ओलीको कदमको अन्तिमसम्म प्रतिवाद गर्छौं : भीम रावल [अन्तर्वार्ता]

- बाह्य शक्तिको ताबेदारी गर्न उहाँ (ओली)ले हामीजस्तो देशभक्तिपूर्ण आवाज उठाउने मान्छेमाथि प्रहार गर्नुभएको हो ।
- उहाँले अगाडि बढेर आफ्नो नांगो तानाशाही चरित्र देखाउनु भएको छ, अब कसरी अगाडि जाने भनेर छलफल गरी बाटो तय गर्छौं ।
बबिता शर्मा

चिक्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका छन् । लामो समय पार्टी प्रमुख रहेका नेपाललाई कारबाही गरेर अध्यक्ष ओलीले एमालेभित्रको विवादलाई नयाँ मोड र निर्णायक विन्दुमा प्रवेश गराएका छन् ।

ओलीको कदमको अन्तिमसम्म प्रतिवाद गर्छौं : भीम रावल [अन्तर्वार्ता]

ओलीको कारबाहीलगत्तै नेता नेपालले सबै नेता कार्यकर्ताहरूलाई कति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपील गरेका छन् । ओलीको कदम र यसले पार्ने प्रभावबारे एमाले उपाध्यक्ष रावलसँग बबिता शर्माले गरेको कुराकानी ।

पार्टी अध्यक्ष केपी ओलीले कठोर कदम चाल्नुभएको छ, वरिष्ठ नेता माधव नेपालसहित तपाईंलाई कारबाही गर्नुभयो । यहाँको प्रतिक्रिया के छ ? अब के गर्नुहुन्छ ?

केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशनका सिद्धान्त, नीति, कार्यक्रम सम्पूर्ण ध्वस्त गर्ने गरी क्रियाकलाप गरिरहनु भएको छ र हामीलाई कथित निलम्बनको आदेश फर्मान् गर्नुभएको छ । अब हामी साथीहरुबीच छलफल गर्छौं । नवौं राष्ट्रिय महाधिवशेनको सिद्धान्त, नीति, कार्यक्रम र विधानको रक्षा गर्ने भनेर छलफल गर्छौं । ओलीको बिर्सनवाद र विदेशी शक्तिको अगाडि लम्पसार पर्ने उहाँको हर्कतको विरोध गर्छौँ । राष्ट्रको स्वाधिनतालाई सिध्याउने षड्यन्त्र र नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउने उहाँका किर्ते कामबाट वामआन्दोलन, नेपालको लोकतन्त्र, नेपालको स्वाधिनतालाई जोगाउने सम्बन्धमा आवश्यक पाइला चाल्छौं । नेकपा एमालेको निर्माणमा रगत पसिना बगाएका हजारौं, लाखौं नेता कार्यकर्ता, सदस्य, शुभेच्छुकसँग परामर्श गर्छौं ।

कारबाहीको दिन कस्तो पर्‍यो भने आजै तपाईं, माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भइरहेको थियो । संयोगमात्रै हो कि ?

ओलीले सिद्धान्त अनि कार्यक्रम नदिने । नागरिकता जस्तो विषयलाई खुकुलो बनाएर, नेपालको अस्मिता नै खत्तम पार्ने षड्यन्त्र गरेर बालुवाटारमा कुराकानी गर्न हुने । हामीले वामपन्थी पार्टीका नेतालाई भेट्नै नहुने, कुरा गर्नै नहुने तर्क ओलीले दिनुभएको रहेछ । त्यो हास्यास्पद तर्क हो । यसको कुनै अर्थ छैन, हामी मान्दैनौं । किनभने हामी पनि देशको नेता हो, नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित व्यक्ति हौं । यो देशको स्वाधिनता, स्वतन्त्रता, हित साधनाको लागि हामी कुनै पनि राजनीतिक दलसँग कुराकानी गर्न स्वतन्त्र छौं । यसमा केपी शर्मा ओलीको अनुमति लिन पर्दैन । नेपालको हित, देशलाई राजनीतिक स्थायित्वतिर लाने र ओलीको ध्वम्सकारी क्रियाकलापबाट राष्ट्रलाई कसरी जोगाउने भन्ने विषयमा हामी दलहरुसँग छलफल गर्न स्वतन्त्र छौं ।

तपाईंले आवश्यक पाइला चाल्छौं भन्नुभयो, त्यो भनेको पार्टीमै संघर्ष गर्ने कि फरक पार्टी बनाएर जाने भन्ने हो ?

