सामाजिक सञ्जालमा आएका टिप्पणीकै भरमा मैले बोल्न मिल्दैन : राजदूत आचार्य- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

सामाजिक सञ्जालमा आएका टिप्पणीकै भरमा मैले बोल्न मिल्दैन : राजदूत आचार्य

- दूतावासका डीसीएमको नेतृत्वमा र्‍यापिड रोस्पोन्स टिमले अफगानिस्तामा रहेका नेपालीको उद्धारको विषयमा काम गरिरहेको छ । फर्कन चाहने नेपालीलाई जतिसक्दो छिटो फर्काउने प्रयत्नमा छौं ।
- एसएसबीको व्यवहारलाई लिएर धेरैतिरबाट प्रश्न छ । दशगजा र पिलरहरुलाई व्यवस्थित गर्ने कुरा छन् । यद्यपि मूल रुपमा हामी बीचको सम्बन्ध अहिले राम्रो हुँदै गएको छ । र, अगाडि बढेको छ ।
- मलाई देख्नासाथ यहाँको प्रधानमन्त्रीले पनि ईपीजी सम्झिनुपर्छ । त्यसमाथि कुराकानी पनि हुन्छ । अचानक भेट भएका बेलामा पनि ईपीजीको कुरा भएका छन् ।
- हाम्रो भनाई यति मात्रै हो– भेटघाट गर्दा दुवैपक्षले ‘डिप्लोमेटिक नर्म्स’को पालन गरोस् ।
राजेश मिश्र

नयाँदिल्ली — दार्चुलामा तुइन काटिएको घटनादेखि अफगानिस्तानमा तालिवानको कब्जापछि नेपाली असुरक्षित भएका समाचारहरुले पुनः भारतको दिल्लीस्थित नेपाली दूतावासको कार्यमाथि आम मानिसको चासो बढेको छ । त्यो स्वभाविक पनि छ । उमेर र अनुभव दुवैले पाका नेपाली राजदूत निलाम्बर आचार्यको काँधमा भारतभित्रका मात्रै नभई अफगानिस्तानमा रहेका नेपालीहरुको पनि जिम्मेवारी छ । यसका साथै भारतले औपचारिक रुपमा नै बुझ्न आनाकानी गरिरहेको ईपीजीको प्रतिवेदन बनाउने समूहका सदस्य भएका कारण पनि उनीबाट बढी अपेक्षा गरिएको हो । यस्तै कालापानी र सुस्ताको सीमा विवाद दुई देशको सम्बन्धमा खिलझैं गढेको छ, जुन बेलाबेलामा चर्किन्छ । यही सबै विषयमा केन्द्रित रहेर कान्तिपुरका नयाँदिल्ली ब्यूरो प्रमुख राजेश मिश्रले राजदूत आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :

अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था के छ ?

अफगानिस्तानको घटना अप्रत्यासित होइन । तर, जति तिव्रताका साथ भयो, त्यो चाहिँ अप्रत्यासित भयो । स्वयं अमेरिकीहरुले पनि ४/६ महिना अफगानिस्तान निर्वाचित सरकारकै नियन्त्रण रहन्छ भनेर अनुमान गरेका थिए । त्यसको ठिक उल्टो अमेरिकासहित नेटो सेना बाहिरिएको केही दिनभित्रै तालिवानले नियन्त्रणमा लिन सफल भए । अहिलेसम्म कुनै नेपालीलाई क्षति पुगेको वा कुनै अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन ।

बदलिएको परिस्थितका कारण नेपालीहरुले असुरक्षित महसुस गरेको, आतंकित रहेको अवस्था छ । सुरक्षित स्थानमा जाने चाहना राखेका छन् । उद्धार भएर नेपाल फर्किने प्रतिक्षामा छन् । त्यहाँ रहेका नेपालीहरुलाई फर्काउनका लागि मित्र राष्ट्रहरुको सहयोग लिएका छौं । नेपालीहरु जुनजुन विदेशी एजेन्सीहरुमा काम गर्थे, उनीहरुकै सहयोगमा नेपाल फर्काउने काम भइरहेको छ । कतिपय फर्किसकेका छन् ।

अनौपचारिक रुपमा अफगानिस्तान पुगेकाहरुलाई फर्काउन के प्रयत्न गर्नुभएको छ ?

