शब्दमा अव्यक्त भाव पोखिन्छन् चित्रमा- कला - कान्तिपुर समाचार

शब्दमा अव्यक्त भाव पोखिन्छन् चित्रमा

ललितकलाको आकर्षणमा परेका युवापुस्ता आफ्नो अध्ययनको क्षेत्रलाई सिर्जनशीलताले सघाएको अनुभव गर्दै
सुशीला तामा‌ङ

पोखरा — रसियाका प्रख्यात लेखक लियो टल्स्टोयले भनेका छन् ‘कला त्यो गतिविधि हो जसद्वारा एक व्यक्ति, उसको भावना, अनुभव भएका कुरा जानेर/बुझेर अरूलाई प्रसारित गर्दछ ।’ उनले भनेजस्तै चित्रकार शशी राउतका लागि पनि सिर्जना भावना अभिव्यक्तिको माध्यम हो ।

राउतको समय अहिले अध्ययनसँगै कुची र रङ चलाउँदै बितेको छ । धुम्बाराहीमा बस्ने रौतहटकी राउत व्यवस्थापन संकायमा स्नातक पहिलो वर्षमा पढ्छिन् । उनले सिर्जना यात्रालाई समेत अगाडि बढाइरहेकी छन् । विगत चार वर्षदेखि लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा उनले चित्रकार तथा कला समीक्षक रमेश खनालसँग कला सिर्जनाका लागि प्रशिक्षण लिइरहेकी छन् । अध्ययन, सिर्जना यात्रा, हरेक अनुभवहरूलाई उनले कलामा उतार्ने उनले हालै अरुपण ग्यालरीमा एकल प्रदर्शन गरिन् । दुई दर्जन जति कलाकृतिहरूमा उनले युवापुस्ताबीचको प्रेम आकर्षण, उनीहरूले बुझ्ने जीवनको आशय,

किशोरावस्थाको अन्योलमय समय, उनीहरूमा सम्पदा तथा प्रकृति चेतलाई चित्रमार्फत देखाउने जमर्को गरेकी थिइन् । आफ्नै सिर्जनात्मक काममा रमाउने राउतले देखे/भोगेका कतिपय कुराहरू कलामा अभिव्यक्ति गरेको सुनाइन् । ‘केही कुरा देख्नेबित्तिकै त्यसैको आर्ट बनाउन मन लाग्छ,’ उनले भनिन्, ‘कुनै कुराले मनमा छोयो भने त्यसलाई पनि आर्टमा उतार्छु ।’ त्यसैले आशा राखेर अगाडि बढ्नुपर्छ भन्ने भावलाई उनले कलामा प्रतीकात्मक रूपमा देखाउने गरेकी छन् ।

अरुपणमा राउतजस्तै उमेरका किशोर किशोरीहरूले कलाको सैद्धान्तिक अध्ययनसँगै रङ र कुचीका सहायताले जीवन र दर्शनलाई नियाल्दै छन् । अरुपणमै ६ वर्षदेखि १८ वर्षीया राजकी अर्याल चित्रकलाको प्रशिक्षण लिइरहेकी छन् । धादिङ घर भई हाल गैरीधारामा बस्दै आएकी उनी कक्षा १२ मा अध्ययरत छिन् । कला सिर्जना सिकाइबाट अध्ययन तथा दैनिक जीवनका हरेक पक्षलाई सहायता पुगेको उनको अनुभव छ । ‘आर्ट सिक्ने थालेपछि अन्य कुरामा क्रिएटिभिटी हुँदो रहेछ । यसले पढाइमा पनि राम्रै गरेको छ,’ उनी सुनाउँछिन् । उनकै समूहमा आर्ट सिकिरहेकी धादिङकै हाल लाजिम्पाटमा बस्दै आएकी १८ वर्षीया आशा सिम्खडा कलाले वरपरका वस्तु तथा समाजसँग मिलेर बस्ने अर्को कला सिकाएको सुनाउँछिन् ।

अरुपण आर्ट ग्यनलरीमा कलाकार

शब्दमा भन्न नसकेको, अक्षरमा लेख्न नसकेका कैयौं भावहरू रङमार्फत नै आकृतिमा उतार्छिन् । प्रविधिमा जोडिएका युवापुस्तालाई सामाजिक सञ्जालको लतबाट छुट्याउनसमेत कला सिर्जनाले सघाउने सिम्खडाको भनाइ छ । बाराकी १५ वर्षीया सुन्दरमाला बैठा र बालुवाटारकी १४ वर्षीया लुनिभा श्रेष्ठ क्रमशः कक्षा १० र ९ मा अध्ययनरत छन् । दुवै जना समय मिलाएर अरुपणमा नै तीन वर्षदेखि कला प्रशिक्षण लिइरहेका छन् । कला सिर्जनाले विद्यालयको अध्ययनलाई सिर्जनात्मक रूपमा अगाडि बढाउन सघाएको दुवैले बताए । ‘म त स्कुलको होमवर्क सक्नेबित्तिकै चित्र नै कोरेर बस्छु । मोबाइल खेल्नेतिरभन्दा आर्ट बनाउन नै रमाइलो लाग्छ,’ बैठाले भनिन् ।

