पुर्खाका कला जोगाउँदै- कला - कान्तिपुर समाचार

पुर्खाका कला जोगाउँदै

अग्रज कलाकारका सन्ततिहरु आफ्नै बलबुताले कला संरक्षणमा लागिरहँदा नक्सालस्थित प्रतिष्ठानमा भने ३ सयभन्दा बढी कलाकृति एउटा कोठामा थन्किएका छन् । यहाँको आर्ट ग्यालरी पनि खाली छ ।
सुशीला तामा‌ङ

काठमाडौँ — आजभन्दा १ सय ३ वर्षअघि कलाकार तथा फोटोग्राफर दीर्घमान चित्रकार पैदलै मुक्तिनाथको यात्रामा निस्के । विभिन्न स्थानका २ सयभन्दा बढी तस्बिर खिचे, जहाँ नेपाल बुझाउन पर्याप्त ठाउँ समेटिएका छन् । चन्द्रशमशेरसँग सन् १९०८ सालमा बेलायत भ्रमणमा गएका दीर्घमानले युरोपेली कलालाई समेत नेपाल भित्र्याए । दरबार र तत्कालीन समयलाई कैयौं फोटोमा उनले कैद गरे । सिंगो नेपालको तत्कालीन समाजको इतिहास बुझाउने कृति यतिबेला भीमसेनथानस्थित घरमा पुरानो एल्बमभित्र सीमित छन् ।

यी तस्बिर मात्र होइन, एक शताब्दीभन्दा धेरै इतिहास बोकेका पुर्खाका कलाकृति सम्हाल्न अहिले नाति किरणमान चित्रकारलाई हम्मेहम्मे छ । हजुरबुबा दीर्घमान र बुबा गणेशमानका कलाकृति मात्र होइन, आफ्ना दसौं पुस्तासम्मका कलाकृतिलाई उनी जोगाउने प्रयास गर्दै छन् । दीर्घमानदेखि उनका पनि बुबा मोहनलालले सिर्जना गरेका कैयौं मुहारचित्र किरणमानसँग सुरक्षित छन् । जंगबहादुर राणा र उनकी पुतली महारानी, माथवरसिं थापालगायतका मुहारचित्रहरू उनको संग्रहमा पाइन्छन् । ती कलाकृतिलाई किरणमानले घरैमा ‘दीर्घमान र गणेशमान चित्रकार आर्ट फाउन्डेसन’ मार्फत ग्यालरीमा सजाएका छन् ।

कोरोना महामारीले हाल ग्यालरी बन्द छ । २०४२ सालमा बुबा गणेशमानको निधनपछि पुर्खाको कृति सम्हाल्नतिर आफू अग्रसर भएको उनले सुनाए । तीन दकशभन्दा बढी फोटोग्राफीको अनुभव उनीसँग छ । मक्किएको फ्रेम तथा मेटिँदै गएको राणा प्रधानमन्त्री चन्द्रशमशेर र उनकी रानीको फोटो देखाउँदै उनले भने, ‘प्रिन्टहरू यसरी बिग्रेर जाँदै छन् । यस्ता प्रिन्ट मसँग धेरै छन् तर अब कता राख्नु । मिलाएर जोगाउन सानोतिनो रकम र स्थानले पुग्दैन । हाम्रो इतिहास बोकेको यस्ता कलाकृति नास हुँदै गएको देखेर साह्रै पीर परेको छ ।’ राज्यले साथ दिए दसपुस्ते कलाकृतिलाई आम समुदायमा पुर्‍याउन भव्य कला संग्रहालय बनाउने उनको लक्ष्य छ । यसका लागि लामो समयदेखि उनी मात्र होइन, छोरी क्रिस्टिना र छोरा स्वराज पनि प्रयासरत छन् ।


