कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवश्य साफ च्याम्पियनसिप जित्‍नेछौं : किरण चेम्जोङ

'सफलताको सबैभन्दा ठूलो सूत्र धैर्य हो'
'एसियाको राम्रो लिग खेल्न सक्ने सम्भावना भएका धेरै नेपाली खेलाडी देखेको छु'
'हाम्रा सबै क्लब सहयोग (चन्दा) बाटै चलिरहेका छन्, सबैभन्दा नराम्रो त्यही हो'
राजु घिसिङ

काठमाडौँ — दशरथ रंगशालामा थ्री नेसन्स कप जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान हुन् किरण चेम्जोङ । दुई वर्षअघि कप्तानी गर्न थालेका उनको नेतृत्वमा यो पहिलो उपाधि हो । उनले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको पनि १३ वर्ष भयो । 

अवश्य साफ च्याम्पियनसिप जित्‍नेछौं : किरण चेम्जोङ

पछिल्लो सिजन राउन्डग्लास पन्जाब क्लबबाट उनले भारतको आई लिग खेले । लिगकै उत्कृष्ट गोलकिपर बनेको दुई दिनपछि उनको नेतृत्वमा नेपालले यहाँ ट्रफी चुमेको हो । उनी पाँच वर्षयता विदेशकै लिगमा व्यस्त रहे । धनकुटा, राजरानीका ३१ वर्षीय यी गोलकिपरसँग घरेलु भूमिमा नेपालले ३७ वर्षपछि जितेको उपाधि, नेपाली फुटबलको अवस्था र सम्भावनाबारे कान्तिपुरका लागि राजु घिसिङले गरेको कुराकानी :

लगातार आठ खेलमा गोल गर्न नसक्दाको दबाब कस्तो थियो ?

फुटबलमा कहिलेकाहीं त्यस्तो हुन्छ । कति चाहँदाचाहँदै पनि, प्रयास गर्दा पनि गोल निस्कन सक्दैन । कति प्रहार पोस्टभित्र जाँदैन । हामीले नवौं खेलमा आएर भए पनि गोल गर्न सक्यौं । गोल नहुँदा टिममा अलिकति दबाब त हुन्छ नै ।

तर सबैभन्दा ठूलो त धैर्य हो । नेपालीमा भनिन्छ नि, गल्ती नगरीकन वा एकपल्ट नलडीकन त्यो बाटो कस्तो छ भनेर थाहा हुँदैन । त्यसरी नै सिक्दै जाने हो । ८ खेलपछि गरेको गोललाई सकारात्मक रूपमा लिनुपर्छ जस्तो लाग्छ । पहिला पनि प्रदर्शन राम्रै भइरहेको थियो । अवसर सिर्जना गरिरहेका थियौं तर उपयोग गर्न सकेका थिएनौं । फाइनलमा त्यो कमजोरी सुधार गर्‍यौं । गोल पनि निस्कियो र जित्यौं ।

थ्री नेसन्स कपमा सुरुका दुई खेलमा गोल नगरेपछि फाइनल जित्नैपर्छ, गोल गर्नैपर्छ भन्ने दबाब थियो ?

स्वाभाविक रूपमा विजेता बन्न गोल आवश्यक पर्छ । बिनागोल उपाधि जित्न सकिँदैन भन्ने हामीलाई थाहा थियो । दबाबभन्दा ठूलो पक्ष धैर्य हो । मेरो विचारमा सफलताको सबैभन्दा ठूलो सूत्र पनि त्यही हो । हामीले त्यस्तै धैर्यता अपनायौं । त्यसैले त हामीले फाइनलमा उच्चस्तरीय दुई गोल गर्न सक्यौं । एउटा रिबाउन्ड र अर्को वान–टु पासमा उत्कृष्ट फिनिसिङ भएको थियो । त्यसैले सबै कुरा धैर्यता नै हो ।

पछिल्लो समय उत्कृष्ट खेलिरहेका केही खेलाडीलाई टिमबाट हटाइएकामा प्रशिक्षक आलोचित भएका थिए । मिडफिल्डर वा फरवार्डलाई साथ दिइरहेका खेलाडीलाई अग्रपंक्तिमा खेलाउँदा समस्या भएन ?