औपचारिक रुपमा गएकाहरु भन्दा लुकिछिपी पुगेकाहरुको अवस्था केही बेग्लै छ । उनीहरुसँग पनि सम्पर्कमा नै छौं । धेरैले परराष्ट्र मन्त्रालय र दिल्लीस्थित दूतावासमा सम्पर्क गरेका छन् । जतिसक्दो उनीहरुलाई पनि कसरी फर्काउन सकिन्छ भनेर प्रयत्नमा छौं । त्यसका लागि पनि मित्र राष्ट्रहरुसँग समन्वय गरिरहेका छौं । दूतावासका डीसीएमको नेतृत्वमा र्‍यापिड रोस्पोन्स टिमले अफगानिस्तामा रहेका नेपालीको उद्धारको विषयमा काम गरिरहेको छ ।

जसले नेपालीलाई पारेको समस्या र सुरक्षाका सवलामा सम्पर्क तथा सहजिकरण गर्ने काम गरिरहेको छ । उनीहरुलाई फर्काउने विषयमा जोबाट सहयोगको सम्भावना रहन्छ सबैलाई भनिरहेका छौं । यहाँबाट जेजति गर्न सकिन्छ गरिरहेका छौं । तर, हामीले गर्नसक्ने उयायहरु समिति छन् । हामी आफैं प्लेन लिएर जान सक्ने अवस्था छैन । कमर्सियल फ्लाइट छैन । त्यो वातावारण बनेको अवस्थामा नेपाल सरकार प्लेन पठाउन पनि तयारी अवस्थामा छ ।

हामी अफगान युद्धको युद्धरत पक्ष होइनौं । त्यसैले विभिन्न पक्षहरुका बीचमा भएका कुराकानीमा हाम्रो अली बेग्लै अवस्था रहन सक्छ । अर्कोतिर, तालिवानसँग निकट रहेका देशहरुको पनि हामीले सहयोग लिनसक्नुपर्छ । उनीहरुको सहयोगबाट आज मात्रै होइन, भोलिपनि त्यहाँ पुग्ने नेपालीहरुको सुरक्षाको ग्यारेन्टी गर्न सकिन्छ ।

तपाईंको विचारमा भोलि बन्ने तालिवान नेतृत्वको सरकारसँग पनि नेपालले सम्बन्ध विकास गर्नुपर्छ भन्नु भएको हो ?

एकैपटक त्यहाँसम्म नपुगौं । तर, तालिवानसँग कुनै न कुनै रुपमा अन्तरक्रिया भइरहुनपर्छे । त्यसको अर्थ अहिले हामीले उसलाई मान्यता दिन्छौं भन्ने रुपमा हेरिहाल्नु हुँदैन । त्यस विषयमा अरु स्थिति हेर्दै जानुपर्छ । तालिवानसँग हामीले प्रत्यक्ष वा अरुको सहयोगमा भएपनि सम्पर्क नगरेर अफागनिस्तानमा काम गर्न त गाह्रो हुन्छ । त्यहाँ नेपालीहरु त रहनेछन् । अहिलेपनि त्यहाँ रहेका सबै नेपाली फर्किनैहाल्छन् भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं । कुनै न कुनै रुपमा त्यहाँ नेपालीहरु रहने भएपछि उनीहरुकै हितका लागि भएपनि हाम्रो सम्पर्क त्यहाँ आवश्यक पर्न जान्छ । कुन स्तरमा, कुन तरीकाको सम्पर्क राख्ने त्यो अर्को कुरा भयो ।

हाम्रा केही मित्रराष्ट्रहरुले तालिवान प्रति ‘सफ्ट कर्नर’ राखेका छन् । केहीको विरोध रहला । त्यो अवस्थामा नेपाल चेपुवामा पर्ने सम्भावना कतिको देख्नुहुन्छ ?

