कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगी श्रेष्ठको ‘संवेग’ कला प्रदर्शनी सुरु

सुशीला तामा‌ङ

काठमाडौँ — विगत लामो समयदेखि कला क्षेत्रमा अनवरत रुपमा लागिपरेकी चित्रकार संगी श्रेष्ठको एकल कला प्रदर्शनी ‘संवेग’ शुक्रबारदेखि सुरु भएको छ ।

संगी श्रेष्ठको ‘संवेग’ कला प्रदर्शनी सुरु

ललितपुरको पाटनढोका चाकुपाटस्थित ‘एम क्युब ग्यालरी’मा श्रेष्ठले महामारीको अवधिमा सिर्जना गरेका साडे दुई दर्जनभन्दा बढी चित्रहरू प्रदर्शनरत छन् । श्रेष्ठको यो दोस्रो एकल कला प्रदर्शनी हो ।

कोभिडकालमा मनमा आएका विभिन्न आवेगहरूलाई कलामार्फत अभिव्यक्त गरेको श्रेष्ठले बताइन् । उनका अनुसार उनले कलामा मानिसमा आउने विभिन्न भाव, सोचाई तथा मनस्थितिहरूलाई आशाको केन्द्रविन्दुमा राखेर चित्रण गरेकी छन् ।

‘हामीले कोभिडको समयमा एकदमै फरक किसिमको समयलाई भोग्यौं’ उनले भनिन्,‘कतिबेला के हुन्छ, कसलाई कस्तो विपत्ति आइपर्छ र अब समय कतातिर मोडिन्छ भन्ने अन्यौल थियो । ती सबै कुराहरूलाई मैले कला मार्फत् भोलि त राम्रो हुन्छ है भन्दै आशा व्यक्त गर्दै गएँ ।’ उनको कलाकृतिमा विश्वास, आशा, शान्ति, दीर्घायू, जीत, प्रेम, सम्पत्ती, प्राप्ति लगायतका जीवनका आशाका भावहरू अभिव्यक्त भएका छन् ।

श्रेष्ठले निकै लामो समयपछि एकल प्रदर्शनी गरेकी हुन् । यसअघि सन् २००९ मा बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘अव्यक्त अभिव्यक्तिहरू’ शीर्षकमा उनले कला प्रदर्शनी गरेकी थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सयको हारहारीमा कला प्रदर्शनीमा सहभागिता जनाइसकेकी छन् ।

क्यानभाससँगै प्रतिस्थापन कला, प्रिन्ट तथा मिक्स मिडियाका कला सिर्जनामा समेत उनको अभिरुची छ । श्रेष्ठले कला सिर्जना मात्र नभएर थुप्रै पत्रपत्रिकाहरूमा कलाका विषयमा लेखहरू प्रकाशित गरेकी छन् ।

बेइजिङको ‘सातौं अन्तर्राष्ट्रिय आर्ट बेनाले’, बंगलादेशमा भएको ‘१६ औं एसियन आर्ट बेनाले’ लगायतका अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाएकी श्रेष्ठले ललितकला विभागबाट ‘राष्ट्रिय तथा विषेश अवार्ड’, भद्रकुमारी सेवा सदनबाट ‘उत्कृष्ट कलाकार अवार्ड’, अरनिको युवा कोषबाट ‘अरनिको राष्ट्रिय युवा कला अवार्ड’ लगायतका पुरस्कार तथा सम्मानहरू पाएकी छन् ।

श्रेष्ठको कलाकृतिमा मानिसका भावहरूलाई निकै उत्कृष्ट रुपमा चित्रण गरिएको कला अवलोकनमा सहभागी चित्रकार एरिना ताम्राकारले बताइन् । ‘हामी सबैले चाहेर या नचाहेर पनि महामारीको पीडा हामीले गर्ने काममा जोडिएर आउँछ । महामारीको समय र मानिसको अनेक भावहरू चित्रमा देखिएका छन् । चित्रमा प्रयोग भएका रंगहरूमा पनि यी कुराहरूको चित्रण छन्’ उनले भनिन् । श्रेष्ठको कला प्रदर्शनी आगामी असोज २२ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?