दसैंतिहार आइसक्यो, झल्को लाइसक्यो- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंतिहार आइसक्यो, झल्को लाइसक्यो

सुशीला तामा‌ङ

काठमाडौँ — खल्तीमा खर्च जोहो भएको भए पोखराका केशव गुरुङ यतिबेला घर पुगिसकेका हुन्थे । बुबाआमा तथा उनका अन्य परिवार उतै छन् । हाल कपन बस्ने दृष्टिविहीन उनी बाटो खर्च जोहो गर्नकै लागि रत्नपार्कको सडकमा बसेर गीत गाउँदै गरेका देखिन्छन् । ‘दसैं आइसक्यो, घर जानलाई खर्च छैन,’ उनले भने, ‘दुई/चार पैसा होला कि भनेर यता बसेको छु । खर्च पुगे फूलपातीको दिन हिँड्नुपर्ला ।’ 

उनी राजधानीका दोहोरी साँझहरूमा गाउने र मादल बजाउने गर्थे । कोरोना महामारीका कारण रोजगारी गुमेपछि उनी सडकमा आइपुगेका हुन् । सडकमा गीत गाउँदा दिनमा ५/७ सय रुपैयाँ हुन्छ । ‘काठमाडौंमा बस्न साह्रै गाह्रो भएपछि सडकमा आएको हुँ । यसैले अलिकति भरथेग भएको छ,’ उनले भने । दसैं सुरु भइसक्दा काठमाडौं छाडेर आफ्नो पुरानो थलो जानेहरू दिनदिनै थुप्रै छन् । तर गुरुङजस्ता बिखर्चीहरू भने फर्किने जोहो गरिरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार दसैं सुरु भएयता आइतबारसम्ममा सडकमार्गबाट ५ लाख ६० हजार जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौंमा बिहान, बेलुकाको छाक टार्न धौधौ परेकाहरू धेरै जना अहिले खर्च जुटाउन सडकमा हात फैलाउँदै गरेका भेटिन्छन् । दसैंको चहलपहलले व्यस्त असन, इन्द्रचोक, न्युरोडका बजारमा दैनिकी टार्न सहयोग मागिरहेका थुप्र्रै भेटिन्छन् । असन बजारकै एक कुनामा बसेर किनमेल गरिरहेका जमातलाई हेर्दै टोलाइरहेकी थिइन्, दोलखाकी ६५ वर्षीया बुनु पाण्डे । उनी दसैंको किनमेल गर्न होइन बेलुकाको खानाको जोहो गर्न त्यता आइपुगेकी थिइन् ।

भोटाहिटी पुलछेउमा एक मनकारी बेलुकी ४ बजे खाना खुवाउन आउँछन् भन्ने सूचना पाएर त्यतै हिँड्न लागेको उनले सुनाइन् । सबैतिर दसैंको रौनक छ, तर उनको मनमा भर्खरै छोरा गुमाएको पीडा छ । ‘परिवार र पैसा हुनेका लागि दसैं आयो । आफ्नो त खाना र बस्नको पनि टुंगो छैन,’ उनले भनिन्, ‘२२ वर्ष भयो श्रीमान् बितेको । जेठो छोरो भूकम्पमा बित्यो, कान्छो पनि जन्डिस बिग्रेर दुई महिनाअगाडि वीर अस्पतालमा उपचार गर्दागर्दै गयो ।’

धेरथोर भएको सम्पत्ति पनि छोराकै उपचारमै सिध्याएको उनले सुनाइन् । त्यसपछि उनको काठमाडौंतिरै बास भयो । एउटी छोरी काठमाडौंमै एउटा घरमा काम गरेर त्यतै बस्छिन् । हनुमानढोकामा एक चिनजानकै कोठामा बास दिए पनि बुनुले बिहान, बेलुकाको खानाको जोहो उनी आफैंले गर्नुपर्छ । किनमेल गर्न आउने मानिसका भीडलाई संकेत गर्दै उनले भनिन्, ‘सास राख्न एक गाँस खोज्न हिँडेको छु, हामीलाई त के दसैं आउँछ र खै ।’ दसैंमा सडक सुनसान हुने भएकाले भोकै परिन्छ कि भन्ने चिन्ताले उनलाई सताएको छ ।