हामीले घटनाक्रमको विकास हेर्नुपर्छ । अफगानिस्तान हामीसँग दौत्य सम्बन्ध भएको देश हो । त्यहाँ अब परिस्थिति फेरिएको अवस्थामा पनि सम्पर्क हुनैपर्छ । अहिले राम्रो सम्बन्ध भन्न खोजिएको देशहरुले पनि त्यतिबेला मान्यता दिएका थिएनन् । जम्मा दुईवटा देशले मान्यता दिएको थियो । मान्यता दिने कुरा आफ्नो ठाउँमा होला । त्योभन्दा महत्वपूर्ण कुरा हो, त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको विषय । हामीले को–कोसँग कुरा गर्दा, सम्पर्क गर्दा वा अनुरोध गर्दा त्यस कार्यमा सहयोग हुन्छ, त्यो हेर्ने हो । त्यो काम गर्ने हो । त्यस अन्तर्गत तालिवानसँग सम्पर्क भएका देश र त्यो बाहेक विशेष प्राविधिक सुविधा भएका देशहरुसँग हामीले सहयोग लिनुपर्छ ।

प्रसंग बदलौं, कालापानीको विषयलाई लिएर नेपाल–भारतबीचको सम्बन्धमा तिक्तता आएको थियो । अहिले सम्बन्ध कस्तो छ ?

सम्बन्धमा केही तिक्तता देखिएको हो । त्यो तिक्तताको कारण त समाधान भइसकेको छैन । तर, त्यो चरण पार गरेका छौं । जस्तोसुकै अप्ठ्यारो र कोभिडकै बेलामा पनि हाम्रा सम्बन्धहरु हार्दिकता पूर्ण नै छ । सम्पर्कहरु पनि यसबीचमा बढेका छन् । केही योजनाहरुले पूर्णता पाएको छ । हस्तानान्तरण भएका छन् । पेट्रोलियम पाइप लाइन, रेल्वे लगायतका कतिपय कामहरु भएका छन् । सीमा सम्बन्धी कुरालाई लिएर गतवर्ष तिक्तता उत्पन्न भएको थियो । तर, त्यो हाम्रो कारणले भएको होइन । पहिले भारतले नै नक्सा ल्याएको हो । त्यसमा हाम्रो भूभाग परेकाले हामीले पनि नक्सा प्रकाशित गर्‍यौं । विवादलाई वार्ताद्वारा समाधान गर्नुपर्छ भन्ने नेपालको अनुरोध रहँदै आएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभागका बारेमा भारतलाई हामीले त्यो हाम्रो हो भनेर प्रमाणका साथ बुझाउन सक्छौं । त्यो हामीलाई लागेको छ । त्यसबाहेक अरु केही साना समस्याहरु पनि छन् । सीमा क्षेत्रमा घटनाहरु भइरहेका हुन्छन् । एसएसबीको व्यवहारलाई लिएर धेरैतिरबाट प्रश्न छ । दशगजा र पिलरहरुलाई व्यवस्थित गर्ने कुरा छन् । यद्यपि मुल रुपमा हामी बीचको सम्बन्ध अहिले राम्रो हुँदै गएको छ । र, अगाडि बढेको छ ।

आशा गर्छु राजनीतिक रुपमा पनि यो सम्बन्ध अनुकुल स्थितिमा अगाडि बढ्ने छ । नेपाल र भारत अत्यन्तै मित्रभाव भएको छिमेकी मुलुक हो । सांस्कृतिक सम्बन्धले मात्रै होइन, नेपालको दुई–तिहाई व्यापार नै भारतसँग छ । शिक्षा, स्वास्थ्योपचार र रोजगारीका लागि आवागमन छ । दुई देशले सार्वभौकिता, समानता, पारस्परिकता र आधुनिक सिद्धान्तहरुलाई पालन गर्दै परम्परागत सम्बन्धलाई कायम राख्नुपर्छ ।

सीमा विवादका सम्बन्धमा वार्ता किन हुन सकिरहेको छैन ?