ओलीले सर्वोच्च अदालतको अवहेलना र नेकपा एमालेको विधान, नीति, कार्यक्रम, पद्धतिलाई कुल्चेर बालुवाटारमा कथित केन्द्रीय कमिटी भने पनि आफ्नो गुटको भेलाबाट जे काम गर्नुभयो, त्यसबाट नेकपा एमालेलाई जोगाउने र अन्तर्संघर्ष गर्ने भनेर हामीले तय गरिसकेका थियौं । हामी तदअनुकूल काम पनि गर्दै थियौं । आज उहाँले अगाडि बढेर आफ्नो नांगो तानाशाही चरित्र देखाउनु भएको छ, अब यसपछि कसरी अगाडि जाने भनेर छलफल गर्छौं र बाटो तय गर्छौं ।

आजको कारबाही प्रक्रियापछि त एमाले विभाजन भइसक्यो भन्ने तर्क पनि आएका छन्, के भन्नु हुन्छ ?

ओलीले नेकपा एमाले विभाजन गर्न आजमात्रै होइन गत वैशाखमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नै खोज्नु भएको हो । त्यसपछि गत भदौ २६ गते उहाँलाई पाँच वर्ष प्रधानमन्त्री हुनुस्, राष्ट्रिय महाधिवेशनसम्म अध्यक्ष हुनुस् भन्दा त्यो निर्णयलाई पनि लत्याएर पार्टी फुटाउने चरित्र देखाउनु भयो । निर्वाचन आयोगमा गएर आफ्नो केही आसेपासेलाई लगाएर एमाले पार्टी दर्ता गराउनु भयो । त्यसपछि सर्वोच्च अदालतको फैसलापश्चात् अब विगतका कुरालाई ठन्डा दिमागले कुराकानी गरौंला कहाँ कमीकमजोरी भए हामी हेरौंला भनेका थियौं । सर्वोच्चको फैसलापछि एमालेको केन्द्रदेखि तलसम्म संगठनलाई क्रियाशील बनाऔंभन्दा उहाँले त्यो नसुनेर फागुन २८ गते सम्पूर्ण रुपमा पार्टी विधान मिचेर महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । यसबाट पार्टी विभाजन गर्न उहाँ तल्लीन हुनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई बिर्सजनतर्फ लाग्नु भयो जस्तो सबै लक्षण देखा परेको छ । तर त्यसलाई हामीले अन्तिमसम्म प्रतिवाद गरिरहन्छौं । जुन दिन त्यो प्रतिवादले काम गर्दैन त्यो दिन उपयुक्त निर्णय गरेर अगाडि बढ्छौं ।

उपयुक्त निर्णय भन्नाले ?

हामी यसका कानुनी, राजनीतिक, व्यवहारिक सम्पूर्ण पक्षलाई केलाउँछौं । सबै कुरालाई हेरेर राष्ट्रको हित, आन्दोलनको रक्षा, नेपालको संविधानको रक्षा, नेपालको स्वाधिनताको रक्षा र यसरी बाह्य शक्तिसँग साँठगाँठ गरेर नेपालको राष्ट्रिय अस्मितालाई कमजोर पार्ने ओलीका षड्यन्त्र कसरी चिर्न सकिन्छ, तदअनुकूल नै पाइला चाल्छौं ।

तर, अगाडि बढ्ने विषयमा तपाईंहरुकै समूहमा पनि विवाद छ भन्ने छ । आगामी रणनीति (पार्टीमै संघर्ष वा विभाजन) लाई लिएर एकमत हुनुहुन्छ त ?