रोल्पाकी ४५ वर्षीया माया लामा पनि खाना र दसैं खर्च जोहो गर्न वसन्तपुरदेखि असन, इन्द्रचोक तथा भोटाहिटीका पसलहरू चहार्दैछिन् । उनी दुईदेखि ३ सय रुपैयाँसम्म संकलन गरेर दैनिकी चलाउँछिन् । ठमेल ठैटीस्थित गाउँकै दिदी नाता पर्नेको डेरामा बस्दै गरेकी उनी दसैंमा घर नजाने सुरमा छिन् । ‘काम गर्न नपाएको कति महिना भइसक्यो । मागेर खाँदै छु । खै के दसैं मान्न घर जानु र’ उनले भनिन् । उनका अनुसार लकडाउनअघि उनी पार्टी प्यालेसको काममा जान्थिन् । महामारीपछि कामविहीन भइन् । खानाका लागि पनि धौधौ भएको उनलाई दसैं पर्वबारे कुनै चासो छैन । तीन महिनादेखि खानाको समस्या भएपछि उनी सडकमा आउन बाध्य भएको सुनाइन् । उनले भनिन्, ‘आज खाएर भोलि के खाने भन्ने पीर छ । यत्रो चाड पनि त्यत्तिकै जाने भो । भाँडा माझ्ने काम पाए पनि गर्न हुन्थ्यो, त्यो पनि पाएको छैन ।’ दसैंमा सबै घर जाने भएकाले अहिले नै मागेर जोहो गर्न पाए भोकै परिँदैन कि भनेर माग्न हिँडेको उनले सुनाइन् ।

प्रकाशित : आश्विन २५, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

दसैं गीतमा परदेशीको पीडा

नेपाली समाजको आयाम जसरी फेरिएको छ, गीतले त्यसलाई भेट्नै सकेनन् 
सुशीला तामा‌ङ

काठमाडौँ — ‘ए परदेशी आऊ है गाउँमै, दसैंतिहार आइसक्यो झल्को लाइसक्यो..’ दसैंलक्षित दुई साताअघि सार्वजनिक भएको विष्णु माझीको गीतलाई दर्शक/श्रोताले निकै मन पराए । युट्युबमा सार्वजनिक गीतमा शब्द संगीत सुन्दरमणि अधिकारीको छ । कमाउन परदेश हिँडेका श्रीमान्को सम्झना गर्दै प्रतीक्षा गरिरहेकी श्रीमतीको कथाव्यथालाई गीतमा समेटिएको छ । गीतले बोलेका भावमा आधारित भिडियो छ ।


दसैं पर्वलक्षित गीतहरूमा परदेशको पीडा समेटिएको यो नौलो भने होइन । डेढ दशकदेखि लय तथा भाकामा नौलोपना देखिए पनि विषयवस्तु उस्तै समेटेर दसैं गीतहरू सार्वजनिक भइरहेका छन् । अहिले विषयवस्तु उस्तै खालका दसैंलाई नै लक्षित गरेर बनेका गीतसंगीत पनि निकै न्यून मात्रामा सार्वजनिक हुन थालेका छन् । औंलामा गन्न सकिने दसैं पर्व विशेष गीतहरू विषयवस्तु पुरानै ढर्रामा चलेका छन् ।

गीतहरू अहिले पनि पुरानै ढर्रामा सार्वजनिक हुन नरोकिएको लोक गायक रेशम थापा स्विकार्छन् । ‘६० को दशकमा लोक गीतमा दसैं पर्वबारे धेरै गीतहरू सिर्जना भए,’ उनी भन्छन्, ‘अहिले थोरैले गीत त सार्वजनिक गरिरहनुभएको छ तर विषयवस्तुमा नौलोपना ल्याउन सक्नुभएन ।’ सांगीतिक बजारले डिजिटल प्रविधिमा

फड्को मारेसँगै गीतको संख्या ह्वात्तै बढ्यो । युट्युबका च्यानलहरूबाट दैनिकजसो गीतहरू सार्वजनिक भइरहेका छन् । महामारीले अन्य क्षेत्रलाई ठप्प बनाए पनि गीतसंगीत क्षेत्र भने यो समयमा झनै मौलायो । गीतसंगीतको सिर्जना र बजार ल्याउन सर्जकहरूबीच बजारमा होडबाजी नै चलको यो अवस्थामा पर्वलक्षित गीतहरूमा नौलो सिर्जना न्यून छन् । आएका अधिकांश गीतहरूमा परदेश पीडा समेटिएका छन् ।

दसैं पर्वका गीतमा ६० को दशकमा जुन विषयवस्तु समावेश गरिएको थियो अहिले भने त्यही क्रम जारी रहेको थापा दाबी गर्छन् । २०५७ सालतिर थापाले दसैंलाई लक्षित गरेर लाहुरे र परदेशीको पीडालाई समेटेर ‘रुमालै छ चिनो’ लोक गीत सार्वजनिक गरे । २०६० सालमा पुनः उनले परदेशीकै कथा समेटेर ‘थालमै सुक्यो अक्षता मुछेर’ गीत ल्याए । तीनताक ती गीतहरू निकै चर्चित थिए । कति परदेशीहरू र तिनलाई कुरेर बसेका परिवार गीत सुनेर भकानिएका स्मरणहरू थापालाई अझै ताजा छ । उनका तिनै गीतहरूले लोक संगीतलाई नौलो आयाम दिएको थापा सुनाउँछन् । गाउँघरमा जुहारी, नाचगानमा मात्र सीमित भएको लोकसंगीतलाई बजार यात्रा तिनै गीतहरूले सघाएको थापाको भनाइ छ । भन्छन्, ‘समय र पुस्ताअनुसार दसैं गीतहरू बजारमा आइरहेका छन् तर स्रोता/दर्शकले फरकपना स्वाद लिन सक्नुभएन । सर्जकले नौलो सिर्जनातिर ध्यान दिन सकेन ।’ छोरो परदेश गएको, आमा कुरी बसेको, गाउँघर शून्य भो भन्ने विषयमा मात्र सर्जकहरू सीमित भएको उनको धारणा छ ।