वार्ताको लागि हामीले अप्रोच गरेका छौं । अरु उपाय छैन । वार्ताबाटै निकास निकाल्ने हो । र, भारतले पनि वार्ता गर्दैनौं भनेर भनेको छैन । उसले वार्ताका लागि अनुकुल वातावरण भएपछि गर्छौं भनेको हो । कालापानी क्षेत्रको सीमाको विवाद ‘आउट स्टान्डिङ’ विषय हो । सीमाको ९७ प्रतिशत विषय समाधान भइसकेको छ । कालापानी र सुस्ता क्षेत्रको विषय बाँकी हो । दुवै देशले त्यसलाई स्वीकार गरेका छन् । त्यसको सामाधानका लागि दुई देशका परराष्ट्र सचिवहरुको संयन्त्र नै बनेको छ । त्यसले समाधान गर्ने दु वैले स्वीकारेको विषय हो । अर्थात ती विषयमा वार्ता गर्नुपर्छ भन्ने कुरा दुवैले स्वीकार गरिसकेका छन् । औपचारिक रुपमै स्वीकार्य विषय हो । अब वार्ता भइरहेको छैन । त्यो होस् भन्ने कुरा मात्रै हो । ‘समस्या किन राख्ने, वार्ता गरिहालौं’ भन्नेमा नेपालको जोड हो । किन ढिलो गर्ने, समस्या राख्दा त्यसले विभिन्न किसिमको तिक्तता असहजता आउँछ । सकभर समाधान गरिहालौं भन्ने हाम्रो कुरा हो ।

त्यसो भए भारत वार्तामा बस्न नचाहेको हो ?

भारतले वार्ता नगर्ने भनेको छैन । उसले पनि वार्ता गर्ने भनेको छ । हामीले भनेको मितिमा उसले कम्फर्टेबल महसुस गरेन ।

नयाँ दिल्लीमा तपाईंको उपस्थितिपछि दुई देशबीचको सम्बन्ध बढाउने विषयमा के काम भए ?

हेर्नुस, सम्बन्ध बढाउने भन्दा पनि केही इतिहासले छोडेर गएका कुराहरु छन् । ती कुरालाई समाधान गर्नुपर्छ भन्नेमा मेरो जोड रह्यो । त्यसै अन्तर्गत ईपीजीको कुरापनि उठ्छ । त्यो विषयमा प्रशस्त काम गरियो । अझैपनि ईपीजीको रिपोर्ट सरकारले बुझेको छैन । यदि सम्बन्धलाई बदलिँदो परिस्थिति अनुसार बदल्दै गएनौं भने समस्या उत्पन्न हुनसक्छ । मैले हाम्रा कुराहरु अत्यन्तै प्रष्टताका साथ सबै तहमा राखेको छु । विश्वासका साथ राखेको छु । विश्वासको सम्बन्ध कायम राख्ने सोचले काम गरेको छु । आफ्नो राष्ट्रिय हितका कुरा भन्नलाई हच्किनु हुँदैन भन्ने मान्यता राखेर काम गरेको छु ।

सम्बन्धहरुका बारे जसरी तिक्तताका मात्रै कुरा गरिन्छ, त्यस्तो होइन । निश्चयपनि केही अप्ठ्याराहरु रहे, तिक्तताको समय पनि नरहेको होइन । तर, ती अस्थायी चरित्रको थियो । सम्बन्ध त्यसभन्दा अगाडि बढी सकेको छ ।

नेपालले खरीद गरेको कोभिडविरुद्धको १० लाख भ्याक्सिन अझै पाउन सकेको छैन नि ?

