कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘माधव नेपाल फन्को मारेर एमालेमै आउनुहुन्छ’

काठमाडौँ — १० बुँदे कार्यान्वयन भएपछि एमाले स्थायी कमिटीका १० नेता ओली नेतृत्वको मूलधारमा समाहित भएका छन् । माधवकुमार नेपाल लगायतका नेताहरूले पार्टी विभाजन गरेपछि उनीहरु स्थायी कमिटी बैठकमा सहभागी भए । विगतमा माधव नेपालसँग नजिक रहेका उनीहरू अब अध्यक्ष केपी शर्मा ओलीलाई नै स्वीकारेर पार्टीभित्रै बस्ने भएका छन् ।

‘माधव नेपाल फन्को मारेर एमालेमै आउनुहुन्छ’

पार्टी एकताका लागि विगतमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि जाने उनीहरूले उल्लेख गरेका छन् । के अब एमालेको विवाद मिलेको हो ? यसै सन्दर्भमा एमाले सचिव योगेश भट्टराईसँग गरिएको कुराकानीः

१० बुँदे सहमति कार्यान्वयनको कार्यतालिकासहित तपाईंहरू पुरानै घरमा फर्कनुभयो । एमालेको विवाद अब अन्त्य भयो, होइन ?

दुई वटा पार्टीलाई सर्वोच्च अदालतले अलग गरिसकेपछि पार्टीको संगठनात्मक जुन समस्या थिए, मंगलबारको स्थायी कमिटी बैठकले १० बुँदे कार्यान्वयनको प्रतिबद्धतासहित कार्यतालिका सार्वजनिक गरेको छ । यसबाट पार्टीभित्रको सांगठनिक समस्या मूलतः हल भएका छन् ।

दुई/दुई पटक भएको संसद् विघटनलगायतका राजनीतिक मुद्दामा रहेको गम्भीर मतभेद पनि अब सकिएको हो ?

कुनै पनि जीवन्त पार्टीमा राजनीतिक, वैचारिक मुद्दाहरूमा बहस, छलफल हुन्छ । त्यसमा पक्ष–विपक्ष हुन्छ । एमाले पनि लोकतान्त्रिक पार्टी भएकाले विभिन्न राजनीतिक मुद्दाहरूमा पार्टीभित्र बहस, छलफल चलिरहन्छ ।बहस, छलफलमा आफूलाई लागेका कुराहरू प्रस्ट ढंगले पार्टीका आधिकारिक निकायमा छलफल चलाउँदै जाने हो । अब त्यसमा सर्वसम्मत धारणा पनि बनाउन सक्छौं । वा फरक मत, अल्पमत–बहुमतबाट पनि जान सकिन्छ ।

माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्ने मागको सान्दर्भिकता नै सकिएको हो ?

सकिएको छैन । माधव कमरेडले औपचारिक हिसाबले अर्को पार्टी दर्ताको प्रमाणपत्र नलिदाँसम्म उहाँलाई पार्टीमा फर्काउने हाम्रो अभियान निरन्तर छ । त्यसकै निम्ति स्थायी कमिटी बैठकले उहाँलगायतका सम्पूर्ण नेताहरूलाई एकतामा फर्किन आह्वान गरेको छ । त्यस्तो अवस्थामा विगतमा भएका कारबाही, अनुशासनसम्बन्धी कारबाहीलगायतका कुराहरू स्वतः लागू नहुने अपिलमा उल्लेख भएको छ । हामी अन्तिमसम्म पनि कोसिस गर्छौं ।

योबीचमा अध्यक्षमा अधिकार केन्द्रित गर्नेगरी विधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यबाट निर्वाचित हुने, अरू पदाधिकारी मनोनीत हुने गरी विधान बन्दै छ, यसमा तपाईंहरूको सहमति छ ?

