कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरनिकोको बन्दै गरेको पूर्णकदको सालिकको काम रोकियो

सरकारले तत्काल थप बजेट उपलब्ध गराए ४ महिनाभित्र सम्पन्न हुने 
सुशीला तामा‌ङ

काठमाडौँ — नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बन्दै गरेको राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको सालिकको काम रोकिएको छ । यही आर्थिक वर्षमा प्रतिष्ठानले अनुमानित ५० लाख रुपैयाँको लागतमा १७ फिट उचाइको अरनिकोको मूर्ति स्थापना गर्ने योजना बनाएको थियो । 

अरनिकोको बन्दै गरेको पूर्णकदको सालिकको काम रोकियो

प्रतिष्ठानका कुलपति केके कर्माचार्यका अनुसार हाल ६० देखि ६५ प्रतिशत काम मात्र सकिएको छ । एक वर्षमा सम्पन्न गर्ने गरी १३ महिनाअघि नै निर्माण सुरु भएको सालिक बनाउने काम बजेट सकिएपछि करिब एक महिनाअघि नै काम रोकिएको हो । चीन र नेपालबीचको सम्बन्धलाई कलाको माध्यमबाट बलियो बनाउन अरनिकोले पुर्‍याएको योगदानको कदरस्वरूप प्रतिष्ठानले परिसरमा सालिक बनाउने काम सुरु गरेको हो । ‘पहिलो कार्यकालमा छुट्याएको बजेटबाट हामीले पूर्णकदको सालिक बनाउने कामलाई अगाडि बढाएका हौं,’ कुलपति कर्माचार्यले भने, ‘काम गर्दागर्दै बीचैमा बजेट सकियो । सरकारबाट थप बजेट पारित नभएसम्म सालिक बनाउने काम सुरु गर्न सकिने अवस्था छैन ।’ १०/११ वर्षअघिको बजेट र अहिलेको बजार मूल्यमा धेरै हेरफेर पर्ने भएकाले सालिक निर्माणमा बजेट अपुग रहेको उनको भनाइ छ ।

सरकारले प्रतिष्ठानको स्थापनाकालमा नै अरनिकोको पूर्ण कदको सालिक बनाउने योजना राखेर ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कुलपति किरण मानन्धर र रागिनी उपाध्यायको कार्यकालमा समेत सालिक बनाउने काम अघि बढ्न सकेको थिएन ।

मूर्तिकार गंगाधर सारुमगरको नेतृत्वमा देवेन्द्र पाण्डे, दीपक लामा र चन्द्रमणि मगरले सालिक बनाउने काम गरिरहेका थिए । मूर्तिकार सारुमगरका अनुसार सालिक बनाउन नमुनाका रूपमा पहिले चित्रकला अघि सारिएको थियो । सारुमगरसहित प्रदीप पल, कमलेश महर्जनलगायतको उत्कृष्ट पाँच चित्रकला छनोट गरिएको थियो । पछि नमुना मूर्तिकला प्रस्तुतिमा समेत सारुमगरको डिजाइन छनोट भएपछि सालिक बनाउन थालिएको थियो । मूर्ति बनाउन ४ हजार किलोभन्दा बढी माटोको प्रयोग गरिएको छ । मूर्ति बनेपछि प्रतिष्ठान परिसर र अरनिको राजमार्ग वा राजधानीको मुख्य आवातजावत हुने घनास्थानमा सालिक राखिने योजना छ ।

मूर्ति निर्माणमा महत्त्वपूर्ण मानिने ‘क्ले मोडलिङ’ (माटोको मूर्ति), मैन तथा मूर्ति फ्रेमिङको काम सकेर मेटलको बनाउने काम घुँडासम्म पुगेको सालिक निर्माणका संयोजक तथा प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले बताए । सालिक निर्माणमा मेटलको प्रक्रियामा नै बढी खर्च लाग्ने भएकाले अझै ५० लाख जति बजेट लाग्न सक्ने लामाको अनुमान छ । समयमा नै बजेट उपलब्ध भए ३ देखि ४ महिनाभित्रमा काम सम्पन्न हुने उनले बताए ।

प्रतिष्ठानले अघिल्लो बजेटको लेखाजोखाको विवरण नेपाल सरकारलाई अझै बुझाएको छैन । यसका लागि महानगर तथा प्रतिष्ठानमा छलफल चलिरहेको कर्माचार्यले सुनाए । अर्को बजेटका लागि समय धेरै लाग्न सक्ने भएकाले मूर्ति निर्माण कार्यमा अन्योलता आएको सारुमगरले बताए । उनले भने, ‘बजेट पुगेको भए अहिलेसम्ममा लगभग काम सकिने समय हुन्थ्यो । अब सरकारबाट अर्को बजेट कहिले आउला भन्ने कुरासमेत टुंगो छैन ।’

प्रकाशित : मंसिर १, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?