पहिले सकारात्मक कुरालाई हेरौं । दश लाख खोप भारत सरकारले उपहार स्वरुप दियो । खरीद गरेको २० लाख खोपमा उत्पादन गर्ने कम्पनीले १० लाख दियो १० लाख दिन बाँकी छ । आफ्नै देशमा महामारी फैलिएपछि भारत सरकारले खोपको निर्यात बन्द गरिदियो । त्यसले समस्या भयो । हामीले अनुरोध गरेपछि नेपाललाई प्राथमिकता राखेको र खुल्नासाथ दिने भन्दै आएको छ । पहिलो डोज लिएकाहरुले दोस्रो डोज नपाएपछि समस्या देखिएको हो । तर, अब त्यो अवस्था छैन । अन्यत्रबाट आएको खोपले दोस्रो डोजको आवश्यकता पूर्ति गरिसकेको छ । अझैपनि हामीले भारतबाट आवश्यक खोप प्राप्त गर्ने आशा गरेका छौं । त्यसबाहेक कोभिड नियन्त्रणका लागि चाहिन औषधि, स्वास्थ्य सामग्री र उपकरणहरुमा राम्रो सहयोग भएको छ ।

नेपालले आफ्ना कुरा भारतसँग प्रष्टसँग राख्न सक्दैन भन्ने धेरैले कुरा उठाउँछन । त्यसबारे के भन्नुहुन्छ ?

यो सोचाइको लघुतावास हो । मैले आफ्नो कुरा राख्न नसक्ने भन्ने त, कल्पनै गर्न सक्दिन । चाहे जो सुक होस, जति ठूलो ओहदाको व्यक्ति नै किन न हुन् । मलाई नेपालको हितको कुरा राख्नलाई के अप्ठ्यारो ? उसले राख्न सक्दैन, बोल्न सक्दैन भन्ने बझ्नै नसकिने कुरा हो । मैले जहाँ जो भेटेको छु, उसँग प्रष्टताका साथ नेपालको हितको कुरा गरेको छु । तर, अरुको चाहना जस्तो त्यसलाई प्रचारबाजी गरेको छैन । त्यसले सम्बन्धलाई राम्रो बनाउन मद्दत गर्दैन । जहाँ राख्नुपर्ने हो, त्यहाँ प्रष्टसँग राखेको छु । सम्बन्धलाई नेपालको हितमा अगाडि बढाउने गरी निरन्तर प्रयास गरिएको छ । मलाई के अशा छ भने जेजति आधारहरु निर्माण भएका छन् । त्यसले आउने समयमा राजनीतिक तहको समझधारी अरु गहिरो बनाउने मद्दत गर्नेछ ।

भारत सरकारका अधिकारीहरुसँग तपाईंको अन्तरक्रिया कतिको भएको छ ?

कोभिडको महामारी सुरु भएपछि त्यसमा केही अवरोध आयो । तर, त्यो अप्ठ्यारो स्थितिमा पनि टेलिफोनमार्फत अन्तक्रियाहरु भएका छन् । अहिलेपनि कोरोना कारण त्यति सहज अवस्था छैन । समय र आवश्यकता अनुसारका अन्तरक्रिया भएका छन् ।

पछिल्लो पटक भारतका शीर्ष तहका नेताहरुसँग कुनै भेटघाटको मौका पाउनु भएको छ ?