विधान संशोधन प्रस्तावमाथि छलफल गर्न भदौ २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यो बैठकमा विधान संशोधन र अन्य राजनीतिक एजेन्डाका बारेमा छलफल हुन्छ । असोज ४ र ५ गते विधान अधिवेशन आयोजना भएको छ । त्योभन्दा अगाडिको केन्द्रीय कमिटी बैठकले विधान अधिवेशनमा प्रस्तुत गर्ने मस्यौदाहरूमाथि छलफल गर्ने क्रममा हामी यी विषयमा कुरा राख्छौं । एमालेलाई लोकतान्त्रिक पार्टी बनाउने कुरामा हाम्रो प्रतिबद्धता छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझै फराकिलो बनाउँदै जानुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यही मान्यताका आधारमा केन्द्रीय कमिटीमा छलफल चलाउँछौं ।

माधव नेपाल बाहिर, तपाईंहरू भित्र हुनुभयो, लामो सहकार्य टुट्यो, नयाँ यात्रामा अब कसरी अघि बढ्नुहुन्छ ?

माधव कमरेडले जुन बाटो समाउनुभयो, त्यो दीर्घकालीन होइन, छोटो बाटो हो । त्यसैले उहाँले छिटै फन्को मारेर नेकपा एमालेमा एकताबद्ध हुन आउनुहुन्छ भन्ने विश्वास छ । त्यसका निम्ति एमालेका तर्फबाट आह्वान गर्छौं । उहाँसँग निरन्तर यस विषयमा छलफल हुन्छ । कुनै न कुनै दिन नेकपा एमालेमा आबद्ध हुनुको विकल्प छैन ।

तर, माधव नेपालले त तपाईंहरू पनि ढिलोचाँडो नयाँ पार्टीमा नै आइपुग्नुहुन्छ भन्नुभएको छ नि ?

नेपालका पार्टीहरूको इतिहास र अरू कतिपय दक्षिण एसियाको उदाहरणबाट के देखिन्छ भने मूलधारबाट विभाजित भएर बनेका समूह लामो समयसम्म टिक्दैनन् । ती क्षणिक हुन्छन् । केही आवेग, उत्तेजनामा बनाइएका हुन्छन् । त्यस्ता पार्टीको वैचारिक, राजनीतिक आधार हुँदैन । सामाजिक संरचनाले पनि त्यस्ता संगठनहरूलाई दीर्घकालीन बनाउने आधार छैन । त्यसकारण कमरेड माधव नेपालले आजको क्षणिक आवेगमा जुन पार्टी बनाउन खोजिरहनुभएको छ, त्यो पार्टी अन्ततः एमालेमा समाहित हुनुको विकल्प छैन ।

तर, माधव नेपाल पक्षले त तपाईंहरूले ओलीसामु आत्मसमर्पण गरेको र धोका दिएको आरोप लगाएको छ नि ?

हामीले बनाएको पार्टी, संगठनमा एकताबद्ध हुने विषय कसरी आत्मसमर्पण हुन्छ ? यो कुनै एउटा अमुक नेताले बनाएको पार्टी होइन । लाखौं लाख नेता, कार्यकर्ता, सदस्यले बनाएको पार्टी हो । त्यसकारण पार्टीलाई रक्षा गर्ने र यो पार्टीमार्फत सिंगो मुलुकको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरा कसरी आत्मसमर्पण हुन्छ ?

अब एमालेमा तपाईंहरूको कुनै समूह हुन्छ कि सम्पूर्ण रूपमा एकीकृत हुनुभयो ?

नेकपा एमाले नै हाम्रो ठूलो समूह हो । त्यो समूहभित्र हाम्रो विभिन्न विचार, राजनीतिक हिसाबले समूहहरू हुन सक्छन्, त्यसलाई इन्कार गर्न सकिँदैन । तर, ती विचार समूहहरूको आबद्धता सधैं एकैखालको हुन्छ भन्न सकिँदैन । ती विचार समूह परिस्थिति, विचार, विषयवस्तुअनुसार बन्न सक्छन्, बदलिन सक्छन् । विगतको इतिहास पनि यस्तै देख्छौं । माधव नेपाल र केपी ओली लामो समयसम्म एउटै विचारधारमा हुनुहुन्थ्यो । उहाँहरू अहिले सँगै बस्न सक्नुभएन । वामदेव गौतमले नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउनका निम्ति ज्यान फालेर लाग्नुभयो । आज उहाँ केपी ओलीसँग हुनुहुन्न । ओलीसँग सँगै भएका थुप्रै नेता मावध नेपालको पक्षमा हुनुहुन्छ । माधव नेपालको पक्षमा भएका थुप्रै साथीहरू ओलीको पक्षमा हुनुहुन्छ । त्यसकारण गतिशील पार्टीमा मान्छेका सम्बन्ध पनि गतिशील हुन्छन् ।

तपाईंहरू दोस्रो पुस्ता भनिएका नेताहरू पहिलो पुस्तामाथि हस्तक्षेप गर्न र नेतृत्व गर्ने आँट गर्नॅ भएन भनेर आलोचना भएको छ नि ?

