२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नचाए दर्शक शम्भुले

रमेशचन्द्र अधिकारी

धनकुटा — घर त हिले हो चाहिँदैन सम्पत्ति दिल मिले भो...

नचाए दर्शक शम्भुले

गायक शम्भु राईले गृह जिल्ला धनकुटाको मौनाबुधुकमा आफ्नै सेरोफेरो समेटिएको भाका हाल्नासाथ दर्शकले नाचेर साथ दिए । मंसिरको चिसो छिप्पिँदै गए पनि शनिबार साँझ अबेरसम्म उनको सांगीतिक प्रस्तुतिले चौबिसे क्षेत्रका दर्शकलाई मनग्य तताए ।

चौबिसे गाउँपालिकामा पर्ने मौनाबुधुक बजारमा आयोजित कार्यक्रममा राईले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिए । उनको गीतमा भीडले स्वर मिलाउँदै र कम्मर मर्काउँदै साथ दियो । सांगीतिक कार्यक्रम हेर्न–सुन्न आसपास गाउँबाट सयौंको संख्यामा सर्वसाधारणको उपस्थिति थियो । उनका गीतमा सबै उमेर समूहका दर्शक झुमिरहेका देखिन्थे । राईले अर्को चर्चित भाका ‘आलुदम चना, लाइराखे माया नि लै लै छोटो सम्झना’ गाए । उक्त गीतमा ननाच्ने सायदै कोही थिए । त्यसपछि क्रमश: ‘यो माया त कहाँको–कहाँको,’ ‘मार्‍यो नि मायाले,’ ‘ढुंग्री बुलाकी, हाँसी–हाँसी लाउन माया जे पो होला नि,’ ‘धारापानीमा के माया लाउनु छ जिन्दगानीमा’ लगायत डेढ दर्जन गीत पस्किए । आफू जनवादी गायक भएको भन्दै उनले केही जागरण गीतसमेत प्रस्तुत गरे ।

विशेषगरी पूर्वेली लोकभाका र आधुनिक गीतसंगीतमा चार दशक बिताएका राईलाई भेट्न र साथमा तस्बिर खिच्नेको पनि उत्तिकै भीड लागेको थियो । उमेरले ६ दशक पार गरिसके पनि गीत गाउन माइक बोकेपछि सधैं तन्नेरी महसुस हुने भन्दै ठट्यौली गर्दै उनले प्रस्तुति दिइरहे । ‘गीतसंगीतले सधैं जवान बनाउँछ कि भन्ने लाग्छ,’ उनले भने, ‘नत्र यो उमेरमा मलाई कसरी जोस आउँछ ।’

काँधमा दूबोको माला लगाइदिएर स्थानीयवासीले उनलाई स्वागत गरे । मालाले आफूलाई बेहुलाझैं लागेको भन्दै साथैमा रहेकी पत्नी प्रमोदा राईतिर औंल्याउँदै २०३६ सालमा विवाह गरेको क्षणको याद दिलाएको रमाइलो प्रसंग जोड्न भ्याए । राईको सांगीतिक प्रस्तुतिमा मजा लिन चौबिसे क्षेत्रको मौनाबुधुक, राजारानी, कुरुलेतेनुपा, बोधे, वसन्तटार, शुक्रबारेलगायत दर्जनौं स्थानबाट सर्वसाधारणको भीड लागेको थियो ।

प्रकाशित : मंसिर १९, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?