कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भित्ताभरि झिझिया

मैथिल समाजको परम्परागत नृत्यका आकृति तारागाउँको भित्तामा
सुशीला तामा‌ङ

काठमाडौँ — वरिपरि रूख, रूखसँगै आफ्नै लयमा उडिरहेका चराचुरुङ्गी, रूखैको आडैमा मन्दिर, झकिझकाउ कलश र झिझिया नृत्यमा मग्न मैथिल समुदायका महिलाहरू । मौलिक पहिरनमा सजिएका महिलाहरू टाउकोमा स–साना प्वाल भएका घैंटाहरूलाई बोकेर आफ्नै लयमा छन् । मैथिल समाजको परम्परागत लोकनृत्य ‘झिझिया’ को दृश्य हो यो । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सालगायतका जिल्लामा मैथिल समाजमा ‘झिझिया’ नृत्यको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व रहिआएको छ ।

भित्ताभरि झिझिया

यिनै दृश्यलाई यति बेला मिथिला कलाकारहरूले बौद्धस्थित तारागाउँ संग्रहालयको एउटा भित्तामा उतार्ने कोसिस गरिरहेका छन् । जनकपुर, धनुषाबाट काठमाडौं आएका कलाकार मञ्जुला ठाकुर, मधुमाला मण्डल, सुधिरा कर्ण र रेवती मण्डलले भुस मुछेको माटोले झिझिया नृत्यको दृश्यलाई भित्तामा आकृति दिँदै छन् । डेढ साताअघि सुरु गरेको काम अन्तिम चरणमा पुग्न लागेको कलाकार मधुमालाले बताइन् । उनीहरूले भित्तेकलाका लागि माटो तथा भुससमेत जनकपुरबाट नै ल्याएका हुन् ।

आउँदो फेब्रुअरी काठमाडौंमा सुरु हुन लागेको ‘काठमाडौं ट्रेनाले’ कला महोत्सवका लागि उनीहरूले परम्परागत लोक नृत्यलाई संग्रहालयको भित्तामा उतारेका हुन् ।

झिझिया नृत्य मैथिल समाजमा अत्यन्तै प्रचलित छ । बर्सेनि घटस्थापनादेखि विजयादशमीसम्म मिथिला क्षेत्रका महिलाले परम्परागत देवी स्तुति भजन तथा गीत गाउँदै यो नृत्य गर्ने प्रचलन अझैसम्म रहेको मधुमालाले सुनाइन् । ‘हाम्रोतिर दसैंमा १० दिनसम्म दुर्गा भगवतीलाई खुसी पार्न झिझिया नाचिन्छ,’ उनले भनिन्, ‘हामी परिवार, बच्चाबच्चीलाई राम्रो होस् भनेर दसैंमा नाच्छौं ।’

उनीहरूले बनाउँदै गरेको कलाकृतिमा मैथिल समाजका विभिन्न आयाम पनि चित्रित छन् । हाती, चुकन्दर, मैथिल समाजको घरको भित्ताका संरचना, बुट्टेदार पिँढी, रूखका पातहरूमा समेत कलात्मक बुट्टा कुँदिएका छन् । यसमा धार्मिक पक्ष बढी जोडिए पनि मैथिल समाजको दैनिकी, पर्यावरण, कृषि प्रणाली, सांस्कृतिक संरचनासमेत झल्किएको कलाकार मञ्जुलाले सुनाइन् । उनले भनिन्, ‘झिझिया नाचेकाले गर्दा देवी खुसी भएर हाम्रो बालीनाली, जनावर र सबै प्रकृतिमा नै शान्ति आउँछ भन्ने जनविश्वास छ ।’

परिवार समाजको सुस्वास्थ्य तथा दीर्घायुका लागि गरिने यस प्रकारको नृत्यमा दुर्गा भगवतीलाई मोहित बनाउन विभिन्न प्रकारका परम्परागत लोक गीतहरूसमेत समावेश हुने अर्का कलाकार सुधिराले बताइन् । ‘भगवती दुर्गालाई खुसी बनाउन हामी त्यस्तै खालको शृंगार गरेर गीत गाउँछौं र टाउकामा झिझिया बोकेर नाच्छौं । १० दिन पछि झिझियाको प्रतीकलाई बगाइदिन्छौं,’ उनले भनिन् । सबै कलाकार मिथिला कलामा सक्रिय छन् । परम्परागतरूपमा सिकेर आएको मिथिला कलामार्फत नै उनीहरू देश तथा देश बाहिरका कला प्रदर्शनीहरूमा पनि सहभागी भइरहेका छन् ।

कला तथा संस्कृतिको सम्पन्न मुलुकका रूपमा चिनाई कला चेतनाको विस्तार गर्न सिद्धार्थ आर्ट फाउन्डेसनले उपत्यकामा प्रदर्शनी गर्न लागेको महोत्सवका क्युरेटर शिलासा राजभण्डारीले बताइन् । उनका अनुसार नेपालको आदिवासी तथा लोक परम्परासँग जोडिएको लोककलालाई उजागर गर्न झिझियालाई कलाकृतिमा उतार्ने अवधारणा अगाडि बढाइएको हो । उनले भनिन्, ‘आधुनिकताको समयमा मौलिक लोककलालाई ल्याउनु महोत्सवको लक्ष्य हो । पेन्टिङ र क्राफ्टमा हेर्दै आएको मिथिला कलालाई माटो कलामा पनि देख्ने भयौं ।’ महोत्सवमा ४० देशका करिब १ सय २० कलाकार सहभागी हुनेछन् ।

प्रकाशित : मंसिर १०, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?