मैले पनि सामाजिक सञ्जालमा देखेको छु, कतिपय राजनीतिक पार्टीका मानिस र बुद्धिजीवीहरूले हामीलाई विभिन्न आरोप लगाउनुभएको छ । उहाँहरूको आरोपको उद्देश्य नेकपा एमालेको विभाजनमा हामीले पनि साथ दिन सक्नुपर्दथ्यो भन्ने हो । एमालेको विभाजन चाहनेको अपेक्षा पनि हो । त्यसलाई अन्यथा ठान्दिनँ । तर, आजको दिनमा एमालेलाई विभाजन गरेर सानो समूह बनाउने काम ठीक हो कि पार्टीलाई एकताबद्ध गर्दै पार्टीभित्रैबाट छलफल, बहस गर्दै निष्कर्ष निकाल्ने काम ठीक हो ? एमालेलाई थप सदृढ गर्ने कुरा ठीक हो भनेर छुट्याउँदा हामीले दोस्रो विकल्प रोजका हौं । विभाजनको विकल्प हामीलाई सही लागेन । मैले माधव कमरेडलाई पटकपटक भनें, ‘तपाईंले बनाउन लागेको पार्टी तेस्रो एमाले हो । पहिलो केपी ओली नेतृत्वको एमाले हो । दोस्रो, प्रचण्ड नेतृत्वको पार्टी हो, त्यो पनि एमाले नै हो । माधव कमरेडले बनाउने तेस्रो एमाले हो । तेस्रो एमाले मुलुकले थाम्न सक्दैन । त्यसकारण पचासौं वर्ष लगाएको पार्टी छाडेर नजानुस् । यहींभित्र वैचारिक संघर्ष गर्नुस्, त्यतिबेला तपाईंसँग हामी हुन सक्छौं । तर, यत्रो पार्टी बनाएर अर्कालाई जिम्मा लगाएर किन निस्कनुहुन्छ भनेर पटकपटक भनेका हौं ।

तपाईंहरूकै कारण केपी ओली सत्ताबाट बाहिरिनुभयो, प्रदेशमा त्यस्तै अवस्था छ । उहाँले प्रतिशोधको राजनीति गर्नुहुन्छ भनेर तपार्इंकै पार्टीका नेताहरूले भन्दै आउनुभएको थियो । तपार्इंहरूमाथि पनि त्यो होला भन्ने आशंका छ

कि छैन ?

पूर्वीय सभ्यतामा सबैभन्दा पुराना दस्तावेज महाभारत, रामायण हुन् । ती अध्ययन गर्दा जो प्रतिशोधका साथ अगाडि बढ्छ, त्यो समाप्त हुन्छ । जसको अहंकार हुन्छ त्यो समाप्त हुन्छ । त्यसैले राजनीतिमा जति बढी उदारता हुन्छ त्यति नै त्यो नेता अगाडि बढ्न सक्छ । हाम्रो बैठकमा पार्टी अध्यक्षले कसैप्रति भेदभाव नहुने र सबैलाई समान व्यवहारका साथ अगाडि बढ्ने प्रतिबद्धता दिनुभएको छ ।

यति लामो समय पार्टीमा रहनुभएका वा पार्टी बनाउनुभएका दुई जना वरिष्ठ नेता, उपाध्यक्ष वामदेव गौतम हुनुहुन्न । उहाँहरूबिनाको एमाले कस्तो होला ?

अवश्य यसले केही घाटा हुन्छ नै । नेताहरू पार्टी छाडेर अर्को पार्टीमा जाँदा त्यसले एमालेलाई केही क्षति हुन्छ । तर, जबजको जुन विचारबाट अगाडि बढ्दै छौं र जुन संगठन छ, यसले विगतको ठीक र वस्तुनिष्ठ समीक्षा गर्दै अगाडि बढ्ने संकल्प गर्ने हो भने छोटो समयमा नै यो घाटालाई ठीक ढंगले परिपूर्ति गर्न सकिन्छ ।

प्रकाशित : भाद्र ९, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?