ओलीजीलाई दण्डित गर्छौं : घनश्याम भुसाल- कुराकानी - कान्तिपुर समाचार

ओलीजीलाई दण्डित गर्छौं : घनश्याम भुसाल

'इतिहासमा हेर्दा धेरैजसो माधवजी पार्टी नेतृत्वमा रहनुभयो तर त्यो १५ वर्षमा ओलीजीले गुट बनाउनुभयो । '
'यो पार्टी हजारौं, लाखौं मानिसको योगदानले बनेको हो । कसैले कसैलाई तँ जा तँ आइज भन्ने कुरा राम्रो होइन ।'
बिनु सुवेदी

काठमाडौँ — एमालेको नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा चयन भएपछि उनको पार्टी सञ्चालन शैलीमाथि सबैभन्दा बढ्ता प्रश्न गर्ने नेता हुन्– घनश्याम भुसाल । ओली सरकारमा भुसाल १३ महिना मन्त्री बने तर मन्त्रिपरिषद् बैठकमै उनीहरुबीच केही मुद्दामा वादविवाद चल्थ्यो ।

पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि उनी मन्त्री छोडेर सडकको मोर्चामा आइपुगे । ओलीको कदम र एमालेको आगामी बाटोबारे घनश्याम भुसालसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानी :

एमालेको आधिकारिक लेटरप्याड र यहाँहरूले नै चुन्नुभएका अध्यक्षको हस्ताक्षरमा यहाँ निलम्बनमा परेको सार्वजनिक भएको छ । तपाईं अबको ६ महिना एमाले पार्टीमा हुनुहुन्न भनेर बुझ्ने हो ?

उहाँको नजरमा हामी अवैध छौं, हाम्रो नजरमा उहाँ अवैध हुनुहुन्छ । उहाँले आफ्नो गुटको बैठक बोलाउनुभयो र त्यसलाई पार्टीको केन्द्रीय कमिटी बैठक भन्नुभयो । जुन कुरा तथ्यहरूले खण्डन गर्छन् ।

हामीले मागेको २०७५ जेठ २ को उहाँकै बहुमत भएको कमिटीको बैठक हो । त्योसमेत नदिएर उहाँ जे गर्दै हुनुहुन्छ, त्यो विधिविपरीत छ, पार्टीभित्रको व्यवस्था र न्यायविपरीत छ । यस अर्थमा दाबी गर्ने त्यो एउटा समूह र त्यसको विरोध गर्ने हामी अर्को समूह भयौं । त्यसैले एमालेमा अहिले दुई समूह छ, एउटाले विधि उल्लंघन गरेको छ, एउटाले विधि पुनःस्थापनाको माग गरेको छ ।

यी त तर्क र दाबी भए, तथ्य त यहाँहरू एमालेको सदस्य रहनुभएन भन्ने नै हो नि होइन ?

उहाँले चलाएको समूह, जसले एमालेको लिडरसिप कब्जा गरेको छ । त्यसको नजरमा हामी कारबाहीमा परेका हौं, हाम्रो सदस्यता खारेज भएको छ ।

अबको ६ महिना तपाईंलाई एमालेको उपमहासचिव या महाधिवेशन आयोजक समिति सदस्य या अरू केही भनेर चिन्ने हो ?

अनधिकृत रूपमा कब्जा गरिएको एमालेले जे गरेको छ, त्यसलाई मान्दा एउटा निष्कर्ष हुन्छ । तर जसलाई त्यो अधिकार नै छैन । महाधिवेशनबाट ओलीजी जसरी आउनुभएको हो म र अरू पदाधिकारी पनि त्यसैगरी आएका हुन् । उनीहरूलाई कारबाही गर्न उहाँलाई हाम्रो विधान र नवौं महाधिवेशनले दिँदैन । जसले मुलुककै संविधान हिँडाउनुभएको थियो, जुन बालबाल बचेर आएको छ, अहिले पार्टीको विधान हिँडाउनुभएको छ, हामी बचाउँछौं ।

यहाँहरूकै विधानले त बहुमतको निर्णय पार्टी निर्णय भन्छ नि ?

पुष्टि नगरिएको बहुमत बहुमत हुँदैन । त्यो दाबी मात्रै हो । हिजो महाधिवेशन लड्दा दुई टिम भएर लडेका हौं । केपी ओलीको पक्षका र माधव नेपाल पक्षका दुई समूह औपचारिक रूपमा अगाडि आएका हौं । त्यस हिसाबले आज मैले या उहाँले के पुष्टि गर्नुपर्छ भने नवौं महाधिवेशनले चुनेका सबै मानिसलाई खबर गरेर बैठक गर्नुपर्छ र त्यसको बहुमतले निर्णय गर्नुपर्छ । त्यसले गरेको कारबाही या निर्णय हामी मान्न तयार छौं ।

२०७५ जेठ २ र २०७७ फागुन २८ को विरोधाभासमा तपाईंरूको पार्टी छ । यो अवस्थामा तपाईंको समूहको अबको यात्रा के ?

