चलिरहेको छ । महामन्त्री पदमा पनि धेरै जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । सबैको ध्यान ती मुख्य पदमा को उम्मेदवार बन्लान् भन्नेमा देखिन्छ । तर, महाधिवेशनको माहोल बढ्दै जाँदा कम महत्व पाएका उपसभापति र सहमहामन्त्री पदमा पनि प्रभावशाली नेताहरूले नै उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

'नेतृत्व चयनमा ‘गुट’ मुख्य आधार बन्यो, नीति र विचार गौण भए'

यसैबीच कांग्रेसभित्र लामो समयदेखि विचार र निष्ठाको राजनीति गर्ने भनेर प्रतिष्ठा कमाएका केन्द्रीय सदस्य महेश आचार्यले केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीलाई वैचारिक रुपमा शशक्त बनाउने उदेश्यले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । आसन्न महाधिवेशनमा पार्टीको भावी नीति र विचारबारे छलफल नै नगरी नेतृत्वमात्रै चयन गर्ने निर्णय गरेको अवस्थामा कांग्रेसको संगठन, नीति र उपसभापतिमा उम्मेदवारीबारे नेता महेश आचार्यसँग ईकान्तिपुरका लागि प्रकाश धौलाकोटीले गरेको कुराकानी : -

उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ?

मैले केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । अहिले त्यही विषयमा साथीहरूसँग छलफल गरिरहेको छु । हाम्रो पार्टीको विधानले उपसभापतिलाई एउटा भूमिका दिएको छ, पार्टीको नीति, अनुसन्धान र प्रशिक्षण विभागमा । पार्टीको उपसभापतिको मुख्य जिम्मेवारी भनेको त्यो विभागको नेतृत्व गर्ने हो । त्यसले समसामयिक राजनीति र राष्ट्रिय मुद्दाहरू, सांगठनिक मुद्दाहरू र अन्तर्राष्ट्रिय मुद्दाहरूमा धारणाहरू बनाउनुपर्ने हुन्छ । र व्यापकरुपमा नेता कार्यकर्ता साथीहरूका बीचमा विचार प्रशिक्षण गर्ने जिम्मेवारी दिइएको छ । त्यो संरचनामा बसेर म काम गर्न चाहन्छु । हाम्रो पार्टी अहिले वैचारिकरुपले कमजोर भएको महसुस गरेको छु । विचार कमजोर हुँदा संगठनमा धेरै समस्याहरू उत्पन्न भएका छन् । त्यसैले वैचारिक रुपले पनि सशक्त पार्टी निर्माणमा योगदान गर्न चाहन्छु । यही उद्देश्यले मैले उपसभापतिमा उठ्ने निर्णय गरेको हुँ ।

पार्टीको संगठनमा समस्या छन् भन्नुभयो । कस्ता समस्याहरू देख्नुभएको छ ?

अहिले पार्टीको संगठन र संरचनामा मैले केही समस्याहरू देखिरहेको छु । त्यसमध्ये जस्तैः अहिले पार्टीका पदाधिकारीहरू दुई कार्यकालसम्म एउटै पदमा दोहोरिएर निर्वाचित हुने व्यवस्था छ । यसले गर्दा नेतृत्वबाट अलि अस्वस्थ ढंगका प्रयत्नहरू हुने रहेछन् । फेरि नेतृत्वमा रहिरहनका लागि बल प्रयोग गर्ने कार्य हुँदो रहेछ । त्यसैले पार्टीका पदाधिकारीमा एक व्यक्ति एक कार्यकाल मात्रै रहन पाउने व्यवस्था गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

अर्को समस्या भनेको पार्टीको निर्वाचित समितिहरूमा खुला पारदर्शी छलफल गर्नुको साटो विधानले कार्यसमितिलाई जे अधिकार सुम्पिएको छ, त्यो अधिकारको अपहरण हो । पार्टीका निर्णयहरू पदाधिकारी र पूर्वपदाधिकारीहरूको साँघुरो घेराबाट निर्णय हुनु भनेको लोकतन्त्र, संस्थागत शक्ति र प्रक्रियाको क्षयीकरण हो । यो परिपाटी त पार्टी संगठनको एउटा चुनौती नै हो ।