१५ अगस्तको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरुसँग भेटभाट भएको हो । मोदीले हाम्रा प्रधानमन्त्रीलाई शुभकामना सुनाउनुभयो । रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, सचिव, चिप अफ डिफेन्स स्टाफ लगायतसँग अनौपचारिक छलफल भयो । आवश्यकता अनुसार अनौपचारिक भेटघाटमा पनि मैले हाम्रा सरोकारका कुरा प्रष्टताका साथ राख्दै आएको छु । नेपालमा भएजस्तो वा त्यहाँ सोंचिएको जस्तो भेटभाट यहाँ त्यति सहज छैन । तर, जब भेट हुन्छ आफ्ना कुरा राख्नलाई पछि परिदैन । कुरा राख्न सक्दैन भन्नु गलत हो । हामी नियमित मासिक रिपोर्ट पठाउँछौं । त्यसले पनि देखाउँछ । म उमेरले पनि सिनियर मान्छे, पोलिटिकली पनि सिनियर, त्यसैले सरकारले यहाँ पठाएको छ ।

तपाईं ईपीजीको सदस्य पनि, अहिले राजदूत भएर बसेपछि त्यस विषयमा केही समाधान निस्किन्छ भन्ने अपेक्षा गरिएको थियो ? त्यसमा केही प्रगति भएन नि ?

पहिलो कुरा त ईपीजी छ र त्यसले रिपोर्ट दियो भन्ने विषय मेरो उपस्थितिले सम्झाइरहन्छ । मलाई देख्नासाथ यहाँको प्रधानमन्त्रीलेपनि ईपीजी सम्झिनुपर्छ । त्यसमाथि कुराकानी पनि हुन्छ । अचानक भेट भएका बेलामा पनि ईपीजीको कुरा भएका छन् । औपचारिक रुपमा ईपीजी बुझ्दैनौं भनेर भारतले भनेको छैन । तर, त्यसमा गरिएको ‘डिले’ले भारतले बुझ्न नचाहेको हो कि भन्ने शंका उत्पन्न हुन्छ । त्यो रिपोर्ट बुझ्न किन नचाहेको हो ? भनेर मैले पनि बुझ्न सकिरहेको छैन । नबुझ्नुका पछाडि केही अनुमान छन् । तर, त्यो अनुमानलाई मात्रै मैले व्यक्त गरिहाल्न राम्रो हुन्न ।

ढिलाईसँगै नेपाल भित्रै पनि ईपीजीको सान्दर्भिकतालाई लिएर प्रश्नहरु उठ्न थालेका छन् नि ?

ईपीजीको रिपोर्टमा यो–यो छ भन्ने कुरा अनौपचारिक रुपमा बाहिर आइसकेको छ । त्यसको अर्थ मुद्दाहरु खुला भइसके । रिपोर्ट बुझेपनि नबुझेपनि विषय त आइसक्यो । नेपालका ईपीजी सदस्यहरुले के सुझाव दिएका छन् । त्यो थाह भएरै पनि यहाँ कतिपय टिकाटिप्पणी आएका होलान् । तसर्थ ईपीजीको सान्दर्भिकता, महत्त्व यसैपनि प्रमाणित भइसक्यो ।

नेपाल र भारतबीच राजनीतिक स्तरको सम्बन्ध क्रमशः घट्दै गएको देखिन्छ नि ?

कसरी घट्दै गएको देख्नुहुन्छ ? म त त्यस्तो देख्दिन । भारतमा मोदीजी आइसकेपछि कति वर्षको अन्तरालमा यताबाट प्रधानमन्त्रीको भ्रमण भयो । टेलिफोनमा र भर्चुअल रुपमा कुराकानी भएको छ । मोदीजीले चारपटक नेपालको भ्रमण गर्नुभएको छ । हाम्रा प्रधानमन्त्रीको भ्रमण भएको छ । राजनीतिक तहमा पनि कुराकानी भएकै छ । तर, हामीले जुन रफ्तार खोजेका थियौं, त्यो गति अली बीचमा ब्रेक भएको हो । गतिरोध आएको हो । यसैबीचमा पनि प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । हामीले जस्तो चाहेका थियौं, त्यो गतिमा नभएको हुनसक्छ । तर, हुँदै भएन भन्ने होइन ।

पहिला दुई देशका नेताहरुबीच व्यक्तिगत तहमै पनि कुराकानी हुन्थ्यो । त्यो भएन कि ?