खेलाडी छनोटको विषयमा मैले बोलेर केही हुन्छ जस्तो लाग्दैन । किनभने म एउटा खेलाडीमात्र हो । मैले छनोट गर्ने होइन । यो सबै प्रशिक्षक र व्यवस्थापनको जिम्माको कुरा हो । उहाँहरूले नजिकबाट नियालिरहनुभएको हुन्छ । तीन महिनासम्म प्रशिक्षणमा सँगै हुनुहुन्थ्यो । उहाँहरूले प्रदर्शनलाई आधार बनाएर, सबै कुरा सोचेर नै यो निर्णय गर्नुभएको होला ।

टिममा पूर्ण स्ट्राइकरको अभाव भएन ?

समग्र टिमको प्रदर्शनको हिसाबका रूपमा हेर्दा हामीले धेरै अवसर सिर्जना गरेका हौं । गोल हुन नसकेको मात्रै हो । यदि त्यहाँ एउटा उत्कृष्ट स्ट्राइकर भएको भए पनि त्यस्तो हुन सक्थ्यो वा उसले चाहिँ गोल गर्न सक्थ्यो भन्ने कल्पनाको कुरा हो । तर गोल नहुनु नै थियो भने जति प्रयास गर्दा पनि हुँदैन, चाहे त्यहाँ जस्तोसुकै स्ट्राइकर होस् । मैले पछाडि बसेर हेर्दा सुरुका दुई खेलमा त्यस्तै भयो । एउटा पूर्ण स्ट्राइकर भएको भए गोल हुन्थ्यो कि भन्ने त हुन्छ नै ।

क्लबबाट खेल्दा तपाईंले तीन देश (नेपाल, भारत, माल्दिभ्स) को लिग जित्नुभयो । यसै साता भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित हुनुभयो । अबको लक्ष्य के हो ?

दक्षिण एसियाको उत्कृष्ट लिग सञ्चालन हुने भारतको आई लिगमा उत्कृष्ट गोलरक्षकको अवार्ड पाउनु भनेको मेरा लागि अर्को ठूलो उपलब्धि हो । यो उपलब्धि सजिलो पनि छैन । किनभने हरेक खेल चुनौतीपूर्ण हुन्छ । यसले मलाई अतिरिक्त ऊर्जा दिएको छ । गोलकिपरलाई विदेशी कोटामा खेल्न निकै कठिन हुन्छ ।

त्यो पनि नेपालजस्तो देशको गोलरक्षकले अवसर पाउनु र उत्कृष्ट बन्नु भनेको चानचुने कुरा होइन । माल्दिभ्समा पनि उत्कृष्ट गोलकिपर भएको थिएँ । अझै धेरै गर्न बाँकी छ । मेरो सपना इन्डियन सुपर लिग (आईएसएल) खेल्ने हो । तर सजिलो छैन । आई लिग र माल्दिभ्सको लिगमा आफूलाई उत्कृष्ट प्रमाणित गरिसकें, अब योभन्दा माथिल्लो स्तरको लिग खेल्न पाए हुन्थ्यो ।

बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी भएको थ्री नेसन्स कप नेपालको पाँचौं उपाधि बन्यो । यसलाई कुन स्तरको सफलता मान्ने ?

प्रतियोगिता भनेको प्रतियोगिता नै हुन्छ । हामीले प्रतियोगितामा सहभागिता जनाएपछि त्यसको स्तरतिर हेर्नु हुँदैन, शतप्रतिशत दिनुपर्छ । हामी अहिले विजेता हो । प्रतियोगिता जित्दा जो पनि खुसी हुन्छ र यसलाई प्राथमिकता दिनुपर्छ । त्यसैले यसलाई एउटा सफलता नै मान्नुपर्छ । यसले सकारात्मक ऊर्जा दिनेछ । यसलाई निरन्तरता दिन सकेनौं भने हामी असफल हुनेछौं ।

नेपालको सबैभन्दा ठूलो सफलता एएफसी सोलिडारिटी कप नै हो, जुन पाँच वर्षअघि जितेको थियो । सोलिडारिटी कप जित्न गाह्रो भयो कि यो थ्री नेसन्स ?

