कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकी सरकारको पहिलो उद्देश्य सबैलाई खोप दिलाउने हुनेछ : मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता)

प्रदेश सभा जोगाउने राजीवको भूमिकाको इतिहासले मूल्याङ्कन गर्नेछ

काठमाडौँ — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग नयाँ सरकार गठन र सरकारका प्राथामिकताबारे नारायण शर्माले गरेको कुराकानी :

गण्डकी सरकारको पहिलो उद्देश्य सबैलाई खोप दिलाउने हुनेछ : मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता)

तपाईंको सरकारको मुख्य प्राथामिकता के हुन्छ ?

कोरोना महामारीबाट नागरिकलाई जोगाउनु नै मेरो पहिलो प्राथमिकता हुनेछ । मेरो सारा ध्यान प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध गराउनेमा हुनेछ । प्रदेश सरकारको सबै शक्ति लगाउने र संघीय सरकारसँग समन्वय गरेर सबै नागरिकलाई खोप दिने व्यवस्था मिलाउन प्रयास गर्नेछु । साथै संक्रमितको सम्बन्धित जिल्लामै उपचार गराउन फास्ट ट्रयाकबाट काम हुनेछ ।

दोस्रो प्रथामिकता भनेको कोरोना महामारीले बिग्रेको अर्थतन्त्र जोगाउनु हुनेछ । व्यापार, व्यवसाय र कृषि क्षेत्र चौपट छन् । त्यसलाई सही ट्रयाकमा ल्याउने काममा ध्यान जानेछ ।

प्रदेशमा कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने जिम्मेवारी दिएका हुन् । यति चाँडो सरकारमा जान हतारिनु जनमतविरुद्ध भएन ?

जनताले हामीलाई ५ वर्ष प्रमुख प्रतिपक्षकै भूमिका दिएका हुन्, सामान्य परिस्थिति भएको भए । जब मुलुकमा असाधारण घटना र दुर्घटना आउँछ स्वभावैले प्रमुख प्रतिपक्षको काँधमा जिम्मेवारी आउँछ । अहिले भएको त्यही हो । दुई तिहाइको सरकारले सरासर सरकार सञ्चालन गरिदिएको भए यो स्थिति आउने थिएन । तर, हिजोको सरकार आफ्नै कारणले अल्पमतमा पर्‍यो । त्यसैको विकल्प दिनुपर्ने भएपछि विपक्षी गठबन्धन अघि सरेको हो । बहुमतले सरकार सञ्चालन गर्न नसकेपछि आएको जिम्मेवारीबाट भाग्ने कुरा आएन । त्यसैले हामी अघि सर्‍यौं ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पहिला नेकपाको सरकारलाई सर्मथन गर्दा निकै विरोध गर्नु भयो अहिले उनैलाई मन्त्री बनाउँदा अप्ठ्यारो भएन ?

जनताबाट अनुमोदन भएर आएका सबै 'क्वालिफाइड' हुन् । संसद्‍मा जनताको मत लिएर आउने सबै सांसद् उत्तिकै योग्य हुन् । त्यसैले राजीव गरुङलाई हामीले प्रश्न उठाउन मिल्दैन । निर्वाचित भइसकेपछि फेरि योग्यता पुग्दैन भन्न मिल्दैन । प्रदेश सभा मध्यावधिको दुर्घटनामा नपरोस्, पूरै अवधि प्रदेशसभाले काम गरोस् भन्ने उहाँले जुन परिपक्व राजनीतिक निर्णय गर्नु भयो यो अर्थपूर्ण र महत्वपूर्ण छ । राजीवकै कारण प्रदेश सभा विघटन हुनबाट जोगियो । यसमा उहाँको भूमिकाको इतिहासले मूल्याङ्कन गर्ने नै छ । राजीवजीलाई धन्यवाद । यो सरकार निर्माणमा उहाँको भूमिका महत्वपूर्ण छ । मन्त्री त उहाँ पृथ्वीसुव्वाकै सरकारमा दुईपटक भइसक्नु भयो । मैले पहिलोपटक बनाएको हो र ?

अन्य प्रदेशमा एमालेको माधव नेपाल पक्षले कांग्रेस-माओवादी गठबन्धनलाई साथ दिएका छन् । गण्डकीमा तपाईंले समर्थन किन पाउनु भएन ?

यो हाम्रो समस्या होइन माधव नेपालहरूको समस्या हो । उहाँहरूले राष्ट्रिय राजनीति बुझ्नु भएकै छ । यहाँको सन्दर्भमा आफ्ना पक्षका सांसदलाई किन बिश्वासमा लिन सक्नुभएन त्यो उहाँले नै जान्ने कुरा हो । आफ्ना कार्यकर्ता 'कन्ट्रोल' गर्ने जिम्मेवारी उहाँहरूकै हो । यो प्रदेशमा त एकजना हुनुहुन्छ ( बाग्लुङका इन्द्र सापकोटा) । आफ्ना कार्यकर्तामा किन नियन्त्रण हुन सकेन उहाँहरूले जान्नु होला ।

संघीय सरकारले प्रदेश बलियो बनाउने काम गर्न सकेन भन्ने छ । संघीयता बलियो बनाउने कार्यसूची के छ तपाईंसँग ? कि गठबन्धनमा सबैका आआफ्ना रुचि छन् ?

ओली नेतृत्वको सरकारले संघीयता बलियो बनाउने 'एटिच्यूड'ले काम गरेको देखिएन । त्यो खराब एटिच्यूडको शिकार ७ वटै प्रदेश भएका छन् । स्वास्थ्य, शिक्षा, वन, केन्द्र सरकार मातहतमा राखेर संघीयता नस्वीकारेको प्रष्ट छ । यी सबै चिज केन्द्रमा राख्नुको मतलब के हो भने संघीय सरकार संघीयता बलियो बनाउन चाहँदैन । संघीयताको मर्मअनुसार काम गर्न केन्द्र सरकारसँग हामी लड्नेछौं । प्रदेश सरकारलाई दिएको अधिकार चाँडोभन्दा चाँडो स्थानीय तहसम्म पुगोस् भन्नेमा मेरो ध्यान जान्छ ।

रह्यो गठबन्धन सरकारको कुरा । राजनीतिमा अवसर र चुनौती दुवै हुन्छ । त्यो गठबन्धनमा रहेका सबैले बुझेकै छौं ।

प्रकाशित : जेष्ठ २९, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?