पहिला कहिले हुन्थ्यो, मलाई बताउनुस् ? एउटा धारणा बनाएर बसेर त भएन नि । १७ वर्षसम्म भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमा भएको थिएन । अनि पहिला संवाद हुन्थ्यो भनेर पत्त्याएर बस्नुपर्ने ? चिजलाई समग्रतामा हेरिदिनुपर्‍यो । अहिले हामीले आफ्ना कुरा स्वाधिन, स्वतन्त्र र मैत्रिपूर्ण देश सरह प्रष्टसँग राख्दै गएका हौं । पहिला जस्तो दुई तिरका एउटै परिवारबीच एउटा ठूलो दाइ र अर्को सानो भाइ भन्ने अहिले छैन । हामी घनिष्ट मित्र हौं । सार्वभौम देश हौं । सार्वभौम समानता छ । हामीहरुका बीचमा अत्यन्तै गाढा सम्बन्ध छ । सांस्कृतिक, जनस्तरीय, आर्थिक, सभ्यताका मूल्यहरु र राजनीतिक मूल्यहरुबीच सम्बन्ध छन् । तर, त्यसबीचमा पनि हाम्रा राष्ट्रिय सोचहरु छन् । त्यसै आधारमा सम्बन्धलाई अगाडि बढाउने हो ।

दिल्लीले यहाँ रहेको दूतावासलाई छलेर सिधै काठमाडौंसँग सम्पर्क राखेको देखिन्छ । त्यसले दूतावासलाई काम गर्न कतिको कठिनाई उत्पन्न हुन्छ ?

हेर्नुस, भारतसँग हाम्रो सीमा खुला छ । आवतजावत खुला छ । जनस्तरमा सम्बन्ध छ । दुई देशबीच व्यापक बृहत् क्षेत्रमा सम्बन्ध छ । त्यसलाई हेरेर हामीले एप्रोच बनाउनुपर्छ । अहिलेको समय हेर्नुस् । हामी छिमेकी होउँला । तर, भारत र अमेरिका त छिमेकी होइनन् । तर, उनीहरुबीच पनि विभिन्न माध्यमबाट कुरा हुन्छन् । हिजोको अवस्थामा सम्पर्कका लागि राजदूत बाहेक कोही हुँदैनथ्यो । अहिले जनता–जनता, राजीतिक दल, व्यापार सबैतिर सम्बन्ध हुन्छन् । त्यो भएर कुनै नोक्सान हुँदैन । तर, हाम्रो भनाई यति मात्रै हो– भेटघाट गर्दा दुवैपक्षले ‘डिप्लोमेटिक नर्म्स’को पालन गरोस् । सम्बन्ध त, अन्य क्षेत्रबाट हुनसक्छ । हाम्रा दलका नेताले यहाँका नेतासँग भेटघाट गर्छन् । सबै तहमा सम्पर्क र भेटघाट हुनसक्छ । त्यहाँ डिप्लोमिटक नर्म्समा के–के गर्नुपर्छ त्यो पालना होस् भन्ने मात्रै हो । यहाँ भूतपूर्व प्रधानमन्त्री आउँदापनि दूतावासलाई जानकारी गराइदिनुपर्छ । त्यस्तै, नेपालमा पनि यहाँका आधिकारिक व्यक्तिहरुले गरेको भेटघाटको ‘इन्स्टिच्यूसल मेमोरी’ भइदिए राम्रो हुन्छ ।

दार्चुलामा एसएसबीको जवानले तुईन काटेर एकजना नेपालीको ज्यान गएको छ । यसबारे भारतीय पक्षसँग तपाईंले केही कुरा राख्नुभएको छ ?

