कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

विश्वविद्यालयमा तालाबन्दी भए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए ।

विश्वविद्यालयमा तालाबन्दी भए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री

‘विश्वविद्यालयमा हुने बन्द, हड्ताल र तालाबन्दीको अन्त्यका लागि राजनैतिक सहमति बनाउनुपर्छ, संलग्न सबै पक्षलाई अपील गर्नुपर्छ, त्यसो हुन सकेको खण्डमा हस्तक्षेप समेत गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने । त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी हुँदै आएको छ ।

बैठकमा सहभागी ११ वटा विश्वविद्यालयका उपकुलपतिहरुले तालान्दी र अराजक गतिविधिहरुको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए । विश्वविद्यालयमा शान्ति सुरक्षा कायम हुनुपर्ने उनीहरुले भनाई थियो ।

गृहमन्त्री श्रेष्ठले उच्चशिक्षमा शैक्षिक क्यालेण्डर लागू गर्न पनि आग्रह गरेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । क्यालेण्डर कार्यान्वयनका लागि अनुकूल वातारण सिर्जना हुनुपर्ने र त्यसका लागि पनि बन्द, हड्ताल अन्त्य हुनुपर्ने उनले बताएका थिए । तालाबन्दी नियन्त्रण गर्न सरकार र गृह मन्त्रालयले साथ दिने उनले प्रतिबद्धता जनाए । उपकुलपतिहरुसँग गृहमन्त्रीले उच्चशिक्षामा लगानी बढाउनुपर्ने र अनुसन्धान संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले तालाबन्दी, गैरराजनीतिक गतिविधिका कारण उच्चशिक्षामा अराजकता मौलाएको टिप्पणी गरे । त्यसको अन्त्यका लागि राजनीतिक दलबीच सहमति गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

‘दलहरुले भातृ संगठनलाई रचनात्मक कार्यका लागि निर्देशित गर्नुपर्छ । विद्यार्थी, प्राध्यापक, कर्मचारीबीच पनि छलफल चलाउनुपर्छ, विश्वविद्यालय प्रशासनले सबैलाई कन्भिन्स गनुपर्छ,’ उनले भने, ‘आवश्यक परे कानुनको सहायता लिएर कठोर कदम पनि चाल्नुपर्छ ।’ शैक्षिक क्यालेण्डर लागू गर्न सरकारले आयोगलाई सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । आयोगले विश्वविद्यालयमा भईरहेको तालाबन्दी र विश्वविद्यालयमा भदौदेखि लागू भएको एकीकृत क्यालेण्डरको विषयमा बैठकमा छलफल गरेको थियो । उपकुलपतिहरुले विश्वविद्यालयमा हुने तालाबन्दीका कारण शैक्षिक क्यालेण्डर कार्यान्वयनमा बाधा पुग्ने हो कि भन्ने आंशका गरेका थिए । विश्वविद्यालयहरुमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र स्थानीयबासीको तर्फबाट पटक/पटक तालाबन्दी हुँदै आएको छ । आफ्ना माग पुरा दबाब दिन तालाबन्दी गर्दा शैक्षिक गतिविधि प्रभावित हुने गरेको विश्वविद्यालयका पदाधिकारीहरुको गुनासो छ ।

प्रकाशित : भाद्र १७, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?