कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तत्काल ठाकुरजीहरूसँगै बस्ने सम्भावना छैन : रामसहायप्रसाद यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष आफ्ना जनप्रतिनिधि जोगाउने वा नयाँ दल दर्ता गर्ने अन्योलमा परेको छ ।

तत्काल ठाकुरजीहरूसँगै बस्ने सम्भावना छैन : रामसहायप्रसाद यादव

यसै सन्दर्भमा यादव पक्षका नेता रामसहायप्रसाद यादवसँग गरिएको कुराकानी :

पार्टी एकताको सम्भावना अझै छ कि समाप्त भयो ?

तत्काल पार्टी एकता हुने सम्भावना म देख्दिनँ । एउटै पार्टीमा बस्ने भए त उहाँहरूले यतैतिर (बहुमत पक्ष) सनाखत गर्नुहुन्थ्यो । नबस्ने भएरै गर्नुभएन । नैतिक रूपमा पनि उहाँहरूलाई जसपामा बस्न कठिनाइ छ । उहाँहरूले छुट्टै पार्टी बनाउने भनेरै पार्टीको बहुमत पक्षमा नआउनुभएको प्रस्ट छ ।

उपेन्द्र यादवले त गल्ती–कमजोरीमा आत्मालोचना गरे स्थान दिन सकिन्छ भन्नुभएको छ नि ?

तत्काल त्यस्तो म देख्दिनँ । हिजोको परिस्थितिमा थियो तर आयोगको निर्णयपछि यो अध्याय समाप्त भएको छ । राजनीति हो, भोलिका दिनमा के हुन्छ भन्न सकिन्न । छुट्टै कुरा हुन सक्छ तर आजभोलि नै त्यस्तो सम्भावना मैले देखिरहेको छैन । तत्काल पार्टीमा राख्ने कुरा पनि हुन्न ।

ठाकुर पक्षमा रहेका सांसदको अवस्था के हुन्छ त ?

संघ र प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि सबै जसपाअन्तर्गत छन् । उनीहरू जसपाकै सांसद र प्रतिनिधि हुन् । जसपा जता हुन्छ, उनीहरू त्यतै हुनुपर्छ । ठाकुर पक्षले नयाँ दल बनाए पनि उनीहरू जसपाकै हुन्छन् । नयाँ दलतिर लागेमा दल त्यागसम्बन्धी प्रावधान आकर्षित हुन्छ । पदमुक्त हुन्छन् ।

अब तपाईंहरू सरकारमा जाने बाटो खुलेको हो ?

हो, हामी छिट्टै सरकारमा जान्छौं । जसपाको आधिकारिकता विवादको टुंगो नलागी नजाने भनेर ढिला भएको हो ।

मन्त्रालयको कुरा पनि टुंगिसकेको हो ?

छैन । मंगलबारदेखि छलफल हुन्छ । एक/दुई दिनमा टुंग्याएर सरकारमा जाने कुरा हुन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १२, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?