‘अब दाइहरू अभिभावक बनेर बस्नुपर्छ’ : प्रकाशमान सिंह- कुराकानी - कान्तिपुर समाचार

‘अब दाइहरू अभिभावक बनेर बस्नुपर्छ’ : प्रकाशमान सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको आगामी महाधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन निर्णायक भूमिका खेलेका निधि, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठजस्ता नेताहरू देउवा क्याम्पबाट बाहिरिएका कारण यसपटक उनलाई सभापतिमा जित्न कठिन हुने देखिन्छ ।

अर्कोतिर पौडेल समूहले साझा उम्मेदवार उठाउने कुरा गर्दै आएको छ । त्यस्तै कांग्रेसमा नेतृत्वको पुस्तान्तरणको मुद्दा पनि पेचिलो बन्दै गएको छ । यसै विषयमा कांग्रेसका पूर्वमहामन्त्री र यसपटक सभापतिका आकांक्षीसमेत रहेका प्रकाशमानसिंहसँगको कुराकानी :

पौडेल पक्षमा एकमत हुने सभावना छ ?

१३ औं महाधिवेशनमा रामचन्द्रजीलाई अघि बढाएकै हो । विभिन्न कारणले जिताउन सकिएन । अहिले देशभरका कार्यकर्तामा शेरबहादुर देउवाले पार्टी चलाउन सक्नु भएन, तौरतरिका भएन, कमीकमजोरी भए भनेर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । देउवा मात्रै नभएर समकालीनलाई पनि हाँक्न कठिनाइ हुन्छ भन्ने भावना छ ।

पहिलो लेयरका दुई नेता (देउवा र पौडेल) ले अब नयाँलाई सम्मानजनक निकास दिनुपर्छ । यो कुरा रामचन्द्र दाइलाई मैले अनुरोध गरिसकेको छु । हामीले सहयोग गर्दैमा अब नेता–कार्यकर्ताले पहिलो पुस्तालाई भोट हाल्ने स्थिति देखिन्न । १३ औं महाधिवेशनमा जित्न नसकेपछि पौडेल दाइलाई यसपटक झन् गाह्रो छ । उहाँहरूले प्रजातन्त्रको अभियानमा विशेष योगदान गर्नुभएको छ । अब सम्मानजक निकास दिने समय आएको छ । हाम्रो अभिभावक बनेर बस्नुपर्छ ।

एउटै टिम बन्न सकेन भने त्यसको लाभ सभापतिलाई नै पुग्छ होला नि ?

अबको नेतृत्व शेरबहादुरजी जस्तो व्यक्ति हुन हुन्न भनेर पार्टीका साथीहरूले उदाहरण दिने गर्छन् । समय छँदा अधिवेशन गराउन सक्नु भएन । उहाँको नेतृत्वमा पार्टी झन् कमजोर भयो । जिल्लाबाट साथीहरूले यस्तो नेतृत्वलाई राखिराख्ने तपाईंहरूको पनि कमजोरी हो भन्न थाल्नुभएको छ ।

नेतृत्व दिन नसक्नेहरूलाई पदमा राख्न हुन्न भन्ने दबाब छ । शेरबहादुर दाइ १३ औं महाधिवेशनबाट निर्वाचित सभापति भएपछि पार्टी निकै कमजोर भयो । कांग्रेस कमजोर हुँदा कम्युनिस्टको दुस्साहस बढ्यो । दुईतिहाइ समर्थन प्राप्त प्रधानमन्त्री केपी ओलीले दुई–दुई पटक संसद् विघटन गरेको कांग्रेस कमजोर भएकैले हो ।

तपाईं आफैंले दाबी छाड्नुहुन्छ ?

म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । नेविसंघको साधारण सदस्य, जिल्ला सभापति, पार्टीको जिल्ला सभापति बन्दै संघर्ष गरेर यहाँसम्म आएको हुँ । पार्टीको उपसभापति, महामन्त्री भइसकें । सरकारमा उपप्रधानमन्त्री भइसकें । मेरो काम गर्ने शैली र सक्रियता साथीहरूलाई थाहा छ । कांग्रेस बनाउन यत्रो लगानी गरेको मान्छे चुप लागेर बस्न हुन्न भन्ने दबाब छ । यो पार्टी चलाउन मैले सक्छु भनेरै अघि बढेको छु ।

पौडेल, शशांक, शेखर र तपाईंमध्ये को हुने हो त उम्मेदवार ?

