कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्तिमकी ‘लक्ष्मी’

एकल जीवन बिताएर छोरा च्याप्दै परिवर्तनका लागि गाउन उकाली–ओराली गरेकी उनलाई स्मरण गर्दै छन् सहकर्मी र आफन्त 
सन्जु पौडेल

लुम्बिनी — नेपाली माटोमा फुलेको फूल आँधीले उडायो
लछार्दै हाँगा, चुँडेर फूल मुग्लान पुर्‍यायो ।
आमाको स्वरको यो गीत रविन गुरुङका लागि जीवनभरलाई अब सम्झना बनेको छ । आमा लक्ष्मी गुरुङलाई सम्झँदा उनी यही गीत सुन्छन् । आमा रक्तिम अभियानमा थिइन् । उनी अध्ययनका लागि बेलायतमा थिए । आमा गम्भीर बिरामी परेपछि एक महिनाअघि घर आएका हुन् । अब आमाको सम्झना उनले गाएका गीत छन् ।

रक्तिमकी ‘लक्ष्मी’

रक्तिम सांस्कृतिक अभियानकी चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको गत कात्तिक २५ मा निधन भएको हो । उनको असामयिक निधनले परिवार, आफन्त र शुभेच्छुक स्तब्ध छन् । ५५ वर्षीया गायिकाको श्वासप्रश्वास र निमोनियाबाट ग्रस्त भएर मृत्यु भएको थियो । उनलाई सात महिनादेखि घरमै अक्सिजन लगाएर उपचार गरिएको थियो । स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि उपचारार्थ भारतको गोरखपुर लगियो । त्यहाँबाट उपचार गरी फर्किने क्रममा पुनः श्वासप्रश्वासको समस्या बल्झिएपछि भैरहवास्थित मेडिकल कलेज पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गर्‍यो ।

कास्कीको भदौरेमा जन्मिएकी लक्ष्मी सानैदेखि गीत गाउने र प्रतियोगितामा भाग लिने गर्थिन् । रूपन्देहीमा हुर्किएकी गुरुङको शारीरिक बनोट केही फरक खालको थियो । ठूली भएपछि उनी बेलहियाको खुकुरी क्लबमा आबद्ध भइन् । क्लबका हरेक कार्यक्रममा सहभागी भई गीत गाउँदै उनी अघि बढिन् । २०४६ सालमा धनराज गुरुङसँग भेट भएपछि उनी मसालमा आबद्ध भइन् । उनको यात्रा मसालअन्तर्गत रक्तिम सांस्कृतिक अभियानमा जोडियो । स्थानीय क्लबले आयोजना गर्ने कार्यक्रममा गीत प्रस्तुत गर्दागर्दै रक्तिमको सम्पर्कमा आएपछि उनका गीत राजनीतिक परिवर्तन प्रेरित हुन थाले । उनले रक्तिम परिवारलाई असंख्य गीतमा सुमधुर आवाज दिइन् । थुप्रै पुरस्कार तथा सम्मानसमेत पाइन् । उनी रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार थिइन् ।

उत्तरबाट बादल आउँदा, उत्तरतिरै हेर्छिन् रे

बम्बईको कोठरीमा हाम्री चेली रुन्छिन् रे !

यो गीतले धेरैको मन छोएको थियो । उनलाई चिनाउने गीत पनि यही भएकाले लक्ष्मीले उक्त गीत प्रायः हरेक मञ्चमा गुनगुनाउँथिन् । रक्तिमका गीत सुन्नेहरूमाझ गुरुङको स्वरमा रहेका ‘चाहे चुँडियोस् शिर हाम्रो झुक्ने छैन यो आस्था कहिल्यै’, ‘यो मेरो जीवन बर्बाद भयो जालीको खेलले’, ‘नेपाली माटोमा फुलेको फूल’, ‘हिउँ फुटे हिमनदी’, ‘परदेशीको सपना’, ‘सामन्तीले नै जाल बुन्छ’ लगायतका गीत चर्चित छन् । उनले आफ्नै रचनामा ‘गाउँगाउँ बस्ती बस्ती बोलिरहेछ, मेची हाम्रै हो, काली हाम्रै हो’ बोलको गीत गाइन् । आफ्ना सिर्जनामार्फत जनतामा चेतनाको सन्देश दिने उनै गुरुङ आफ्नो वैवाहिक जीवनमा भने त्यति खुसी रहिनन् । श्रीमान्ले छाडेपछि उनले आफ्नो एक मात्र सन्तान रविनलाई काखी च्यापेर हिँड्ने र गीत गाउने गर्थिन् । आमासँगै रविन नेपाल र भारतका धेरै ठाउँ पुगे । बुटवल चाँदबारीमा घर भएकी लक्ष्मीले रक्तिम जनगीति यात्रा भाग–४ बाट भाग १२ सम्म गायनमा जीवन शर्मालाई साथ दिएकी थिइन् ।

अध्ययनका लागि बिदेसिँदा पछिल्लो १३ वर्ष रविन भने आमासँग टाढा थिए । उनले बिरामी आमासँग पछिल्लो एक महिना मात्र सँगै बिताउन पाए । अन्तिम संस्कारपछि बेलहियामै काजकिरिया गरे । आमाले एक्लै संघर्ष गरेर आफूलाई हुर्काएको कुरा गर्दा उनी भक्कानिए ।

लक्ष्मीका दाजु सुकबहादुर भन्छन् ‘बहिनी नाम कमाएर बिदा भइन् ।’ २०४७ देखिको सँगै विभिन्न कार्यक्रममा गायन सहकार्य गरेका रेम रानाले लक्ष्मीलाई पार्टीप्रति अत्यन्तै प्रतिबद्ध कार्यकर्ताका रूपमा स्मरण गरे । ‘लक्ष्मी राष्ट्रियता, महिलाविरुद्धको हिंसाका गीत बढी गाउन रुचाउँथिन्,’ उनले भने, ‘उनका हरेक गीत नयाँ पुस्ताका लागि उदाहरणीय छ ।’

प्रकाशित : मंसिर १, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?