विभाजनको दोष पूरै माधव नेपाललाई जान्छ : खगराज अधिकारी- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभाजनको दोष पूरै माधव नेपाललाई जान्छ : खगराज अधिकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बुधबार राजनीति दलसम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक दलहरुमा तरंग पैदा गर्‍यो । अन्ततः एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्ष विभाजित भयो । दुवै पक्षले विभाजित हुनुमा एकअर्कालाई आरोप लगाए । यसै सन्दर्भमा एमालेेका नेता खगराज अधिकारीसँग गरिएको कुराकानी :


एमालेको विभाजन संस्थापन पक्षका लागि कस्तो परिघटना हो ?

एमालेबाट केही साथी चोइटिनुभएको हो, विभाजन भएको होइन । गम्भीर अक्षम्य काम माधव नेपालले गर्नुभयो । उहाँ भोलि पश्चातापको आगोमा सल्कनेबाहेक उपलब्धि पाउनुहुन्न यसबाट । कम्युनिस्ट आन्दोलनमा यस्ता धेरै कुरा पार गर्दै आएकाले यसलाई सजिलै पार गर्छौं । नयाँ पार्टीको केन्द्रीय सदस्यमा राखिएका कतिपय साथीहरूले नसोधी नाम राखियो भन्नुभएको छ, कतिपय छोड्यौं भन्नुभएको छ । त्यो धेरै टिक्नेवाला छैन भन्ने पहिलो दिनबाटै थाहा भयो ।

एकता बचाउने प्रमुख दायित्व तपाईंहरूको थियो, त्यो सक्नुभएन । दोष तपाईंहरूको पनि देखियो हैन ?

त्यसो त नेकपाको एकता जोगाउन पनि माधव नेपालकै कारणले नसकिएको हो । प्रचण्डले पनि ठूलो साजिस गर्नुभयो । अहिले एमाले एकताका लागि दसबुँदे सहमति भनियो । त्यसमा पहिला सहमत हुनुभएको माधव नेपालले भोलिपल्ट सहमति छैन भन्नुभयो । त्यसपछि जेठ २ मा जाने भन्नुभयो, गइयो । जे भन्नुहुन्छ, त्यो पूरा गर्दै गयौं । हात्ती किन्देऊ भन्ने, किनिदिएपछि त्यसलाई झोलाभित्र राख्देऊ भनेर त सम्भव भएन नि । त्यसैले विभाजन गरेको दोष पूरै माधव नेपाललाई जान्छ ।

त्यसो भए विभाजनको टर्निङ प्वाइन्ट केलाई मान्नुहुन्छ ?

उहाँले कहीं न कहीं प्रतिक्रियावादीहरूसँग अनुचित सम्बन्ध राख्नुभयो । त्यो सम्बन्धको कारणले विभाजनमा जानुको विकल्प नै थिएन । यसको भोलि खोज, अनुसन्धान हुन्छ ।

माधव समूह बाहिरिएपछि एमालेको सांगठनिक शक्तिमा क्षय होला, यसको भर्पाइ कसरी गर्नुहुन्छ ?

हामी असल साथीहरूलाई एकतामा आउन आह्वान गर्छौं । उहाँहरूको क्षमता, योग्यता र मर्यादाअनुसारको सम्मान गर्दै कामको जिम्मा दिन्छौं । यसको भर्पाइ हामी छिट्टै गर्छौं ।

अहिले माधवलाई साथ नदिएका नेताहरूमाथि कस्तो व्यवहार हुन्छ ?

पार्टीभित्रै रहेर प्रश्न उठाउने उहाँहरूको हक हो । त्यसमा कुनै समस्या हुँदैन । उहाँहरूले योग्यताअनुसारको जिम्मेवारी पाउनुहुन्छ । हाम्रो पार्टीको नेतृत्व गर्ने सम्पूर्ण हक उहाँहरूलाई छ ।

नेपाल समूहबाट कार्यदलमा रहनुभएका नेताहरूले दसबुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्नुभएको छ । त्यो कार्यान्वयन हुने सम्भावना छ त ?

पार्टीले निर्णय नै गरिसकेको छ । त्यसमा शंका गर्नुपर्दैन । पार्टी जेठ २ बाट सञ्चालन गर्न हामी तयार छौं ।

यसको मतलब माधव नेपाल पार्टी छाडेर गइदिए हुन्थ्यो भन्ने रहेछ, हैन ?

होइन, माधव नेपाल पार्टीमा रहुन् भन्ने नै थियो । उहाँले त्यो नचाहेर पो हो त । दुई अध्यक्ष राखेर भए पनि उहाँलाई पार्टीमा राख्ने धेरै प्रयत्न भयो तर उहाँले कुनै हालतमा नरहने शपथ नै खानुभयो ।

प्रकाशित : भाद्र ३, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

अविश्वास प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेकी हुँ : अष्टलक्ष्मी शाक्य

सुवास विडारी

काठमाडौँ — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएकी हुन् । 

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थियो ।

हाल वाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ । सभामुखसहित ५६ सांसद रहेकामा पार्टी विभाजनअघिसम्म ओली समूहमा ३४ सांसद र माधव नेपाल समूहमा २२ जना सांसद थिए । तत्कालीन समयमा नेकपाभित्र विवाद हुँदा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै दाहाल–नेपाल समूहले शाक्यलाई नै मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । ‘पार्टी विभाजन हुनु हुँदैन र एमाले एकढिक्का छ भनेर सन्देश दिन मुख्यमन्त्रीको पद सम्हालेको हुँ,’ शाक्यले भनिन्, ‘पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गरेरै यो विषय टुंग्याइएको हो ।’ आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेको उनले बताइन् । आफूलाई माओवादी र कांग्रेसको पनि समर्थन रहने उनको दाबी छ ।

