कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रकार भर्सेस मूर्तिकार

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाका अग्रज चित्रकार युवराज रिजाल र धराने मूर्तिकार धीरज राई आमनेसामने थिए । रिजाल मूर्तिकार राईको पानीचित्र कोर्दै थिए । मूर्तिकार राईचाहिँ चित्रकार रिजालको आकृति मूर्तिमा उतार्न तल्लीन थिए ।

चित्रकार भर्सेस मूर्तिकार

पूर्वका ३० भन्दा बढी कलाकार बिहीबार झापाको कमल गाउँपालिकाको गोलसिमल भन्ने ठाउँमा भेला भए । आठ मूर्तिकार र आठ चित्रकार आमनेसामने मात्रै भएनन्, सँगैसँगै चित्र र मूर्ति कलामार्फत आ–आफ्ना प्रतिभा साटासाट गरे । रिजालले झैं चित्रकारहरूले सहकर्मीका चित्र कोरे । मूर्तिकारले चित्रकारलाई मूर्तिकलामार्फत उतारे । ‘कार्यक्रमले अनौठो अनुभूति गराइरहेको छ,’ देही आर्टकी कलाकार रीना राईले अनुभव साटिन्, ‘मूर्तिकारको चुनौती सामना गर्न बडो कठिन भइरहेको छ ।’

‘चित्रकला भर्सेज मूर्तिकला’ शीर्षकको यो कार्यक्रम सम्भवतः पूर्वमै पहिलो पटक आयोजना गरिएको दाबी कलाकारहरूको छ । फरक शैलीको कार्यक्रमको योजना तीन वर्षअघि नै बनेको थियो । तर, चाँजोचाहिँ बल्ल मिल्यो । ‘तीन वर्षअघि नै यो कार्यक्रमको परिकल्पना गरेका थियौं,’ गोलसिमल मूर्तिशालाका कलाकार भक्त मेवाहाङ राईले भने, ‘कोभिडका कारण योजना पछि धकेलिएको हो ।’

पूर्वमा मूर्तिकार र चित्रकारबीच प्रतिभा साटासाट गर्न चित्रकला भर्सेज मूर्तिकला कार्यशाला आयोजना गरिएको राईले बताए । उनका अनुसार गोलसिमल मूर्तिशालासहित देही आर्ट, उदयपुर मूर्ति कला केन्द्र, शशिकला ग्यालरी, धरान मूर्तिकला घरजस्ता आधा दर्जन कलासम्बद्ध संस्था कार्यक्रममा जुटेका छन् । उत्तम गजमेरले आर्थिक सहयोग गरेर कार्यक्रमलाई सघाइदिएपछि कलाकारहरू थप उत्साहित बनेका हुन् ।

कार्यशालामा चित्रकारहरू युवराज रिजाल, बिगेन राई, छितेन शेर्पा, सविन मुखिया, रोशन सुब्बा, सुशील राई र रीना राई सहभागी बने । विजय श्रेष्ठ, भक्त मेवाहाङ राई, रामचन्द्र पण्डित, शशि किरण, दीपनारायण चौधरी, धीरज राई र दिलीप चौधरीले पनि कला पस्किए ।

प्रकाशित : पुस १६, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?