हामी चार जना अहिले एकै ठाउँमा छौं । बैठक भइरहेको छ । व्यक्तिगत कुराकानी भइरहेका छन् । समझदारी बनाउन सजिलो छैन । सबैको चाहना छ । जबर्जस्ती गर्ने कुरा भएन । सबैको चित्त बुझाएरै गर्ने हो । जिल्ला, क्षेत्रका अधिवेशन सम्पन्न भएर प्रतिनिधि आएपछि एउटा तस्बिर आउँछ । त्यसपछि को कति बलियो हुन्छ भन्ने प्रस्ट हुन्छ । त्यतिबेला आफैंले मूल्यांकन गरेर एउटा टिम बनाउन सहयोग गर्ने हो ।

एउटै टिम बन्न सक्छ त ?

राजनीति हो भन्न सकिन्न । केही अघि यहीं (चाक्सीबारीमा) हाम्रो बैठक बसेको थियो । पार्टी सभापतिमा शेरबहादुरलाई राखिराख्ने हो भने यो पार्टी अझ तहसनहस हुन्छ । राम्रो हुन्न । १४ औं महाधिवेशनमा हामी सबै मिलेर टिम बनाएर जानुपर्छ भन्ने निष्कर्ष निकालिएको हो । एउटै टिम बनाउन सक्यौं भने नेतृत्व लिन सकिन्छ भन्ने दृढ विश्वास छ । त्यसैको अभ्यास अहिले भइरहेको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तान्तरणको मुद्दाले दबाबमा देउवा

पार्टीमा दोस्रो र तेस्रो पुस्ताका नेताले नेतृत्वका लागि अग्रसरता लिन थालेपछि सरकारका कामकारबाही र नियुक्तिमा समेत अंकगणित मिलाउन लागिपरेका देउवाले आफ्नै सल्लाहकार नियुक्ति र सचिवालय निर्माणमा समेत ढिलाइ गरिरहेका छन्
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर सरकारका काम अस्तव्यस्त भएको, संसद्मा बहुमत हुँदाहुँदै बजेट पारित नभएर मुलुकको आर्थिक कारोबार ठप्प भएको लगायतका राष्ट्रिय मुद्दाप्रति चिन्ता छैन । ‘चलेकै त छ’ भन्ने मानसिकताबाट पार्टी सञ्चालन गर्दा ६ वर्षसम्म महाधिवेशन गर्न नसकेका देउवाले सरकार सञ्चालनको हकमा पनि त्यस्तै रबैया देखाउन थालेका छन् ।

देउवाले विधानले दिएको भन्दा दुई वर्ष बढी अर्थात् ६ वर्षसम्म कांग्रेसको नेतृत्व सम्हाल्दा महाधिवेशन त गर्न सकेनन् नै, दसौं वर्षदेखि तदर्थवादमा चलेका भ्रातृ संस्थाको अधिवेशन गराउनसमेत अग्रसरता देखाएनन् । आफैं अधिवेशन गर्न भ्रातृ संस्था स्वायत्त छैनन् । पार्टी नियन्त्रणले थिचिएका नेविसंघ, तरुण दललगायत भ्रातृ संस्था अहिले नेतृत्वको निगाहमा ६–६ महिना म्याद थप्दै ‘चल्ते चलाते’ को स्थितिमा छन् ।

पार्टीलाई चलायमान बनाउने विभागहरू देउवाको चारवर्षे कार्यकाल सकिँदासम्म गठन भएनन् । आधाजसो विभाग कार्यकाल सकिएर महाधिवेशनको तिथि घोषणा भइसकेपछि गठन भए तर विवादका कारण तिनले पनि काम गर्न सकेनन् । प्रमुख प्रतिपक्षी दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकामा चौतर्फी आलोचना नै भयो । सरकारको नेतृत्वमा आइसकेपछि पनि संसद्लाई गतिशील बनाउन नसकेको आरोप प्रधानमन्त्रीमाथि छ ।