अर्को, हाम्रो पार्टीको सांगठनिक ढाँचामा हामीले बहुपदको सिर्जना गरेका छौँ । धेरै पदहरू छन् । ती सबै पदमा गुटगत प्रतिस्पर्धा गर्ने अभ्यास छ । र, यो अत्यन्तै अस्वभाविक ढंगले बढेको छ । यसले गर्दा हाम्रो निर्वाचन प्रणालीले स्वस्थ ढङ्गको नेतृत्व चयन गर्ने संभावना कमजोर बन्दै गइरहेको छ । गुटगत प्रतिस्पर्धा हुने हुनाले सक्षम मानिसहरू स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व विकासमा आउने निर्वाचन प्रणालीको आधारभुत र मौलिक उद्देश्य जुन हो, त्यसको क्षयीकरण हुँदै गएको देखिन्छ । अझ यो महाधिवेशनको निर्वाचन त विचार र नीतिको आधारमा नेतृत्व चयन गर्ने भन्दा पनि केवल गुटगत शक्ति प्रदर्शन मात्रै बन्न लागेको छ । यसले मलाई, र म जस्ता धेरै साथीहरूलाई देशभरि चिन्तित गराएको छ । यो त लोकतन्त्रको क्षयीकरण गर्ने अभ्यास हो । त्यसैले यस्ता अभ्यासहरूलाई हामीले रोक्नुपर्छ । यस्ता धेरै समस्याहरू छन्, जसको निदान हामीले यो महाधिवेशनबाट गर्न सक्नुपर्दछ ।

यो त गुटका कारण देखिएका समस्या भए । गुटको अन्त्य तपाईँले कसरी गर्नुहुन्छ ?

यी धेरै समस्याहरू गुटगत राजनीतिकै कारण देखा परेका हुन् । यी समस्याहरूमाथि हामीले यो महाधिवेशनमा खुलेर छलफल र बहस गर्नुपर्ने आवश्यकता छ । यिनको समाधानका लागि प्रयत्न पनि गर्नुपर्ने हुन्छ । जस्तै: हामीले पार्टीको सभापति एक व्यक्ति एक कार्यकालमात्रै हुने व्यवस्था गर्‍यौँ भने पार्टीको सभापतिका लागि ४ वर्षको एक कार्यकाल त पर्याप्त नै हो नि ! तर, अहिलेको व्यवस्थाले चाहिँ एकपटक भइसकेपछि अर्को पटक जसरी पनि जित्नै पर्ने भन्ने धारणा विकास गरेको छ । त्यसले चाहिँ पार्टीको संरचनाको प्रयोग गर्ने, र आफ्नो जितको सुनिश्चितताको निम्ति अस्वस्थ ढंगले काम गर्ने प्रवृत्ति हामी कहाँ देखिएको छ ।

त्यसैले गुटगत राजनीति अन्त्य गर्नैपर्छ । त्यसका लागि यो विधानको संशोधन गर्ने कुरा एउटा प्रयास हुनसक्छ । एउटा नेताले एउटै पदमा एक कार्यकाल भन्दा बढी राजनीतिक नगर्ने भन्ने बित्तिकै गुट भत्किन्छ भन्ने लाग्छ । उसले दोहोर्‍याउन, आफ्नो पकड कायम राख्नका लागि गर्ने जुन गलत कामहरू छन्, त्यो छाडेर राम्रो काममात्रै गरे त भइहाल्यो । यसपछि अर्को भनेको तलदेखि केन्द्रसम्म धेरै पदहरू छन्, ती सबै पदमा गुटगत प्रतिस्पर्धा भइरहेको छ । त्यसैले यसलाई रोक्न हामीले हाम्रो निर्वाचन प्रणालीलाई पनि रिभ्यु गर्नुपर्ने आवश्यकता मैले देखेको छु । यो छलफल गर्नुपर्ने विषय हो । के हुन सक्दछ त नयाँ मोडालिटी ? समस्या छ भन्ने कुराको ठहर त गर्नुपर्‍यो नि ! त्यसैले पार्टीको नीति, अनुसन्धान र प्रशिक्षण विभाग भनेको यही काम गर्ने निकाय हो । यो संरचना निष्क्रिय भएर बसेको छ । पार्टीको नीति, पार्टीको विचारलाई प्रशिक्षित गर्ने, पार्टीलाई वैचारिक बहसमा अभ्यस्त गर्ने, प्रशिक्षण अभियान चलाउने यी कामहरू त पार्टीले नै गर्नुपर्छ । त्यसरी आम कार्यकर्तालाई प्रशिक्षित गर्ने हो भने गुटगत राजनीतिको अभ्यासलाई पाखा लगाउन सकिन्छ ।

तपाईँ पार्टीका नीति, विचारमाथि छलफल गर्ने कुरा गर्दै हुनुहुन्छ । तर, कांग्रेसले चाँहि ५ वर्षमा एक पटक हुने महाधिवेशनमा पनि त्यस्तो विचार र नीतिमाथि छलफल गर्न भ्याएको छैन । तालमेल मिल्ने देखिएन नि ?