कला एउटा आकृतिको सिर्जना मात्र नभएर मानिसको जीवन, संस्कृति तथा सभ्यतासँग जोडिएको खनालको बुझाइ छ । नयाँ पिँढीलाई कला सिर्जना मानसिक एवं सामाजिक रूपमा निकै उपयोगी छ । ‘आर्ट मानिसका लागि सभ्यतासँगै मानसिक थेरापी पनि हो,’ उनले भने, ‘हरेक रङ, रङको अर्थ, गहिराइ र विषयवस्तुतिर लाग्दै गर्दा यसले उनीहरूलाई जीवनोपयोगी ज्ञान सिकाउँछ ।’

समाज, परिवेश र भावनाहरूलाई विभिन्न रङ दिएर आकृतिमा ढाल्ने, आफ्नै इच्छानुसार आकार, स्वरूप दिने प्रक्रियाहरू ललित कलामा हुने भएकाले युवापुस्तामा सिर्जनात्मक क्षमता बढाउने चित्रकारहरूको तर्क छ । चित्रकार सरिता डंगोलले एक दशकभन्दा अघिदेखि पाटनढोका चाकुपाटस्थित ‘कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल’ सञ्चालन गरेर बालबालिकादेखि कलामा चाख राख्ने पुस्तालाई प्रशिक्षण दिँदै आएकी छन् । पछिल्लो समय कोरोनाका कारण उनले अनलाइनमार्फत ५ वर्षदेखि १८/१९ वर्षका लगभग ८० जनालाई कला शिक्षा दिइरहेकी छन् । नखिपोट बस्ने २२ वर्षीया अस्मिता गुरुङले पनि झन्डै चार महिनादेखि डंगोलसँग कला प्रशिक्षण लिइरहेकी छन् । सानैदेखि कलामा लगाव भएकाले दैनिक काममा समयको व्यवस्थापन गर्दै सिकिरहेको उनले बताइन् । कलाले आफूलाई आफूवरपरका वस्तु तथा संसारलाई स्वतन्त्र रूपमा बुझ्न सिकाएको भान गुरुङलाई भएको छ । उनी भन्छिन्, ‘मैले आर्ट सिकेको धेरै समय त भएको छैन । तर यसले मलाई माइन्डको थेरापी गर्न सहयोग गरेको छ ।’ कलाले गर्दा पृथ्वीका वस्तुहरू तथा आफूले गर्ने काममा पनि रङहरूको आकृति देख्ने भएकाले काममा समेत सिर्जनात्मक हुन सिकाएको उनको अनुभव छ ।

चित्रकार सम्झना राजभण्डारीले पनि कला सिर्जनासँगै प्रशिक्षणलाई निरन्तर अगाडि बढाएकी छन् । काठमाडौं रवि भवनस्थित निःसर्ग वाटिका विद्यालयमा कला अध्यापन गराइरहेकी उनले व्यक्तिगत रूपमा पनि झन्डै एक दर्जन बालबालिकाहरूलाई प्रशिक्षण दिइरहेकी छन् । उनका अनुसार कलाको सिकाइले बालबालिकालाई विज्ञान, सामाजिक शिक्षालगायतका विषयमा स्केच कोर्न, आकृतिको माध्यमबाट अध्ययन गर्न निकै सहज हुन्छ । उनीसँगै चार वर्षदेखि प्रशिक्षण लिइरहेका सिद्धार्थ वनस्थलीका १० कक्षाका विद्यार्थी बालक सुनवारले विज्ञान विषयमा रेखाचित्र कोरेर गरिने प्रयोगात्मक कार्यहरू निकै सजिलो भएको बताए । बालबालिकालाई सम्पदा, संस्कृतिजस्ता पक्षहरू बुझाउन पनि कलाले निकै सहायता पुर्‍याउने राजभण्डारीको मत छ ।

कलालाई मनोरञ्जन र सोखको विषयका रूपमा भन्दा नयाँ पुस्तालाई समाज तथा जीवन बुझाएर अन्य पेसाका लागि सहायक बनाउने पक्षमा अभिभावकहरू सचेत देखिन्छन् । युवा पुस्तामा पनि कलाप्रति चाख बढेको चित्रकार विनोद प्रधान बताउँछन् । डल्लुस्थित प्रधान र चित्रकार प्रदीप वज्राचार्यले ‘कलामण्डप आर्ट’ स्टुडियोमार्फत थुप्रैलाई प्रशिक्षण दिइरहेका छन् । कलामण्डपमै आर्ट सिक्दै गरेका अनिल महर्जन प्रत्येक पुस्तालाई यस्तो शिक्षा अनिवार्य हुने बताउँछन् । उनी एक कलेजमा विद्यार्थीहरूलाई कला सिकाउँदै पनि आएका छन् । रङ, कुची र चित्रसँग मात्र नभएर कला सिर्जनाले युवा पुस्तालाई इजिनियरिङ, डिजाइनर तथा अन्य शिल्पकला सम्बन्धित अन्य पेसामा आबद्ध हुनसमेत सघाउने चित्रकारहरू बताउँछन् ।