इमान्दारीपूर्वक भन्नुपर्दा सोलिडारिटी कप खेल्न जाँदा मैले विजेता भएर आउँछु भन्ने सोचेको थिइनँ किनकि साफ च्याम्पियनसिपमा हामी सक्छौं भन्ने लाग्थ्यो तर सोलिडारिटी कप जित्छौंजस्तो लागेको थिएन । हेरौं, कहाँसम्म पुग्छौं भन्ने थियो । एकपछि अर्को खेल जित्दै जाँदा कन्फिडेन्स आउँदै गयो । फाइनलसम्म पुगेपछि ओहो अब हामीले जित्नुपर्छ, ट्रफीचाहिँ उचालेरै जानुपर्छ भन्ने भयो । त्यो उपाधि हाम्रा लागि उत्कृष्ट हो । हालसम्मकै उत्कृष्ट ।

यो सफलतापछि हाम्रो लक्ष्य के हो ?

कुनै कुरामा सफल भयो भने त्योभन्दा ठूलो सफलता हात पार्ने चुनौती बढ्दै जान्छ । थ्री नेसन्स कप जित्यौं । यसबाट फुटबल फ्यानहरूको अपेक्षा बढ्छ । अपेक्षा बढ्नु स्वभाविक हो । फेरि ट्रेनिङ कहिले सुरु गर्ने भन्ने तालिका एन्फाले मिलाउँदै जान्छ होला । अब हामी साफ (सेप्टेम्बर), विश्वकप/एसियन कप छनोट (जुन महिना) मा फोकस हुनुपर्छ ।

साफ च्याम्पियन हुन हामी सक्षम छौं त ?

सक्षम छौं । हामीले हरेकपल्ट दाबेदारका रूपमा प्रदर्शन गरिरहेका छौं । सेमिफाइनलमा जहिले चुकिरहनु हाम्रो दुर्भाग्य भनौं । तर मलाई विश्वास छ कि हामी एक दिन अवश्य साफ च्याम्पियनसिप जित्नेछौं । पहिला फाइनलचाहिँ पुग्नुपर्‍यो । आउने दिनमा राम्रो गरेर साफ च्याम्पियनसिप घरमा ल्याउनेछौं । यसका लागि प्रयास गर्नेछौं, संघर्ष गर्नेछौं ।

दक्षिण एसियामा नेपालभन्दा राम्रो र उत्कृष्ट टिम कुन हो ?

यहाँ हामीभन्दा माथि गएको छ भन्ने कुनै पनि टिम लाग्दैन । भारतले एक्सपोजर र लगानीको हिसाबले एकदमै राम्रो गरेको छ । तर उनीहरूले जुन स्तरको फुटबल खेल्छन् त्यो हाम्रोभन्दा फरक छैन । भारतको स्तर हामीभन्दा माथि गएको छ जस्तो लाग्दैन । हाम्रो बंगलादेश र माल्दिभ्ससँग प्रतिस्पर्धात्मक हुन्छ, ५०–५० हुन्छ । दक्षिण एसियाली क्षेत्रमा कुनै टिमको त्यस्तो भयंकर स्तर बढेर गएजस्तो लाग्दैन । यहाँ हामीले जित्न नसक्ने खालको टिम छैन ।

एसियाली फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप पछिल्लो संस्करणदेखि २४ टिमले खेल्छन् । भारतले पनि खेलेको अवस्थामा के नेपाली टिमको सम्भावना के छ ?