हाम्रो राजनीतिक जीवनमा उहाँ मभन्दा केही वर्ष अगाडि लाग्नुभयो होला, उहाँभन्दा बढी लाग्ने थुप्रै कमरेडले राजनीतिक जीवन पार्टी निर्माणमा लगाएका हौं । अहिले हेर्दा उहाँले विधि विधानले गौरव आर्जन गरेको पार्टीलाई निजी प्रयोगमा र आफ्ना अतृप्त आकांक्षा पूरा गर्ने गिरोहमा बदल्नुभयो ।

एमालेको पार्टी पंक्तिलाई बताउँछौं, अब हामी जेठ २ का कमिटी ब्युँताउँछौं, ती जनसंगठन र पार्टी कमिटीहरू ब्युँताउँछौं । र, नेकपा एमालेको सम्पूर्ण पार्टी पंक्तिलाई उहाँले गरेका व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी, विसर्जनवादी गतिविधिका बारेमा व्याख्या गर्छौं । त्यो पंक्तिलाई संगठित गरेरै ओलीजीलाई हामी दण्डित गर्छौं ।

त्यो भनेको समानान्तर कमिटी विस्तार गर्ने कुरा हो ?

हामी २०७५ जेठअघिका कमिटी ब्युँताउँछौं । त्यो भनेको आधिकारिक र वैधानिक कमिटीहरू हुन् । त्यसो गर्दा उहाँले जुन बनाउनु हुन्छ, त्यो समानान्तर हुन्छ । उहाँले पछि जन्माएका कमिटी, जम्मा गरेका मानिस, भीडभाडचाहिँ पार्टी बर्बाद पार्न बनाएका गुट हुन् । ती पार्टी कमिटी होइन भन्ने हाम्रो दाबी हो ।

पार्टीलाई आफ्नो गिरोहमा बदल्ने र त्यसलाई चलाउने ओलीजीको आकांक्षा, दुराकांक्षा छ । तर तिनीहरू किन बोल्न सक्दैनन् भन्दा त्यहाँ तिनीहरूले पद, प्रतिष्ठा, इज्जत, नियुक्ति, अरू जायज/नाजायज सबै खालका लाभ लिइरहेका छन् । त्यसैले उनीहरू त्यहाँबाट बोल्न सकेका छैनन्, हामी उनीहरूलाई पनि बताउन चाहन्छौं ।

यसरी समानान्तर गतिविधि गर्नुभन्दा त पार्टी फोडेर गए हुन्छ भन्ने चुनौती अर्को पक्षले दिएको छ नि ?

यो पार्टी हजारौं, लाखौं मानिसको योगदानले बनेको हो । कसैले कसैलाई तँ जा तँ आइज भन्ने कुरा राम्रो होइन । आउनुस् बस्नुस्, छलफल गरौं, विधान ल्याऔं, त्यसका आधारमा कसले के गल्ती गरेको हो/होइन प्रस्ट पारौं भन्ने कुरा लोकतन्त्र, आदर्श र मूल्यको कुरा हो । वैधताको हिसाबले भन्ने हो, हामी जति वैधानिक हौं, त्योभन्दा बढी ओलीजी वैधानिक होइन ।

यो समस्या कसरी समाधान हुन्छ ?

बैठक बोलाएपछि त्यहीँ छलफल गरेर हुन्छ । बैठक बोलाउन नचाहनुको कारण के हो ? दुनियाँलाई उहाँले बताउनुपर्छ । हामी त्यहीँ उत्तर माग्छौं ।

तपाईंकै शब्दमा भन्दा बैठकको माग गर्ने तपाईंहरू, धमाधम कारबाही गर्ने अध्यक्ष ओली । उहाँले बैठककै नचाहेको कारण के हो ?

घटनाले के पुष्टि गर्छ भने उहाँ पार्टी चलाउने मान्छे नै होइन । उहाँ हिजो पनि गुट चलाउनुहुन्थ्यो र अहिले सम्पूर्ण पार्टीलाई आफ्नो गुट बनाउन चाहनु हुन्छ । उहाँले सत्ता भोगका लागि के गर्नु भएन र ? सबै गर्नुभयो । कुर्सीमा म बस्न नपाए भाँचिदिन्छु भन्ने जीवन दर्शन भएका मान्छेले के गर्न चाहन्छ, के गर्न चाहन्न भन्ने प्रश्नै रहेन । उहाँले पार्टीलाई आफ्नो निजी फाइदामा प्रयोग गर्नुभयो । तर पनि नपुग्नु भनेको अतिरिक्त तृष्णा हो ।

तर त्यही प्रवृत्ति र समस्या यहाँहरूको समूहमा पनि देखिन्छ नि ?