शाक्य २०१० सालमा काठमाडौं–२३ स्थित झोंछेमा जन्मिएकी हुन् । अष्टमीका दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको थियो । एसएलसी दिएपछिको खाली समयमा अध्ययनका लागि भनेर उनी चिनियाँ पुस्तकालय जान्थिन् । त्यही बेलादेखि राजनीतिप्रति उनको चासो बढेको हो । २०२६ सालबाट उनले राजनीति सुरु गरेकी हुन् । चिनियाँ साहित्य अध्ययन गर्दा कम्युनिस्ट पार्टीले सबैलाई बराबरी गर्छ भन्ने विषयले राजनीतिप्रति आफूलाई आकर्षित गरेको उनको भनाइ छ । चिनियाँ क्रान्ति र कम्युनिस्ट सिद्धान्तबारे बुझ्न थालेकी उनलाई वामपन्थी विचारका गुरु डा. महेशमान श्रेष्ठले माओत्सेतुङका विचार बुझाएका थिए ।

एसएलसीपछि क्याम्पस भर्ना भइन् । उनी र सुलोचना मानन्धरसहितको टोलीले सांस्कृतिक कार्यक्रम आयोजना गर्थ्यो । माओत्सेतुङबाट प्रभावित भएर शाक्यसहितका साथी चिनियाँ लालसेनाको जस्तै लुगा लगाएर गाउँ जाने गर्थे । २०३६ पुस ४ गते पार्टीमा भूमिगत भएर काम गर्ने उद्देश्यले तत्कालीन नेकपा मालेमा उनी आबद्ध भइन् । राजनीतिमा सक्रिय भएका कारण घरबाट बाहिर निस्कन प्रतिबन्ध थियो ।

विवाहको कुरा छिनेपछि भने उनी भूमिगत भइन् । भोज जाने भन्दै घरबाट निस्केकी उनले २ पेजको पत्र परिवारका नाममा लेखेकी थिइन् । उनलाई पार्टीले सिन्धुपाल्चोकको पिस्कर गाउँमा जिम्मेवारी दिएको थियो । ‘रातभर संगठन गरिन्थ्यो । अरू बेला घाम मात्र छिर्ने ओडारमा बसेर दिन काट्थें,’ उनले भनिन्, ‘गरिबी, अशिक्षा र समाजबारे पिस्करमा धेरै बुझ्ने मौका पाएँ ।’ भूमिगत भएको करिब डेढ वर्षमै उनले अमृतकुमार बोहरासँग जनवादी विवाह गरिन् । पछि भूमिगत अवस्थामै २०४५ सालमा उनी इलाममा पक्राउ परिन् । करिब एक दशक भूमिगत बनेकी उनले २०३५ सालमा ३५ दिन र २०४६ सालमा १२ दिन जेल जीवन भोगिन् ।

२०४६ सालको परिवर्तनपश्चात् उनको खुला राजनीतिक जीवन सुरु भयो । सानै उमेरमा विद्रोह गरेको परिवारसँग २०४६ सालको बहुदलपश्चात् मात्रै मिलन भयो । उनले २०६१ सालमा महिला बालबालिका तथा समाज कल्याण र २०६५ मा उद्योगमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन् । २०५६ सालमा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा समानुपातिक सदस्य भइन् ।

अखिल नेपाल महिला संघको अध्यक्षसमेत भइसकेकी शाक्य पार्टीमा निरन्तर सक्रिय महिला नेत्री हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ ‘क’ बाट उनी निर्वाचित भएकी हुन् । नयाँ संविधानअनुसार भएको पहिलो चुनावपछि नै उनी मुख्यमन्त्री बन्ने सम्भावना भए पनि एमालेभित्रको गुट संघर्षका कारण त्यो अवसरबाट वञ्चित भइन् । प्रदेशको इन्चार्जसमेत रहेकी शाक्य प्रदेशमा बहुमत प्राप्त एमालेको संसदीय दलको चुनाव जित्दै मुख्यमन्त्री बन्ने अनुमान धेरैले गरेका थिए । तर, केन्द्रीय सदस्यसमेत नरहेका हेटौंडा नगरपालिकाका पूर्वमेयर डोरमणि पौडेलसँग उनी पराजित भइन् ।

नेकपा माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेकपाभित्र विवाद चर्किनुका विभिन्न कारणमध्ये शाक्यको पराजय पनि एक थियो । माओवादी केन्द्रसँग छुट्टिएपछि पनि यो विषय एमालेभित्र रहिरह्यो । नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट एमाले उपाध्यक्ष जितेकी शाक्य नेपाल समूहबाट छुट्टिएपछि मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेकी हुन् । बुधबार राति उनले हेटौंडास्थित प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण गरिन् । प्रदेश प्रमुख विष्णु प्रसाईंले उनलाई बहुमतका आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाक्यले बुधबारै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सामाजिक विकासमन्त्रीमा कृष्ण खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका हुन् । पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको छ । उनी यसअघि मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । उनीहरूलाई मुख्यमन्त्री शाक्यको उपस्थितिमा प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

प्रकाशित : भाद्र ३, २०७८ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×