प्रकाशित : आश्विन १७, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

गाडी चलाउन ह्युमपाइप राखिँदै

मेलम्ची नगरको बजारभर थुप्रिएका बालुवा, गेगर कालो लेदो फाल्न ९ वटा एस्क्काभेटर, दुई बुल्डोजर र दर्जन टिपर प्रयोग
अनिश तिवारी

सिन्धुपाल्चोक — बाढीले क्षतिग्रस्त भएको साढे तीन महिनापछि हेलम्बु र मेलम्ची नगर बजारक्षेत्रको तटीय भेगमा धमाधम ह्युमपाइप राखेर अस्थायी सडक बनाउन थालिएको छ । साता अघिदेखि मेलम्ची नगरपालिका–११ मेलम्ची बजार क्षेत्रबाट विभिन्न गाउ जोड्न १६ वटा ह्युमपाइप ल्याएर पुल नभएको स्थानमा हाल्न थालिएको हो ।

मेलम्चीको बाढीले हेलम्बु र मेलम्चीभर चार पक्की पुल, सात झोलुंगे पुलसहित १० हजार हेक्टर क्षेत्रफल जमिन बगर बनायो । मेलम्ची बाढीमा तीन सय घर बगेका थिए । २०५९ मा करोडौं लागतमा निर्मित मेलम्ची–१० र ११ जोड्ने मोटरेबल पुल बगाएपछि इन्द्रावतीसहित सदरमुकाम चौतारासँग मेलम्ची बजार जोड्ने सीधा सम्पर्क टुटेको थियो ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले विसं १९८६ मा बनाएको मेलम्ची–११ बाट शिखरपुर गाउँ जोड्ने झोलुंगे पुल चुँडालेको थियो । उद्योग वाणिज्य संघ मेलम्चीका महासचिव तारा बानियाका अनुसार मेलम्ची बजारबाट इन्द्रावती गाउँपालिका जोड्ने सडक ह्युमपाइप राखेर निर्माण गर्न सातादिन जति लाग्नेछ । उक्त काम इन्द्रावती अस्थायी बाटो निर्माण उपभोक्ता समितिले गरिरहेको छ ।

मेलम्ची नगरको बजारभर थुप्रिएका बालुवा, गेगर कालो लेदो निकालेर फाल्न ९ वटा एस्काभेटर, दुई बुल्डोजरसहित दर्जन टिपर प्रयोग भइरहेको छ । बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घर बालुवा, लेदो र ग्रेगरले भरिएका थिए । तीमध्ये अधिकाशं घर बस्न योग्य बनाइएको छ । धेरैमा होटेल र पसल सञ्चालनमा ल्याइसकेका छन् । हेलम्बुको सेमिसिदाङ हिमालको असार १ मा काख भेमेथाङ्ग चौर सोहोरिएर आएको बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय र मेलम्ची खानेपानी आयोजनाका कर्मचारी गरी पाँच जनाले ज्यान गुमाएका थिए । उक्त बाढीमा २० जना अझै बेपत्ता छन् ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले तत्काल बेलिब्रिज नबन्ने देखिएपछि अस्थायी ह्युमपाइप सडक र पुल जोड्न लागेको बताए । तत्कालीन अस्थायी आवासका लागि कार्ययोजना बनाइरहेको र पीडितले जग्गा खोजेकै स्थानमा स्थायी आवास बनाउनेबारे छलफल भइरहेको उनले जानकारी दिए । बाढीले धेरै क्षतिग्रस्त हेलम्बुको तटभेगको मेलम्ची नदी किनार हुँदै बाढीले टुटाएको २३ किलोमिटर सडक जोडिन थालिएको र त्यसको लागि नौवटा एस्काभेटर प्रयोग भइरहेको उनले बताए । ‘विस्थापितका लागि अस्थायी आवास बन्दै छ, बाढीले टुटाएको इलाकामा पनि ह्युमपाइप राखेर सडक जोड्दै छौं,’ उनले भने । बाढीले ध्वस्त तुल्याएको हेलम्बु गाउँपालिका र मेलम्ची नगरक्षेत्रमा दुई महिनायता पाँचवटा यान्त्रिक बेलिब्रिज पुलको प्राविधिक अध्ययन सकिए पनि कामले तीव्रता पाउन सकेको छैन ।

प्रकाशित : आश्विन १७, २०७८ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×