तेजबहादुरले २०२० सालमा बनाएको सामाजिक जीवन झल्काउने चित्र ।

यस्तो छटपटी किरणमानलाई मात्र होइन । अग्रज कलाकारका सिर्जनामा राज्यले बेवास्ता गरेपछि तिनका सन्तति आफ्नै बलबुतामा कला संरक्षणमा लागिपरेका छन् । कलाकार तथा कला लेखक मदन चित्रकार अहिले बुबा तेजबहादुर चित्रकारको सिर्जना जोगाउन ब्यस्त छन् । पुस्तकका रूपमा बुबा र कला इतिहासलाई संरक्षण गर्न लागको उनले बताए । पहिलोपटक कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गरेर नेपालमा पश्चिमा वस्तुवादी, यथार्थपरक कला भित्र्याउने श्रेय चन्द्रमानसिंह मास्के र तेजबहादुरलाई जान्छ । उनीहरूले नै परम्परागत धारमा चलेको कलालाई नयाँ युगतिर अघि बढाएका थिए । असन तेउडास्थित घरमा मदनले तेजबहादुरका एक सयभन्दा धेरै चित्र संग्रह गरेका छन् । सात दशकभन्दा अघिको असन क्षेत्र, त्रिशूली नदीको ल्यान्डस्केप, काठमाडौंबाहिरको सामाजिक जीवन, उपत्यकाको काष्ठकलाका कलाकार तथा संस्कृति देखाउने चित्रलाई उनले एउटा कोठामा थन्क्याएर राखेका छन् । ग्यालरी नै बनाएर कलाकृति सजाउने उनको मन नभएको होइन तर उनी आफैंले गर्न सक्ने सामर्थ्य छैन ।

‘यो अँध्यारो कोठामा रहेका बुबाका चित्र चाङ लगाएर राख्दा मन पोल्छ,’ उनले दुःखेसो पोखे, ‘झुन्डाएर राख्न घरमा ठाउँ छैन । प्लास्टिकले बेरेर भए पनि संरक्षण गरिरहेको छु ।’ उनी आफैं पनि कला सिर्जना र लेखनमा अग्रसर रहेकाले बुबाको कलाकृति संरक्षण गर्नुपर्छ भन्ने चेत उनमा छ । बुबाका सबै चित्रलाई क्रमबद्ध पुस्तकाकार रूपमा सार्वजनिक गर्ने उनले बताए । बुबाको मात्र होइन, देशको इतिहास बोकेका कलाकृति संवर्द्धन गरिरहेको उनको भनाइ छ । छोरा कला क्षेत्रमा आबद्ध नरहेकाले अब बुबा र उनका कलाकृतिको हालत के होला भन्ने चिन्ताले उनलाई सताएको छ । भन्छन्, ‘मेरो शेखपछि छोराले मेरो मात्र होइन मेरो बुबाको पनि कला संरक्षण गर्ने जिम्मेवारी लिनुपर्ने हुन्छ । होइन भने हामी दुवैको कला सिर्जना लथालिंग भएर हराएर जान्छ ।’

एक शताब्दीअघिको टुँडिखेल ।तस्बिर दीर्घमान चित्रकारले खिचेका हुन् ।

कलाप्रति सम्बन्धित निकायको बेवास्ता देखिएपछि अर्का अग्रज कलाकार केशव दुवाडीका परिवारले त आफ्नै घरमा कला संग्रहालय स्थापना गरेको छ । २०७१ सालमा ‘केशव दुवाडी स्मृति प्रतिष्ठान नेपाल’ र २०७४ मा गौरीघाटस्थित घरमा ‘केशव दुवाडी कला संग्रहालय’ सुरु भएको हो । कला तथा कलाकारको संरक्षणका लागि स्थापित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अग्रज कलाकारप्रति गरेको बेवास्ताले परिवारकै पहलमा संग्रहालय खोलेको उनका छोरा प्रदीपले सुनाए । केशवको जीवनी, कलाकृति तथा कामलाई समेटेर पुस्तक सार्वजनिक हुँदै छ । ‘सुरुमा ललितकला प्रतिष्ठानले प्रकाशन गर्ने कुरा भएको थियो । पछि नगर्ने भएपछि आफैंले प्रकाशन गर्दै छौं,’ प्रदीपले भने ।

कलाकार रामानान्द जोशीका परिवार भने ‘आरएन जोशी कला संग्रहालय’ बनाउन लागिपरेको छ । दुई वर्षदेखि संग्रहालय बनाउने क्रममा रहेको रामानन्दका छोरा नवीनले बताए । निर्माणाधीन संग्रहालयमा अहिले रामानन्दका युरोपियन शैली, सामाजिक जीवन तथा परम्परागत तथा सांस्कृतिक तन्त्रसँग सम्बन्धित ६ दर्जनभन्दा बढी कलाकृति छन् । लक्ष्मण श्रेष्ठ, शशी शाहलगायतका चित्र पनि यहाँ समेटिएका छन् । दुई वर्षभित्र पुस्तकालय, क्याफेसहितको संग्रहालय सुरु गर्ने जोशी परिवारको लक्ष्य छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर । तस्बिर दीर्घमान चित्रकारले खिचेका हुन् ।