देउवाको पार्टी सञ्चालनकै कार्यशैली अहिले सरकारमा देखिएको छ । दुई महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार गरिएको छैन । प्रधानमन्त्रीले यसबीचमा राष्ट्रका नाममा एकपटक सम्बोधनसमेत गर्न भ्याएका छैनन् । १६ मन्त्रालयमा नेतृत्व नहुँदा सिंहदरबारको शासन–प्रशासनको गति कछुवाको चालमा छ । सरकार गतिहीन हुनुमा गठबन्धन दलका अन्य नेता पनि उत्तिकै भागीदार छन् तर सरकारको नेतृत्व लिएका प्रधानमन्त्रीकै ढिलासुस्ती र कार्यशैली बढी जिम्मेवार हुने नेताहरू बताउँछन् । प्रधानमन्त्रीका रूपमा देउवाको यतिबेला देखिएको ढिलासुस्ती भने पार्टी महाधिवेशन सम्पन्न गराउने र फेरि सभापतिमा निर्वाचित हुने मुद्दासँग केन्द्रित छ ।

आफ्नै टिमबाट चुनौती

देउवाले राष्ट्रिय मुद्दालाई पनि राज्य र पार्टी सत्ताको अनुकूलता/प्रतिकूलतासँग जोडेर हेर्ने गरेकाले सरकार गतिहीन बन्न पुगेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन् । देउवाको कार्यशैलीलाई मुद्दा बनाएर पार्टीमा नेतृत्व परिवर्तनका लागि ध्रुवीकरण बढेको छ । देउवानिकट नेताहरूले प्रधानमन्त्री भएपछि सभापति बन्न अनुकूल हुने ठान्दै आएका थिए तर सरकार सञ्चालनको दुई महिनाको अनुभवले सोचेजस्तो नभएको संस्थापन पक्षकै एक नेताले बताए ।

‘मन्त्रिपरिषद् विस्तार र आफ्नो निजी सचिवालय चाँडै बनाउन प्रधानमन्त्रीजीलाई धेरै पटक भन्यौं, गठबन्धन दलले निर्णय दिन नसके पनि कम्तीमा कांग्रेस र माओवादीका भागमा परेका मन्त्रालयमा मन्त्री पठाउन सकिन्थ्यो,’ ती नेताले भने, ‘पार्टी सञ्चालनमा सहमति नजुटे बहुमतीय प्रक्रियाबाट भए पनि अघि बढ्नुपर्छ भन्यौं तर सहमति खोज्दाखोज्दै ६ वर्षसम्म पार्टीले काम गर्न सकेन । अहिले सरकार सञ्चालनमा पनि यस्तै शैली अपनाउने हो भने महाधिवेशनमा पनि धेरै जोखिम हुने देखेको छु ।’

‘अब दाइहरू अभिभावक बनेर बस्नुपर्छ’ : प्रकाशमान सिंह

महाधिवेशनमा आफ्नै टिमबाट समेत ‘थ्रेट’ बढ्न थालेपछि देउवाको सम्पूर्ण ध्यान सरकार सञ्चालनको मार्गमा नभएर महाधिवेशनबाट सभापति कसरी बन्ने भन्नेतिर छ । आगामी महाधिवेशनबाट सभापति दोहोर्‍याउने, आफ्नै नेतृत्वमा आगामी निर्वाचनमा देशभर टिकट बाँड्ने र चुनावपछि छैटौंपटक प्रधानमन्त्री बनेर गिरिजाप्रसाद कोइरालाले रेकर्डलाई तोड्ने मार्गचित्र देउवाले बनाएका छन् ।

सरकारका निर्णय, खासगरी राजनीतिक नियुक्तिहरू पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गरेर मात्रै गर्ने तयारीमा देउवा छन् । पार्टीभित्रका असन्तुष्टहरूको व्यवस्थापन गरेर बलियो टिम खडा गर्न देउवाले सरकारका महत्त्वपूर्ण राजनीतिक नियुक्तिमा ढिलाइ गर्दै आएको बुझाइ नेताहरूको छ । दुई महिनाको अवधिमा भतिजा भानु देउवालाई प्रमुख स्वकीय सचिवमा राख्नेबाहेक आफ्नै निजी सचिवालयका विज्ञ/सल्लाहकारको टिम बनाएका छैनन् ।