योचाहिँ म मान्छु । समस्या ओलीजीमा, माधवजीमा, ममा सबैमा हुन्छ । तर समाधान गर्ने पहिलो तरिका भनेको हाम्रा सबै कुरालाई एकै ठाउँमा राखेर छलफल गर्न तयार हुने हो । आफ्ना कमीकमजोरी विचार गर्न र आफ्ना दाबी पुष्टि गर्न कमिटीमा छलफल गर्न तयार हुनुपर्छ । तर बैठक इन्कार गर्ने, गुटको बैठक बसेर पार्टीको निर्णय भन्ने ओलीजीमा देखिएको विशिष्ट रोग हो ।

ओलीलाई तपाईंहरूले चिनेको नवौं महाधिवेशनपछि मात्रै त होइन, यति धेरै कमजोरी थिए भने नेता कसरी बनाउनुभयो ?

इतिहासमा हेर्दा धेरैजसो माधवजी पार्टी नेतृत्वमा रहनुभयो तर त्यो १५ वर्षमा ओलीजीले गुट बनाउनुभयो । ओलीजीको गुटबन्दीलाई राजनीतिक हिसाबले समाधान गर्नुभन्दा माधवजीले अलिकति केही दिएर, खुसी पारिदिएर, नाजायज रूपले केही थपिदिएर खुसी पार्न सकिन्छ कि भन्ने तरिका अपनाउनुभयो । त्यो उहाँको कमजोरी रह्यो ।

खासगरी नवौं महाधिवेशन, आठौं, सातौं, छैटौं महाधिवेशनका सबै कुरा हेर्दा ओलीजीको खुट्टा पछाडि फर्केको मैले देखेको हुँ । यो कुरा मैले पार्टीमा, उहाँसँगकै क्याबिनेटमा, केन्द्रीय कमिटीमा अथवा स्थायी समितिमा उठाएको छु ।

पहिला माधव नेपालले केपी ओलीलाई दिएर थुमथुम्याएको जस्तो, अहिले माधव नेपालले माग्दा नदिएका कारण समस्या भएको देखिन्छ होइन ?

जित्नेको इतिहास बन्छ भन्ने कोणबाट हेर्दा त यो पनि तर्क होला । संसदीय दलको निर्वाचनका बेला मैले माधवजीलाई ‘ओलीजीको बाटो फरक छ, त्यसो गर्दा हामीले उम्मेदवारी दिनुपर्छ, म दिन्छु’ भनेको थिएँ । माधवजीले ‘ओलीजीका बारेमा तपाईंको टिप्पणीसँग सहमत छु, तर आमरूपमा यो कुरा जनताले थाहा नपाउँदै कदम चाल्दा हामीलाई नै गलत ठान्छन् कि हामीलाई नै पदलोलुप भन्छन् कि’ भन्नेसम्मको कुरा गर्नुभयो । त्यसपछि माधवजीले विधिभन्दा बढी मागेको मैले देखेको छैन ।

कुनै कुरा माधवजीले माग्नुभएको छ भने त्यो विधि नै हो । समग्र पार्टीलाई माधवजीसँगको व्यक्तिगत रिसइबीका कारण सिकार बनाउनु गलत हुन्छ । पार्टीको केन्द्रीय कमिटीले ओलीजीको राजावादी झुकावले गर्दा कुनै हिसाबले सरकारमा लैजान हुन्न भन्दाभन्दै २०६२/०६३ को जनआन्दोलनपछिको संयुक्त सरकारमा माधवजीले उहाँलाई नाजायज हिसाबले उपप्रधानमन्त्री दिनुभयो ।

त्यसअघि उहाँले पार्टी फोड्छु भनेपछि ओली गुटका १४ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउनुभयो । यस्ता–यस्ता कुरा गरेर उहाँलाई सन्तुष्ट पार्न माधवजीले काम गरिरहनुभयो । अहिलेको सन्दर्भमा हेर्दा माधवजीले बढी मागेको मैले देखेको छैन ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

आलिया भट्टलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । बिहीबार राति आलियाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् ।


उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।

यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहिरीलाई पनि कोरोना पुष्टि भएको थियो । आमिर कोरोना पोजिटिभ भए पनि आफूलाई त्यस्तो कुनै जटिल समस्या नदेखिएको बताएका थिए । उनी होम क्वारेन्टाइनमै बसेका छन् । ६८ वर्षीय लहिरीलाई भने हल्का लक्षण देखिएकाले मुम्बईस्थित एक अस्पतालको आईसीयूमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×