कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शिक्षा क्षेत्रमा भारतको सहयोग प्रशंसनीय : उपराष्ट्रपति यादव

सन्जु पौडेल

तिलोत्तमा — उपराष्ट्रपति राम सहायप्रसाद यादवले देशैभरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नेपाललाई भारतले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीन रुपले नै अतुलनीय रहेको बताए ।

शिक्षा क्षेत्रमा भारतको सहयोग प्रशंसनीय : उपराष्ट्रपति यादव

रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा आइतबार भारतको अनुदान सहयोगमा निर्मित पोखरभिण्डी माध्यमिक विद्यालयको १२ कोठे भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको जनाए । ‘विशेष गरेर शैक्षिक क्षेत्रमा भारतको सहयोग महत्वपूर्ण छ,’ उनले भने, ‘यसले नेपाली विद्यार्थीको शैक्षिक विकासमा योगदान पुगेको छ ।’

उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्र विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेकोमा जोड दिए । ‘देशका सरकार सम्बद्ध विद्यालयमा शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन पर्ने देखिन्छ’, उनले भने, ‘यसतर्फ सबै पक्ष लागेमा नेपालको शैक्षि सुधार अझ बढी हुन्छ ।’ उनले शिक्षाले ज्ञान, सिप, क्षमता र बौद्धिकता विकास गर्ने भन्दै सबैलाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिए ।

नेपालका लागि भारतीय कार्यवाहक राजदूत प्रशन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै मजबुत बनाउँदै लगेको बताए । उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै खासगरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जनाए । ‘भारतसँगको सहकार्य र सहयोगमा निरन्तर नेपाली नागरिकले समर्थन गरिरहेका छन्, यो प्रशंसायोग्य छ,’ उनले भने ।

कार्यक्रममा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले भारतले नेपालको शैक्षिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको जनाए । उनले विद्यालय पूर्वाधार सम्पन्न हुँदा विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन पनि सहयोग पुग्ने बताए ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पूर्वाधारसँगै पठनपाठन राम्रो भए विद्यालय शिक्षा सुध्रिने जनाए । उनले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए ।

त्यस्तै, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले दशक अघि विद्यालय भवन निर्माण भए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको जनाउँदै उपराष्ट्रपतिबाट उद्घाटन गराउन पाउँदा गाउँलिकावासी हर्षित भएको बताए । अध्यक्ष यादवले रोहिणी क्षेत्रमा शैक्षिक विकासमा भारत सरकारको सहयोग स्मरणीय रहेको बताए ।

भारतको अनुदान सहयोगमा १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुई तले उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् ।

प्रकाशित : मंसिर १०, २०८० १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×