समय, समाज र यथार्थतालाई मध्यनजर गरेर सिर्जना पस्कन सक्ने खुबी भएका सर्जकका रूपमा लोकगायक पशुपति शर्मासमेत परदेश कथाबाट टाढा जान सकेका छैनन् । शर्माको हालै सार्वजनिक ‘पैसाको बुटो’ बोलको गीतमा पनि कमाउन परदेश गएको एक नेपालीको कथा छ । गीतमा उनलाई खुमन अधिकारी, सन्दीप न्यौपाने, देवी घर्तीलगायतले स्वरमा साथ दिएका छन् । ‘देख्नेलाई आहा छ मनमा के छ भन्ने आफैंलाई थाहा छ,’ जस्ता शब्दमा शर्माले कमाउन परदेश जाने मान्छेलाई आर्थिक उपार्जन गर्न कठिन छ तर त्यसलाई परिवारका सदस्यले नबुझेको मानसिकतालाई गीतमा उतारेका छन् । समसामयिकता दर्शाउने जमर्को गरे पनि उनको गीतमा फेरि उही परदेशीको पीडा नै झल्केको छ ।

दसैं पर्वबारे धेरै विशेषताहरू र तिनका मौलिक पक्षहरूबारे सिर्जनामा खोतल्न सक्ने अर्का लोक सर्जक, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपमहासचिव शिव हमाल सुनाउँछन् । अन्य पर्वभन्दा दसैं पर्व विशेष गीतहरू न्यून र उस्तै किसिमका विषयवस्तुमा सिर्जना भइरहेको उनको पनि ठहर छ । यद्यपि आफूले भने आफ्ना दसैं लक्षित सिर्जनाहरूमा भने एक वर्षको पर्वमा जहाँ, जस्तो छ, त्यही अवस्थामा खुसी र रौनकले पर्वलाई उत्सवका रूपमा मनाऔं भन्ने सन्देश दिँदै आएको उनको भनाइ छ । ‘हाम्रो संगीत बजारमा गीतहरू जुन सफल भयो, त्यही प्याटर्नमा जाने लहर छ,’ उनी थप्छन्, ‘६० को दशकमा परदेशको पीडा समेटेर आएका दसैं गीतहरू निकै चर्चित बने । त्यसपछि त्यस्तै खाले गीतहरू आउन थालेका छन् ।’ पर्वलाई विशेष बनाऔं भन्ने सन्देश दिन गीतसंगीतमा उत्साह तथा उमंग ल्याउने सिर्जना हुनुपर्ने उनको मत छ । परिवारबाट टाढा भएर परदेश बस्नेहरूका लागि त्यसै पनि पीडा छ । पीडालाई बल्झाउने खालका गीतहरूले उहाँलाई झन् दुःख हुन्छ । यसपाला नभए अर्को साल मनाउँला र रमाइलो गरौंला भन्ने दसैं गीतहरू ल्याउन सर्जकले जोड दिनुपर्ने उनी बताउँछन् ।

दसैं पर्व विशेष पुराना गीतहरूलाई विभिन्न युट्युब च्यानलहरूबाट अहिलेको समयसापेक्ष बनाएर सार्वजनिक क्रमसमेत बढ्दो छ । गायक थापाको ‘थालमै सुक्यो अक्षता मुछेर’ गीतलाई हालै पुनः सार्वजनिक गरिएको छ । त्यस्तै हमालको आधा दशकभन्दा बढी पुरानो ‘आयो दसैं’ गीतलाई नयाँ म्युजिक भिडियोसहित पुरानै ट्र्याकमा सार्वजनिक गरिएको छ । दसैं मान्ने संस्कार, रीतिरिवाज, आममानिस प्रतिनिधित्व गर्ने कथा उस्तै रहेकाले दसैं गीतहरूमा विषयवस्तु परिवर्तन नभएको हुन सक्ने लोक गायिका सीता थापा बताउँछिन् । यद्यपि सर्जकले सधैं सिर्जना खोज्नुपर्ने उनको बुझाइ छ ।

प्रकाशित : आश्विन २४, २०७८ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×