कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संन्यास लिने/नलिने सोचेको छैन : कामीरिता [अन्तर्वार्ता]

तत्कालै पुनः आरोहणको मुडमा नभएका उनले अनुमति भने लिइसकेका छन् । पथप्रदर्शक भएर जाँदा उनले फेरि अघि लाग्नुपर्छ ।
सुरज कुँवर

काठमाडौँ — सगरमाथा आरोहणको २२ औं पटकदेखि विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक चुमेर विश्व रेकर्ड कायम गर्दै आएका कामीरिता शेर्पा अर्को रेकर्ड बनाउने तयारीमा छन् । उनी यतिबेला बेसक्याम्पमा बसेर थकाइ मारिरहेका छन् ।

संन्यास लिने/नलिने सोचेको छैन : कामीरिता [अन्तर्वार्ता]

सोलुखुम्बु, थामेका पर्वतीय पथ प्रदर्शक कामीरिताले शुक्रबार २५ औं पटक चुचुरोमा पुगेर आफैंले २ वर्षअघि बनाएको रेकर्ड ब्रेक गरे । उनीअघि सोलुखुम्बुको थामेकै आप्पा शेर्पा २१ पटकसम्म सगरमाथा आरोहण गरेर संसारमै सर्वाधिक आरोहण गर्ने रेकर्ड होल्डर थिए । ०६८ वैशाखमा २१ औं पटक सगरमाथा आरोहण गरेर रेकर्ड बनाएका आप्पाले त्यसपछिका वर्ष श्रीमतीसँग गरेको वाचाअनुसार आरोहणबाट संन्यास लिएका थिए ।

आप्पाको रेकर्डलाई ०७५ जेठ २ को वसन्तकालीन आरोहण सिजनमा ब्रेक गर्दै कामीरिताले २२ औं पटक सगरमाथामा पुगेर विश्वमै सर्वाधिक आरोहण गर्ने आरोहीको रेकर्ड बनाए । २४ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा सगरमाथा चुचुरोमा पाइला राखेका कामीरिता झन्डै तीन दशकदेखि नेपाल, भारत, तिब्बत, रसियाका पर्वतीय भेगमा गाइडका रूपमा काम गरिरहेका छन् ।

गत शुक्रबार डोरीको सहायताले आरोहीहरुका लागि बाटो बनेपछि अबको दुई साता सर्वोच्च शिखर आरोहणको सिजन हो । यसपटक सगरमाथा आरोहणका लागि मात्रै ४ सय ८ जनाले अनुमति लिएका छन् । काठमाडौंमा दुई सन्तान, पत्नीसहित डेरामा बस्ने ५१ वर्षीय माउन्टेन गाइड तथा आरोही कामीरिता यस वर्षको वसन्तकालीन सिजनमा पुनः २६ औं पटकका लागि सगरमाथा चुचुरोमा पुग्ने योजनामा छन् । यसअघि उनले चार वटा सिजनमा दुई–दुईपटक र एकै सिजनमा दुईपटक दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरिसकेका छन् । यो सिजनका लागि उनको आरोहण यात्रा पक्कापक्की भने भइसकेको छैन । काठमाडौंको सेभेन समिट टे«क्स प्रालिका लागि काम गर्ने कामीरिताले भारतीय फौजीहरु सम्मिलित एउटा टोलीको टिम लिडर भएर जान पर्यटन विभागबाट अनुमति लिएका छन् । यसपटक उनी यो सिजनका लागि बाटो बनाउँदै चुचुरोमा पुगेका थिए । शनिबार दिउँसो मात्रै आधार शिविरमा आइपुगेका कामीरिताले आइतबार बिहान कान्तिपुरसँग फोनमा छोटो कुराकानी गरेका छन् ।

आफ्नै रेकर्ड ब्रेक गर्नुभयो बधाई छ । तपाईंको स्वास्थ्य कस्तो छ ?

– धन्यवाद । म अहिले सगरमाथा आधार शिविरमा साथीको क्याम्पमा छु । मेरो स्वास्थ्य ठीक छ ।

२५ औं पटकको सगरमाथा यात्राको रेकर्डको खुसी आधार शिविरमा झरेपछि पहिला कसलाई सुनाउनुभयो ?

– मैलै पहिले थामेमा रहनुभएका बुवाआमासँग कुरा गरेँ ।

यो सिजनमा बाटो बनाउदै चुचुरोसम्म पुग्दाको यात्रा कस्तो रह्यो ?

–राम्रै भयो । हामीले चाहिँ यसपटक एकै दिनमा ८ हजार उचाइमा रहेको चौथो शिविरबाट चुचुरोसम्मै डोरीको सहायताले बाटो बनायौं । यसअघिका वर्षमा शेर्पाहरुले चौथो क्याम्पदेखी चुचुरोसम्म बाटो बनाउन २ दिन लगाउँथे ।

आरोहीहरुका लागि बाटो बनाउँदै आधार शिविरबाट चुचुरोसम्म कति दिन लाग्यो ?

–जम्मा तीन दिनमा पुग्यौं । बुधबार ५२ सय मिटर उचाइमा रहेको बेस क्याम्पबाट १२ जनाको टोली हिँडेका थियौं । शुक्रबार साँझ ६ बजे चुचुरोमा पुग्यौं ।

तपाईंको रेकर्डलाई कसले पछ्याउँदै छन् ?

मेरै भाइ पर्ने, मेरै कान्छा बाउको छोरा छ । उसले २२ पटक सगरमाथा चढे भन्दै आएको छ । तर डाटामा उसको भनाइ मिलिसकेको छैन ।

अबको योजना के छ ?

–म अब नजाने मुडमा छु तर मेरो टिमका मेम्बरहरुले जानै पर्छ भन्दै छन् । गइहाले भने अबको ४÷५ दिनपछि माथितिर जान्छु होला ।

के तपाईं अब सगरमाथा आरोहण यात्राबाट संन्यास लिँदै हो ?

–अहिल्यै संन्यास लिने/नलिने सोचेको छैन ।

प्रकाशित : वैशाख २६, २०७८ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?