पार्टीभित्रै नेतृत्व पुस्तान्तरणको मुद्दा आक्रामक ढंगले उठ्न थालेपछि देउवा दबाबमा परेका छन् । इतरखेमाले एउटै टिम बनाएर आफूविरुद्ध मोर्चाबन्दी गर्न गरिरहेको पहल र आफ्नै टिमबाट भइरहेको ‘थ्रेट’ ले देउवा ठूलो दबाबमा छन् । १३ औं महाधिवेशनमा सभापति बनाउन महत्त्वपूर्ण पिलर मानिएका उपसभापति बिमलेन्द्र निधि अहिले आफैं नेतृत्वको दाबी गरिरहेका छन् । उमेरले ७० कटे पनि देउवासँगै रहेका अर्का नेता गोपालमान श्रेष्ठले नेतृत्व पुस्तान्तरणकै मुद्दालाई केन्द्रमा राखेका छन् । श्रेष्ठको निष्कर्ष दुवै मोर्चामा देउवा सफल हुन नसक्ने भन्ने छ । ‘उहाँले अब पार्टी चलाउन सक्नु हुन्न, सरकारलाई समय दिएर राम्रो काम देखाउन सक्नुपर्छ । पार्टीको जिम्मेवारी अब हामीलाई दिने हो,’ उनले भने, ‘प्रधानमन्त्री भएको व्यक्तिले जोखिम लिएर प्रतिस्पर्धामा उत्रन पनि हुन्न ।’

देउवाका लागि प्रवक्ता विश्वप्रकाश शर्मा सार्वजनिक रूपमा देखाउने अनुहार थिए । शर्माले पनि देउवा टिमको प्रतीक्षा नगरी महामन्त्रीको घोषणा गरिसकेका छन् । देउवा टिमबाट महामन्त्रीमा उम्मेदवार बन्ने सम्भावना कम देखेपछि शर्मा निधिको टिमबाट उम्मेदवारी दिने तयारीमा छन् ।

देउवानिकट नेता एनपी सावद पहिलो पुस्ताका नेताहरूमा समझदारी नभएसम्म नेतृत्व हस्तान्तरण हुन कठिन हुने दाबी गर्छन् । ‘नेतृत्व हस्तान्तरण गर्ने कुरा सहमतिमा टुंग्याउनुपर्ने हुन्छ । सहमतिका आधारमा नेताहरूले अभिभावक र संरक्षकत्वमा बस्न मञ्जुर गरे भने नेतृत्व दोस्रो पुस्तामा आउँछ,’ उनले भने, ‘सहमति भएन भने प्रतिस्पर्धाको कुरा हो । एकाधबाहेक प्रतिस्पर्धा पहिलो पुस्ताकै बीचमा हुने मैले देखिरहेको छु । अरू धेरैको प्रतिस्पर्धा पदाधिकारीसम्ममा देखिन्छ । पहिलो पुस्ताका नेताहरूको सहमतिमै आधारितबाहेक नेतृत्व दोस्रोमा आउँछ भन्नेमा मलाई विश्वास छैन ।’

पदाधिकारी व्यवस्थापनमा कठिन

सभापतिमा निधि र श्रेष्ठ तथा महामन्त्रीमा शर्माले लिएको प्रतिस्पर्धाको बाटोले देउवालाई क्षति पुर्‍याइसकेको छ । अरु नेताहरूको आकांक्षाको सम्बोधन नभएमा थप क्षति पुग्ने अड्कलबाजी भएका छन् । दुई उपसभापति, दुई महामन्त्रीमा आकांक्षीहरूको व्यवस्थापन गर्न देउवालाई ठूलो चुनौती छ । उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई अघि सार्न खोजिए पनि महामन्त्रीका लागि निर्णय लिन देउवालाई हम्मे छ । ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, एनपी सावद, रमेश लेखक र सुरेन्द्र पाण्डेले महामन्त्रीमा दाबी गर्दै आएका छन् । लेखक र पाण्डे सहमहामन्त्रीमा बस्न तयार हुन सक्छन् तर सावद, कार्की, खाँण र महतको दाबी महामन्त्री वा उपसभापतिमै छ ।