हामीले मनले चाहेको भए, अहिले पनि नहुन सक्ने कारण त म देख्दिनँ । सबै नेतृत्व पंक्तिले बहसलाई त्यतातिर लैजान सकेको भए कसले छेक्थ्यो र ? संवैधानिक बाध्यता छ, नीतिमा छलफल गर्दा ढिलो हुन्छ भनेर त्यसलाई टार्ने कुरा एउटा बाहना मात्रै हो । तर, अहिलेको अवस्थामा हामीले के आधारमा नेतृत्व चयन गर्ने त ? नेता चयन गर्नका लागि त नीति र विचार त हेर्नुपर्‍यो । नीति र विचारमा उभिएर त नेता चयन गर्ने हो, अनुहार हेरेर त नेता चयन गर्ने होइन होला । त्यसकारण यो फरक–फरक गर्ने भन्ने कुरा अहिले आएर सुविधाका लागि तय भएको हो । वास्तवमा यो स्थिति आउनु नै दु:खद हो । चार वर्षे कार्यकाल सकिएर अरु दुई वर्ष पूरा हुँदा पनि हामीले पार्टीको विचार र नीतिका विषयमा छलफल गर्न नसक्नु त नेतृत्वको कमजोरी हो नि ! हामीले समयकै अभावले यो गर्न सकेनौँ भन्न मिल्दैन । यो गल्ती हो, यसलाई स्वीकार गरेर सुधार्ने गरी अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

कांग्रेसको यो अवस्था हुनुमा दोषी को हो त ? पार्टीको विधानमात्रै यो सबै समस्याको जड हो त ?

कुनै प्रणाली, कुनै व्यवस्था वा पद्धति, त्यो आफैंमा खराब वा असल हुन्छ भनेर अन्तिम व्याख्या गर्न सकिँदैन । ती प्रणालीलाई प्रयोग गर्ने पात्रहरू चाहिँ कति लोकतान्त्रिक थिए, हुन्छौँ भन्ने कुरामा त्यसको परिणाम भर पर्छ । निश्चित रुपमा बितेको केही समयदेखि हाम्रो पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासमा कहीँ न कहीँ समस्या देखिएको छ । त्यसैका कारण हामी कहाँ गुटगत राजनीति र सांगठनिक समस्याहरू देखिएका छन् । अहिलेको हाम्रो निर्वाचन प्रणाली भनेको त स्वस्थ रुपमा प्रतिनिधि चयन गर्ने, निर्भिक र स्वतन्त्र ढंगले थुप्रै विकल्पहरूमध्ये एउटा राम्रो विकल्प चयन गर्ने उद्देश्यले अवलम्बन गरिएको हो । यो त हाम्रो पार्टीमा मात्रै होइन, अरु राजनीतिक पार्टीहरूमा पनि यस्तो समस्या छ । हाम्रो राष्ट्रिय राजनीति र पार्टीभित्र सांगठनिक संरचनामा विस्तारै लोकतन्त्रको क्षयीकरण हुने प्रक्रिया देखिरहेको छु । त्यसैको एउटा रुप यो पनि हो ।

नीति महाधिवेशन त अहिले नहुने नै भयो । तर, नयाँ नेतृत्व चयन हुँदै गर्दा राष्ट्रिय राजनीतिका मुद्दाहरूमा धारणा बनाउनुपर्छ होला नि ?

अवश्य पर्छ । सरकार प्रभावशाली ढंगले चल्दैन । संसद चल्दैन । न्याय क्षेत्र गम्भीर अस्तव्यस्तताबाट ग्रसित छ । लोकतन्त्रका यी सबै आधारस्तम्भहरू खलबलिएका बेला हामी पार्टीको महाधिवेशन गर्दैछौँ । हामी यी मुद्दाहरूमा आँखा चिम्लिएर कसरी नेतृत्वमात्रै चयन गर्ने ? वैचारिक पाटो अत्यन्तै प्रबल रुपमा उठाउनुपर्ने, उठ्नुपर्ने विषय हो भन्ने मलाई लाग्छ । राष्ट्रिय राजनीतिका एजेण्डामा पनि अहिलेका सबैभन्दा गम्भीर एजेण्डाहरू यतिखेर के–के हुन् ? भनेर बहस हुनुपर्छ । जस्तै: कोभिड–१९ को प्रभाव, त्यसले क्षतिग्रस्त पारेको हाम्रो आर्थिक सामाजिक स्थिति, जलवायु परिवर्तनका कारण निम्तिदै गरेको विपद्को चक्र, जैविक विविधताको प्रभाव लगायत यी सबै विषयहरूमाथि छलफल गर्ने नेतृत्व त पार्टीभित्र विकसित भएर आउनैपर्छ नि ! अनि त ती विषयहरूमा उसले राष्ट्रियस्तरमा छलफल गर्न सक्छ, नेतृत्व गर्नसक्छ ।