हेर्नुस, दार्चुलाको घटना बारे पहिला हाम्रो सरकारकै आधिकारिक धारणा आउनुपर्‍यो । अब समाचारमा आएको आधारमा मात्रै यहाँको राजदूत गएर विरोध जनाओस् भन्ने अलिकत बढी माग भएन र ? यसमा बौद्धिक क्षेत्रले विचार पुर्‍याइदिनुपर्छ । ट्वीटरमा लेखेको जवाफ मैले दिईन भन्दैमा चुप लागेर बस्यो भन्न मिलेन नि । ठूला–ठूला कुरा, राष्ट्रिय हितका विषयमा कुरा राखेको छ कि छैन ? त्यो राखेको छैन भने गलत हो । तर, अखबार वा समाजिक सञ्जालमा घटना बाहिर आएकै भरमा जान्ने भएर राजदूतले बोल्न मिलिहाल्छ ? अब दार्चुला घटनाका विषयमा सरकारले छानबिन नै गरिरहेको छ । रिपोर्ट आइसकेको छैन । घटना के भएको हो, त्यसबारे बुझ्ने प्रयास भयो कि भएन । त्यो भन्न सकिन्छ । तर, फाइनल बुझाइ त आउन पर्‍यो नि ।

नेपालमा सरकार फेरिएसँगै भारतको राजदूत फेरिने हल्ला पनि चल्न थालेको छ । त्यस्तो कुनै संकेत पाउनुभएको छ ?

हेर्नुस, यो सरकारको आन्तरिक कुरा हो । राजदूत रहने फेरिने भइरहन्छन् । दुई देशबीचको सम्बन्धमा दूतावासले भूमिका निर्वाह गर्छ । राजदूत वा दूतावासका कर्मचारी फेरिनु वा आफ्नो समयावदी पूरा गरेर जानु त्यो एउटा आन्तरिक प्रक्रिया हो । त्यसलाई ठूलो घटनाका रुपमा लिनुहुन्न । राजदूत राजनीतिक नियुक्ति हो । त्यसलाई त्यही रुपमा हेर्नुपर्छ । म सदाका लागि आएको होइन । यसलाई त्यति असहज, अप्ठ्यारो रुपमा लिनु हुन्न । प्रधानमन्त्रीले फेर्न चाहेको बेला वा राजदूतले अब म बस्दिन राजीनामा गर्छु भन्ने अवस्थामा राजदूत स्वभाविक परिवर्तन हुन्छन् । यी सामान्य कुरा हुन् । राजदूत हुनासाथ त्यो परिस्थितिलाई मानेरै आएको हुन्छ । त्यस्तो कुनै संकेत आएको अवस्थामा तपाईंले थाह पाइहाल्नुहुन्छ । अनुमान र हल्लाको पछाडि दौडिन आवश्यक छैन । जबसम्म राजदूत छु, त्यतिबेलासम्म राजदूत हो भनेरै जानुपर्छ ।

प्रकाशित : भाद्र ६, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।

त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए । उनले भने, ‘बैठकमा मुख्यतया केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेण्डामा छलफल भयो । त्यो छलफल अनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ, इन्चार्जहरु तोक्ने काम भएको छ । त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ । त्यसो गर्दा कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उहााहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।'

जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको प्रवक्ता श्रेष्ठले बताए । सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निश्चित गर्ने काम भएको पनि उनले बताए । उनले भने, 'प्रदेश र जिल्लाका जिम्मेवारीहरु तय गरिएका छन् । यसका साथसाथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ । निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ । र हामीले निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाइदिने छौं र त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुनेछन् ।'

अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिँगै पार्टी कमिटीलाई निर्देशित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रुपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्दै अरु सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु साग पनि एकता र ध्रुविकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने पनि निर्णय गरेको छ ।’

मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रकाशित : भाद्र ६, २०७८ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×