देउवाको भित्री दाउ अर्को पक्षका असन्तुष्ट नेतालाई आफ्नो टिममा ल्याउन सकिन्छ कि भन्नेमा छ । यसअघिको १३ औं महाधिवेशनमा उनले नेता अर्जुननरसिंह केसीलाई भित्र्याएर महामन्त्री लडाएका थिए । ‘अहिले पनि त्यस्तै खोजी हुन सक्छ तर त्यसले झन् नराम्रो स्थिति ल्याउन सक्छ,’ संस्थापन पक्षका एक नेताले भने, ‘विधानअनुसार पनि शेरबहादुर दाइको मौका अन्तिमपटक हो । भविष्य भएको नेताले कम्तीमा दस/पन्ध्र वर्षको राजनीति हेरेर लाग्छ । यसपटक पनि महामन्त्री र उपसभापति भइएन भने किन शेरबहादुरको पछि लाग्ने भनेर अर्को टिममा पुगेर लड्न सक्छ ।’ सहमहामन्त्री प्रकाशरण महतले टिम व्यवस्थापन गर्न नसकेर तितरबितर हुने सम्भावना नभएको तर आफू महामन्त्रीभन्दा तलको पदमा चुनाव नलड्ने बताए ।

पौडेल पक्षले एउटै टिम खडा गर्न नसके देउवाका लागि सबैभन्दा ठूलो शक्ति मिल्नेछ । देउवाबाट नेतृत्व लिने हो भने एउटै टिम बनाउनुपर्छ भन्दै तलदेखि माथिसम्मका नेता तथा कार्यकर्ताले पौडेल पक्षलाई निरन्तर दबाब दिँदै आएका छन् तर पौडेल पक्षमा नेतृत्वका लागि मिल्ने संकेत भेटिएको छैन ।

यो समूहमा आबद्ध ५० भन्दा बढी जिल्लाका सभापति छन् । उनीहरूको दबाबमा वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन भदौ १७ मा चारै जना आकांक्षीसँगै बसेर एक हुने सन्देश दिएका थिए । त्यसपछि महामन्त्री शशांक कोइरालाले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पुगेर सभापतिको उम्मेदवारी हुने अभिव्यक्ति दिए । वरिष्ठ नेता पौडेल पनि अन्तिमपटक मौका दिन हारगुहार गर्दै छन् ।

नेतृत्वका आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाले देउवाबाट मात्रै नभई अबको हाँकलाई नेतृत्व दिने क्षमता पौडेलसँग पनि नभएको बताए । यी दुवै नेताले पौडेललाई प्रधानमन्त्रीका रूपमा अघि सार्न सकिने बताउँदै आएका छन् । ‘शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री बन्नुभयो, कांग्रेस (प्रजातान्त्रिक) र नेपाली कांग्रेसको सभापति भइसक्नुभयो, उहाँहरूका बेलामा प्रजातन्त्रका लागि ठूलो योगदान दिएर आउनुभएको हो, अब शेरबहादुरजी र रामचन्द्रजी दुवैले अभिभावकको भूमिकामा बस्नुपर्छ भनेर मैले भन्दै आएको छु,’ सिंहले भने, ‘१४ औं महाधिवेशनको मुद्दा भनेकै नेतृत्व पुस्तान्तरणको हो ।’

संस्थापनबाहेक पक्षबाट एउटै टिम खडा गर्न नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियारलगायतका नेता कस्सिएका छन् । जिल्ला सभापतिहरूले पनि निरन्तर दबाब दिएका छन् । ‘यो टिम एक भएर अघि बढ्न सक्यो भने प्रधानमन्त्रीमै रहेर पनि देउवालाई नेतृत्व लिन धेरै कठिनाइ पर्छ, भएन भने अर्को पाँच वर्ष हामीले यस्तै भोग्नुपर्छ,’ पौडेलले भने, ‘पहिला पुस्ताका दुई नेतालाई सम्मानजनक रूपमा बाहिर राखेर दोस्रो पुस्तामा नेतृत्व ल्याउन सक्यौं भने कांग्रेसमा नयाँ जागरण आउँछ ।’

प्रकाशित : भाद्र ३१, २०७८ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×