हामीले यो कुरामा ध्यान दिनपुर्छ । लक्ष्य राख्नुपर्छ । नसक्ने भन्ने छैन । लक्ष्य लिएर गएपछि ढिलोचाँडो हुन्छ, तर पुगिन्छ । छनोट पार गरेर एसियन कप खेल्ने मेरो पनि लक्ष्य हो, सपना हो । महादेशकै प्रतिष्ठित प्रतियोगिता २४ टिमले खेल्न पाउनु भनेको हाम्रा लागि पनि राम्रो अवसर हो । नहुने केही छैन, त्यसलाई सम्भव बनाउन मिहिनेत गर्नुपर्छ, योजना बनाउनुपर्छ, सक्छौं भनेर अगाडि बढ्नुपर्छ । अवश्य लक्ष्यमा पुगिन्छ ।

नेपालको ‘ए’ डिभिजन लिग डेढ–दुई महिनामात्रै चल्छ । यहाँ एकेडेमी क्लबहरूले होइन, एन्फाले चलाउँछ । एन्फा र क्लबहरूको कार्यक्रम हेर्दा हामी साफ च्याम्पियन हुन र एसियन कपमा पुग्न लायक छौं त ?

अहिलेको परिस्थितिमा हामी एसियन कप पुग्न त होइन, साफ च्याम्पियनसिपको फाइनल पुग्न योग्य छौं । हामीले हरेकपल्ट जस्तै सेमिफाइनल पुगेका छौं, मैले नै चारपल्ट सेमिफाइनल खेलिसकें । प्रदर्शनको हिसाबले हेर्दा सबै नै राम्रो छ । साफका लागि योग्य नै हो । तर एसियन कप अर्को स्तरको प्रतियोगिता हो । त्यसका लागि एन्फाले दीर्घकालीन योजना बनाएर जानुपर्छ । एकेडेमी, क्लब, लिग राम्रो बनाउनुपर्छ । यही खेलाडीले एसियन कप खेल्छ भनेर जानुभन्दा एकेडेमी, क्लब, लिगलाई बलियो बनाएर नेपाललाई एसियन कप पुर्‍याउने स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्नुपर्छ ।

राष्ट्रिय टोलीमा खेलाडी कसरी आइरहेका छन् ?

एकेडेमी फुटबल संघले मात्रै राख्नुपर्छ भन्ने विश्वमा कहीं पनि हुँदैन, तर नेपालमा छ । एकेडेमी क्लबहरूले चलाउनुपर्छ, यस्तो नहुँदा हाम्रोमा मुख्यतः खेलाडी आउने आधार नै भएन । क्लबबाट आएका एकेडेमीका खेलाडी लिएर एसियन कप वा विश्वकप पुग्न सकिन्छ भन्ने हो । तर, हाम्रा क्लबहरूसँग बजेट छैन । निश्चित योजना छैन । लाइसेन्स (व्यावसायिक फुटबल क्लबलाई एएफसीले दिने) छैन ।

हामी त कहाँ छौं, कहाँ ∕हाम्रो राष्ट्रिय टिममा २३ देखि ३१–३२ वर्षसम्मका खेलाडी छौं, एकेडेमीबाट आएका होइनन् । ‘गड गिफ्टेड’ जस्तै हो, केही प्रतियोगिता खेलेर आएका । हामी एउटा निश्चित अवधि खेल्छौं, जान्छौं । तर सबै क्लबको एकेडेमी भयो भने धेरैभन्दा धेरै युवा खेलाडी निस्किन्छन् । त्यसरी योजना बनाएर गयो भने धेरै टाढासम्म सोच्न सकिन्छ ।

देशको फुटबल स्तरको आधार लिगले देखाउँछ । क्लब बलियो भयो भने लिग राम्रो हुन्छ । यसमा हाम्रो अवस्था के छ ?

सरकार र निजी क्षेत्र/कर्पोरेटबाट सहयोग आएको अवस्थामा लिग बलियो हुन्छ । ठूला प्रायोजक र राम्रो मार्केटिङले नै लिग उत्कृष्ट बन्ने हो । अरू देशमा त्यो छ तर हाम्रोमा छैन । हाम्रा सबै क्लबहरू पनि सहयोग (चन्दा) बाटै चलिरहेको अवस्था छ, सबभन्दा नराम्रो त्यही हो । व्यावसायिकता नभएको हुनाले क्लबहरूको निश्चित बजेट छैन ।

