कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘भुटानमा जातीय होइन, नेपाली सफाया हो’ [भिडियोेे]

देवेन्द्र भट्टराई

जयगाउँ(भारत) —  ६६ वर्षअघि भुटानको पाना वस्तीमा जन्मे–हुर्केका तिलकबहादुर कटुवाल पछिल्लो ३० वर्षयता भारतको पश्चिम बंगाल अन्तर्गत भुटान सिमावर्ती गाउँ जयगाउँमा बस्छन् ।  
भूटानको फरेस्ट डिपार्टमेन्टमा वन अधिकृतका रुपमा कार्यरत रहेकै बेला र सरकारले पठाएकै तालिममा नर्वेमा सहभागी भएर फर्कने क्रममा ‘भगौडा नागरिक’का रुपमा उनलाई जागिर छाड्न तथा देशै छाड्न बाध्य पारिएको थियो ।

‘भुटानमा जातीय होइन, नेपाली सफाया हो’ [भिडियोेे]

‘सन् ९० को दशकपछि भुटानमा अप्ठ्यारा दिनहरू आए । भुटानले बाहिरी देशका मान्छे भित्रिए भनेर रोक्नैका लागि कडाइको नीति बनायो जसले नेपाली मूलका भुटानीलाई अप्ठ्यारो पर्ने थियो नै,’कटुवाल सम्झन्छन्—‘त्यसको विरुद्ध शान्तिपूर्ण आन्दोलन भयो । त्यतिबेला दक्षिणी भुटानमा काउन्सिलर टेकनाथ रिजाल थिए । नेपालीलाई अप्ठ्यारो पर्दैछ भनेर रिजाललाई सबैले राजासँग कुरा गर्न लगाए । तर, रिजालले राजालाई यसबारे भन्नासाथै अझ अप्ठ्यारो भयो, रिजाल जेल परिहाले ।’

दक्षिणी भुटानमा रहेका नेपालीभाषी ल्होत्साम्पासँगको भुटानी राजाको प्रतिसोध कसरी देशव्यापी बनेको थियो ?

आफूमाथि आइपरेको अन्यायमा कहींकतै बोल्ने ठाउँ नभएपछि बढेको आक्रोशका कारण र देशैभरि आन्दोलन भएको थियो । जहाँ पनि सरकार बलियो हुन्छ, जनता कमजोर हुन्छ नै । राजा वाङचुकको सरकारले धेरैलाई धरपकड गर्‍यो । एकदम निर्दोष मान्छेमाथि पनि सांघातिक आक्रमण भयो । त्यतिबेला मलाई भुटान सरकारले एक तालिममा नर्वेमा पठाएको थियो, म उताबाट १९८९ मा फर्केर आउादा यता मेरो सर्भिस थिएन । भुटानका गाउाहरूमा पनि हाहाकार थियो । नेपाली मूलकाहरूलाई कुट्नेपिट्ने भइरहेको थियो । भागाभाग थियो, हाम्रो गाउँबाट पनि धेरै मान्छे निस्किए । मेरो नाम पनि सरकारले भागेको (भगौडा)मैं जोडेछ । सरकारले पठाएको तालिमबाट फर्केर आउँदा ‘ता त भागेको छस्’ भन्यो । त्यतिखेर भारतमा पनि एक खालको ‘भुटनिज कोलोनाइज’ भइसकेको थियो । मैले भुटान सरकारसँग कति रिक्वेस्ट गरो, ‘मेरो केही गल्ती छैन’ भनेर । ‘होइन, तिम्रा सबै मान्छे बाहिर गए, तिमी पनि जाऊ’ भन्यो । यसरी सन् १९९१ वा मैले बलजफ्ती दबाबमा राजीनामा दिएँ, र त्यहाँबाट अलिअलि पाउनुपर्ने पीएफ, पेन्सनहरू लिएर यता आएर बसें । भुटानमा मेरो इतिहास छैन भनियो । तर, म आफैं भुटानमा जन्मिएको हुा । मेरो एउटा नानी थिम्पुमा जन्मिएको हो, दुइटा नानी फुन्चोलिङमा जन्मिएका हुन् । तर, सरकारसँग म त्यति झै–झगडामा गइन । जो निधारमा लेखेको छ, त्यही हुने हो भन्ने ठानो ।

नेपाली मूलका १ लाख १० हजार भुटानबाट निकालिए, तीमध्ये धेरैजसो अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशमा गइसकेका छन् । १९९० देखि आजसम्मको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ?

भुटानमा नेपाली मूलका नागरिकलाई सफाया गर्ने योजना भएकै हो । ल्होत्साम्पालाई ‘एन्टी गभर्नमेन्ट’ भनेर घर तोकेरै त्यस्ता घरलाई टार्गेट बनाइएको हो । टर्चर भयो, मान्छेहरू भागाभाग भए । भुटानी गभर्नमेन्टले चाहेको ‘सफाया’ नै हो, तर सफाया सबै हुन सकेन, अनि शरणार्थी समस्या सुरु भयो । लखेटिएका भुटानीहरू नेपालमा गएर बसे, अन्तर्राष्ट्रिय समुदायले त्यसमा चासो राख्यो । त्यसपछि यता जो रहे रहे । जो उता गए गए । गएका फर्किन सकेनन् । भित्र रहेका सरकारको कानुन मानेरै बसे । सबै ‘हृयाप्पी’ त के हुन्थे, उनीहरूको सम्पत्ति हराएको छ, कसैको के भएको छ ।

भुटानलाई अहिले सुखी, खुसी, मानवअधिकार, प्रजातान्त्रिक राष्ट्र भनेर चिनाइँदैछ । यतिका नागरिक देशबाट निकालिए, अहिले पनि ७–८ हजार नेपालको शिविरमा बाँकी छन् । केही भुटानका जेलमा छन् । यस्तो अवस्थामा लोकतन्त्र, मानवअधिकारको दुहाई दिन मिल्छ ?