हामी त्यस्तो विषयमा प्रवेश नै गरेका छैनौं । नवौ राष्ट्रिय महाधिवेशनको सिद्धान्त, नीति, विधानको रक्षाका लागि एक भएर जाऔं भन्ने मान्यता राख्छौं । हामीले एमालेभित्र बसेर विधान, नीति, सिद्धान्तको लागि लड्ने भनेका थियौं । ओलीले बिसर्जनवादी, दक्षिणपन्थी प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने र नेपालको स्वाधिनतालाई समाप्त गर्ने बाटोमा लैजाने कुकृत्य गरे भन्ने बुझाई छ । त्यसविरुद्ध लड्न पार्टीभित्र एक मत थियो । उहाँ थप अगाडि बढेर आफ्नो तानाशाही लाद्नको लागि निर्लज्ज भएर त्यस्तो प्रकारको क्रियाकलाप गर्नुहुन्छ कि हुँदैन भनेर हामी हेर्दै थियौं । अब यो पाइला चालेपछि आगामी कदमबारे छलफल हुन्छ ।

तत्कालीन नेकपामा हुँदा प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो । पछि एमालेमा फर्केपछि राजीनामा माग्नु भएन, अब के गर्नु हुन्छ ?

राष्ट्रको स्वाधिनता र सिंगो आन्दोलनका अगाडि खतरा भइरहेको बेला को प्रधानमन्त्री हुन्छ, को मन्त्री हुन्छ भन्ने गौण हो । यद्यपि ओलीले अदालतको फैसलापछि आफैं अलिकति एउटा नेता र देशको प्रधानमन्त्रीको नैतिकता के हो भन्ने महसुस गर्नुपर्दथ्यो । हुन त नैतिकताको मूल्य नभएको व्यक्तिले महसुस गर्ने भन्ने आशा गर्नु व्यर्थ हो । त्यसकारण सरकारको सन्दर्भमा के गर्ने आदि इत्यादि विषय विपक्षी दल र सरकारमा भएको राजनीतिक दलले सोच्ने हो । सरकार कसरी गठन हुन्छ, कसरी पुनर्गठन हुन्छ भन्ने धेरै सोच्नुभन्दा राष्ट्रियताका अरु मुद्दामा प्रश्न उठाउँछौं । सरकारले विगतमा एमसीसीलगायत राष्ट्रियतामा आघात गर्ने दर्जनौं काम गरेको छ । आगामी दिनमा यसले अझ के किर्ते गर्ने हो, राष्ट्रलाई कहाँ फसाउने हो, त्यसप्रति सजग हुन्छौं ।

बाह्य शक्तिसँग मिलेर साँठगाँठ गरे केपी ओलीले त भन्नु भयो, त्यो कता केन्द्रित गर्न खोज्नु भएको हो ?

प्रस्ट छ । उहाँ प्रधानमन्त्री हुनेबित्तिकै सोल्टी होटलमा प्रशान्त क्षेत्र सम्मेलनको नाममा एउटा यस्तो संस्थासँग काम गर्नुभयो । नेपालका सबै नेता र हाम्रा पार्टीका कार्यकर्तालाई बोलाएर होली वाईन पिलाउने षड्यन्त्र गर्नुभयो । त्यहींनेर नेपालको स्वाधिनतालाई झुकाउने प्रयास गर्नुभयो । त्यसपछि संयुक्त सैन्य अभ्यास भयो । नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई समाप्त गर्ने कोसिस गर्नुभयो । एमसीसीसँग गोप्य सम्झौता भयो । एउटा सम्झौतालाई सदनमा ल्याएर हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालाई दीर्घकालीन रुपमा उपनिवेशको बाटोमा धकेल्नु भयो । त्यत्तिले नपुगरेर भारतीय गुप्तचर प्रमुखसँग राति आमन्त्रण गरेर भेट्नु भयो । त्यसपछि नेपालको संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गर्नुभयो । यसका साथै पार्टी फुटाउने, संविधानको भावनाविपरीत संवैधानिक परिषद्लाई क्षतविक्षत पुर्‍याउने, नेपालको कृषि क्षेत्रलाई पनि बाह्य शक्तिको हातमा पुऱ्याएर एमसीसीकै गोप्य सम्झौतालाई साधना गर्ने जुन जुन काम गर्नुभयो । बाह्य शक्तिको ताबेदारी गर्न उहाँले हामीजस्तो देशभक्तिपूर्ण आवाज उठाउने मान्छेमाथि प्रहार गर्नुभएको हो ।

प्रकाशित : चैत्र १६, २०७७ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?