८–९ महिना खेल्नका लागि पनि लगानी गर्ने नभएपछि फुटबल कसरी चल्छ ? एन्फाले दिने सुविधा र निजी कम्पनीले गर्ने लगानीमा फुटबललाई स्तरीय र व्यावसायिक बनाउने कार्यक्रम निर्भर हुन्छ । पहिलोपल्ट हुन लागेको नेपाल सुपर लिग (एनएसएल) मा निजी कम्पनीहरू आएजस्तै फुटबलमा लगानी गर्ने हो भने नेपालमै ७–८ महिनाको राम्रो लिग चल्छ जस्तो लाग्छ । त्यो जरुरी छ, त्यसका लागि दीर्घकालीन योजना आवश्यक छ ।

क्लबहरूले खेलाडीलाई दिने सेवा सुविधा कस्तो छ ?

मेरो अनुभवमा क्लबमा खेलाडीलाई दिने सुविधाको हिसाबले हामी धेरै नै तल छौं । भारत धेरै माथि छ । त्यहाँको जीवन नै अर्कै स्तरको हुन्छ भने हामी युरोपको कस्तो हुन्छ भनेर महसुस गर्न सक्छौं । भारतमा आई लिगकै (सुपर लिगभन्दा कम आकर्षक) क्लबहरूले वार्षिक कम्तीमा भारु ८–९ करोड लगानी गर्छन् । हाम्रोमा त्यो स्थिति छैन । कहिले हुन्छ, थाहा छैन ? कर्पोरेट हाउसहरूले हात हाले भने हुन सक्छ । कि त भारतमा जस्तो अर्बपति मालिक हुनुपर्‍यो ।

बंगलादेशमा पनि अहिले एकदमै राम्रो छ, उनीहरूका आफ्नै खेलाडीले मासिक ६–७ हजार डलर पाउँछन्, विदेशीलाई १७–१८ हजार डलरसम्म दिन्छन् । माल्दिभ्सकै क्लब पनि हाम्रोभन्दा अलि माथिकै छ । फुटबल भनेको बिजनेस हो, लगानी गर्‍यो भने आम्दानी पनि हुन्छ । नेपालमा सुपर लिगले फुटबलमा लगानी ल्याउने मलाई आशा छ ।

इन्डियन सुपर लिगजस्तै फ्रेन्चाइज टिमको फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ वैशाखमा सुरु हुँदै छ । यसले नेपाली फुटबलमा कस्तो प्रभाव पार्ने देखिन्छ ?

नेपालमा पनि सुपर लिग हुनु भनेको एकदमै खुसीको कुरा हो । कोभिड–१९ ले गर्दा यो ढिला भयो । यो फ्रेन्चाइज लिगले आगामी वर्षहरूमा नेपाली फुटबललाई अर्को स्तरमा लैजान्छ जस्तो लाग्छ । ठूला कर्पोरेट हाउसबाट ढिलै भए पनि लगानी आएको छ । यसले नेपाली फुटबलमा नयाँ लहर ल्याउनेछ । धेरै खेलाडी जिल्लाका भए पनि नेपालको लिग काठमाडौंमै सीमित छ । क्लब पनि यहींका मात्रै छन् । लिगमा बाहिरको पनि क्लब हुनुपर्छ, फुटबललाई विकेन्द्रीकरण गर्नुपर्छ, यसको सुरुआत सुपर लिग हो जस्तो लाग्छ ।

नेपालमा उत्कृष्ट खेलाडीले केही महिनाका लागि १ लाख रुपैयाँ बढी पाउन थालेका छन् । तर धेरै खेलाडी बिनापारिश्रमिक वा १०–१५ हजारमै खेलिरहेका छन् नि ?

तलबबिना वर्षभरि खेल्न दिमागले पनि सोच्दैन, घरपरिवारले पनि दिँदैनन्, फुटबलमा केन्द्रित हुन पनि सकिँदैन । क्लबलाई आफूले दिएपछि क्लबबाट पनि केही आओस् भन्ने भइहाल्छ । बिनापारिश्रमिक खेल्नुपरेपछि खेलाडीले पनि क्लबलाई केही दिन्छन्जस्तो लाग्दैन, आशा गर्नु पनि हुँदैन । खेलाडीले मात्रै खेलेर सफलता हात लाग्दैन । व्यवस्थापनले मात्रै गरेर पनि हुँदैन । सफलता पाउन सबै कुरा मिल्नुपर्छ ।

डिफेन्डर/मिडफिल्डर रोहित चन्दले एसियाको राम्रै मानिएको इन्डोनेसियाको लिग वानमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अरू नेपाली खेलाडीले युरोप वा एसियाको लिग खेल्ने क्षमता राख्छन् त ?