पार्टीभित्र र राष्ट्रिय राजनीतिका समस्याहरू जति छन्, त्यसको समाधानको बाटो के हो ? त्यसको खोजी गर्न सक्ने, समाधान दिनसक्ने व्यक्ति नेतृत्वमा पुग्नुपर्‍यो । हामीले निर्माण गरेको संविधानको अभ्यासमा देखिएका जनताका अधिकारहरूको र स्वतन्त्रताको क्षयीकरण, लोकतान्त्रिक संस्थाहरूको कार्यप्रणलीमा देखिएको ह्रासोन्मुख प्रवृत्ति, सरकारी निकायहरू प्रभावकारी हुन सकेका छैनन् । संसद प्रभावकारी बन्न सकेको छैन, जनताले आशा गरेको जस्तो बन्न सकेन । नेपालको न्याय क्षेत्र जनताले आशा गरेको जस्तो बन्न सकेन । त्यहाँ गम्भीर विचलन र क्षयीकरणको समस्या हामीले देखिरहेका छौँ । यसका बारेमा बोल्ने, बहस गर्ने र समाधान गर्ने कुरा यो महाधिवेशनमा नेतृत्वले बहस गर्नुपर्छ । त्यो बहस गर्न सक्नुभएन भने कसरी देशको नेता हुन सक्नुहुन्छ ?

हाम्रो देशमा, हाम्रो छिमेकमा, हाम्रो आँगनमै, हाम्रा दुईटा छिमेकीहरू चीन र अमेरिकाको बीचमा गम्भीर राजनीतिक प्रतिस्पर्धा छ, सैन्य प्रतिस्पर्धा छ, एउटा अन्तर्राष्ट्रिय तनावपूर्ण प्रतिस्पर्धाको बाछिटाबाट देश गुज्रिरहेको छ । भारत र पश्चिमा मुलुकहरू अमेरिकाको नेतृत्वमा एउटा ध्रुबमा विकसित हुँदै जाने र अर्कोतर्फ चीनको नेतृत्वमा एउटा ध्रुव विकसित हुँदै जाने हो भने यो बेला हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा उतारचढाव नहोस्, र कसरी हाम्रो देशको राष्ट्रिय हित गर्न सकिन्छ भनेर यो बेलामा पनि बहस गर्न सकेनौँ, राष्ट्रिय महाधिवेशनमा पनि यो विषयलाई छलफलको विषय बनाउन सकेनौँ भने हामी कसरी देशको नेता बन्न सक्छौँ ? त्यसैले यो विषयको गम्भीरतालाई उठाउन अझैपनि समय छ । महाधिवेशनमा यी विषयहरूमाथि गम्भीर छलफल हुनुपर्छ । यो विषयमा आँखा चिम्लिने कुरा हुँदैन ।

पार्टीमा नेतृत्व लिनका लागि पहिलो, दोस्रो र तेस्रो पुस्ता पनि तयार भइसकेको छ । तर, त्यति हुँदा पनि युवाको प्रतिनिधित्व हुने अवस्था छैन । खास अहिले नेतृत्व हस्तान्तरण हुने कि पुस्तान्तरण हुनुपर्ने हो ?

अहिले त हस्तान्तरण पनि आवश्यक हो, र पुस्तान्तरण पनि आवश्यक हो । हस्तान्तरण हुँदा पुस्तान्तरण नै नहुने भन्ने पनि हुदैन । र, हस्तान्तरण चाँहि पुस्तान्तरणमात्रै हो भनेर पनि बुझ्नुभएन । यहाँ त सबै उमेर समूहका अनुभवका विभिन्न चरणमा रहेका साथीहरू स्वस्थ प्रतिस्पर्धाबाट आउने हो । त्यसैले यो हस्तान्तरण पनि हो, पुस्तान्तरण पनि हो । नयाँ नेतृत्वका लागि एउटा सजिलो लोकपथको निर्माण गर्ने पनि हो । नेतृत्व हस्तान्तरणको एउटा स्वस्थ अभ्यास हाम्रो पार्टीमा गर्न जरुरी छ । डेमोक्रेसीको यो एउटा आधारभूत पक्ष पनि हो । सहज ढंगबाट नेतृत्व हस्तान्तरणको विषयलाई पनि हामीले सहज बनाउँदै जानुपर्छ । यो बहसलाई साँघुरो अर्थमा मात्रै बुझ्नुहुँदैन ।

अन्त्यमा, तपाईँले उपसभापतिको तयारी त थाल्नुभयो, सभापतिको उम्मेदवार को हो त ?

अहिले धेरै आकांक्षा राख्ने साथीहरूले आफ्नो उम्मेदवारीका बारेमा मात्रै बोलिरहनुभएको छ । अहिले कसैलाई कसैले ऊ पनि उम्मेदवार भनेर भन्ने, घोषणा गर्ने अवस्था बनेको छैन । समय आएपछि यो प्रष्ट भइहाल्छ ।

प्रकाशित : मंसिर ३, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?