बाहिरबाट हेर्दा भुटानमा अहिले सुख छ भनिन्छ । तर कति भुटानी नागरिकका आफन्तहरू छुट्टिएका छन् । कसैका छोरा शरणार्थी शिविरमा गएका छन्, कसैका फूपू शिविरमा गए, कसैका अरु कोही गए— त्यस्तो खालका विछोड चाहिँ भएको छ । त्यो त दुःख हो, तर मलाई लाग्छ—जसको परिवारमा विछोड भएको छैन, उनीहरूलाई त केही पीर छैन । उनीहरू त कमाइरहेकै छन्, बसिरहेकै छन् ।

अहिले भुटानले भारत र नेपालले हेर्ने दृष्टि के देख्नुहुन्छ यहाँबाट ?

भुटान पहिला जस्तो छैन । भुटानमा कति प्रोजेक्ट बन्दै छन्, कति बिल्डिङहरू बनिरहेका छन् । भुटानमा अहिले प्रशस्त फन्ड आइरहेको छ । भुटानीहरू अहिले आत्मनिर्भर हुने पोलिसीमा छन् । भुटानले अहिले भारतलाई पहिलेभन्दा अर्कै किसिमले हेरेको छ । यहाँ राजनीति मिलेको छैन ।

यूएन, अमेरिका, बेलायत, जेनेभाले किन शरणार्थीका पक्षमा बोल्दैन ?

भुटानको सुरक्षा इन्डियाले हेर्छ । जस्तो— दोक्लाममा त्यत्रो केस भयो, त्यहाँ भुटान लड्नुपरेन नि ! इन्डियाले फाइट गरेर दोक्लाम ‘क्लियरेन्स’ गर्‍यो । जहाँ जहाँ चीनसँग बोर्डर छ, सबै इन्डियाले नै हेर्छ । इन्डियाले जे भन्छ, अन्तर्राष्ट्रिय जगतले सुन्छ पनि ।

तपाईंले यो अचम्मबोध गर्नुभएको कति भयो ?

जबदेखि भुटानमा आन्दोलन भयो, तबदेखि नै हामीले देख्दैछौं यो अचम्म ।

लखेटिएर, स्वेच्छिक रुपमा अथवा तपाईंजस्तो बाध्य भएर जसरी भए पनि देशबाट १ लाख १० हजार बाहिर निस्किए । संसारले शरणार्थी समस्या समाधान भइसक्यो भन्दैछ । तपाईं दशगजाको छेउमा बस्नुभएको छ । तपाईँ लाई समाधान भएको लाग्छ कि लाग्दैन ?

अब भएको हो, बल्झिदैन होला । किनभने भारतको छत्रछायाामा बसेको छ भुटान, भुटानलाई नेपालले केही गर्न सक्ने होइन । नेपाल आफैं राजनीतिक रुपमा कमजोर छ । नेपालले अन्तर्राष्ट्रिय रुपमा लैजानै सक्दैन । अब नेपालका शरणार्थी शिविरमा रहेका ६–७ हजार वृद्धवृद्धाले के गर्ने ? तिनीहरूलाई भुटान पठाउन म त असंभव देख्छु ।

३०–४० वर्षदेखि बन्दी भएर बसेकाहरूका बारेमा पनि कसैले अब बोल्दैन ?

त्यहाा (भुटानमा) अहिले को गएर हेरेको छ ? भित्र छ कि छैन ।

आईसीआरसीले छन् भनेर प्रमाण दिएको छ नि ?

यो त अन्तर्राष्ट्रिय तहको कुरा भयो । त्यहाँ एउटा मान्छे गएर हेर्न सक्दैन, त्यो नेपाल, इन्डियाको जस्तो जेल होइन । भुटानको जेल कहाँ छ—कसैलाई थाहा छैन । साधारण मान्छे जानै पाउादैनन् ।

फुन्चोलिङको तपाईंको घरबाट आफ्ना दाजुभाइ, दिदीबहिनीहरू भागाभाग गरेको दृश्य देख्दा तपाईंलाई कस्तो लाग्थ्यो ?

त्यतिबेलाको समय र अहिलेको समय फरक छ । त्यतिबेला सबै आत्तिएका थिए । यहाँ(जयगाउँ)का लोकल मान्छेले पनि सहयोग गरेका हुन् । रासन–पानी पनि दिएका हुन् । जब रिफ्युजी बनेर क्याम्पमा बसे, त्यसपछि राजनीति बदलियो । शिविरमा बसेका रिफ्युजीलाई सघायो भने भुटानको ‘टार्गेट’ हुने भएपछि सघाउन छोडे ।

तपाईं त कसैको टार्गेटमा पर्नुभएन ?

परो नि । पुलिसले कति खोज्यो । तर मैले कसैलाई मारेको थिइना । कसैलाई केही नराम्रो भनेको थिइन । मैले केही एन्टिगभर्नमेन्ट केही गरेको भए त मलाई पक्रेर जेलमा हालिहाल्थ्यो नि । त्यसकारण म यहाँ सुरक्षित छु ।

प्रकाशित : मंसिर १, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?