युरोपमा चाहिँ भन्दिनँ । नेपालीले एसियामा अवसर पाउनु भनेको ठूलो कुरा हो । तर कतिमा वरीयताले दिँदैन, कतिमा भिसा मिल्दैन । तर मैले एसियामा चाहिँ खेल्न सक्ने सम्भावना भएका धेरै नेपाली खेलाडी देखेको छु । उनीहरूले बुझ्नुपर्छ कि व्यावसायिक खेलाडी कसरी हुने भनेर । नेपालमै बसेर पनि म बाहिरको लिग खेल्छु भन्ने सोचाइ हुनुपर्छ । त्यसैअनुसार संघर्ष गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ, पक्कै पनि मिल्छ ।

युरोप वा फुटबलमा बलिया देशका खेलाडीले वार्षिक ४०–५० म्याच खेल्छन् । हाम्रोमा लिग नै छोटो हुन्छ । खेलाडीले वर्षमा १०–१५ खेलमात्रै खेल्न पाउँछन् । लिग कम्तीमा ७–८ महिनाको हुनुपर्छ अनि खेलाडीले धेरै खेल खेल्न पाउँछन्, कौशल निखार्ने अवसर पाउँछन् । त्यसैले पनि व्यावसायिक खेलाडी बन्ने हो भने हामीले विदेशकै लिग खेल्ने सोच राख्नुपर्छ, त्यसैअनुसार मिहिनेत गर्नुपर्छ ।

विदेशमा लिग खेल्ने अवसर कसरी मिल्छ ?

फुटबल संघले बाटो देखाउने हो । तर खेलाडी नै व्यावसायिक सोचाइको छैन भने एन्फाले खेलाडीलाई चेल्सीमै (इंग्लिस प्रिमियर लिग क्लब) राखिदियो भने पनि उसले अवसर पाउँदैन । व्यावसायिक खेलाडी बन्न चाहन्छु भनेर खेलाडी आफैंले सोच्नुपर्छ । नेपालमा क्लब र लिग व्यावसायिक छैन भनेर सबैलाई थाहा छ । खेलाडीले व्यक्तिगत रूपमा आफैं सोच्नु जरुरी छ । रोहितलाई प्रेरणाका रूपमा लिएर अगाडि बढ्यो, मिहिनेत गर्‍यो भने अवश्य मौका पाउँछ ।

म आफैं पनि पाँच वर्षयता विदेशमै लिग खेलिरहेको छु । जन्मँदै मान्छे परिपक्व हुँदैन र सबै कुरामा समयले परिवर्तन गराउँदै ल्याउँछ । यही (नेपालमा) खेल्दा मेरो पनि क्षमता अभिवृद्धिको समय थियो । विदेशमा लिग खेल्न थालेपछि, माथिल्लो स्तरको ट्रेनिङ पाएँ, कन्फिडेन्स लेभल बढ्दै गयो, मैले व्यक्तित्व विकासको कुरालगायत धेरै सिक्ने मौका पाएँ । कति फिट हुनुपर्छ, के खानुपर्छ, के गर्नुपर्छ भन्ने सिक्दै आफ्नो रुटिन मिलाउन थालें ।

फुटबल सिजनमा दैनिक दुई घण्टा बढी ट्रेनिङ हुन्छ नै । प्रि–सिजनमा पनि कोचलाई बोलाएर घरमै अभ्यास गर्दै आफूलाई फिट राख्छु । समर्पण, अनुशासन र त्यागले गर्दा नै म यहाँसम्म आइपुगेको हुँ । यी कुरा जुनियर खेलाडीले पनि सिक्न सक्छन् ।

प्रकाशित : चैत्र १८, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?