पञ्चायतकालमा नेपालमा आधुनिक कलाको विकास, तथा कला प्रदर्शनीको लहर ल्याउन रामानन्दको ठूलो देन छ । ललिलकला प्रतिष्ठान स्थापनाका लागि पनि उनले योगदान पुर्‍याए । सन् १९७० मा ‘पार्क ग्यालरी’ सञ्चालनमा ल्याएर कला शिक्षालाई आम मानिससम्म पुर्‍याए । सन् १९७७ मा उनले ग्यालरीलाई पुलचोकस्थित आफ्नै घरमा सञ्चालनमा ल्याएर प्रदर्शनीको थालनी गरे । ‘अग्रजका कलाकृतिमाथि राज्यको नजर परेन भनेर त्यतिकै लथालिंग छाड्नुभन्दा सक्नेले व्यक्तिगत तहबाटै कलाको संरक्षण गरौं भन्ने उत्प्रेरणा दिन पनि संग्रहालय खोल्न लागेका हौं,’ नवीनले भने ।

कलाकारका सन्ततिहरू आफ्नै बलबुतामा कलाकृति संरक्षणमा लागिरहँदा नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा भने ३ सयभन्दा बढी कलाकृति एउटा कोठामा थन्किएका छन् । सीता भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि ‘कला संग्रहालयका लागि भवन नै छैन’ भन्ने प्रतिष्ठानलाई बहाना भएको छ । भवनको ‘वीरेन्द्र आर्ट ग्यालरीमा रहेका दिवंगत कलाकारका कृति अस्थायी टहराको कोठामा छन् । ‘भूकम्पपछि निकालिएका चित्र हामीले चलाएका छैनौं,’ प्रतिष्ठानका कुलपति केके कर्माचार्य भन्छन्, ‘प्रदर्शनीमा राख्ने भवन नबनेसम्म चित्रहरू चलाउने हेर्ने कुरा भएन । फेरि बिग्रने सम्भावना धेरै हुन्छ ।’

पाँच दशकअघि रामानान्द जोशीले बनाएको वाग्मतीको चित्र ।

प्रतिष्ठान परिसरमै हालसालै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा बनेको आर्ट ग्यालरी त्यतिकै खाली छ । त्यतातिर कलाकृति राख्ने प्रतिष्ठानको कुनै योजना छैन । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिष्ठानलाई ५ करोड ४२ लाख ९१ हजार रुपैयाँ बजेट दिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा भने बजेट बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । सरकारले हरेक वर्ष तलबभत्ता र कार्यालय सञ्चालन खर्चबाहेक चित्रकला, मूर्तिकला, लोककला, परम्परागत कलाको संरक्षणका लागि पनि बजेट विनियोजन गर्छ ।

रामानान्द जोशीले बनाएका अन्य कलाकृति देखाउँदै छोरा नवीन । यी कलाकृति पुल्चोकस्थित निर्माणाधीन आरएन जोशी संग्रहालयमा राखिएका छन् ।

अग्रजका कला संरक्षणमा प्रतिष्ठानले किन काम गर्न नसकेको त ?

कुलपति कर्माचार्य भन्छन्, ‘ललितकलाको विकासका लागि हामीसँग योजना र खाका छन्, बजेट र ठाउँको अभाव रहेकाले काम अगाडि बढ्न सकिरहेको छैन ।’

प्रकाशित : आश्विन १४, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीबाट मनमोहक हिमाल [तस्बिरहरू]

मनोज पौडेल

कपिलवस्तु — मौसम सफा हुँदा बुद्ध जन्मस्थल लुम्बिनीबाट मनमोहक हिमश्रृंखला देखिएको छ । लुम्बिनीका चित्ताकर्षक र शान्तिप्रिय बिहार, गुम्बा, चैत्य र गोन्पोसँगै उत्तरतिर देखिएको शुभ्र हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् ।

बुधबार र बिहीबार बिहानैबाट दिउँसोसम्म सफा र चिटिक्कको शुभ्र हिमाल देखिएको थियो । लुम्बिनीबासीले घरका छत, कौशी र दैलोबाटै मज्जाले सेताम्य हिमाल हेरेका थिए । आँखै अघि हिमाल देखिएपछि स्थानीय, सर्वसाधारण फोटो र सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए । लुम्बिनीबाट ७ हजार ७ सय ५१ मिटर अग्लो धौलागिरी दोस्रो, ७ हजार ७ सय १५ मिटर धौलागिरी तेस्रो हिमाल देखिएको थियो । त्यस्तै, ७ हजार ६ सय ६१ मिटर अग्लो धौलागिरी चौथौ र ७ हजार एक सय ९३ मिटर अग्लो गुर्जा हिमाल देखिएको टुर गाईड टेक घर्तिमगरले बताए ।


प्रकाशित : आश्विन १४, २०७८ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×